logo
२०८० चैत्र ६ मंगलवार



मौसम अनुसारको फेसन

मनोरञ्जन |


मौसम अनुसारको फेसन


यलु जोशी

काठमाडौँ, फागुन २० गते । गर्मी मौसम सुरु भएसँगै कस्ता लुगा लगाउने भन्ने सबैको चासोको विषय हुन्छ । मौसमअनुसारको पहिरन लगाउनु हरेकको चाहना भइसकेको छ । अझ फेसन रुचाउने जोकोही अरूभन्दा भिन्न पहिरनमा आफूलाई प्रस्तुत गर्न चाहन्छन् ।
फेसनमा महिला मात्र नभएर पुरुष पनि अगाडि रहेका छन् । कस्तो लुगा लगाउँदा राम्रो देखिन्छ भन्ने सधैँ चाँसोको विषय हुन्छ । मौसमअनुसार केटाहरूको पनि उत्तिकै फेसनेबल हुन्छन् । बजारमा युवापुस्ताको चाहनाअनुसारकै कपडा खरिद गर्न पाइन्छ ।
अहिले पुरुषहरूको जिन्स फेसनमा ग्रन्चले प्राथमिकता पाएको छ । ग्रन्चसँगै बुटकट, बेली, चुज, स्ट्रेट, वास, डट्टीवास फेसन रोजाइमा परेको व्यवसायीको भनाइ छ ।

फेसनमा पनि ब्रान्ड र नन् ब्रान्डेड कपडा विशेष मानिन्छन् । सर्ट, पाइन्टभन्दा पनि युवापुस्तामा टिसर्ट विशेष मानिने काठमाडौँ मलका व्यापारी सञ्जय कुटुले बताउनुभयो ।
उहाँले बजारमा मौसमअनुसारका धेरै प्रकारका पहिरन आउने क्रम रहेको जानकारी दिँदै शरीरको बनावटअनुसार पहिरनमा विचार गर्नुपर्ने सुझाव दिनुहुन्छ । फेसन डिजाइनरसमेत रहनुभएको कुटुले समयानुसार फेसनेबल लुगा छनोटलाई पनि उत्तिकै ध्यान दिनुपर्ने बताउनुभयो ।

यता मोडल, नायक तथा कोरियोग्राफर प्रशान्त ताम्राकारले भन्नुभयो, “फिट र फाइन सबैको रोजाइमा पर्छ । जसले गर्दा शरीरमा समस्या देखा नपर्ने र उचित किसिमको पहिरन छनोट गर्नु सबैभन्दा उत्तम मानिन्छ । ” गर्मी मौसमलाई स्मार्ट देखाउने मौसमका रूपमा समेत लिइन्छ । जसले गर्दा बजारमा निस्केका विभिन्न कपडालाई आफ्नो इच्छाअनुसार डिजाइन गरेर लगाउने प्रचलन बढेको जानकारी दिनुभयो ।

उहाँले मौसमअनुसार आफूलाई सजिलो हुने लुगा लगाउनुपर्ने जोड दिनुभयो । आफूले गर्मीमा कटनको पाइन्ट, टिसर्ट, सर्ट र जवारीकोट लगाउने बताउनुभयो । हामीले रङमा पनि ध्यान दिनुपर्ने जानकारी दिँदै गर्मीमा आँखालाई शीतलता प्रदान गर्ने सेतो, नीलो, पहेँलो, फिक्का हरियो रङको लुगा लगाउनुपर्छ ।

यता फेसन डिजाइनर आस्तिक शेरचनले गर्मीमा फेसन भनेकै रङमा ध्यान दिनु हो भन्नुभयो । उहाँले भन्नुभयो, “लुगा शीतल भए पनि रङले गर्मी गर्ने हुन्छ । अहिले मौलिक लुगा तथा ढाकाको प्रयोगका कपडा, कोट पनि फेसनमा रहेको छ भने रोजाइमा पनि परेको छ । क्याजुअल लुकदेखि फर्मलका लागि पनि यस प्रकारका लुगा युवाको रोजाइमा परेको शेरचनले जानकारी दिनुभयो ।

गर्मी मौसममा पुरुषका लागि बजारमा रहेका केही लुगा
चेक पाइन्ट : विभिन्न छ्यासमिसे रङको प्रयोग गरिएको चेक पाइन्टका कपडाको सुट–पाइन्टसमेत सिलाएर लाउने प्रचलन बढ्दो छ ।
क्वारटर पाइन्ट : क्वारटर पाइन्ट महिला तथा पुरुष दुवैको रोजाइमा पर्छ । घुँडाभन्दा हल्का तलसम्म हुने क्वारटर पाइन्ट सादा तथा छासमिसे दुवै प्रकारमा बजारमा पाइन्छ ।
हाफ पाइन्ट : गर्मी मौसममा महिला तथा पुरुष दुवैको रोजाइमा पर्ने पाइन्टमध्येमा हाफ पाइन्ट पर्छ । गर्मी मौसममा छोटा–छोटा लुगा सबैको रोजाइमा पर्ने भएकाले गर्मी मौसममा हाफ पाइन्टको चल्ती धेरै हुन्छ । हेर्दा राम्रो र लगाउँदा स्मार्ट देखिने भएकाले हाफ पाइन्ट सबैको रोजाइमा पर्छ ।
कम्ब्याट पाइन्ट : कम्ब्याट पाइन्ट पुरुषले प्रयोग गर्ने पाइन्ट हो । विभिन्न आकार र प्रकारमा पाइने यो पाइन्टमा धेरै ठाउँमा गोजी हुन्छ ।
कटन जिन्स : जिन्स उकुसमुकुस हुने कारण कटन जिन्सको प्रयोग बढ्दो छ । यो फर्मर र क्याजुअल दुवैमा प्रयोग हुने गर्छ ।
सुतीका टिसर्ट : गर्मी मौसममा सुतीका टिसर्ट तथा कपडा सबैको रोजाइमा पर्छ । सुतीको कपडा नरम हुने र शीतलता प्रदान गर्ने भएकोले यो सबैको रोजाइमा पर्छ । गर्मी मौसममा पुरुष तथा महिला दुवैका लागि सुतीका कपडा लोकप्रिय छ ।
चेकसर्ट : गर्मी मौसममा चलनचल्तीमा आएका विभिन्न टिसर्टमध्य खण्ड–खण्ड आकारमा पाइने चेकसर्ट सबैको रोजाइमा पर्छ । चेकसर्ट प्रायः फूल बाहुलामा पाइने भएकाले यसले शरीरको धेरै भागलाई सुरक्षित राख्छ ।
जिन्स ज्याकेट : जिन्स ज्याकेट जाडो मौसममा मात्र नभएर गर्मी मौसममा समेत उत्तिकै लगाइन्छ । महिला तथा पुरुष दुवैका लागि प्रयोग गर्न सकिने जिन्स ज्याकेटले स्मार्ट देखाउने भएकोले यो सबैको रोजाइमा पर्न सफल भएको छ ।
प्लेन टिसर्ट : कुनै बुट्टा नभएको सादा रङको टिसर्ट प्लेन टिसर्ट हो । यो सबै रङमा पाइन्छ । अझ भनौँ कुनै पनि सादा आकारको एउटै रङ भएको टिसर्ट प्लेन टिसर्ट हो । सादा रङको टिसर्टले शीतलता प्रदान गर्ने भएकोले पुरुषका लागि गर्मी मौसममा यसको प्रयोग धेरै गरिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?