logo
२०८१ श्रावण १ मंगलवार



‘गोर्खा पत्रिकाहरू’को पदचाप

फिचर |
खुला |


‘गोर्खा पत्रिकाहरू’को पदचाप


केदार वाशिष्ठ

ठ्याक्कै तिथिमिति याद भएन, क्षमा माग्दै केही पृष्ठभूमि बताउनैपर्ने भयो । पक्कै पनि त्यसले नेपाली पत्रकारिताको विकासमा एउटा कालखण्डको परिवेशलाई समेट्छ नै । मैले गोरखापत्र दैनिकमा काम सुरु गरेको थिइनँ, हिमालय टाइम्स दैनिकमा आबद्ध थिएँँ । भक्तपुर र काठमाडौँको यात्रा दैनिक गर्नुपथ्र्यो । निजी सवारी साधन चलाउने हैसियत थिएन । विराटनगरबाट काठमाडौँ आउँदा बस चढाएर ल्याएको साइकल ‘हिरो’ नै भए पनि त्यसले मेरो यात्रा पार लगाएन । त्यसलाई त्यसै थन्क्याएर बसमा नै यात्रा गर्न थालेको थिएँ ।
२०४६ को राजनीतिक परिवर्तनपछिको खुलापनको मौका छोपेर धेरै घराना सञ्चार व्यवसायमा आएका थिए । कान्तिपुर दैनिक पनि एक थियो । कान्तिपुरको कार्यालय हालको तीनकुने र शान्तिनगरबीचको उत्तरतिर बागमती किनारको एउटा घरमा थियो, पुल–सडकबाट मजाले देखिने । म बसमा यात्रारत थिएँ, बस बागमती पुलमाथि गुड्दै थियो । यात्रारत एकजना वृद्धले आफूसाथ रहेको बच्चालाई सम्झाउँदै भने ‘ऊ हेर त बाबु ! कान्तिपुरको गोरखापत्र छाप्ने ठाउँ त्यहीँ हो ।’
कान्तिपुर चिनाउन गोरखापत्रको ब्रान्डको प्रयोग मलाई अचम्मको लाग्यो । फेरि लाग्यो, सायद विज्ञापनको आधुनिक सिद्धान्तको जग यस्तै हो । नेपाली पत्रकारिताको धरोहर गोरखापत्रप्रतिको मेरो ममता र सम्मानले भने धरहरा चढ्यो । अहिले गोरखापत्रमा कार्यरत रहेको २३ वर्षको दौरानमा यी हरफ लेख्दैगर्दा मैले अरू गौरव अनुभूति गरिरहेको छु र नेपालको पत्रकारिताको इतिहासका हिरो ‘गोर्खा पत्रिकाहरू’को कथा हाल्दैछु ।
नेपालको राजनीतिक इतिहासमा गोर्खाका राजा पृथ्वीनारायण शाहले विसं १८२५–२६ मा काठमाडौँ उपत्यका जिती राजधानीसमेत काठमाडौँ खाल्डोमा सारे । तर गोर्खाको डाँडोबाट राजधानीलाई काठमाडौँको खाल्डोमा सार्दा पनि विभिन्न पक्षबाट गोर्खाको नै पक्षपोषण गरेको आरोप उनीमाथि लाग्ने गरेको छ ।
एउटा आरोप भाषिक थियो, जसलाई ‘पछि मात्र नेपाली भन्न थालिएको गोर्खा भाषा लादेको’ भन्ने थियो । यसो भन्नेले सन् १७१७ मा नै नेपाल खाल्डोमा चलनचल्तीमा रहेका भाषामध्ये एउटाको नाम नेपाली नै रहेको थियो र त्यो युरोपसम्म पुगेको थियो (केदार वाशिष्ठ, नेपाल विद्या, २०७७ पृष्ठ ३८२) भन्ने बुझेका वा बुझ्न चाहेका नै थिएनन् । यो पृथ्वीनारायण शाहले काठमाडौं जित्नु धेरैअघि मल्लकालको कुरा थियो ।
