logo
२०७९ मंसिर १९ सोमवार



गणेशमानको जीवनगाथा

शनिवार |


गणेशमानको जीवनगाथा


शेषकान्त पण्डित

छयालीस सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको विश्लेषणात्मक जीवनगाथामा आधारित पुस्तक हो ‘लौहपुरुष’ । गणेशमान सिंहसँग निर्वासित जीवनदेखि नै राजनीतिक उठबस गर्नुभएका राजनीतिकर्मी घनेन्द्रपुरुष ढकालद्वारा लिखित यो पुस्तकले गणेशमानको राजनीतिक जीवनका नयाँ आयामहरू पस्केको छ । गणेशमानको बारेमा लेखिएको आत्मकथा ‘मेरो कथाका पानाहरू’, ढकालद्वारा नै लिखित ‘जनआन्दोलन – २०४६’, ‘इतिहासका दृष्टिमा गणेशमान सिंह’ पुस्तकका सूचनलाई यस पुस्तकले आधार बनाएको छ ।

त्याग, निष्ठा, समर्पणको पर्याय नै हुनुहुन्थ्यो गणेशमान । कसैसित पनि विशेष राजनीतिक द्वेष उहाँको थिएन । राजा त्रिभुवनसित गणेशमानको असल सम्बन्ध थियो । त्रिभुवन पटकपटक गणेशमानको निवासमा आउजाउ गरिरहनुहुन्थ्यो । राजा महेन्द्र पनि व्यक्तिगत कुरामा समेत गणेशमानसँग सहयोग मागिरहनुहुन्थ्यो । राजनीतिक सङ्घर्ष एक ठाउँमा रहे पनि अप्ठेरो परेको बेला गणेशमान सक्दो सहयोग गर्नुहुन्थ्यो । गिरिजाप्रसाद कोइराला पहिलो पटक निर्वाचित प्रधानमन्त्रीको भूमिकामा रहेको बेला उहाँको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै गणेशमानले कोइरालाको राजीनामा उहाँको घर विराटनगरमै पुगेर माग्नुभएको रहेछ । गणेशमानको फरक खालको स्वभाव थियो । जसको चित्रण लेखकले पुस्तकमा गर्नुभएको छ ।

जस्तोसुकै कठिन परिस्थितिमा समेत जोखिम मोल्न सक्ने गुण गणेशमानमा थियो । राजधानीको सम्पन्न परिवारमा जन्मेहुर्केका गणेशमानले अभाव, समस्या कहिल्यै झेल्नुभएन तर राजनीतिमा सक्रिय भएपछि उहाँले अनौठो खालको चरित्र देखाउनुभयो । १९९७ सालमा जब राणाहरूले उहाँलाई पक्रेर जेल हाले गणेशमानले घरबाट तयार पारिएका परिकार बहिष्कार गरेर उहाँले जेलबाटै प्राप्त हुने हण्डीले गुजारा चलाउन भयो । १९९७ देखि २००१ सालसम्म भद्रगोल जेलमा रहनुभएका सिंहले जेल तोडेर राणाहरूको शासनमा हलचल नै ल्याइदिनुभयो । त्यति मात्र होइन जस्तोसुकै जाडो भए पनि सुकुल÷गुन्द्रीलाई ओछ्यान र ढुङ्गालाई सिरानी बनाएर एउटा कम्बल ओडेर गणेशमानले धेरै वर्षको जाडो गुजार्न‘भयो । गणेशमानले धेरैलाई नेता मान्नुभएन तर जसलाई नेता स्वीकार गर्नुभयो पूरै समर्पित हुनुभयो । अनि सामान्य मानिसले नगर्ने खालको काम समेत गणेशमानले सहजै तरिकाले गर्नुहुन्थ्यो । जेलभित्र बस्ने साथीभाइको भाँडा सफा गरिदिने, टङ्कप्रसाद आचार्य, मातृकाप्रसाद कोइरालाको लुगा धोइदिने, सुन्दरीजलमा आठ वर्षभन्दा बढी समय बन्दी जीवनमा बस्दा बीपी कोइरालालाई बिहानीको चिया पकाएर खुवाउने कुरा आफूले गर्ने गरेको गणेशमानले सगौरभ सार्वजनिक नै गर्नुहुन्थ्यो ।

