केदार वाशिष्ठ
नेपाल अभिलेखीय परम्परा र इतिहास लेखनमा कमजोर छ तर यो इतिहास नै नभएको देश भने होइन । इतिहास लेखनका लागि जति खोजी र अध्ययन हुनुपर्ने हो त्यो भएको छैन । त्यस्तै अवस्था भूकम्पको पनि छ । तथापि नेपाल उच्च भूकम्पीय जोखिम क्षेत्र रहेको भनी विज्ञहरूले दिने गरेका चेतावनी सत्य ठह¥याउने गरी विगतका भूकम्पको केही चर्चा भने पाइन्छ । त्यस्तो चर्चा बेला वा कुबेला पनि हुने गरेको छ । कुबेलालाई बेमौसमी पनि भन्छन्; तात्पर्य सन्दर्भविनाको चर्चा भन्ने हो । बेमौसमी चर्चा गर्न खोजी वा अनुसन्धानले प्रेरित गर्छ । त्यो पक्ष पनि कमजोर नै छ । यहाँ चर्चा खोज वा अनुसन्धानको नभई, भूकम्पको गर्न लागिएको हो ।
भूकम्पको भाष्य गजबको हुन्छ । भूकम्प आयो ? कि गयो ? भन्नेबारे भूकम्पपछि निकै नै बहस हुन्छ । यो भूकम्पको असरभन्दा पनि भाषिक अध्ययनको पक्ष हो । भूकम्प गइसकेपछिको चर्चामा गएकै कुरा गर्नु सान्दर्भिक होला । आउने अनुमान गर्दा आउला र आइरहँदा आयो होला । तर आएको बेला कसैले केही भन्दैन सबै भागदौडमा व्यस्त । तर भूकम्प सुरक्षा विद्याले भने ‘भूकम्प आएको बेला भाग्ने होइन, सुरक्षित स्थानमा बस्नू’ भन्छ ।
भूकम्पको अर्को भाष्य भूकम्प नै हो कि भूमिकम्प हो ? अथवा भुइँचालो ? कि भैँचालो ? भन्ने पनि हो । जे भए पनि मानवीय र भौतिक क्षति गर्ने भूमिको कम्पन नै भुइँचालो हो । त्यसो त अहिले मान्छेले थाहा नपाउने किसिमका ससाना भुइँचाला प्रविधिले रेकर्ड गरिदिने गरेको छ । भूकम्पबाट गुज्रेका वा त्यसबाट बाँचेका मानिसको मस्तिष्कमा आउने मानसिक क्षतिको रेकर्ड भएको भने सुनिएको छैन ।
भूकम्पको भाष्यमा अर्को पनि चर्चा हुन्छ ः ठूलो भूकम्पपछि त्यसको असर क्षेत्रमा त्योभन्दा कमका जतिसुकै भूकम्प रेकर्ड भए पनि तिनले भूकम्पको स्थान पाउँदैनन् । ‘परकम्प’, ‘पराकम्पन’ ... केके हुन् केके तिनका नाम । त्यसैले २०७२ वैशाख १२ पछि वैशाख २९ मा आएको उत्तिकै शक्तिशाली र विनाशकारी भूकम्पविद्को भाषामा भूकम्पको नाममा चढेन । परकम्प वा पराकम्पन भयो, कतिले ‘आफ्टरसक’ले नै काम चलाए ।
लामा पराकम्पन
पराकम्पनको क्रम कति लामो समयसम्म चल्ने हो ? भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ पाइँदैन । १९९० सालको भूकम्पको पनि धेरै पछिसम्म ससाना भूकम्प भएका थिए रे ! तर आममानिसले त्यसलाई भूकम्प नै भनेर बुझे ।
अहिलेको पुस्तामा रहेको विसं १९९० को भूकम्पको मानक विसं २०३७, २०४५ र २०६८ सालका भूकम्पले केही हल्लाए पनि २०७२ वैशाख १२ को मध्याह्नसम्म त्यही कायम थियो । त्यसपछि भने त्यो ध्वस्त भयो र नयाँ मानक स्थापना भयो । अब १९९० माघ २ गते सोमबारे औँसीका दिनको महाभूकम्प भोगेको कुरा सुनाउने पुस्ता कमै छ । हामी २०७२ को कथा हाल्दैछौँ, हामी बाँचुन्जेल र त्योभन्दा ठूलो धक्का नभोगेसम्म त्यही कथाको भाष्य र टीका सुनाउँछौँ ।