देशभित्र (र अझ देशबाहिर बढी) ‘गोर्खा’ शब्दको व्यापक प्रयोग भएको चाहिँ सत्य हो र त्यो पत्रपत्रिकाको नामकरणमा पनि झल्किन्छ । यसै मेसोमा यस आलेखमा नेपालभित्र र नेपालबाहिरबाट निस्केका पत्रिकाहरूमा ‘गोर्खा’को खोजी गरिएको छ । र त्यसको प्रयोग आमप्रचलनको थियो कि राज्य संयन्त्रबाटै नियोजित रूपमा भएको थियो र नेपाली भाषा कस्तो थियो भन्ने पनि लेखाजोखा गरिएको छ ।
पृथ्वीनारायणलाई मात्र होइन नेपाली कि गोर्खा भाषा ? भन्ने विवादमा जङ्गबहादुरलाई पनि घिसार्ने गरिएको पाइन्छ तर उनको पालामा गोर्खा भाषा वा नेपाली भाषा नभनी पाष्या बोली वा पर्वते भाषाको प्रचलन रहेको देखिन्छ । उनले सन् १८५४ मा मुलुकी ऐनमा सनद जारी गर्दै खस नलेख्न र त्यसको सट्टा क्षेत्री लेख्न आदेश जारी गरेका थिए । तर यो थर लेख्ने प्रसङ्गको मात्र सनद थियो । त्यसको गलत व्याख्या गर्दै भाषाको सन्दर्भमा पनि हेरी क्षेत्री वा गोर्खा लेख्न भनेको समेत उल्लेख गर्ने गरिएको पाइन्छ । तर उक्त सनद जारी भएको एक वर्षपछिको जङ्गबहादुरको एक पत्रमा उनले गोर्खा वा गोर्खाली वा नेपाली भाषाका नमुना भनी नभनी पाष्या (पाखे) बोली भनेका छन् । भाषिक सन्दर्भमा पृथ्वी जस्तै जङ्गमा पनि गोर्खा लगाव देखिँदैन । बरु उमेर हदका कारण नेपालका लागि बेलायतका रेजिडेन्ट ब्रायन हड्सन बेलायती सेवाबाट अवकास पाउन लागेको र नेपालबाट पनि जान लागेको थाहा पाएपछि राजा राजेन्द्रले चाहिँ केही समय नेपालमै रहन दिन आग्रहसहित बेलायतका गभर्नर इलेन्बर्गलाई सन् १८४३ जुलाईमा लेखेको पत्रमा भने हड्सनको थमौतीको माग गर्दै “हड्सनमा मेरा अधिराज्यको रीतिरिवाज र निकायहरूको र पर्वतीय भाषाको पूर्ण ज्ञान रहेको” उल्लेख गरेका थिए (केदार वाशिष्ठ, उही पृ. ३७०) । यसबाट त्यसबेला नेपाली वा गोर्खाली वा खस भाषा नभनी राज्यको स्तरमा पाखे र पर्वते भन्ने प्रचलनमा रहेको राजा र प्रधानमन्त्रीका पत्राचारले देखाउँछ ।
नेपालमा भाषाको विकासमा जङ्गबहादुरको योगदान अप्रत्यक्ष देखिन्छ । विसं १९०६ (सन् १८५०–५१) मा युरोप यात्रा गरेका जङ्गबहादुरले नेपाल फर्कंदा एउटा हाते प्रेस पनि ल्याएका थिए । गिद्धको टाउको जस्तो देखिने भएकाले त्यसैलाई गिद्धे प्रेस भनियो । त्यसको भग्नावशेष अहिले छाउनीस्थित सङ्ग्रहालयमा छ । जङ्गबहादुरले उक्त प्रेस विसं १९०८ मा आप्mनो निवास थापाथलीमा स्थापना गरेको र त्यसको नाम चाहिँ टाइप छापाखाना राखिएको थियो भन्ने पाइन्छ ।
जङ्गबहादुरले बेलायत र फ्रान्सको यात्राको क्रममा त्यहाँका समाचारपत्रहरू देखेर त्यस्तै पत्रिका छाप्ने मनसुवाले उक्त प्रेस ल्याएको यदाकदा सुन्नमा आउँछ तर उनले त्यसको प्रयोग अखबार छाप्न गरेको प्रमाण भेटिँदैन । त्यति मात्र होइन, जङ्गबहादुरको बेलायत यात्राको वर्णन पनि त्यो प्रेसमा छापिएन । अज्ञात लेखकले लेखेको ‘जङ्गबहादुरको बेलायत यात्रा’ विसं २०१४ मा मात्र मदन पुरस्कार पुस्तकालयबाट प्रकाशित छ ।
