शेषकान्त पण्डित
काठमाडौँ, असार २७ गते । नेपाली काँग्रेसको आसन्न केन्द्रीय महाधिवेशनमा सभापतिका आकाङ्क्षी बढेपछि त्यसलाई व्यवस्थापन गर्न पार्टीभित्रका समूहलाई सकस पर्दै गएको छ । पार्टी सभापति शेरबहादुर देउवाका साथै प्रतिस्पर्धी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई १४औँ महाधिवेशनमा आफ्ना समूहबाट सर्वसम्मत सभापतिमा एक जना उम्मेदवार बनाउन चुनौती चुलिँदै गएको छ ।
विगतमा आफ्नो समूहभित्र एकल नेतृत्व गर्दै आउनुभएका सभापति देउवालाई यसपटक उपसभापति विमलेन्द्र निधिले संस्थापन समूहभित्रै चुनौती दिँदै देउवालाई नछाड्ने घोषणा गरिसक्नुभएको छ । अघिल्लो महाधिवेशनमा देउवा आफ्नो समूहका सर्वसम्मत उम्मेदवार हुँदा पहिलो चरणमा विजय हासिल गर्न नसकी निकटतम प्रतिद्वन्द्वी पौडेललाई दोस्रो चरणमा पराजित गर्नुभएको थियो । पहिलो चरणमा बहुमत ल्याउन नसके पहिलो र दोस्रो स्पर्धीबीच अर्को चरणको निर्वाचन हुने विधान काँग्रेसमा रहेको छ ।
पहिलो स्पर्धामा तेस्रो हुनुभएका कृष्णप्रसाद सिटौलाले दोस्रो चरणमा देउवालाई समर्थन गर्नुभएको थियो । अघिल्लो महाधिवेशनमा तत्कालीन संस्थापन पक्षको नेतृत्व गर्नुभएका वरिष्ठ नेता पौडेललाई यसपटक सबैभन्दा चुनौती हुने देखिएको छ । यसअघि पौडेललाई नेता मानेका नेता डा. शशाङ्क कोइराला, प्रकाशमान सिंहले यसपटक पौडेल नभई आफूहरू नै उम्मेदवार बन्न लगातार बैठक गर्न थाल्नुभएको छ ।
त्यसबाहेक शेखर कोइराला, सुजाता कोइराला, रामशरण महत, अर्जुननरसिंह केसीलगायतका नेताले पनि सभापति बन्न आफ्नो समूहभित्र ‘लबिङ’ सुरु गरेपछि समूहभित्रकै व्यवस्थापन फलामको चिउरा भएको छ ।
सभापति देउवाले यस पटक आफ्नो समूहबाट सर्वसम्मत हुने कुरालाई खासै महìव नदिए पनि धेरै आकाङ्क्षी बढेपछि पौडेल समूहले भने शुक्रबारबाट सहमतिको प्रयास थालेको छ ।
काँग्रेस नेत्री कोइरालाका अनुसार संस्थापनको भिन्न पक्षबाट एक जनाले मात्रै उम्मेदवार दिने कुरामा नेताहरूमा सहमति देखिएको छ तर त्यो एक जना सभापतिको उम्मेदवार को बन्ने भन्ने चरणको छलफलमा भने नेताहरू प्रवेश नै गरेका छैनन् । पार्टीको समूहभित्रको छलफलमा नेताहरूले पार्टीका वरिष्ठ नेता पौडेललाई सबैलाई मिलाएर सर्वसम्मत उम्मेदबार बन्न वा त्यो सम्भव नभए अर्को कुनै नेताका नाममा सहमति जुटाएर अभिभावकीय भूमिकामा बस्न सुझाव दिएका छन् ।
‘बार्गेनिङ’का लागि घोषणा
समूहभित्र पदाधिकारीको उम्मेदवारीलाई सुनिश्चित गर्न सभापतिको उम्मेदवारी घोषणा गर्ने गरिएको कतिपयको बुझाइ छ । काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माका अनुसार विगतमा जिल्ला अधिवेशन भएको तीन महिनाको
हाराहारीमा मात्र केन्द्रीय महाधिवेशन हुन्थ्यो तर यस पटक भने त्यति समय छैन । यसले समूहभित्र पदाधिकारीको स्थान सुरक्षित गर्न नेताहरू
सभापतिको उम्मेदवारीको घोषणामा जुटेको उहाँ बताउनुहुन्छ ।
सभापति हुन योग्यता पुगेका तर सभापति हुन नसक्ने नेताहरूले पदाधिकारीमा समेटिन सभापतिमा उम्मेदवार घोषणा गरेको विश्लेषण उहाँको छ । काँग्रेसले यसपटक दुई जना उपसभापति, दुई जना महामन्त्री र आठ जना सहमहामन्त्री निर्वाचित हुने
व्यवस्था गएको महासमितिले गरेको छ । पार्टीले पदाधिकारीमा यति धेरै निर्वाचित हुने व्यवस्था गरेको यो पहिलो पटक हो ।
यसअघि उपसभापति र सहमहामन्त्री सभापतिले मनोनीत गर्ने प्रावधान थियो भने एक जना महामन्त्री र कोषाध्यक्षको निर्वाचन गर्ने गरिएको थियो । यस पटक भने कोषाध्यक्ष र प्रवक्ता मात्र मनोनीत गर्न पाउने प्रावधान छ । यस पटक पदाधिकारीमा धेरै पद भएका कारण पनि सभापति हुन नेताहरूले रुचि देखाएको र ती नेताहरू पदाधिकारीमा समेटिने अवस्था रहेको जनाइएको छ ।
बेमौसमको चुनौती
भदौभित्रै महाधिवेशन सम्पन्न गर्नु काँग्रेसको संवैधानिक बाध्यता छ । कोरोना (कोभिड–१९) सङ्क्रमण कायमै छ । यसैगरी वर्षा, बाढी, पहिरोका साथै किसानले खेतीपाती गर्नुपर्ने बेलामा वडा तहदेखि भदौभित्रै केन्द्रसम्म निर्वाचन सम्पन्न गर्न काँग्रेसलाई प्रतिकूलताभित्र अनुकूलता खोज्नुपर्ने हुन्छ ।
केन्द्रीय सदस्य तथा नेता विश्वकर्मा प्रतिकूलताभित्रै अनुकूलता खोजी गरेर काँग्रेसले निर्वाचन सम्पन्न गर्ने विश्वास व्यक्त गर्नुहुन्छ । काँग्रेसले गाउँ तथा नगरपालिकाको वडा अधिवेशन साउन १२ गतेबाट सुरु गर्ने कार्यतालिका बनाएको छ । पार्टीको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ सम्म काठमाडौँमा गर्ने निर्णय काँग्रेसले यसअघि गरिसकेको छ ।