logo
२०८१ बैशाख ८ शनिवार



युवामा ‘साल्सा’ क्रेज

मनोरञ्जन |


युवामा ‘साल्सा’ क्रेज


काठमाडौँ, चैत २३ गते । साल्सा नृत्य (डान्स)ले नेपाली युवकयुवतीबीच महत्त्वपूर्ण स्थान पाएको छ । केही समययता देशका मुख्य सहरमा साल्सा डान्स गर्ने तथा सिक्ने लहर नै चल्न थालेको छ । कुनै खास कार्यक्रममा मात्र स्थान पाउने यो नृत्य अहिले विवाहको पार्टीदेखि अन्य रमाइला अवसरमा  देखापर्न थालेको छ ।

आफ्नो व्यक्तित्व विकासका लागि पनि साल्सा नृत्यको प्रशिक्षण लिने साल्सा डान्स एकेडेमीका प्रशिक्षक विनायकदास श्रेष्ठले बताउनुभयो । साल्सा डान्सले समयसँगै अघि बढ्न सहयोग गर्ने, मानिसलाई स्वस्थ राख्नुका साथै अनुशासित बनाउँछ । उहाँले भन्नुभयो, “साल्साको अन्तर्राष्ट्रिय कोर्स १५० घण्टाको हुन्छ । ”

यता, फेसन डिजाइनर आकृति महाजनले साल्सा सिक्न थाल्नुभएको पाँच महिना भयो । भद्दा हुँदै गएको शरीर तन्दुरुस्त राख्न उहाँले यो नृत्यलाई रोजेको बताउनुभयो । करिअरलाई अझ उचाइ दिन ‘फिट एन्ड फाइन’ रहनु आवश्यक रहन्छ । उहाँले भन्नुभयो, “जुम्बा सिक्न भनेर आएको तर साल्साको क्लास देखेपछि उतै मोडियो । ” पार्टनरसँग मिलेर गरिने नृत्य हो– साल्सा । यो एक्लै गर्न मिल्दैन । जोडीमा गरिने नृत्यले आफ्नो व्यक्तित्व विकास गर्नेमा ढुक्क हुनुहुन्छ । उहाँले थप्नुभयो, “बिहान चाँडै उठ्ने र दिनभर दौडधुप गर्ने हाम्रो दैनिकी छ । त्यसबाट बचेको समयमा केही नयाँ र भिन्न कुरा सिक्नु व्यक्तित्व विकासका लागि उपयोगी छ । ”

अफ्रिकी मुलुकबाट सुरु भएको मानिने साल्सा दक्षिण अमेरिका पुगेर संसारभर फैलिएको मानिन्छ । यसमा ल्याटिन अमेरिकी सङ्गीत नै हाबी हुन्छ । केटाले ‘लिड’ र केटीले त्यसको ‘फलो’ गर्छन् । जोडीविना साल्सा नृत्य गर्न मिल्दैन । नेपालमा साल्सा डान्स विनायकदास श्रेष्ठले भित्र्याउनुभएको हो । “कङ्गोलगायत अफ्रिकी मुलुक र ल्याटिन अमेरिकाको संस्कृति सम्मिश्रण हुँदै फैलिँदा यसले संसारभर ख्याति कमाएको छ,” श्रेष्ठ भन्नुहुन्छ ।

सन् १९९५ मा जर्मनीका आन्द्रियाज लर्जले विदेशीलाई सिकाइरहेको ठाउँमा श्रेष्ठ पनि साल्सा सिक्न पुग्नुभयो । त्यसपछि स्पेन र जर्मनी गएर प्रशिक्षण लिनुभई सन् २००४ देखि काठमाडौँमा साल्सा सिकाउन थाल्नुभएको हो । त्यतिबेला यो नेपालमा नृत्यको नयाँ विधा थियो । सुरुमा पाँच प्रतिशत नेपाली र ९५ प्रतिशत विदेशीले सिक्थे । अहिले भने ९९ प्रतिशत नेपाली र एक प्रतिशतमात्र विदेशी प्रशिक्षार्थी हुने गरेको श्रेष्ठले बताउनुभयो ।

प्रशिक्षार्थीको उमेर समूह २० देखि ४० वर्षको हुन्छ । साल्सामा दुईवटा अभ्यास हुन्छ– ‘थिम पार्टी’ र ‘सोसल’ । यसबीचमा करिब सात हजारले साल्सा सिकेको श्रेष्ठले बताउनुभयो । तर, तीमध्ये अधिकांशले प्रारम्भिक चरणको कोर्समात्र गरेका छन् । एड्भान्स कोर्समा कमै पुग्ने गरेका छन् । साल्साले सामाजिकीकरणमा जोड दिन्छ, सोही कारण यो सहरका व्यस्त मानिसको रोजाइ बन्न थालेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?