बरु गिद्धे प्रेसको प्रयोजन धार्मिक प्रयोजन र सरकारी सूचना छाप्न प्रयोग हुन्थ्यो भन्नेसम्म उल्लेख भएको र गिद्धे प्रेस ल्याएपछि नेपालमा निजी क्षेत्रबाट अरू प्रेस ल्याइएको र तिनमा चाहिँ पत्रिका छापिएको मानिन्छ (उत्तम कुँवर, रूपरेखा २०३२, अनुभव र अनुभूतिहरू २०३९) । त्यस्तो निजी छापाखानाबाट नेपालमा पहिलो पत्रिका ‘सुधासागर’ प्रकाशन भएको मानिन्छ । विसं १९५० सम्म त्यस्ता निजी प्रेस दुई/तीन वटा आइसकेको उल्लेख पाइन्छ ।
गिद्धे प्रेस ल्याइएको करिब ५० वर्षसम्म पत्रपत्रिका प्रकाशन भएन, विसं १९५५ मा मात्र ‘सुधासागर’ मासिक पत्रिका प्रकाशनमा आएको हो । तथापि त्यसको प्रमाणस्वरूप पत्रिका नै त फेला परेको छैन तर विसं १९५५ मा साउनमा पण्डित मोतीकृष्ण शर्माको सम्पादनमा ‘सुधासागर’ नामक मासिक पत्रिका प्रकाशन भएको उल्लेख धेरैले गर्ने गरेको पाइन्छ ।
पण्डित नरदेव मोतीकृष्ण शर्माको आज्ञा अनुसार पण्डित कपिलदेव शर्माबाट काठमाडौँको ठँहिटीबाट उक्त पत्रिका प्रकाशन गरेको विज्ञापन विसं १९५६ मा प्रकाशित ‘नलोपाख्यान’ भन्ने पुस्तकको आवरणमा प्रकाशित भएको उल्लेख ग्रीष्मबहादुर देवकोटाले गर्नुभएको छ (नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास, विसं २०२४, साझा प्रकाशन, पृष्ठ २८) ।
यो त भयो नेपालमा पत्रिकाको उदयको कुरा । अब लागौँ विभिन्न पत्रिकाका नाममा प्रयोग भएको गोर्खा शब्दको खोजीमा । नेपाली भाषाको पहिलो पत्रिका नाम ‘सुधासागर’मा ‘गोर्खा’को प्रभाव देखिँदैन । तर त्यसअघि नै भारतको वनारसबाट चाहिँ ‘गोर्खा भारत जीवन’ नामको पत्रिका प्रकाशन भइसकेको पाइन्छ । यद्यपि त्यस पत्रिकाको प्रकाशन वर्षबारे मतान्तर पाइन्छ । कसैले यसको प्रकाशन विसं १९४२ (अलख मधुप, २०२३ साउन २० को गोरखापत्र) त कसैले १९४३ (प्रेस कमिसनको रिपोर्ट, २०१५) मानेका छन् ।
मिति उल्लेख भएको पत्रिका फेला नपरेकाले दुविधा देखिएकोमा यसको प्रकाशन विसं १९५२ अगाडि नै भएको मानिएको छ (देवकोटा, उही पृष्ठ ४२) । उक्त पत्रिका मोतीराम भट्टको प्रेरणामा बाबु रामकृष्ण वर्माको सम्पादकत्वमा निस्केकोमा भने फरक मत पाइँदैन । मिति जहिले भए पनि नेपाली भाषाको पहिलो पत्रिका देशबाहिरबाट निस्केको र त्यसको नाम ‘गोर्खा’बाट रहेको तथ्य भने यसले स्थापना गर्दछ ।
