काठमाडौँ, फागुन २२ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य स्वच्छताको महत्त्व दिँदै नेपाल असल कृषि अभ्यास (नेपाल ग्याप) कार्यक्रमको सुरुवात गरेको थियो तर कार्यक्रम नै प्रभावकारी नभएपछि कृषक त्यसको प्रमाणपत्र नै त्याग्न थालेका छन् । कृषि मन्त्रालयले आव २०७६/७७ देखि परीक्षणका रूपमा नेपाल ग्यापलाई अगाडि बढाएको भए पनि यो कार्यक्रम अलपत्र छ ।
२०७६ सालदेखि कार्यान्वयनमा आएको नेपाल ग्याप कार्यक्रममा जोडिएका तीन जना किसानमध्ये अहिले एक जना मात्र त्यसमा जोडिएका छन् । अरू दुई जनाले यो कार्यक्रम छाडिसकेका छन् ।ग्याप एउटा कृषि उत्पादन पद्धति हो, जसमा स्वच्छ तथा गुणस्तरीय कृषि उत्पादनका लागि नियन्त्रण बिन्दुको पहिचान गरी निरीक्षण, जाँचको मापदण्ड वा प्रावधान तयार पारी सोहीअनुरूप गुणस्तरीय उपज उत्पादन गरेर बजारीकरण गरिन्छ । इच्छुक कृषक, समूह, सहकारी वा कम्पनीले आफ्नो असल कृषि उत्पादन प्रणालीको प्रमाणीकरण गराउन सक्छ ।
बजेटबाटै हट्यो
कृषि मन्त्रालयले आलीदेखि थालीसम्म गुणस्तरीय तरकारी उत्पादन गर्ने उद्देश्यले नेपाल ग्याप सुरु गरेको थियो तर मन्त्रालयले यस पालिको बजेटमा न यो कार्यक्रम समावेश गरेको छ न कुनै कार्यक्रममा नै छ । यसले यो कार्यक्रम नै रद्द हुने अवस्थामा पुगेको हो कि भन्ने आशङ्का भएको छ ।
कृषि मन्त्रालयका सहसचिव शवनम सिवाकोटीले यो कार्यक्रमका लागि प्रदेश तथा स्थानीय तहले पनि ध्यान दिनुपर्ने हो तर त्यसो भएको छैन भन्नुभयो । उहाँले थप स्पष्ट पार्नुभयो, “कृषि मन्त्रालयको बजेट तथा कार्यक्रममा नेपाल ग्यापलाई किन राखिएको छैन त्यो त थाहा छैन तर यस कार्यक्रमबारे किसानमा ठीक ढङ्गले जानकारी पुगेको भने छैन । ” यो कार्यक्रमलाई प्रभावकारी बनाउन किसानलाई केही न केही सहुलियत तथा अनुदानको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको चर्चा गर्दै उहाँले अगामी वर्षदेखि यसमा ध्यान दिइने बताउनुभयो ।
दुई किसानले त्यागे प्रमाणपत्र
नेपाल असल कृषि अभ्यास कार्यान्वयन निर्देशिका २०७५ का अनुसार ग्याप प्रमाणीकरण गर्ने अधिकार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई दिएको छ । प्रमाणित वितरण गर्न विभागमा एउटा समिति बनाएको छ ।सो समितिले अनुगमन, अध्ययन तथा परीक्षणपश्चात् मात्र कृषक तथा फार्मलाई लोगोसहितको प्रमाणपत्र दिने गरेको छ । विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले भन्नुभयो, “तीन वर्षमा तीन जना किसानले मात्र सर्टिफिकेट लगेका छन् । त्यसमध्ये दुई जनाको प्रमाणपत्र रद्द गर्ने अवस्थामा पुगेको छ । ”
नेपाल ग्यापप्रति किसानको आकर्षण नै नभएको र यो कार्यक्रमबारे धेरै किसानलाई थाहा र चासो नै नभएको उहाँले बताउनुभयो ।नेपाल ग्यापको प्रमाणपत्र लिएपछि यसबाट के फाइदा वा बेफाइदा हुन्छ भन्नेबारे किसानलाई जानकारी नभएका कारण यस कार्यक्रमप्रति आकर्षण नभएको उहाँले बताउनुभयो । “कृषि मन्त्रालयले यो कार्यक्रम सुरु ग-यो तर यसको प्रचारप्रसार र कार्यक्रमबारे जानकारी दिने विषयमा ध्यान गएन,” उहाँले भन्नुभयो ।
नेपाल ग्यापको प्रमाणपत्र लिएर तरकारी खेती गर्नुभएका भक्तपुर रामकोटका विशेष सदाबहार कृषि फार्मका सञ्चालक सुजन श्रेष्ठले यसको मापदण्ड झन्झटिलो रहेका कारण आफूले नेपाल ग्याप छाडेको बताउनुभयो । “मापदण्डअनुसार सबै काम गरेर तरकारी उत्पादन गरे पनि त्यसलाई बेच्ने बजार नै छैन । बेच्न बल्खु वा कालीमाटी नै जानुपर्छ, मापदण्डअनुसार खेती ग-यो भने लागत पनि धेरै हुन्छ । त्यसअनुसार बजार नै पाइँदैन, त्यसै कारण बाध्य भएर नेपाल ग्याप छाडेको हुँ,” उहाँले भन्नुभयो ।
त्यस्तै ललितपुर टीकाथलीमा रहेको कृषि सहकारी बहुउद्देश्यीय सहकारी संस्थाले पनि नेपाल ग्यापको प्रमाणपत्र पाएको थियो तर अहिले यो संस्थाले पनि नेपाल ग्याप छाडेको छ । विभागका प्रवक्ता महर्जनका अनुसार सहकारीले त्यहाँ खेती नै गर्न छाडेपछि उसको प्रमाणपत्र रद्द गर्ने प्रक्रियामा पुगेको हो ।
भक्तपुरको रामकोटमै स्थापना भएको मैत्री मङ्गलम अर्गानिक कृषि फार्म हालसम्म नेपाल ग्यापको मापदण्डअनुसार चलिरहेको छ । कुनै दिन त्यो पनि बन्द हुन्छ । एसियाका थुप्रै देश र नेपालका छिमेकी देश चीन र भारतमा समेत ग्यापको मापदण्ड बनाई कार्यान्वयनमा ल्याएका छन् । यी मापदण्ड अपनाई उत्पादन भएका गुणस्तरीय कृषि उपजको अन्तर्राष्ट्रिय बजारमा ठूलो माग रहेकाले नेपालले पनि त्यो कार्यक्रमलाई सुरु गरेको हो । कृषि मन्त्रालयले विश्व खाद्य सङ्गनको सहयोगमा बनाइएको सार्क ग्यापलाई आधार मानी नेपाल ग्याप सञ्चालनमा ल्याएको हो ।