logo
२०८१ जेष्ठ ६ आईतवार



धानको गर्विलो इतिहास

अर्थ |
पढ्नै पर्ने |
शनिवार |


धानको गर्विलो इतिहास


सुरेशकुमार यादव

सन् साठीको दशकमा भारत धान/चामल आयात गर्ने देशमा पथ्र्यो । यही समयमा नेपाल निर्यात गर्ने मुख्य देशमध्ये एक थियो तर अहिले भारत धान÷चामल निर्यात गर्ने ठूलो देश बनेको छ भने नेपाल आयात गर्ने देश । धान उत्पादन र व्यापारको हाम्रो गर्विलो इतिहास रहेको भन्दै कृषि विज्ञ डा.राजेन्द्र उप्रेती भन्नुहुन्छ, ‘‘सन् १९६१ मा भारतले सात लाख ३६ हजार मेट्रिक टन र बङ्गलादेशले चार लाख ९१ हजार मेट्रिक टन धान/चामल आयात गरेको बेला नेपालले दुई लाख ८९ हजार मेट्रिक टन चामल निर्यात गरेको थियो । नेपालले निर्यात गरेको चामलको त्यो बेलाको मूल्य चार करोड ३० लाख अमेरिकी डलर थियो । यो क्रम सन् १९८५ को मध्यसम्म घट्दो क्रममा चल्यो । सन् १९८५ मा आएर नेपालले एक करोड ३० लाख अमेरिकी डलर बराबरको ५९ हजार मेट्रिक टन चामल निर्यात गरेको थियो ।’’

धानको निर्यात गर्ने देश नेपाल आयात गर्ने अवस्थामा पुग्नु उत्पादनमा वृद्धि नभएर होइन, उत्पादनको तुलनामा खाने मुख बढेर हो । खाद्य पदार्थका रूपमा चामल मात्र खानेको सङ्ख्या धेरै भएर हो । धान उत्पादनको इतिहास हेर्ने हो भने छ वर्षअघि ३.१३ प्रतिशत र गत साल ३.८२ प्रतिशतले बढेको छ । यस पटक भने बेमौसमी वर्षका कारण धान बालीमा पुगेको क्षतिले उत्पादन घट्ने आँकलन त गरिएको छ तर कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले हल्ला भएजस्तो नघट्ने दाबी गर्नुभयो ।

‘‘यसपालि धान उत्पादन राम्रो छ, जहाँ क्षति भएको छैन, त्यहाँ वितगभन्दा राम्रो छ’’, प्रवक्ता सञ्जेलले भन्नुभयो, ‘‘हामी खेतमै गएर हे¥यौँ, बेमौसमी वर्षले क्षति नगरेको ठाउँमा उत्पादन राम्रो छ, उत्पादनमा वृद्धि नभए पनि विगतकै हाराहारीमा उत्पादन हुने विश्वास गरेका छौँ तर अझै तथ्याङ्क आइपुगेको छैन ।’’ उत्पादन घटे पनि दुई/तीन प्रतिशतभन्दा बढी हुँदैन होला तर पूर्ण विवरण नआएसम्म भन्न नसकिने उहाँले भन्नुभयो । धानको योगदान कृषि क्षेत्रमा १५ प्रतिशत र कुल गार्हस्थ्य उत्पादनमा ३.३ प्रतिशत रहको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत आ.व.मा ५६ लाख २१ हजार, आ.व. २०७६/०७७ मा ५५ लाख ५० हजार ८७८, आ.व. २०७५/०७६ मा ५६ लाख १० हजार ११ मेट्रिक टन धान उत्पादन भएको थियो । आ.व. २०७५/०७६ मा उत्पादनमा केही कमी आएको थियो । यस्तै, आ.व. २०७४/०७५ मा ५१ लाख ५१ हजार ९२५ मेट्रिकटन र आ.व. २०७३/०७४ मा ५२ लाख ३० हजार ३२७ मेट्रिकटन उत्पादन भएको थियो । मन्त्रालयका अनुसार ६० देखि ६५ लाख मेट्रिकटन धान उत्पादन भए आयात घट्नेछ ।