बनारसको ‘गोर्खा भारत जीवन’पछि नेपाली भाषामा र नेपालबाटै निस्किएको पत्रिका ‘गोर्खापत्र’ (गोरखापत्र) हो । यो विसं १९५८ वैशाख २४ गतेदेखि हाल १२० वर्षमा निरन्तर प्रकाशनमा रहेको छ । अघिल्ला दुई पत्रिका निजी पहलमा प्रकाशित भएकोमा यो पत्रिका चाहिँ राज्यको पहल र लगानीमा प्रकाशित भएको हो ।
उदार राणा प्रधानमन्त्री देव शमशेरले छोटो कार्यकालमा गरेका सुधारका काममा ‘गोर्खापत्र’को प्रकाशन पनि पर्न आउँछ । ‘गोर्खापत्र’ प्रकाशनबारे उनले दिएको सनदमा छाप्न हुने र नहुने सूची भनी प्रकाशन भएको सामग्रीमा आफू र सरकारको प्रशस्तिभन्दा आलोचना चाहेको देखिन्छ (गोर्खापत्रको पहिलो अङ्क, १९५८ वैशाख २४) ।
नेपालबाट सरकारी पहल र स्वामित्वमा ‘गोर्खापत्र’ प्रकाशन सुरु भएको चार÷पाँच महिनाअघि नै सन् १९०१ जनवरी (विसं १९५७ पुस) देखि नै ‘गोर्खे खबर् कागत्’ नामको मासिक पत्रिका प्रकाशनमा आइसकेको थियो । पादरी गङ्गाप्रसाद प्रधानको सम्पादकत्वमा प्रकाशित उक्त पत्रिका प्रधानले स्कटिस मिसन ओर्फेज प्रेस किनेर त्यसैलाई ‘द गोर्खा प्रेस’ नामकरण गरेका थिए । मूलतः इसाई धर्मको प्रचारका लागि निकालिएको उक्त पत्रिका नेपाली भाषाको जनबोलीलाई प्राथमिकता दिँदै सन् १९३२ सम्म प्रकाशनमा आयो । यसका सम्पादकले संस्कृत निकट वनारसको र नेपालको गोर्खापत्रको भाषालाई ‘काशीभाषे बोली’ भनेर आलोचना गर्दथे ।
‘गोर्खापत्र’को नामकरण र भाषाका तथ्यले ‘गोर्खा’ भाषाबाट नेपाली भाषाको नामकरण गरिएको भन्ने भाष्यको खण्डन गर्दछन् । यस सन्दर्भमा नेपालका र दार्जेलिङका दुई विद्वान् क्रमशः बाबुराम आचार्य र पारसमणि प्रधानका भनाइ महत्वका छन् ।
‘गोर्खे खबर कागत्’ र ‘गोर्खापत्र’को प्रकाशन करिब एकै समयमा भयो तर भारत र नेपालबाट । इतिहास अनुसार नेपालमा गोर्खालीको विजय र गोर्खालीले इन्डिया (भारत) मा राज चलाइरहेको ‘ब्रिटिस राज’ (बेलायत) का सेनालाई पनि आच्छुआच्छु पारेर ‘गोर्खा’को चर्चा चुलिँदै थियो ।
यस्तैमा विसं १८७२ मा सुगौली सन्धि भएर नेपालमा बेलायतको रेजिडेन्सी स्थापना भयो, इन्डिया र ब्रिटिस आर्मीमा गोर्खा सैन्य भर्ती लिन थालियो । ती सेनाका लागि सम्पर्क भाषा आवश्यक थियो र त्यसको पूर्तिका लागि प्रयोग गरिएको भाषालाई ‘गोर्खा भाषा’ भनियो ।
यता देव शमशेर नेपालमा मातृभाषामा शिक्षा दिने सोचसहित त्यसका लागि नामको खोजीमा थिए । उनका निजी सचिव पण्डित हरिहर आचार्य दीक्षित धेरै वर्ष बनारसमा रहेका र अङ्ग्रेजहरूको ‘गुर्खा’ वा ‘गोर्खा’को नामकरणबाट प्रभावित व्यक्ति थिए । यसै मेसोमा उनले नेपालमा शिक्षा दिने र प्रचार प्रसारको भाषा ‘गोर्खा भाषा’ हुनुपर्छ भन्ने राय दिएको देखिन्छ (बाबुराम आचार्य, गोरखापत्रको उत्थान, गोरखापत्रको इतिहास (सं. शिव रेग्मी र अरू) पृष्ठ ६२) ।