प्रजातान्त्रिक आन्दोलनमा कम्युनिस्टसितको सहकार्यलाई बीपी कोइरालाले कहिल्यै प्राथमिकता दिनुभएन । २०३९ सालमा जब बीपीको निधन भयो काँग्रेसको सभापतिको भूमिकामा नभए पनि पार्टीको नेतृत्व गणेशमानको काँधमा आयो । त्यसपछिका आन्दोलनमा वामपन्थीलाई पनि सम्मिलित गराउन थाल्नुभयो । मूलतः २०४६ सालको जनआन्दोलनको सफलता गणेशमानको दूरदृष्टि र कम्युनिस्टहरूसितको सहकार्यको अनुपम उदाहरणको रूपमा लेखकले चित्रण गर्नुभएको छ ।
पुस्तकमा गणेशमानको बाल्यकाल, विद्यार्थीको रूपमा उहाँले प्रदर्शन गरेको अनौठो व्यवहार, विभिन्न नेतासित उहाँको उतारचढावलाई सूक्ष्म रूपमा केलाइएको छ । कतिपय सन्दर्भमा गणेशमानको व्यवहारमा आएको परिवर्तनलाई समेत तुलना गरिएको छ । घरको ढुकुटी खेलेर जुवामा रमाउने, दैनिक मारपिट गर्न रमाउने, हुल्याहाको अगुवाइ गर्ने गणेशमानमा राजनीतिक जीवनले धेरै परिवर्तन ल्याएको र समय अन्तरालमा विनम्र, सुसंस्कृत, सभ्य र अनुशासित व्यक्तित्वका रूपमा देखापर्नुभएको सन्दर्भलाई पनि पुस्तकमा चर्चा गरिएको छ ।
गणेशमान कुनै राजनीतिक चेतनाले राजनीतिप्रति आकर्षित हुनुभएको होइन । गङ्गालालसँगको सङ्गतले उहाँ राजनीतिमा होमिनुभएको थियो । १९९७ सालमा थुनामा बस्दा समेत राजनीतिका बारेमा गणेशमान पूरै अनविज्ञ हुनुहुँदो रहेछ । मात्रै राणाविरुद्ध लाग्नुपर्छ भन्ने चेतमात्र उहाँमा जागृत भएको विषय पनि यहाँ उठाइएको छ ।

लामो राजनीतिक जीवनमा गणेशमान सिंह पार्टी र सरकार दुवैको प्रमुख स्थानमा पुग्नुभएन तर नेपाली राजनीतिमा सबैभन्दा क्रान्तिकारी छवि बनाउने नेता गणेशमान सिंह नै हुनुभयो । २००७ सालमा प्रजातन्त्रको स्थापना हुनुपूर्व नेपालका कुनै पनि राजनीतिज्ञका बारेमा हजारौँ मानिस जम्मा भएर सडकमा जयजयकार गरेर नारा लगाएको कुनै अभिलेख रहेनछ तर २००७ साल फागुन २ गते काठमाडौँको टुँडिखेलमा हजारौँ जनता उत्रिए र नारा लगाए– वीर गणेशमान जिन्दावाद । यसअर्थमा जनताले सार्वजनिक रूपमा स्वीकार गरेका नेताको रूपमा लेखकले गणेशमानको चित्रण गर्नुभएको छ ।

पुस्तकमा गणेशमानको गङ्गालाल, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, बीपी कोइरालासितको राजनीतिक सहकार्यलाई चर्चा गरिएको छ । झण्डै चार दशकभन्दा लामो बीपी गणेशमानको सहकार्यलाई लेखकले इतिहासको आवश्यकता र संयोगले जुराइदिएको युगलबन्दीको लगनगाँठो भन्नुभएको छ । यसका साथै जनआन्दोलन २०४६ मा सर्वोच्च कमाण्डर गणेशमानले खेलेको भूमिका, उहाँकै निवासमा आयोजना गरिएको नेपाली राष्ट्रिय काँग्रेसको राष्ट्रिय सम्मेलन, प्रजातन्त्रको पुनस्र्थापनामा देश विदेशको समर्थन जुटाउन उहाँले खेल्ुनभएको भूमिका, २०१७ साल पुस १ गते राजा महेन्द्रले गरेको राजनीतिक ‘कू’ पछिको विकसित राजनीतिक घटनाक्रमलगायतका विषयलाई पुस्तकमा मुख्य स्थान दिइएको छ । प्रजातन्त्रको पुनस्र्थापनापछि पार्टीभित्रको बढ्दो अन्तरविरोध, गणेशमानको अगुवाइमा सुरु गरिएको जनजागरण अभियान, मैले किन काँग्रेस छाडेँ भन्नेसम्मका पार्टीभित्रको आन्तरिक उतारचढावलाई पुस्तकमा स्थान दिएर गणेशमानले विभिन्न कालखण्डमा राखेको फरक मत, उहाँको दृष्टिकोणको चर्चा गरिएको छ ।
८२ वर्षको लामो जीवनलाई पुस्तकमा समेट्ने कुरा निकै चुनौतीपूर्ण कार्य हो तर लेखकले गणेशमानको राजनीतिक जीवनका मुख्य आयामहरूलाई पुस्तकमा स्थान दिनुभएको छ । गणेशमानलाई धेरैले जनआन्दोलनका कमाण्डर, सर्वमान्य नेता भनेर चिन्ने गर्दछन् तर लेखकले उहाँलाई ‘लौहपुरुष’ भन्ने उपमा दिनुभएको छ । लेखकले पुस्तकको नाम पनि यसैबाट जुराउनुभएको छ ।

नेपाली राजनीतिमा सम्भवतः बीपीपछि सबैभन्दा बढी लेखिएको÷पढिएको पात्र हो गणेशमान सिंह । सिंहका बारेमा मात्र केन्द्रित रहेर दर्जनौँ पुस्तक लेखिएका छन् । त्यसमा यो एउटा पुस्तक पनि थपिएको छ । यसले गणेशमानको राजनीतिक इतिहास नजिकबाट चिन्न थप सघाउने विश्वास लिन सकिन्छ । साथै उहाँका बारेमा अध्ययन, अनुसन्धान गर्न चाहनेका लागि पुस्तक उपयोगी हुने देखिन्छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?