अरू ठूला भूकम्प नआएमा भूकम्पको भाष्य र मान्छेको सामान्य आयुअनुसार अब झण्डै एक सय वर्ष २०७२ कै भूकम्पका कथा नयाँ पुस्तालाई हालिन्छ । विसं १८९० र विसं १९९० मा आएका दुई ठूला भूकम्पले पनि मान्छेको आयुजस्तै भूकम्पको अन्तराल देखाउन खोजे पनि त्यो असत्य रहेको विसं २०७२ कै भूकम्पले प्रमाणित गरेको छ । नेपाल भूकम्पीय जोखिमको क्षेत्रमा पर्छ भनेर विज्ञहरूले बेलाबेला सचेत भने गराइरहेका छन् । भाष्यकार र टीकाकारले तिनको बोली भूकम्पको असर कम गर्ने गरी पूर्वतयारी गर भन्ने अर्थ लगाइदिँदैनन् । नीति निर्माताले सुन्ने र काम गर्ने गरी कथा हाल्ने कथाकार र विश्लेषण गरिदिने भाष्यकार र टीकाकार कमै हुन्छन् । नीति निर्मातालाई त भूकम्पको असरले पनि छुँदैन ।
२०७२ बितेको पनि सालको गणनामा पाँच पूरा भएर छ वर्ष चल्दैछ । पराकम्पन लम्बिए जस्तो भूकम्पपछिको पुनर्निर्माण पनि लम्बिएको लम्बियै छ । निमेषभरमा ध्वस्त संरचनाको पुनर्निर्माण चाँडो हुँदैन यो व्यवहारले देखाउँदैछ तर नेपालकै विगत र अन्यत्रका पनि अनुभवले भन्दैछ : यो कार्य ज्यादै सुस्त भयो ।
१९९० सालको भूकम्पअघिको धरहरा ।
१८९० को आजकै दिन
आज २०७८ भदौ १२ गते शनिबार हो । संयोगले आज शनिबार परेकाले गोरखापत्र शनिबारका लागि आलेख लेख्ने सन्दर्भ यही मितिले जुराइदियो । भूकम्पको भाष्यअनुसार विसं २०७२ को कुरा गर्न मिल्दैन, गरे पनि त्यो पराकम्पन मात्र हुन्छ । यसमा त्यसअघिको मानक बनेको विसं १९९० को भाष्य र टीका प्रस्तुत गर्न पनि खोजिएको छैन । बरु त्यसको एक सय वर्षअघि विसं १८९० मा गएको भूकम्पको स्मरण गराउँदै नेपालमा गएका भूकम्पका पुनरावृत्तिका आधारमा भावी अनुमान गर्दै, सावधानी र पूर्वतयारी गर्न सम्झाउन यो लेख लेखिएको छ ।
२०७८ भदौ १२ गते १८८ वर्षअघि अर्थात् विसं १८९० मा नेपालमा ठूलो भुइँचालो गएको सम्झाउने दिन हो । अझ भदौ र तिथिको कुरा गर्ने हो भने त यो ६१३ वर्षअघि अर्थात् विसं १४६५ र विसं २०४५ सालका भूकम्प पनि भदौमा नै गएको खोजी गर्न सम्झाउने समय पनि हो । बारका आधारमा विगतका चारवटा ठूला चाहिँ सोमबार परेका आधारमा यो शनिबार मिलेन ।
विसं १८९० भदौ १२ को भूकम्प नेपालको भूकम्पीय इतिहासको अभिलेखमा मानक रहेको छ । त्यसलाई हालसम्म नेपालमा गएका र रेकर्डमा राखिएका ठूला भूकम्पमा पहिलो मानिएको छ । भूकम्प नाप्ने प्रविधिले यस भूकम्पलाई ७.७ को म्याग्निच्युडको देखाएको छ । (गोरखा भूकम्प–२०७२, अनुभव र सिकाइ, नेपाल सरकार, गृह मन्त्रालय, विपद् व्यवस्थापन महाशाखा, २०७३ वैशाख पृष्ठ १८) ।
इतिहासका सामग्रीका पानाहरूमा पनि कतैकतै यो भूकम्पको टिपोट भेटिन्छ र त्यसबेलाको भूकम्पको भयावह अवस्थाको आकलन गर्न सकिन्छ । त्यस्तै एउटा टिपोट :
