logo
२०८१ जेष्ठ ६ आईतवार



दाना लागेन धानमा

अर्थ |


दाना लागेन धानमा


सुरेशकुमार यादव

भक्तपुर, कात्तिक ११ गते । “धान बेचेर ऋण चुकाउँला भनी ऋण सापटीले लिएर दशैँ मनायौँ तर अहिले दाना नै लागेपछि ऋण तिर्न त के वर्षभरि हातमुख जोड्ने समस्या पनि हुने भयो,” भक्तपुर चाँगुनारायण–६, गौथली डाँडाकी शन्तमायाले पोख्नुभएको दुःखेसो हो । स्थानीय बीउबिजन बिक्री केन्द्रबाट चिनियाँ कम्पनी सिचुवान सिड विज्ञान तथा प्रविधि कम्पनी लिमिटेड चीनबाट उत्पादित डीवाई २८ जातका धानको बीउ ल्याएर चार रोपनीमा रोपेको धानमा अझै दाना नलागेपछि उहाँले आफ्नो पीडा यसरी पोख्नुभएको हो ।
यो पीडा उहाँको मात्र होइन, त्यहाँका ७० गौथली डाँडा वरिपरि २०० रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको धानमा दाना लागेको छैन । सबैको हिसाब गर्दा करिब ४० लाख रुपियाँ बराबर धानको क्षति भएको स्थानीय किसान विजय लामाले बताउनुभयो । चारदेखि १० रोपनीसम्म किसानले त्यो जातको धान लगाएका छन् । खेती लगाउँदा प्रत्येक किसानको २० हजारदेखि ४० हजारसम्मको खर्च परेको उहाँले बताउनुभयो ।
गत साल पनि यही जातको धान लगाएको र राम्रो फलेको थियो तर यस पटक पुनः त्यही बीउ ल्याएर लगाउँदा यस्तो अवस्था भएको किसान फूलमाया तामाङले भन्नुभयो । आफूले ऋण लिएर खेती गरेको र धान उत्पादन भएपछि बेचेर ऋण तिर्ने सोच रहेका किसानमा दुःखको पहाड उभिएको उहाँले चिन्ता गर्नुभयो । ती किसानको खेती किसानीबाहेक अरू कुनै रोजगार व्यवसाय छैन ।
अधिकांश किसानले च्याम्हसिंह भक्तपुरमा रहेको छुमा गणेश कृषि सेवा केन्द्रबाट बीउ खरिद गरेका थिए । सो केन्द्रका सञ्चालक सूर्यराम सुवालले डीवाई २८ जातको बीउ यहाँका लागि सिफारिस गरिएको नभएको तर किसानको मागअनुसार बेचेको स्वीकार्नुभयो । गत वर्ष राम्रो उत्पादन भएको थियो, त्यही कारण यस वर्ष किसानको माग बढेपछि बेचेको उहाँले बताउनुभयो ।
यसपालि धेरै ठाउँमा समस्या देखाएको छ, कतैकतै राम्रो दाना लागेको छ भने कतै दानामा समस्या देखिएको बताउँदै उहाँले यस्तो समस्या देखिएको बताउनुभयो । दाना नलागेको खेतमा धानविज्ञ लगेर परीक्षण गराएको र उहाँहरूका अनुसार धेरै चिसो भएका कारण धानमा समस्या देखिएको सञ्चालक सुवालले बताउनुभयो ।
आफूले यो बीउ बेच्दा बीउमा कुनै समस्या भए यसको जिम्मेवार आफू नहुने भनेर किसानलाई बेचेको दाबी गर्नुभयो । उहाँले जति किसानलाई यो जातको बीउ बेच्नुभएको छ, कसैलाई बिल दिइएको छैन । यो जातको बीउको मुख्य बिक्रेता काष्ठमण्डप ट्रेड प्वाइन्ट, काठमाडौँ रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?