logo
२०८१ जेष्ठ ६ आईतवार



किसानलाई राहतका लागि बजेट माग

अर्थ |


किसानलाई राहतका लागि बजेट माग


सुरेशकुमार यादव

काठमाडौँ, पुस २७ गते । बेमौसमी वर्षाका कारण धानमा क्षति व्यहोरेका किसानलाई राहत दिन गृह मन्त्रालयले अर्थ मन्त्रालयसँग बजेट माग गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विवरणअनुसार गत असोजको अन्तिम साता आएको बाढीपहिरोको कारण ११ अर्ब रुपियाँभन्दा बढीको बाली क्षति भएको छ ।

असोजको अन्तिम हप्ता आएको बाढीबाट धानमा पारेको असरबारे सङ्कलन गरिएको विवरणको आधारमा अर्थ मन्त्रालयसँग करिब पाँच अर्ब रुपियाँ माग गरिएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कृषि मन्त्रालयले हामीलाई पठाएको विवरण पुष्टि गरेर अर्थ मन्त्रालयलाई पठाइसकेको छ । उताबाट जति छिटो रकम आइपुग्छ त्यति छिटो किसानले राहत पाउँछन् । ”

मागबमोजिम अर्थ मन्त्रालयबाट रकम आइसकेपछि सो रकम गृह मन्त्रालयले जिल्ला विपत् व्यवस्थापन समितिमा पठाइनेछ । त्यहाँ प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिले विवरणअनुसार किसानको खातामा सो रकम पठाउनेछ । गृह मन्त्रालयले ३० जिल्लाका किसानको क्षतिको विवरण अर्थ मन्त्रालयमा पठाएको छ ।

प्रवक्ता कोइरालाले भन्नुभयो, “कृषि मन्त्रालयले कुनै जिल्लाको पूर्ण विवरण पठाएको छ भने कुनै जिल्लाको विवरण आउन बाँकी रहेको भनी लेखिपठाएको छ । सोही आधारमा हामीले अर्थ मन्त्रालयमा विवरण पठाएर बजेट माग गरेका छौँ । ” बेमौसमी वर्षाका कारण किसानको धानमा ११ अर्ब ८७ करोड ५१ लाख ६० हजार रुपियाँ बराबरको क्षति भएको छ । क्षतिको विवरण सङ्कलन गर्न गृह मन्त्रालयका सचिवको नेतृत्वमा गठित समितिले दिएको प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्को बैठकले किसानलाई पाँच अर्ब ५२ करोड रुपियाँ राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।

चालू आर्थिक वर्षका लागि निर्धारण गरिएको धानको न्यूनतम समर्थन मूल्य दुई हजार ९०२ रुपियाँ प्रतिक्विन्टल लागत मूल्य र प्रतिहेक्टर उत्पादन तीन मेट्रिक टनलाई आधार मानेर सरकारले राहत रकम निकालेको हो । कृषि मन्त्रालयका अनुसार एक लाख ११ हजार ६०९ हेक्टरमा लगाइएको धानबालीमा वर्षाले क्षति पु-याएको छ । सबैभन्दा बढी लुम्बिनी प्रदेशमा ४२ हजार ४२७ हेक्टरमा लगाइएको धानबालीमा चार अर्ब ५१ करोड ४२ लाख ३३ हजार रुपियाँ बराबरको क्षति भएको हो ।

सुदूरपश्चिममा ३६ हजार ४५५ हेक्टरमा लगाइएको धानबालीमा तीन अर्ब ८७ करोड ८७ लाख ८० हजार रुपियाँ बराबरको क्षति भएको कृषि मन्त्रालयले जनाएको छ । प्रदेश २ मा एक अर्ब ६१ करोड १५ लाख ८२ हजार, प्रदेश १ मा १३ हजार ९२ हेक्टरमा लगाइएको धानबालीमा एक अर्ब ३९ करोड २९ लाख ३६ हजार रुपियाँ बराबरको क्षति भएको छ । कर्णालीमा दुई हजार ७६७ हेक्टरमा लगाइएको धानबालीमा २९ करोड ४४ लाख नौ हजार रुपियाँ, गण्डकीमा एक हजार १९२ हेक्टरमा लगाइएको धानबालीमा १२ करोड ६८ लाख २९ हजार रुपियाँ बराबरको क्षति भएको छ । बागमतीमा ५३० हेक्टरमा लगाइएको धानबालीमा पाँच करोड ६३ लाख ९२ हजार रुपियाँ बराबरको क्षति भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?