logo
२०८१ जेष्ठ ६ आईतवार

   १० देखि १५ अर्ब क्षतिको अनुमान   



किसानको प्रश्न, धानको पनि बीमा हुन्छ ?

अर्थ |


किसानको प्रश्न, धानको पनि बीमा हुन्छ ?


सुरेशकुमार यादव

काठमाडौँ, कात्तिक ४ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढीले धान बालीमा १० देखि १५ अर्ब रुपियाँको क्षति पुगेको अनुमान गरेको छ । यद्यपि यकिन तथ्याङ्क आउन बाँकी छ ।
यत्तिको क्षतिको क्षतिपूर्ति कसले र कसरी गर्ने भन्ने यकिन छैन । क्षतिपूर्तिको एउटा साधन बाली बीमा भए पनि किसानले त्यो क्षतिपूर्ति पाउने सम्भावना नै छैन ।

कृषि बीमाप्रति किसानले चासो नलिएको देखिएको छ । किसानलाई बुझाउने प्रयास पनि कसैले गरेको छैन । त्यसमा पनि धानको त बीमा हुन्छ हुँदैन भन्ने अलग तथ्याङ्क नै छैन ।
सरकारले कृषि बाली तथा पशुपन्छीको बीमा गर्न अनुदान दिँदै आएको छ तर सबभन्दा कम धान बालीको बीमा भएको कृषि मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले कृषिअन्तर्गत किसानले सबभन्दा बढी पशुपन्छीको बीमा गराएको तथ्याङ्कले देखाएको छ । कृषि बालीतर्फ तरकारी र फलफूलमा बीमा गराए पनि सबभन्दा कम धानमा बीमा गराएको बताउनुभयो । ६० देखि ७० प्रतिशत बीमा पशुपन्छीतर्फ मात्र गराएको देखिन्छ ।

कति किसानले धानमा बीमा गराए, त्यसको यकिन तथ्याङ्क पनि कृषि मन्त्रालयसँग छैन । प्रवक्ता सञ्जेलले भन्नुभयो, “कृषिमा बाली र पशुपन्छी भनेर मात्र बीमाको अभिलेख राख्ने गरिएको छ । बालीमा कुन–कुन बालीमा कति किसानले बीमा गराएका छन्, त्यसको छुट्टाछुट्टै तथ्याङ्क छैन । ” उहाँले सरकारले कृषि बीमाका लागि यत्रो प्रयास गर्दा पनि किसान त्यसतर्फ आकर्षित नभएको बताउनुभयो ।
पशुपन्छीतर्फ अलि–अलि आकर्षित भए पनि बालीमा किसानले कम ध्यान दिएको बताउँदै उहाँले अहिले धानमा धरै क्षति भएको छ, किसानले धानको बीमा समयमा गराएको भए उनीहरूलाई ठूलो राहत हुन्थ्यो तर क्षति भएकोमध्ये धेरै कमले बीमा गराएको होलाजस्तो आफूलाई लागेको बताउनुभयो ।

कृषि क्षेत्रलाई अघि बढाउने उद्देश्यले सरकारले २०६९ माघ १ देखि कृषि बीमा लागू गरेको हो । बीमा समितिले २०७०÷७१ देखि कृषि तथा पशु बीमा कार्यक्रम अनिवार्य रूपमा कार्यान्वयनमा ल्याएको हो । तर, बीमा समितिसँग पनि कति किसानले धान बालीको बीमा गराए भन्ने तथ्याङ्क छैन ।
सरकारले हाल पशुधन बीमा, पन्छी बीमा, धान बाली बीमा, तरकारी बीमा, फलफूल बाली बीमा, माछा बीमा, च्याउ बीमा, अस्ट्रिच बीमा, मौरी बीमा गराउँदै आएको छ । कृषि बीमाको क्षेत्रमा जति बीमाशुल्क लाग्ने हो, त्यसको अनुपातमा लाग्ने ८० प्रतिशत प्रिमियम सरकारले अनुदान दिन्छ । २० प्रतिशत किसान आफैँले हाल्नुपर्ने व्यवस्था छ । त्यसअघि ५० प्रतिशत प्रिमियम सरकारले र ५० प्रतिशत किसानले तिर्ने प्रावधान थियो । किसानले बीमा अनुदान ७५ प्रतिशत बनाउनुपर्ने माग गर्दै आएको थियो ।

धान बालीको पनि बीमा हुन्छ भने धेरै किसानलाई जानकारी पनि छैन । सर्लाहीका किसान विनोद ठाकुरले कृषिको पनि बीमा हुन्छ भन्ने कुरा यहाँका कुनै पनि किसानलाई थाहा नभएको बताउनुभयो । समाचारमा सुने पनि किसानले त्यस्तो कृषि बीमा नगराएको बताउनुभयो । विनोदको १० कट्ठामा लगाइएको धानमा क्षति पु¥याएको छ ।

त्यस्तै सर्लाहीका अर्का किसान घनश्याम बलम्पाकीले धानको पनि बीमा हुन्छ भन्ने कुरा कसैलाई थाहा नभएको बत(ाउनुभयो । उहाँले भन्नुभयो, “मलाई लाग्छ, सर्लाहीका कुनै पनि किसानले धानको बीमा गराएका छैनन् । पशुपन्छीको बीमा हुने थाहा छ तर धानको पनि बीमा हुन्छ भन्ने कसैलाई थाहा छैन त्यही भएर बीमा गराएको छैन । ” उहाँले एक बिघामा लगाएको धानमा क्षति पुगेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?