सोही समयमा नेपालमा शिक्षा दिने र प्रचार प्रसारको भाषाको नाम नेपाली नै हुनुपर्छ भन्ने पनि अभियान छेडिएको र त्यसको नेतृत्व चन्द्रसमशेरका ज्वाइँ बझाङी राजा जयपृथ्वीबहादुर सिंहले गरेको पाइन्छ । उनले गोर्खा भाषा नाम नेपाली भाषाको उद्गम स्थल दुल्लु, दैलेख र अछाम, बझाङ र डोटीका जनताले मन नपराउने भएकाले ‘नेपाली’ नै नाम रहनुपर्ने सुझावसहित आफूले तयार पारेको पाठ्यक्रम अक्षराङ्क शिक्षा देव शमशेरलाई देखाए (आचार्य, उही) ।
यसबाट बनारसका नेपाली र नेपाली भाषाको बनारसी विचारधाराबाट प्रभावितहरू ‘गोर्खा भाषा’तिर लहसिएका देखिन्छन् । यसैको फलस्वरूप त्यहाँबाट पछि निस्केका पत्रिकाहरूको नाममा ‘गोर्खा’ राख्ने लहर चलेको अनुमानले मूर्तरूप लिन्छ ।
पहिलो उदाहरण विसं १९७२ मा माधवप्रसाद रेग्मीले ‘हिमालय प्रेस’ खोली सूर्यविक्रम ज्ञवालीको सम्पादकत्वमा निस्किएको ‘गोर्खाली’ साप्ताहिकलाई लिन सकिन्छ । पछि यसका सम्पादक र प्रकाशक फेरिएका छन् । यो पत्रिका माधवप्रसाद रेग्मीद्वारा बनारस पञ्चगङ्गाको हिमालय प्रेसमा मुद्रित भई सूर्यविक्रम ज्ञवालीद्वारा विसं १९७२ असोज ११ गतेदेखि ४८ सङ्ख्या अर्थात् २ वर्ष ३ सम्म, त्यसपछि विसं १९७३ फागुनदेखि एलपी शर्माको प्रकाशनमा २ वर्ष ७ सङ्ख्यासम्म र तेस्रोपटक द नेपाली टे«डिङ एन्ड पब्लिसिङ कम्पनीका निमित्त मणिसिंह गुरुङ बीएद्वारा विसं १९७६ मा प्रकाशन भई १ वर्ष १२ सङ्ख्यासम्म मात्र निस्किई बन्द भएको पाइन्छ ।
यस पत्रिका निस्कँदै, आर्थिक सङ्कट झेल्दै र बन्द हुँदै गरेको तर सम्पादक प्रकाशक फरक रहेको (देवकोटा, उही पृष्ठ ४५–४६) र नेपालका राणा प्रधानमन्त्री चन्द्र शमशेरको षड्यन्त्रका कारण पनि बन्द भएको (महेशराज पन्त, किन बन्द भयो गोर्खाली, अन्नपूर्ण पोस्ट, २०७४ जेठ १३) दुवैखाले अड्कल पाइन्छ । चन्द्र शमशेरले ब्रिटिस इन्डिया सरकारलाई गुहारी उक्त पत्रिका नेपाल भित्रिनबाट रोकेको पत्र महेशराज पन्तले छपाएको प्रमाण पनि छ (पन्त, उही) ।
धेरै विद्वान्ले ‘गोर्खाली’ बन्द हुनुको कारण आर्थिक जनाएकोमा शरच्चन्द्र शर्मा भट्टराईले चाहिँ राजनीतिक कारण देखाएको पन्तको भनाइ छ । शरच्चन्द्रलाई उद्धृत गर्दै पन्तको भनाइ छ, “नेपालमा बागियानका रूपमा चिनिएका कृष्णप्रसाद कोइराला, देवीप्रसाद सापकोटाहरूको सुझबुझ र प्रयत्नबाट खोलिएको ‘कृष्णमाधव कम्पनी’ एवं ‘गोर्खाली अफिस’को सहयोगी छापाखाना हो ‘हिमालयन प्रेस’ । यसको स्थापना १९७१ सालतिर भएको थियो । १९७४ सालमा यसका हिस्सेदार एवं प्रिन्टर बाबु माधवप्रसाद रेग्मीले सो प्रेसबाट आफ्नू शियर हटाई प्रेस छोड्न खोज्दा सो प्रेस मात्रै होइन, त्यसैमा १९७२ सालदेखि छापिँदै आएको ‘गोर्खाली’ साप्ताहिक पनि बन्द गर्नुपर्ने स्थिति आयो । राणाशासनका निम्ति ‘आँखाको कसिङ्गर’ बन्दै आएको ‘गोर्खाली’ साप्ताहिक बन्द गराउने कुटिल षडयन्त्र अनुसार नै पूmटको यो आयोजना भएको थियो” (पन्त, उही) ।