नेपालीको खानेबानीले गर्दा आयातमा वृद्धि भएको प्रवक्ता सञ्जेल बताउनुहुन्छ । बर्सेनि धान उत्पादनमा वृद्धि भएकै हो तर नेपालीको वासनादार र मसिनो चामल खाने बानी भएका हुनाले अयातमा वृद्धि भएको हो । सरकारले वासनादार र मसिनो धान उत्पादनका लागि पनि विभिन्न कार्यक्रम बनाइरहेको छ । वासनादार चामल उत्पादन गरेर वा खाने बानीमा सुधार गरेर मात्र चामल आयातलाई घटाउन सकिन्छ । एक तथ्याङ्क अनुसार, २०१८ सालमा नेपालमा प्रतिहेक्टर १.९ मेट्रिक टन धान उत्पादन हुन्थ्यो भने ६० वर्षपछि अहिले प्रतिहेक्टर ३.८ मेट्रिक टन उत्पादन भए पनि यो अवधिमा खाने मुख तीन गुणाले वृद्धि भएको छ । १० वर्षअघि नेपालमा वार्षिक प्रतिव्यक्ति ९० किलो चामल आवश्यक हुने गर्दथ्यो तर अहिले १३६.५ किलो पुगेको राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रका धान वैज्ञानिक सुशीलराज सुवेदीले बताउनुभयो । यो हिसाबले नेपालमा अझै १० लाख मेट्रिकटन धान अपुग देखिन्छ ।

गत वर्षकै उदाहरण लिने हो भने नेपालमा ५६ लाख मेट्रिकटन धान उत्पादन भएको थियो । त्यसमा भुस तथा कनिकालगायत घटाएपछि करिब ३० लाख मेट्रिकटन चामल हुन्छ । त्यो ३० लाख चामलबाट नै चिउरा, भुजालगायत अन्य खाद्य सामग्री बन्ने गरेको कारण भात मात्रै खानका लागि नेपाललाई चामल अपर्याप्त भएको वैज्ञानिक सुवेदीको धारणा छ । त्यसैले विदेशबाट करिब २९ अर्ब रुपियाँभन्दा बढीको चामल बर्सेनि आयात हुन्छ ।
विश्वका १११ भन्दा बढी देशले करिब १६ करोड २० लाख हेक्टर क्षेत्रफलमा धान खेती गर्दै आइरहेका छन् । एसियामा मात्र १५ करोड हेक्टरमा खेती हुँदै आएको छ । विश्वमा सबैभन्दा बढी धान उत्पादन गर्ने देश चीन हो त्यसपछि भारत, इन्डोनेसिया, बङ्गलादेश, भियतनाम, थाइल्यान्ड, फिलिपिन्स, म्यान्मार, ब्राजिल, जापानलगायत छन् । विश्वमा उत्पादन हुने करिब ७५ प्रतिशत धान चीन र भारतले मात्र उत्पादन गर्छन् ।

कृषि विज्ञ तुलसीराम पोखरेलले भन्नुहुन्छ, ‘धानको उत्पादकत्व पहिले छिमेकी मुलुकहरूभन्दा नेपालमा राम्रो थियो तर चीन र भारतमा हाइब्रिड (वर्णसङ्कर) र उत्पादन बढी हुने जातका धानको खेती गर्न थालिएपछि उनीहरूले उत्पादकत्व बढाएका हुन् । चीनमा धानको उत्पादन प्रतिहेक्टर सात मेट्रिक टन पुगेको छ ।’’ नेपालको मात्र होइन, एसियाकै प्रमुख खाद्यान्न बालीको रूपमा रहेको धान विश्वमा दोस्रो बालीको रूपमा चिनिन्छ ।

धानको इतिहास
नेपालमा धानको इतिहास धेरै पुरानो छ । संसारमा रहेका २० वंशजका जङ्गली धानमध्ये चार वंशजका जङ्गली धान नेपालमा पाइन्छन् । धान वैज्ञानिक एआर अन्सारी भन्नुहुन्छ, ‘‘नेपालमा जबदेखि मानिसको बसोवास भयो, तबदेखि धानको विकास भएको पाइन्छ ।’’ संसारको सबभन्दा अग्लो ठाउँ जुम्लामा पनि धान उत्पादन हुन्छ भन्ने कुराले नै प्रमाणित हुन्छ कि नेपालको धान रैथाने हो ।
नेपालको कपिलवस्तुको अजिगरा तालमा जङ्गली धानको उत्पत्ति र सुर्खेतको बुलबुले तालमा सदाबहार धानको उत्पत्ति भएको थियो । राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रका धान वैज्ञानिक सुशीलराज सुवेदीका अनुसार ती क्षेत्रहरूमा अहिले पनि पुराना जङ्गली जातका धानहरू पाइन्छन् जुन मानवसँगै विकास हुँदै आएका थिए । चितवनको लोथरखोला, जुम्लाको सुन्दरपुर जङ्गली धान पाइने प्रमुख स्थानहरू रहेको विभिन्न दस्तावेजमा भेटिन्छ ।

