logo
२०८१ जेष्ठ ६ आईतवार



धान उत्पादनमा नौ प्रतिशतले कमी

अर्थ |


धान उत्पादनमा नौ प्रतिशतले कमी


सुरेशकुमार यादव

काठमाडौँ, पुस १७ गते । गत आर्थिक वर्षको तुलनामा आव २०७८/७९ मा झन्डै ९ प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षमा चार लाख ९० हजार ३९६ मेट्रिक टन धान कम उत्पादन भएको हो । यो अघिल्लो वर्षको तुलनामा ८.७४ प्रतिशतले कम हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलले दिनुभएको जानकारीअनुसार यस आव २०७८/७९ मा ५१ लाख ३० हजार ६०४ मेट्रिक टन धान उत्पादन भएको छ । धानको उत्पादन आव २०७७/७८ मा ५६ लाख २१ हजार, २०७६/७७ मा ५५ लाख ५० हजार ८७८, २०७५/७६ मा ५६ लाख १० हजार ११, २०७४/७५ मा ५१ लाख ५१ हजार ९२५ र २०७३/७४ मा ५२ लाख ३० हजार ३२७ मेट्रिक टन थियो ।

पाँच वर्षकै अवधिमा यस पटक सबभन्दा कम धान उत्पादन भएको हो । गत आर्थिक वर्षको तुलनामा धानबाली लगाइएको क्षेत्रफलमा करिब चार हजार हेक्टरको सामान्य वृद्धि आएको छ भने उत्पादकत्वमा ८.६१ प्रतिशतले ह्रास आई ३.४७ मेट्रिक टन प्रतिहेक्टर कायम भएका अनुमान गरिएको मन्त्रालयले जनाएको छ ।

धान उत्पादनमा कमी हुनुको कारणमा कृषि मन्त्रालयले बेमौसमी वर्षालाई लिएको छ । असोजको अन्तिम हप्ता भएको वर्षाका कारण धानमा ठूलो क्षति पु-याएको थियो । वर्षाले सुदूरपश्चिम र लुम्बनी प्रदेशको कैलाली, कञ्चनपुर, बर्दिया, बाँके तथा कपिलवस्तु जिल्लामा धान थन्क्याउने बेलामा पारेको क्षतिले समग्र राष्ट्रिय उत्पादनमा कमी आएको मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयको प्रारम्भिक विवरणअनुसार चार लाख मेट्रिक टनभन्दा बढी धानमा क्षति पुगेको छ ।

गत आर्थिक वर्षको तुलनामा सबभन्दा कम सुदूरपश्चिममा ३१.४९ प्रतिशतले उत्पादनमा कमी आएको छ भने लुम्बनी प्रदेशमा १८.३८ प्रतिशत, प्रदेश १ मा ०.९३ प्रतिशत, प्रदेश २ मा ५.२४ प्रतिशत, बागमती प्रदेशमा ०.३५ प्रतिशत, कर्णालीमा ८.७६ प्रतिशतले उत्पादनमा कमी आएको छ । गण्डकी प्रदेशमा मात्र २.३३ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको हो ।

कृषि मन्त्रालयका अनुसार ६० देखि ६५ लाख मेट्रिक टन धान उत्पादन भयो भने नेपाल धानमा आत्मनिर्भर हुन्छ । यस पटक कम्तीमा ६० लाख मेट्रिक टन धान उत्पादन हुने लक्ष्य कृषि मन्त्रालयले लिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?