logo
२०८० चैत्र १६ शुक्रवार

  ‘घर–घर जाऔँ, नेपाली काँग्रेस जिताऔं’ अभियान सम्पन्न  



स्थानीय आवश्यकता र विधानको संरचना अनुरुप तालमेल हुन्छ : प्रवक्ता महत

मुख्य समाचार |


स्थानीय आवश्यकता र विधानको संरचना अनुरुप तालमेल हुन्छ : प्रवक्ता महत
तस्बिरः केशब गुरुङ


काठमाडौं, चैत २९ गते । सत्तारुढ दल नेपाली काँग्रेसको वैशाख ३० गते हुने स्थानीय निर्वाचनका सन्दर्भमा सञ्चालन भएको ‘घर–घर जाऔँ, नेपाली काँग्रेस जिताऔं’ अभियान उत्साहका साथ सम्पन्न भएको छ ।

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको यसअघि फागुन ३ गतेको निर्णय बमोजिम सुरु भएको सो अभियानको अन्तिम दिन मंगलबार केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले सातै वटा प्रदेश, सात सय ५३ पालिका, ७७ जिल्ला एवम् यसअन्तर्गत छ हजार सात सय ४३ वडा र दशौं हजार टोल समिति निर्माण भएको जानकारी दिनुभयो ।

‘मतदाताको गुनासो, चासो र सरोकारका विषय सुन्यौं, साथीहरु घर–घरमा पुग्ने काम भयो । विगतमा गरेका कामहरु जनताको बीचमा सुस्पष्ट रुपमा राख्न सक्यौं । कतिपय भ्रमहरु चिर्न सफल भयौं, उहाँले भन्नुभयो, ‘विगतमा कोभिड–१९ महामारीमा पनि ओली सरकारको पालामा भएको घोटाला, रोजगारी गुम्ने र कोभिड व्यवस्थापन सुस्त भयो, त्यसलाई काँग्रेसको सरकारले ७५.७ प्रतिशत पूर्ण खोप र ६६.१ प्रतिशतले दोस्रो चरणको खोप प्राप्त गर्न सफल भयो ।

उहाँले यो अभियान सुरु गर्दो पार्टी एकता र सौहार्दताका साथ एकताबद्ध भएर अगाडि जाने, जिम्मेवारी दिनेलगायतका मुख्य आठ उद्देश्य राखिएको बताउनुभयो । प्रवक्ता महतका अनुसार विगतमा भ्रष्टाचार प्रकरणको विषयमा, कुन परिवेशमा काँग्रेस सरकारको पक्षमा उभिएको, अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाबारे भ्रम पैदा गरिएको थियो त्यो चिर्ने र पारित गर्ने काम गरिएको भन्ने कुरा जनताको बीचमा राख्ने काम भएको छ ।

उहाँको स्थानीय निर्वाचनका लागि केही प्राविधिक कठिनाई रहेको र यसमा उम्मेदवारीको विषय पनि छिट्टै टुङ्गो लाग्ने भनाइ छ । उहाँले गठबन्धनमा तालमेलको कुरा छ, राष्ट्रिय निर्वाचनमा सीमित सङ्ख्याको काँटछाँट गरेजस्तो होइन, यसको पनि चाँडै नै कसरी तालमेल गर्ने भन्ने कुरा थाहा पाउने बताउनुभयो ।

उहाँले निर्वाचनमा स्थानीय परिस्थिति, आवश्यकता र विधानको संरचना अनुरुप तालमेल हुने बताउनुभयो । यससँगै उहाँले ‘घर–घर जाऔं, नेपाली काँग्रेस जिताऔं’ अभियानमा सहयोग गर्नुहुने पार्टी पंक्ति, शुभेच्छुक संस्था, सञ्चार माध्यमलगायत सबैमा धन्यवाद ज्ञापन पनि गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?