logo
२०८० चैत्र १५ बिहीवार



निर्वाचन प्रक्रिया मङ्सिर २१ बाटै

मुख्य समाचार |


निर्वाचन प्रक्रिया मङ्सिर २१ बाटै


शेषकान्त पण्डित

काठमाडौँ, मङ्सिर ११ गते । नेपाली काँग्रेसको १४औँ महाधिवेशन औपचारिक रूपमा शुभारम्भ हुनुअघि नै निर्वाचन प्रक्रिया सुरु गरिने भएको छ । मङ्सिर २४ गते महाधिवेशन उद्घाटन कार्यक्रम हुने भए पनि निर्वाचन प्रक्रिया मङ्सिर २१ गतेबाट नै सुरु गरिनेछ । पार्टीको केन्द्रीय निर्वाचन समितिका सचिव तथा अधिवक्ता जगन्नाथ श्रेष्ठले महाधिवेशनको औपचारिक प्रक्रिया सुरु हुनुअघि नै निर्वाचन प्रक्रिया थालिने जानकारी दिनुभयो ।

निर्वाचन प्रक्रियाअन्तर्गत पहिला महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरिनेछ । त्यसअघि सबै जिल्लाले क्षेत्रीय अधिवेशन पूरा गर्नुपर्नेछ । भ्रातृ, शुभेच्छुक संस्था तथा विदेशस्थित विभिन्न जनसम्पर्क समितिले समेत महाधिवेशन प्रतिनिधिको नामावली बुझाउनुपर्नेछ ।

मङ्सिर २२ र २३ गते पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्य उम्मेदवारको मनोनयन प्रक्रिया सुरु गरिने सम्भावना छ । तर निर्वाचन समितिले यस विषयमा औपचारिक निर्णय गरेको छैन । यसको टुङ्गो मङ्सिर २१ गते नै गरिने र महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरिने जानकारी उहाँले दिनुभयो ।

जिल्ला अधिवेशन जारी
नेपाली काँग्रेसको जिल्ला अधिवेशन ४० भन्दा बढी जिल्लामा शुक्रबारबाट सुरु भएको छ । दुई वा सोभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन सुरु भएको हो । शनिबारसम्म धेरैजसो जिल्लामा नेतृत्व चयन हुने सम्भावना छ । केही जिल्लामा भने अधिवेशन प्रक्रिया स्थगित गर्नुका साथै केही दिन सारिएको छ । चितवन जिल्लाको अधिवेशन केही दिन स्थगित गरिएको छ ।
नेकपा (एमाले)को चितवनमा जारी महाधिवेशन कारण केही दिन अधिवेशनको प्रक्रिया स्थगित हुन पुगेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । मकवानपुरले एक सातापछि जिल्ला अधिवेशन गर्ने भएको छ । मकवानपुरको हेटौँडामा आगामी मङ्सिर १६ र १७ गते प्रदेश अधिवेशन गर्नुपर्ने भएकाले त्यसको तयारीका लागि जिल्ला अधिवेशन एक सातापछि सार्न सहमति मागेको जानकारी केन्द्रीय निर्वाचन समितिले दिएको छ ।

काठमाडौँको जिल्ला अधिवेशन दुई दिन सरेको छ । शनिबार उम्मेदवारको मनोनयन दर्ता गरेर मङ्सिर १२ गते निर्वाचन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस काठमाडौँका जिल्ला सभापति सबुजकृष्ण बानियाँले जानकारी दिनुभयो । निर्वाचनका लागि उपयुक्त स्थान नपाएका कारण अधिवेशन दुई दिन सारिएको जनाइएको छ । काँग्रेसको काठमाडौँ जिल्ला अधिवेशन राष्ट्रिय सभा गृहमा हुनेछ । मङ्सिर १६ र १७ गते सातवटै प्रदेशमा प्रदेश अधिवेशन गर्ने कार्यतालिका छ । केन्द्रीय महाधिवेशन भने मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?