काठमाडौँ, पुस ४ गते । बिजुली वा पेट्रोल होइन, हाइड्रोजनबाट चल्ने कार बन्दै छ । यो विदेशमा भएको प्रयास पनि होइन, नेपालमै । कार त पहिलो प्रयोगमात्र हो, एक वर्षभित्र सार्वजनिक यातायातका लागि बस नै चल्नेगरी हाइड्रोजन ऊर्जा अनुकूलको इन्जिन बनाइँदै छ ।
त्यसका लागि काठमाडौँ विश्वविद्यालयले पेट्रोलबाट चलिरहेको कारलाई हाइड्रोजनबाटै चलाउन सक्नेगरी रूपान्तरण गर्न लागेको छ । काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक विराजसिंह थापाका अनुसार विश्वविद्यालयका प्रथम उपकुलपति सुरेशराज शर्माले प्रयोग गरेको मारुती कारको इन्जिन झिकेर हाइड्रोजनबाट चल्न सक्ने बनाउन लागिएको हो ।
यससँगै विश्वविद्यालयले एक वर्षभित्र धुलिखेलबाट काठमाडौँ सञ्चालन हुनेगरी दुईवटा सार्वजनिक बस सञ्चालन गर्ने योजना बनाएको छ । हाइड्रोजनबाट बस सञ्चालन गर्न १० करोड रुपियाँ बजेट आवश्यक पर्छ । उक्त रकम जुटाउने काममा विश्वविद्यालय लागिरहेको छ र सो रकम हाइड्रोजन उत्पादन, भण्डारण, सुरक्षालगायतका काममा खर्च हुने थापाको भनाइ छ ।
काठमाडौँ विश्वविद्यालयले स्वदेशी लगानीमा पहिलो पटक हाइड्रोजन ऊर्जा उत्पादन गर्न लागेको हो । त्यसको परीक्षण निकै अघिदेखि हुँदै आएको छ । हाइड्रोजन ऊर्जा गाडी चलाउनमात्र प्रयोग हुँदैन । खाना पकाउन तथा विभिन्नप्रकारका रासायानिक पदार्थ उत्पादन गर्ने उद्योगमा प्रयोग गर्न सकिन्छ । यसको प्रयोग व्यापक बनाउन सके पेट्रोलियम पदार्थ आयातका लागि बिदेसिने गरेको रकम स्वेदशमै रोकिनेछ ।
हाइड्रोजन ऊर्जा उत्पादनका लागि विश्वविद्यालयले सानो आकारको ग्रिन हाइड्रोजन प्रयोगशाला स्थापना गरेर परीक्षण गरिरहेको छ । हाइड्रोजन ग्यास उत्पादनका लागि बिजुली, सौर्य शक्ति वा वायु शक्ति (वाइन्ड इनर्जी) आवश्यक पर्छ । नेपालमा विद्युत् उत्पादनको अनुपात बढिरहेको छ । केही समयपछि उत्पादित विद्युत् स्वदेशमा खपत हुन नसक्ने अवस्था आउन सक्ने अनुमान गरिएको छ । ग्रिन हाइड्रोजन ल्याबका प्रमुखसमेत रहनुभएका काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक थापाले यस्तो अवस्थामा विद्युत् शक्तिलाई हाइड्रोजन ग्यासमा रूपान्तरण गर्ने र सोही ग्यासलाई सवारीसाधन चलाउन, खाना पकाउन र उद्योगमा खपत गर्न सकिने बताउनुभयो ।
हाइड्रोजन ग्यास उत्पादनमा खटिएका इन्जिनियरको नेतृत्व गरिरहनुभएका थापाले भन्नुभयो, “एकातिर स्वदेशमा विद्युत् उत्पादन बढ्दै जाँदा खपत गर्न नसकेर खेर जाने अवस्था छ भने अर्कोतर्फ पेट्रोलियम पदार्थ र ग्यास किन्न वार्षिक रूपमा अर्बौं रुपियाँ बाहिरिने अवस्था छ । यो अवस्थाको अन्त्य गर्न हाइड्रोजन इनर्जीले महìवपूर्ण भूमिका निर्वाह गर्नेछ ।”
हाइड्रोजन उत्पादनका लागि विश्वविद्यालयले नेपाल आयल निगमको सहकार्यमा पाँच करोड रुपियाँ लगानीमा अर्को प्रयोगशाला निर्माण गरिरहेको छ । प्रयोगशाला निर्माणको काम अन्तिम चरणमा पुगेको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले गत वर्षदेखि मेकानिकल इन्जिनियरिङ विभागअन्तर्गत रहनेगरी ‘इलेक्टिभ कोर्स’का रूपमा हाइड्रो इनर्जीको पढाइ पनि सुरु गरिसकेको छ । यो कोर्स पढ्न एक समूहमा २५ जना विद्यार्थी क्षमता राखिएको छ । तर, विद्यार्थी आकर्षण बढिरहेकाले कोटा बढाउनुपर्ने बाध्यतामा रहेको थापाले बताउनुभयो ।
विश्वमा आर्थिक रूपमा सम्पन्न जापान, चीन, कोरिया, भारतलगायतका मुलुकले हाइड्रोजन प्रयोग गरेर राष्ट्रिय अर्थतन्त्र उकासिरहेका छन् । नेपालमा पनि यसको सम्भावना प्रशस्तै रहे पनि सरकारको प्राथमिकतामा नपरेको गुनासो गर्दै उहाँले भन्नुभयो, “नेपालको सन्दर्भमा यसको सबैभन्दा सकारात्मक पक्ष भनेको खेर जान लागेको विद्युत्लाई हाइड्रोजन ग्यासमा रूपान्तरण गरेर अन्यत्रै प्रयोगमा ल्याउन सक्नु हो ।”
अहिले अन्तर्राष्ट्रिय बजारमा सामान्यतया हाइड्रोजनको मूल्य प्रतिकेजी पाँच अमेरिकी डलर पर्छ । मुलुकभित्र हाइड्रोजनमात्रै वार्षिक पाँच हजार केजी खपत हुने गरेको छ भने हाइड्रोजनबाट बनेको अर्को पदार्थ एमोनिया पनि वार्षिक एक हजारदेखि एक हजार पाँच सय मेट्रिक टनसम्म खपत हुने गरेको थापाले जानकारी दिनुभयो ।
मुलुकमा हाइड्रोजन ऊर्जाको प्रयोगसम्बन्धी स्पष्ट नीति अझै बनेको छैन । केयूले प्रयोगशाला नै बनाएर हाइड्रोजन ऊर्जा निर्माणको प्रक्रिया अघि बढाए पनि सरकारले नीति निर्माणको प्रक्रिया अघि बढाएको छैन । ऊर्जा मन्त्रालय, केयू, त्रिभुवन विश्वविद्यालयलगायतका निकायबाट सदस्यहरू सम्मिलित विज्ञ समितिले काम गरिरहेको छ । समितिका सदस्यसमेत रहनुभएका सहप्राध्यापक थापाले भन्नुभयो, “समितिले काम गरिरहेको छ । केही समयपछि सरकारलाई नीतिको खाका बुझाउँछौँ ।”