“शाके १७५५ सम्वत १८९० भाद्रमासे दिन १२ गते सोमवासरे दिनशेषघटी ० पला ३६ छदा ठूलो भूमिकंप भयो . त्यसै दिन रात्रीगतघटी १२ पला ३ मा ठूलो भूकंप भयो . त्यसै दिन रात्रीगतघटी १२ पला ४० जाँदा ठूलो भूकंप भयो . दर्बार भत्क्यो . विष्णुदेवल प्रभृत्ति धेरै देवल बिग्य्रा . वसन्तपूर हात्तीसारपट्टी दर्बार पंचझ्यालपट्टी भत्क्यो . जगन्नाथको देवल धररा ढल्यो . सहरमा धेरै घर भत्की मानिस म¥या . यस रात्रीदेखि सहरभित्र कोही मानिस बस्यानन् . यस दिन भैचालो गएको जम्मा ४२ . भोलीबेरदेखी पनि भूकंप हुदै रह्यो . गन्न पनि सकीएन . भादगाउ सहरमा घर देवालय ३ भागमा १ भाग रह्यो . सहर गएब् भयो . अरू सहरमा भन्दा भादगाउमा मानिस धेरै म¥या . गामल् काठो पर्वत् पहाड्मा घर भत्क्या . चीसापानीको गढी सिन्धुली गढी पनि भत्की बिकम्बा भैगयो . मैन्हा २ सम्म भूकंप हुँदैरह्यो . श्री ५ महाराजा राजेन्द्रविक्रम शाह भूकंप भएका भोलिबेर भाद्र अधिक सुदी १३ रोज ३ बिहान घडी २ मा सहरमा घर देवालय कति बिग्य्राछन् भंया विचारलाई पाउलागनुहुदा हेर्दै सहर बाहीर जानुभयो . वाग्मती त्रिपुरेश्वर पुग्याका वेलामा रात्रीका भैचालाले श्रीजगन्नाथको देवालय सकल लोकले देख्दादेख्दै ढाल्यो . साँढ्या २ मिचिया . यस भूमीकंपले सहर काठमाडौमा घर भत्क्याका जम्मा ४०० देवालय भत्क्याका १३० मानिस मिची मरेका ३२, भादगाउ सहरमा घर भत्क्याका ७०० मानिस मिची मरेको जम्मा ५००, पाटन सहरमा घर देवालये भत्क्याका ४० मानिस जना २ म¥या . पूर्वदेश दोलखा सहर घर ४०० को थियो . त्यसमध्ये बाकीरहल् १० अरू सबै भत्क्या . गाउगाउ सर्वत्र पर्वत्या घरसमेत् भत्क्या . यस्ता विघ्न अघी (न) भएका थ्या . न पछि हुन्या छन् .” (दिनेशराज पन्त, प्रशिद्ध ज्योतिषि भगीरथ जैसी, खिलशर्म–राजीवलोचनजोशीस्मारकप्रतिष्ठान, पृष्ठ ९७–९८) ।
यस टिपोटका आधारमा उक्त भूकम्प महाविनाशकारी रहेको थाहा हुन्छ । ‘यस्तो विघ्न न अघि भएको थियो र न पछि हुनेछ’ भन्ने अन्त्यमा दिइएको विवरणले पनि त्यसको प्रभाव अनुमान गर्न सकिन्छ । तर यो टिपोट लेख्नेले त्यसअघिका भूकम्पको विवरण थाहा पाएको भए यति मात्र लेख्ने थिएनन् । बरु त्यही महिना, तिथि र बारले ६१३ वर्षअघि अर्थात् विसं १४६५ मा गएको भूकम्पले ठूलो क्षति भएको विवरण सम्झन्थे होलान् । तर विसं १९९० को भूकम्पको विवरण लेख्नुहुने ब्रह्मशमशेरले नेपालमा पहिलेपहिले पनि ठूलाठूला भूकम्प गएका देखिन्छन् । परन्तु यो गएको भूकम्प जति कडा अरू कुनै थिएन भनी लेख्नुभएको छ । उहाँले विसं १८९० का भूइँचालाहरूबारे थोरैलाई मात्र थाहा थियो भनेका छन् ।
विसं १९९० को भूकम्पपछि जुद्धशमशेरले पृथ्वीमाथि शिवको मूर्ति स्थापना गरी निर्माण गराएको स्मारकमा लेखिएको विसं १८९० को र राजा शक्तिसिंहरामका पालामा गएको भूकम्पको स्मरण गरिएको ज्ञानमणि नेपालले लेख्नुभएको छ (ज्ञानमणि नेपाल, नेपालका केही ठूला भैंचाला, नेपालनिरुपण, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान, पृष्ठ २१४–२२०) । उहाँले कुनैकुनै वंशावलीमा नेसं ५२८ (विसं १४६५) मा शक्तिसिंहका पालामा यो भूकम्प गएको पाइएको र चीनतिरको नेपालसम्बन्धी इतिहासका सामग्रीका आधारमा ती राजा पलाञ्चोकका रहेको पनि उल्लेख गर्नुभएको छ । यसै आधारमा उहाँले खोजी गरेको पञ्चाङ्ग गणनामा महिना, तिथि र बार मिलेको देखिएको छ ।