बनारसबाट पत्रिका निस्कनु र बन्द हुनुको कारण जे भए पनि यसको उद्देश्य नेपालमा राजनीतिक सचेतना र भाषिक उन्नयन देखिन्छ । तर भाषिक उन्नयन गर्दा यसले पनि बेलायती प्रभावको ‘गुर्खा’ वा ‘गोर्खा’कै पक्षपोषण गरेको देखिन्छ (देवकोटा, उही पृष्ठ ४५–४६) । तर दार्जेलिङतिर भने नेपालको भाषाको नाम ‘गोर्खा’बाट नभई ‘नेपाल’बाटै रहनेबारे बहस भएको पाइन्छ ।
यसको विवरण बाबुराम आचार्यले दिनुभएको छ, “जुन समय वाराणसीका पुस्तक विक्रेताहरूले भाषाको नाम ‘गोर्खा’ गराएका थिए । उसै समयमा दार्जेलिङमा रहेका एक पादरीले लेखेको छापा पुस्तकमा नेपालका नागरिकहरूको भाषालाई ‘नेपाली’ भन्ने नाम दिएका थिए । त्यो अङ्ग्रेजले लेखेको छापा पुस्तक बझाङ्गे राजा जयपृथ्वीबहादुर सिंहले महाराजा देव शमशेरका समक्ष अगि सारेको हुनाले त्यसको समर्थन भयो र शिक्षा दिने भाषाको नाम नेपाली रह्यो” (आचार्य, उही) । यसरी नेपाली भाषा काशी, दार्जेलिङ र काठमाडौँको भाषा नीतिमा रुमल्लिएको स्पष्ट हुन्छ ।
प्रयोजनपरक नेपाली भाषाको भिन्नता भने काठमाडौँबाट प्रकाशन हुने ‘गोर्खापत्र’ र दार्जेलिङबाट प्रकाशन हुने ‘गोर्खे खबर् कागत्’मा स्पष्ट देखिने पारसमणि प्रधानले उल्लेख गर्नुभएको छ । उहाँका अनुसार ‘गोर्खे खबर् कागत्’ छपाइ हुने गोर्खा प्रेसमा पुगेको ‘गोर्खापत्र’को भाषा र ‘गोर्खे खबर् कागत्’को भाषा फरक थियो । अनि बालक पारसमणिलाई चाहिँ किन यस्तो फरक भन्ने कौतुहल हुन्थ्यो रे । उहाँ आफैँले अजा (गङ्गाप्रसाद प्रधान)लाई सोध्दा “नेपालको गोरखापत्रको भाषा बाहुन क्षेत्रीको भाषा हो । ‘गोर्खे खबर् कागत्’मा भएको भाषा हाम्रो भाषा हो” भनी जवाफ पाउँदा बडो आश्चर्य हुन्थ्यो भन्ने लेख्नुभएको पाइन्छ (पारसमणि प्रधान, आजको गोरखापत्र, गोरखापत्रको इतिहास, (सं. शिव रेग्मी र अरू) २०६७, पृष्ठ ५८) ।
पारसमणिले पछि बनारसबाट प्रकाशित ‘गोर्खाली’को सिद्धान्त गोरखापत्रले अपनाएको र ‘गोर्खाली’का सम्पादक आफैँ भने ‘गोर्खा’ र ‘गोर्खे खबर् कागत्’का विरोधी रहेको उल्लेख गर्नुभएको छ । पारसमणिका अनुसार ‘गोर्खाली’को भाषिक सिद्धान्तमा ‘माधवी’को जस्तो हलन्त बहिष्कार र ‘सुन्दरी’को जस्तो हलन्तको भरमार प्रयोगको विरोध रहेको थियो (प्रधान, उही) ।
