logo
२०८० चैत्र १५ बिहीवार

   काँग्रेसको १४औँ महाधिवेशन   



नीतिगत बहसभन्दा नेतृत्वकै चर्चा

मुख्य समाचार |


नीतिगत बहसभन्दा नेतृत्वकै चर्चा


शेषकान्त पण्डित

काठमाडौँ, कात्तिक २७ गते । नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट नेतृत्वमा आउन पार्टीका नेताहरूले निर्वाचन सरगर्मी तीव्र बनाए पनि पार्टीले लिने नीतिगत निर्णयका विषयमा अहिलेसम्म बहसको प्रारम्भ हुन सकेको छैन ।
केन्द्रीय महाधिवेशन आउन एक महिनाभन्दा कम समय बाँकी रहे पनि महाधिवेशन हुँदै निर्वाचनमा जनताका बीचमा जाँदा लिने नीतिगत मुद्दाका विषयमा पार्टीको केन्द्रीय समितिमा छलफल प्रारम्भ नै गरिएको छैन ।
महाधिवेशनको पूर्वसन्ध्यामा आफ्नो पक्ष बलियो बनाउन विभिन्न समूहगत बैठक, लन्च तथा डिनर मिटिङ दैनिकजसो चलिरहे पनि पार्टीले तय गर्नुपर्ने राजनीतिक, आर्थिक, साङ्गठनिक नीतिका विषयमा भने नेताहरूको ध्यान नै पुग्न सकेको छैन ।
पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महत पार्टीको आसन्न केन्द्रीय समिति बैठकले महाधिवेशनका लागि आवश्यक नीतिगत पक्षमा निर्णय लिने विश्वास व्यक्त गर्नुभयो । महाधिवेशनमा नीति र नेतृत्व दुवैको निर्वाचन एकै पटक भएकाले धेरैको ध्यान नेतृत्व चयनमा पुग्ने भएकाले नीतिगत बहस ओझेलमा पर्ने गरेको उहाँ स्वीकार गर्नुहुन्छ ।
उहाँले यस पटक पनि विगतजस्तो राजनीतिक, आर्थिक साङ्गठनिक सबै खालको प्रतिवेदन पार्टीले तयार पारी महाधिवेशनमा प्रस्तुत गरिने जानकारी दिनुभयो । पार्टीको महासमिति बैठकमा बरु नीतिगत बहस चर्को रूपमा हुने गरेको उहाँ बताउनुहुन्छ ।
महासमिति बैठकमा निर्वाचन नहुने भएकाले नीतिगत बहस प्रभावकारी खालको हुने गरेको अनुभव नेताहरूको छ । विगतजस्तो सरोकारवालाहरूसित राय सुझाव लिने तथा जिल्ला जिल्लासम्म पार्टीका विभिन्न प्रतिवेदनका विषयका बहस गरिने सम्भावना यस पटक न्यूून रहेको जनाइएको छ ।

पार्टीका नेताहरूका अनुसार महाधिवेशनको केही महिनाअघि नै पार्टीले लिने राजनीतिक, आर्थिक तथा साङ्गठनिक दस्तावेज तयार पारी विभिन्न चरणमा छलफल भइसकेको हुनुपर्ने हो । विगतका महाधिवेशनमा यस खालको अभ्यास गर्ने गरिएको भए पनि यस पटक कुनै छनक नदेखिएको काँग्रेसका काभ्रेका सभापति मधु आचार्य बताउनुहुन्छ ।
महाधिवेशन आउनुअघि विभिन्न नीतिगत विषयमा समितिहरू बनाएर जिल्ला जिल्लामा सुझाव लिने परम्परा विगतको महाधिवेशनमा थियो । तर यसपटक त्यसको अभाव देखिएको उहाँ बताउनुहुन्छ । नेपालमा सहमतिको माध्यमबाट संविधान जारी गरेर राजनीतिक विषयको टुङ्गो लगाए पनि समावेशी र समृद्धिका खाका समेटिएको कार्यक्रम काँग्रेसले तयार गर्नुपर्नेमा नेताहरूको जोड छ । तीनै तहको निर्वाचनसमेत मुखैमा महाधिवेशनसमेत हुन लागेकाले जनताले देख्ने र बुझ्ने गरी काँग्रेसले समृद्धिको खाका तयार पार्नुपर्नेमा त्यो हुन नसकेको गुनासो नेताहरूको छ । नीतिगत अधिवेशन अलग्गै गरौँ काँग्रेसका नेता तथा पूर्वमन्त्री भीमसेनदास प्रधान पार्टीको नेतृत्व चयन गर्ने र नीतिगत बहस गर्ने गरी अलग अलग अधिवेशन गर्नुपर्ने विचार व्यक्त गर्नुहुन्छ । नीति र नेतृत्व एकै पटकको अधिवेशनमा छिनोफानो हुँदा जहिले पनि नीति ओझेलमा र नेतृत्वमा मात्रै सबैको ध्यान जाने अवस्था काँग्रेसमा देखिएको उहाँ स्वीकार गर्नुहुन्छ ।
महाधिवेशनमा नेताहरू नै मत माग्न र आफ्नो पक्षमा माहोल बनाउन मतदाता बसेको ठाउँसम्मै पुग्ने गरेकाले नीतिगत बहस गरिएका हलहरू सधँै खाली हुने गरेको विगतको स्मरण उहाँ गर्नुहुन्छ । बरु महाधिवेशनको साटो महासमिति बैठकमा काँग्रेसको नीतिगत विषयमा व्यापक बहस छलफल हुने गरेको उहाँ बताउनुहुन्छ । यस खालको कमीकमजोरी काँग्रेसमा पुरानै समयदेखिको समस्या देखिएको उहाँको भनाइ छ ।

समूहगत छलफल जारी
पार्टीमा विभिन्न समूहका छलफल केही दिनयता निरन्तर रूपमा चलिरहेका छन् । सभापति शेरबहादुर देउवाले बिहीबार आफू पक्षीय नेताहरूको बैठक राखेर संस्थापन पक्षबाट सहमतीय उम्मेदवारका लागि प्रयास गर्नुभएको छ । बैठकमा केन्द्रीय समितिको बैठकको तयारीका बारेमा समेत छलफल भएको जनाइएको छ ।
अर्कोतर्फ संस्थापन इतर समूहका नेताहरूको शुक्रबारको छलफलमा पनि सभापतिमा एकजना मात्रै उम्मेदवार बनाउने र त्यो साझा उम्मेदवार बनाउने विषयमा कुराकानी भएको जानकारी नेताहरूले दिएका छन् । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको अगुवाइमा संस्थापन इतर पक्षको अनौपचारिक छलफल गरिएको हो । बैठकपछि पार्टीका नेता अर्जुननरसिंह केसीले केन्द्रीय समितिको बैठकमा उठाउनुपर्ने विषयमा नेताहरूका बीचमा छलफल भएको जानकारी दिनुभयो । पार्टीले महाधिवेशन अघि यही कात्तिक २८ गते आइतबार केन्द्रीय समितिको बैठक बोलाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?