उक्त भूकम्पको क्षतिको विवरण यस्तो छ :
“यी राजाका पालामा नेपालभरमा बडो उग्रदिन आई नेपालसम्बत् ५२८ अधिक भाद्रशुक्ल १२ उत्तराषाढानक्षत्र सोमवारका दिन बडो उत्पात सङ्कष्ट भूमिकम्प भयो र मच्छिन्द्रनाथका देवालय भत्की द्वार बन्द भैगयो । देश देशमा देवालय घर भत्की धेरै बिग्री मैदान भैगयो । ललितपत्तनमा मतिको भैरव तर (तीर) लगनखेलको सहर युगल (पूलाइगल) त्यागल भन्याको जगा सबै मैदान भैगयो । कान्तिपुरमा पञ्चपुर, भक्तपुर, धर्मपुर, खड्गपुर भन्याको जगा भत्की मैदान भैगयो, धेरै दिनसम्म भूमिकम्प (भै) भूमि फाटी गाइभेँसी धेरै खसि म¥या, जीवजन्तु असंख्य नाश भैगया ।” (नेपाल, उही पृष्ठ २१५–२१६) । यो उतार राजभोगमाला वंशावलीको हो ।
ज्ञानमणि नेपालले नै दिएको विवरणअनुसार यो भूकम्पको ९९ वर्षपछि विसं १५६४ मा पनि भूकम्प गएको थाहा हुने अभिलेख चाँगुनारायणमा रहेको उल्लेख गर्नुभएको छ । उहाँले भूकम्पको इतिहास खोज्दै विसं १३१२ सम्मका भूकम्पको चर्चा गर्नुभएको छ । तर ब्रह्मशमशेरले (नेपालको महाभूकम्प, १९९० साल, जोरगणेश छापाखाना, १९९२) भने त्यसको दुई वर्षअघि १३१० (ने.सं. ३७४) मा आषाढशुक्ल तृतीया, पुनर्वसु नक्षत्र, ध्रुव योग, सोमबारका दिन गएको र देवालय र घर भत्की धेरै मानिस मरेको र त्यसमा राजा अभयमल्ल पनि भूकम्पले मरेको र पराकम्पन १५ दिनसम्म रहेको जनाउनु भएको छ ।
दुवै जनाले राजा अभयमल्ल पनि भूकम्पमा परी मरेको उल्लेख गरेबाट यो भूकम्प एउटै रहेको र मिति उल्लेखमा फरक परेको देखिन्छ, नेपाल संवतबाट विसं गणना (ब्रह्म शम्शेरले नेसं ३७४ र नेपालले नेसं ३७५ उल्लेख गरेको पाइन्छ) गर्दा यस्तो भएको जस्तो अनुमान हुन्छ । बार भने दुवैले लेखेको सोमबार नै छ । भक्तपुरका राजा अभय मल्लको समेत मृत्यु भएको यस भूकम्पबाट एकतिहाइ जनता पनि मरेको जानकारी पाइन्छ । यसबाट जनताका सामान्य घर र दरबारसमेत भत्केको यो भूकम्प पनि सानो थिएन भन्ने थाहा हुन्छ । ब्रह्मशमशेरका अनुसार विसं १३१६ (नेसं ३८०) मा राजा जयदेवको पालामा पनि ठूलो भूकम्प गई दुर्भिक्ष भएको र प्रजाको विध्वंश धेरै भएको थियो । त्यस्तै, विसं १४०१ (नेसं ४६४) असोजमा गएको भूकम्पमा राजा जियारी मल्लदेवको मृत्यु भएको थियो । यसबाट पनि अरू सामान्य मानिसको पनि मृत्यु भएको अनुमान गरिएको छ ।
त्यसैगरी विसं १८६६ (नेसं ९३०) मा पनि दशहराको तृतीयाको मध्य प्रहरमा (असोज ?) २१ पटक भूकम्प गएको र धेरै जनधनको क्षति भएको ब्रह्मशमशेरले लेख्नुभएको छ । त्यस्तै, विसं १८८० मा १७ पटक भूकम्प गए पनि जनधनको क्षति कम रहेको उल्लेख छ ।
विसं १८६८ फागुन ३ गते बुधबार औँसीका दिन बिहान कर्णाली क्षेत्रतिर ठूलो भूकम्प गएको र धेरै जनधनको क्षति भएको पनि विवरण देखिन्छ । जुम्ला क्षेत्रको पूरा विवरण नआउँदा पनि ९३५ घर भत्केको र १४० जना मरेको जनाइएको पाइन्छ ।