‘गोर्खापत्र’, ‘गोर्खे खबर् कागत्’ र ‘गोर्खाली’ मात्र होइन गोर्खा नामधारी अरु पनि धेरै पत्रिका प्रकाशनमा आएका छन् र तिनले भाषाको नामको प्रतिनिधित्व पनि गर्छन् । ‘गोर्खा पत्रिकाहरू’ भएर पनि नेपाली भाषा साहित्यको उन्नयनमा तिनको आआफ्नै विशेषता र महत्व छ । त्यस्ता पत्रिकामा सन् १९४४ मा कालिम्पोङबाट अखिल भारतीय गोर्खा लिगको मुखपत्र ‘गोर्खा’, सन् १९४५ मा दार्जेलिङबाट रणधीर सुब्बाको सम्पादनमा ‘गोर्खा पाक्षिक’, विसं १९८३ मा देहरादुनबाट ठाकुर चन्दनसिंह सम्पादनमा ‘गोर्खा संसार’, विसं १९८५ मा नवीन गोर्खामण्डलको मुखपत्र ‘तरुण गोर्खा’, विसं १९९२ मा सिलाङ्बाट मणिसिंह गुरुङको सम्पादनमा ‘गोर्खा सेवक’, विसं २०१३ मा सिलाङ्बाटै भोलानाथ गुरुङको सम्पादनमा ‘आसाम गोर्खा’ र विसं २००० मा दिल्लीबाट नेपाली रोमन लिपिमा आर्मी हेडक्वार्टरले ‘गोर्खा समाचार’ प्रकाशन गरेको पाइन्छ ।
यसो भनिरहँदा गोर्खा नाम नभएका पत्रिका ननिस्केका र तिनले नेपाली भाषा साहित्यको उत्थानमा कामै गरेनन् भन्ने पनि होइन । यसै अवधिमा गोर्खा नजोडिएका थुप्रै पत्रिका नेपालभित्र र बाहिरबाट प्रकाशनमा रहेका छन् ।
नेपालमा राणाशासन र पञ्चायती व्यवस्था दुवैमा त्यस्ता धेरै पत्रपत्रिकाले फस्टाउने अवसर पाएनन् । २०४६ को जनआन्दोलनबाट प्रजातन्त्रको पुनःस्थापना भएपछि भने पत्रपत्रिका र सञ्चारजगतको राम्रो विकास भएको छ । यसबीचमा निजी क्षेत्रबाट आएका पत्रपत्रिकाले स्वतन्त्र प्रेसको मान्यतालाई उचाइतर्फ लैजाँदै त छन् तर यस अवस्थामा पनि नेपालको मात्र नभई दक्षिण एसियामै सबैभन्दा पुरानो पत्रिका र आफैँमा नेपाली पत्रकारिताको विश्वविद्यालय गोरखापत्रले अझै पनि प्रेसका महत्वपूर्ण मूल्य मान्यता सिकाउँदैछ ।
त्यसको ज्वलन्त र महत्वपूर्ण पछिल्लो उदाहरणका रूपमा २०७२ माघ २६ मा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन भएको घटनामा ‘स्टप दी प्रेस’ अर्थात् छापाखाना रोकेर उक्त समाचार दिएको स्मरण गर्नु उपयुक्त हुन्छ । यो समाचार गोरखापत्रबाहेक कुनै पत्रिकाले दिएनन् । उक्त दिन गोरखापत्र पनि दुईपटक छापिएको थियो । पहिले छापिएको रद्द गरेर दोस्रो चाहिँ बजारमा पठाइएको थियो । नेपाली पत्रकारितामा ‘स्टप दी प्रेस’को यो अभ्यास गोरखापत्रको पथ प्रदर्शनको अर्को एक उदाहरण रहेको छ ।

 

छापिएर पनि बजारमा नगएको गोरखापत्र ।

यस्ता धेरै आधारमा अन्य नेपाली पत्रपत्रिकाले गोर्खापत्रको पदचापलाई पछ्याइरहेका छन् । नेपालमा पत्रकारिताको जग हाल्न र विश्वविद्यालयको महल बनाउन धेरै ‘गोर्खा पत्रिकाहरू’को योगदान अमर छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?