कृषि विज्ञ पोखरेलका अनुसार धानको उत्पत्ति र खेती चीनबाट सुरु भएको हो भन्ने कुरामा एकमत भए पनि कहिले भन्ने कुरामा मतैक्य छैन । ५००० देखि ७००० ईसापूर्वमा धान अस्तित्वमा आएको मानिन्छ । कतिपयले आजभन्दा करिब १२ हजार वर्षअघि चीनको याङ्जे नदीको उपत्यकामा यसको खेती भएको उल्लेख गरेका छन् ।
सन् १९९६ मा डेभिड आर. ह्यारिसको सम्पादनमा प्रकाशित पुस्तक ‘दी ओरिजिन एन्ड स्प्रिड अफ एग्रिकल्चर एन्ड पस्टोरेलिज्म इन युरेसिया’मा धान खेती आठ हजार पाँच सयदेखि १३ हजार पाँच सय वर्षअघि चीनमा भएको उल्लेख छ । चीनपछि भारतीय उपमहाद्वीपको गङ्गा मैदानमा यसको खेती फैलियो ।

हाइब्रिड बीउको कब्जा
नेपालमा ७७ बालीका ६७१ जात सूचीकृत छन् । जसमध्ये ३२२ हाइब्रिड छन् । सूचीकृत भएका मध्ये धानका मात्र १३० जात छन्  । चैते धानका छ वटा, वर्षे धानका १२४ जात छन् । दुईतिहाइभन्दा बढी हाइब्रिड धान अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्थाहरूबाट नेपाल भित्रिएका हुन् राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथ धनुषाले २०७६ सालमा पहिलो पटक हार्दिनाथ–१ र हार्दिनाथ–३ गरी दुई वटा हाइब्रिड जात बनायो तर यी हाइब्रिडले अझै बजार लिएका छैनन् । विदेशबाट आएका हाइब्रिडलाई किसानले रुचाउँदै आएका छन् ।

धान वैज्ञानिक सुवेदीका अनुसार अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान संस्था (इरी) फिलिपिन्सको जीन बैङ्कमै एक लाख १७ हजार प्रजातिका रैथाने जात छन् । तीमध्ये नेपालका २८७ रैथाने जातका धान त्यहाँ छन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले पनि सन् २०१० देखि आफ्नै जीन बैङ्क सञ्चालनमा ल्याएको छ । यहाँ दुई हजारभन्दा बढी रैथाने जातका धान सङ्कलन गरेर राखिएका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार नेपाललाई ७० देखि ७५ हजार मेट्रिकटन बीउ आवश्यक पर्छ । किसानले बढीमा १५ हजार मेट्रिक टन मात्र नयाँ उन्नत जातको बीउ खरिद गर्छन् । बाँकी ५० हजार मेट्रिक टन बीउ किसान आफैँले जोगाउँदै आएका छन् । अर्थात् परम्परागत ढङ्गबाट धानको बीउ जोगाउँदै खेती गर्दै आएका छन् ।

जुम्ली मार्सी धानकै कुरा गर्ने हो भने चैत १२ गते यसलाई भिजाइन्छ र १६ गते पानी तर्काएर गुम्स्याइन्छ । २० गते उम्रेका टुसालाई राम्ररी तयार पारेको हिले ब्याडमा छरिन्छ । बीउमा टुसा उमार्न अर्को पनि चलन छ । न्यानो भान्सा कोठामा भिजेका धान फिँजाएर त्यसमाथि ओछ्यान लगाएर चार पाँच दिनसम्म परिवारका सबै सदस्य सुत्छन् । शरीरको तापबाट बीउमा टुसा आउन थालेपछि त्यसलाई ब्याडमा लगिन्छ ।
कर्णालीका कृषि अभियन्ता जीवन शाही भन्नुहुन्छ,
‘‘बीउ उमार्ने यो चलन जुम्लामा अझै कायम छ ।’’ जुम्लाका किसान अझै पनि रैथाने बीउ नै प्रयोग गर्छन् तर नेपालको अन्य ठाउँमा हाइब्रिड बीउले कब्जा जमाएको छ ।

