नेपाली भाषाको विकास संस्कृतबाट प्राकृत हुँदै भएकाले नेपाली भाषामा संस्कृत मूलका तत्सम शब्दहरू धेरै रहेका छन् । तथापि नेपाली भाषा संस्कृतबाट रूप परिवर्तन भएर आएका, झर्रा तथा संस्कृतइतर भाषाबाट प्रयोगमा ल्याइएका भाषाका शब्दहरूबाट नेपाली भाषा अरू समृद्ध छ ।
भाषा मानवीय आवश्यकताको परिवर्तनशील वस्तु हो । त्यसैले भाषालाई जीवन्त पनि बनाउँछ । त्यस्तो जीवनको इतिहास खोज्दै जाँदा शब्दका उद्गम भाषासम्म पुग्नुपर्ने हुन्छ । त्यसका लागि प्रयोग हुने विभिन्न साधनमध्ये शब्दकोश एउटा हो ।
नेपाली भाषाको शब्दकोश परम्परामा बेलायती कोशकार राल्फ लिले टर्नरको योगदान अविस्मरणीय रहेको छ । नेपाली भाषाको तुलनात्मक तथा व्युत्पत्तिमूलक शब्दकोश (सन् १९३१) नेपाली भाषाको पहिलो शब्दकोश हो । राल्फ लिली टर्नरको उक्त शब्दकोश नेपाली शब्दकोश परम्पराको महìवपूर्ण ग्रन्थ र कोशवैज्ञानिक दृष्टिले समेत उच्च कोश मानिन्छ । यसमा नेपाली भाषामा प्रयुक्त शब्दहरूको स्रोतगत व्युत्पादन देखाइएको छ । त्यसपछिका शब्दकोश परम्पराले पनि संस्कृतबाट आएका तत्सम, संस्कृतबाट रूप परिवर्तन हुँदै आएका तद्भव र संस्कृतइतर भाषाबाट आएकालाई आगन्तुक मानेर शब्दको स्रोत केलाएका छन् ।
संस्कृत भाषाका कोश परम्परा पनि नेपाली भाषाको सन्दर्भमा महìवपूर्ण छन् । तिनमा संस्कृत शब्दको नेपाली भाषामा व्युत्पत्तिमूलक अर्थ प्रदान गर्ने केही कोश छन् तर ती पर्याप्त भने छैनन् । त्यसैले नेपाली भाषामा प्रयोगमा आउने संस्कृत शब्दको व्युत्पत्तिगत अर्थ हेर्न संस्कृत भाषाकै एकभाषी वा संस्कृत हिन्दी द्विभाषिक कोश हेर्नुपर्ने बाध्यतामा नेपाली भाषाका प्रयोक्ता छन् । यस्तै अभाव पूर्ति गर्न प्राध्यापक नीलमणि ढुङ्गानाले तयार पारेको ‘व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश’ प्रकाशनमा आएको छ ।
साझा प्रकाशनले प्रकाशन गरेको उक्त शब्दकोश साझाका हालसम्ममा प्रकाशनहरूमा नै बृहत्काय (१४२२ पृष्ठको) रहेको छ । कोशमा धातुका रूप र शब्द गरी ३५ हजार शब्द रहेको र अरू दुई हजार पारिभाषिक शब्द समेटिएका छन् ।
यो शब्दकोश आकारले ठूलो मात्र होइन, नेपाली शब्दकोश परम्परामा नयाँ किसिमको रहेको छ । व्युत्पत्तिमूलक कोश नाममा नै रहेकाले शब्दको उत्पत्तिको र पहिलो प्रयोगको परम्पराको खोजी त यसमा छँदैछ नै त्यसको नेपाली इतिहास र प्रयोग परम्परा पनि यसले खोजेको छ ।
