logo
२०८० चैत्र ६ मंगलवार



अन्तर्राष्ट्रिय चलचित्र महोत्वसमा नेपाली चलचित्रको स्थान

मनोरञ्जन |


अन्तर्राष्ट्रिय चलचित्र महोत्वसमा नेपाली चलचित्रको स्थान


काठमाडौँ, माघ १० गते । नेपाली चलचित्रहरू अन्तर्राष्ट्रिय चलचित्र महोत्वसमा छानिने क्रम बढ्दो छ । छोटा चलचित्रले अन्तर्राष्ट्रिय महोत्वसमा स्थान पाउनु चलचित्र उद्योगलाई नै फाइदाको कुरा हो ।
निरञ्जन राज भेटवाल र सुनील पाण्डेले निर्देशन गर्नुभएको चलचित्र विश्व प्रतिष्ठित रोट्रेड्याम फिल्म फेस्टिभलमा छानिएका छन् । भेटवाल निर्देशित ‘अन्हद’ र पाण्डे निर्देशित ‘बाघथान’ इन्टरनेसल फिल्म फेस्टिभल रोट्रेड्यामको ५१औँ संस्करणमा छानिएको हो ।
एक साथ दुई चलचित्र यति ठूलो फेस्टिभलमा छानिएको यो पहिलो अवसर हो ।

दुवै चलचित्र छोटा तथा मिड लेन्थ (मध्येम) विधामा प्रतिस्पर्धी रहेका छन् । अङ्ग्रेजी नाम ‘इटर्नल्स मेलोडी’रहेको भेटवाल निर्देशित चलचित्रले हिन्दु संस्कारमा विद्यमान प्रेत र प्रेत मुक्तिका लागि गरिने किरियाकर्मको कथा प्रस्तुत गरिएको छ । कथामा दिवंगत श्रीमान् सपनामा आएर आफू मुक्त नभएको सन्देश दिएपछि छोरालाई लिएर श्रीमतीले गर्ने आन्तरिक तथा बाह्य यात्रालाई चलचित्रले दर्शाउन खोजिएको छ ।

यसैगरी सुनिल पाण्डेले निर्देशन गर्नुभएको चलचित्रमा बसाइँसराइ र त्योसँग जोडिएका स्मृतिको कुरा रहेको छ । निर्देशकको आफ्नो हजुरबाले सुनाएको कथालाई आधार मानेर बुनिएको कथाले विगतमा मानव बस्तीलाई बाघको पञ्जाबाट मुक्त गर्न प्रयत्नहरूको चर्चा गरेको छ । ‘बाघथान’ २० मिनेटको रहेको छ भने ‘अन्हद’ १३ मिनेटको रहेको छ ।

माघ १२ देखि २३ गते (जनवरी २६ देखि फेबु्रअरी ६ तारिख)सम्म आयोजना हुने महोत्वस अनलाइन हुने जनाइएको छ । ओमिक्रोनका कारण केही दिनअघि मात्र फेस्टिभल आयोजकले यो संस्करण अनलाइन हुने सूचना जारी गरेका थियो ।
रोट्रेड्याम फिल्म फेस्टिभलमा यसअघि दीपक रौनियार निर्देशित ‘ह्वाइट सन्’ छनोट भएको थियो । गत साल पूजा गुरुङ र विभूषण बस्नेता निर्देशित वृत्तचित्र ‘बिग हेडेड ब्वाई ः सामन्स एन्ड सामुराई’ पनि यो फेस्टिभलमा छानिएको थियो । यसरी विभिन्न अन्तर्राष्ट्रिय महोत्वसमा नेपाली चलचित्रले स्थान पाउनु भनेको गर्वको विषय रहेको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दहालले बताउनुभयो ।

अहिले नेपालमा कोरोनाका कारण चलचित्र क्षेत्र अस्तव्यस्त भएको समयमा छोटा चलचित्रलाई अवसर पाउनु भनेको राम्रो सङ्केत मान्न सकिन्छ । उहाँले छोटा चलचित्र विश्वमा नेपालको संस्कृति तथा नेपाललाई विश्वसामु चिनाउन सकिने जानकारी दिनुभयो । यसैगरी ७२औँ बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्वसमा नेपाली लघु चलचित्र ’फोर नाइट्स’ छनोटमा परेको छ । लघु चलचित्रहरूको मुख्य प्रतिस्पर्धामा संसारभरिबाट छानेका २१ चलचित्रमध्ये दीपक रौनियारले निर्देशन गर्नुभएको चलचित्र ’फोर नाइट्स’ छनोटमा परेको हो ।

१६ मिनेट अवधिको उक्त चलचित्रमा कलाकार दयाहाङ राई र आशा मग्रातीको अभिनय छ । फेबु्रअरी २० मा हुने उक्त फेस्टिबल विश्वका तीन ठूला फेस्टिभलमध्येको एक हो । प्रतिस्पर्धाको अन्तर्राष्ट्रिय जुरीमा इटालीकी प्रसिद्ध फिल्ममेकर रोजा बार्बा, भारतीय फिल्ममेकर पायल कपडिया र जर्मनीका फिल्ममेकर रेनहार्ड वुफ छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?