झण्डै १२ अर्बको क्षति
गत असोज अन्त्यतिर बेमौसमी वर्षा भयो । यो वर्षाले हिमाली भेग जुम्लादेखि तराईका फाँटसम्म भित्र्याउने बेलाका धान बालीमा क्षति पु¥यायो । धेरै क्षति २१ वटा जिल्लामा भयो । यी जिल्ला अधिकांश तराई–मधेसका हुन् । सरकारको प्रारम्भिक विवरणअनुसार यो वर्षाले झण्डै ११ अर्ब रुपियाँभन्दा बढीको क्षति किसानलाई भयो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कात्तिक ११ गते उपलब्ध गराएको विवरणअनुसार वर्षाले ११ अर्ब आठ करोड ७५ हजार १६० रुपियाँ बराबरको धानमा क्षति पुग्यो । क्षति भएको एक लाख ११ हजार हेक्टर क्षेत्रफलका लागि सरकारले पाँच अर्ब ५२ करोड रुपियाँ राहत दिने निर्णय पनि ग¥यो ।

कृषि मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले भन्नुभयो, ‘‘यो पूर्ण विवरण होइन, प्रारम्भिक हो, यसमा थप हुनसक्छ, स्थानीय तहहरूले विवरण सङ्कलन गर्दैछन्, क्षति बढ्न सक्छ ।’’ प्रारम्भिक विवरण सङ्कलन गरी पीडित किसानलाई तत्काल राहत उपलब्ध गराउने र पछि पूर्ण विवरण आइसकेपछि थप राहत दिने योजना बनाएको बताउँदै उहाँले सरकारले स्थानीय तहमार्फत विवरण सङ्कलन गरिरहेको छ, पूर्ण विवरण आइसकेपछि राहतका लागि स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले विभिन्न प्याकेज तयार गर्ने जानकारी दिनुभयो । यही प्रसङ्गमा कृषिमन्त्री महिन्द्र राय यादवले भन्नुभयो, किसानलाई राहत दिन सकिन्छ, क्षतिपूर्ति दिन सकिँदैन, अहिलेको प्रारम्भिक विवरणअनुसार धानमा मात्र झण्डै १२ अर्बको क्षति भएको विवरण प्राप्त भएको छ, फलफूल, तरकारी, पशुको क्षति विवरण आउनै बाँकी छ, सबैको क्षति विवरण आएपछि अझै धेरै बढ्न सक्छ । सरकारले क्षतिपूर्ति दिन नसके पनि किसानको पीडा कम गर्न राहतको व्यवस्था गरेको हो ।’’

किसानको खातामै पैसा
बेमौसमी वर्षाले एक लाख ११ हजार हेक्टरको ११ अर्ब रुपियाँभन्दा बढीको धानमा क्षति त भयो तर कुन किसानको कति क्षति भयो, त्यसको यकिन विवरण आइनसकेका कारण राहत वितरणमा ढिलाइ भइएको मन्त्री यादवको दाबी छ । स्थानीय तहले किसानहरूको विवरण सङ्कलन गरिरहेका छन्, सबैको विवरण सङ्कलन भइसकेपछि किसानको खातामा नै रकम पठाउने व्यवस्था हुनेछ । हरेक स्थानीय तहमा बैङ्क पुगिसकेका छन् । किसानहरूलाई खाता खोल्न लगाएर उनीहरूका खातामा नै रकम पठाउने व्यवस्था गर्न लागिएको बताउँदै उहाँले जो साँच्चिकै पीडित छन्, उसले मात्र राहत पाओस् भन्ने सरकारको उद्देश्य रहेको बताउनुभयो ।

राहत दिनका लागि सरकारले किसानको वर्गीकरण गरेको छ । १० कट्ठासम्मको किसानलाई साना किसानको वर्गमा राखिएको छ । योे वर्गका किसानलाई उत्पादन लागतको ६५ प्रतिशत राहत दिइने छ । अर्थात् प्रतिकट्ठा एक हजार ९२१ रुपियाँ दिइने छ । त्यस्तै ११ कट्ठादेखि ४० कट्ठासम्मको किसानलाई मझौला किसानको वर्गमा राखिएको छ । यस वर्गका किसानलाई उत्पादन लागतको ३० प्रतिशत राहत दिइने छ । अर्थात् प्रतिकट्ठा ८८७ रुपियाँ दिइने छ । ४१ कट्ठाभन्दा बढी हुने किसानलाई ठूला किसानको वर्गमा राखिएको छ । यो वर्गका किसानलाई उत्पादन लागतको २० प्रतिशत राहत दिइने छ । अर्थात् प्रतिकट्ठा ५९१ रुपियाँ राहत दिइने छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?