कोशमा शब्दगत र अर्थगत व्युत्पत्ति रहेको छ । जति बढी सूचना प्राप्त गर्न र दिन सकियो त्यति नै ज्ञानको विस्तार हुने सन्दर्भमा त्यसलाई राजशेखरको काव्यमीमांशमा वर्णित बहुज्ञेताको अर्थगत आधारमा समेटिएको कोशकार ढुङ्गानाको विचार छ । नेपाली समाज र संस्कृतिका लागि आवश्यक जानकारी, भाषा साहित्य, नक्षत्र, खगोल, आशौच आदिबारे कोशमा विशेष व्युत्पत्तिगत अर्थ केलाइएको छ । तिनको प्रयोग सूक्तिका आधारमा देखाइएको छ । ती व्युत्पादनका आधार लौकिक संस्कृत र त्यसपछिका साहित्यका सन्दर्भमा केलाइएको छ । सांस्कृतिक पक्ष, तीर्थस्थल, देवस्थल, वेदवेदाङ्ग, उपनिषद्, रामायण, महाभारत, दर्शन, पुराण, काव्यशास्त्र, योगशास्त्र, आयुर्वेद, कला, नीतिशास्त्र, विभिन्न सम्प्रदाय र तिनका विशेषता, वाङ्मयका विविध शाखा र विकासक्रम आदिका आधारमा शब्दको अर्थ र व्युत्पादन कोशमा दिइएको छ ।
तथापि वैदिक संस्कृतसम्मको अर्थगत खोजी र नृवंशको अध्ययनको आधार भने अलि कमै भएको छनक पाइन्छ । त्यसको एउटा उदाहरण नेपालः शब्दको व्युत्पत्तिलाई लिन सकिन्छ । नेपाल शब्दको व्युत्पादन ने मुनिले पालेको भन्ने सन्दर्भ मात्र हुनु यसको उदाहरण हो । नीपातिथि ऋषि, नीपजन र नीपको अर्थ पानीढलो क्षेत्र र त्यसका वासिन्दा नीपजन र ती जनको बसोवासको क्षेत्रका आधारमा नेपालको व्युत्पादनलाई कोशले छुटाएको छ ।
यति हुँदाहुँदै पनि कोश विश्वकोशको छनक दिने रहेको छ । कोशकारले पनि यस कोशलाई विश्वकोशकै हाराहारीमा राख्ने गरी तयारी गरेको तर विविध कारणले सम्भव नभएको स्वीकार गर्नुभएको छ ।
हाम्रो अध्ययन, अनुसन्धानको क्षेत्र ज्यादै सीमित रहेका कारण हाम्रो भाषा, संस्कृति तथा हाम्रा पूर्वजको देनलाई आफूले बुझ्ने र अरूलाई बुझाउने उपयुक्त सामग्रीको अभाव भएको हुँदा प्रशस्त कलाकौशलको धनी भएर पनि हाम्रो ढुकुटीमा ताल्चा लागेको र सभ्यता र संस्कृतिका धनी भनेर विश्वमा चिनिने नेपालीको शिर निहुरिँदै गएको मत कोशकारको छ । यसै सन्दर्भमा भावी सन्ततिलाई विश्वसामु शिर ठड्याएर उभिन सक्ने, सचेत र प्रबुद्ध नागरिक बनाउन नयाँनयाँ रचना एवं कोशग्रन्थको निर्माण नगरी नहुने पनि कोशकारले जनाउनुभएको छ ।
संस्कृत शब्दको नेपाली अर्थ र सामान्य प्रयोग दिइएका अरू पनि शब्दकोशहरू पाइन्छन् । तथापि तिनमा व्युत्पत्तिगत आधार नकेलाइएको हुँदा नेपाली भाषामा प्रयोग हुने तत्सम शब्द र धातुको व्युत्पत्तिबारे कमै मात्र सामग्री पाइने अभावलाई यस नयाँ कोशले निकै हदसम्म पूर्ति गरेको छ । आफैँमा समस्यामा रहेको साझा प्रकाशनले प्रकाशनको गुरुतर अभिभारा लिएर प्रकाशन गरेको कोश सामान्य केही कमजोरी गौण हुने गरी अब्बल रहेको छ ।