विसं १८९० को भूकम्पको एक वर्षपछि विसं १८९१ असार र असोजमा पनि ठूलो भूकम्प गएको र त्यसबेला १८९० को भूकम्पको पुनर्निर्माण हुँदै गरेको ब्रह्मशमशेरले उल्लेख गर्नुभएको छ । यी भूकम्पपछिको विवरण पाइने भनेको चाहिँ विसं १९९० को नै हो । विसं १९९० मा गएको महाभूकम्प (८.१ म्याग्निच्युड) को अनुभव सुनाउने पुस्ता अब थोरै मात्र छ । त्यो पुस्ताले सुनाएअनुसार विसं १९९० माघ २ गते सोमबारे औंसीका दिन महाभूकम्प गएको हो । त्यसका अभिलेखहरू पनि छन् ।
विक्रमको २१औँ शताब्दीको हाम्रो पुस्ताका धेरैजसोले भने अहिलेका भूकम्पको प्रत्यक्ष अनुभव गरेका छौँ । २०३७ साउन १४ गते बझाङ (६.५ म्याग्निच्युड), २०४५ भदौ ५ गते उदयपुर (६.६ म्याग्निच्युड) र २०६८ असोज १ गते भारतको सिक्किम (६.९ म्याग्निच्युड) लाई केन्द्रबिन्दु बनाएर गएका भूकम्पले निकै क्षति गरेको हाम्रो अनुभव छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पको धक्का र त्यसको असरको क्षतिपूरण अझै भएको छैन ।
भूगर्भविद् र भूकम्पविद्हरू नेपाल भूकम्पको जोखिम क्षेत्रमा रहेको चेतावनी दिइरहन्छन् । विगतका भूकम्प, भूकम्पको पुनरावृत्ति, भूकम्पको केन्द्र र असरका आधारमा नेपाल र काठमाडौँ उपत्यका उच्च भूकम्पीय जोखिम क्षेत्रमा परेको देखिन्छ । अझै पनि विज्ञहरूले नेपालमा ठूलो भूकम्प आउने सम्भावना व्यक्त गर्छन् तर कहिले आउने हो भन्ने थाहा हुन्न । आएको पनि क्षति गरेर गइसक्दा मात्र थाहा हुन्छ – ए भुइँचालो त आएर गइसकेछ ।
मानक धरहरा
नेपालमा ठडिएको र भूकम्पबाट भाँचिँदै फेरि ठाडिँदै गरेको धरहरा एक किसिमले भूकम्पको मानक बनेको छ । विसं १८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झना स्वरूप धरहरा बनाउन लगाएका थिए । उनले आफ्नो बागको महलको दायाँ बायाँ दुई वटा बडाबडा धरहरा बनाएका थिए । भीमसेन थापा बनारस पुगेका थिए । त्यो समयमा बनारसमा दुई वटा धरहरा थिए । सम्भवतः त्यही धरहरा देखेर उनले नेपालमा धरहरा बनाउन लगाएका थिए ।
बनाएको आठ वर्षमा नै एउटा विसं १८९० को भूकम्पले पाताल भयो, अर्कोको टुप्पो भाँचिएर खस्यो । त्यो टुप्पो भाँचिएको धरहराको पुनर्निर्माण गरियो, अर्को पूरै ध्वस्त भएको पुनः ठड्याइएन । पुनर्निर्माण गरिएको धरहरा ११ तलाकै बन्यो । विसं १९९० को भूकम्पले दुई तलासम्म मात्र बाँकी रहेकोमा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले दुई वर्षमा नौ तलाको धरहरा ठड्याउन लगाए ।
विसं २०७२ को महाभूकम्पले त्यो पनि पूर्णतः ढाल्यो । अहिले सोही धरहराको भग्नावशेषको छेउमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आधुनिक प्रविधि र आधुनिक निर्माण सामग्री प्रयोग गरी नयाँ धरहराको निर्माण गरेको छ । वस्तुतः यो पुनर्निर्माण नभई नवनिर्माण गरिएको र पुरानै नाम दिइएको दृश्यावलोकन गर्ने ‘टावर’ हो । नवनिर्माण गरिएको संरचना बाहिरबाट हेर्दा ११ तलाको देखिन्छ । तर भित्र जमिनमुनि दुई तलाको भूमिगत संरचना र जमिनमाथि भुइँतलासहित २३ तला र समग्रमा २५ तलाको हुने प्राधिकरणले जनाएको छ ।