logo
२०८० चैत्र १६ शुक्रवार



व्यक्तिको जग्गा वायु गुठीमा

मुख्य समाचार |


व्यक्तिको जग्गा वायु गुठीमा


काठमाडौँ, चैत २६ गते । वर्षौंदेखि भोगचलन गरिरहेको खेतबारी अकस्मात् गुठीको नाममा दर्ता भएपछि धादिङ र गोरखाका तीन हजार पाँच सय घरधुरीका बासिन्दा समस्यामा परेका छन् ।धादिङ नीलकण्ठ नगरपालिका वडा नम्बर १० र ११, नेत्रावती डमजोङ गाउँपालिकाको वडा नम्बर ५ तथा गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर ३, ४ र ५ मा यस्तो समस्या देखिएको छ । दुवै जिल्लामा २०३२ सालमा जग्गाको नापी भएको थियो ।

जग्गा नापी भएर लालपुर्जा वितरण गरेपछि वार्षिक तिरो तिर्न जिल्ला मालपोत कार्यालय जानुको सट्टा स्थानीय ज्यामरुङमा रहेको तत्कालीन श्री ५ को वायु गुठीमै तिरे पनि हुने सुविधा लालपुर्जा धनीलाई दिइएको थियो ।
त्यतिखेर ठकुरी परिवारको पूजा गर्ने स्थान भएकाले त्यसलाई वायु देवता गुठी भनिएको थियो । स्थानीयले तिरेको तिरोलाई शाह परिवारले पूजाखर्चका रूपमा प्रयोग गर्ने गरेका थिए । धादिङ ज्यामरुङका ईश्वरीबहादुर लम्सालले व्यक्तिको नाममा लालपुर्जा भए पनि वायु गुठीलाई तिरो तिर्ने भएकाले लालपुर्जाको एक छेउमा ‘वायु गुठी’भनेर लेखिएको जानकारी दिनुभयो ।

माओवादी द्वन्द्वकालमा ज्यामरुङ दरबारमाथि आक्रमण भएपछि गुठी अलपत्र भएको थियो । त्यसपछि दुवै जिल्लाका जग्गाधनीले २०५५ सालदेखि सम्बन्धित जिल्ला मालपोत कार्यालयमै गएर तिरो तिर्न थाले । २०७४ सालमा मालपोत कार्यालयले जग्गालाई कम्प्युटर प्रणालीमा प्रवेश गराउने प्रणालीको सुरुवात गरेको थियो । त्यतिखेर ती जग्गालाई गुठीको नाममा रहेको जनाउँदै मालपोत कार्यालयले भोगचलन गरिरहेका व्यक्तिलाई मोहीका रूपमा राखेको लम्सालले जानकारी दिनुभयो ।

आफूहरूलाई जानकारी नगराई मालपोत कार्यालयले व्यक्तिगत जग्गालाई गुठीमा परिणत गरेपछि दुवै जिल्लाका पीडितले २०७४ सालदेखि श्री ५ को वायु गुठी समस्या समाधान समिति गठन गरेर आन्दोलन गरिरहेका छन् । समितिका संयोजकसमेत रहनुभएका लम्सालले भन्नुभयो, “सुरुमा मालपोत कार्यालयले कम्प्युटर प्रणालीमा प्रवेश गराउँदा त्रुटि भएको जनाउँदै सुधार गरिने आश्वासन दिइएको थियो तर चार वर्ष बितिसक्दा पनि समस्या समाधान भएको छैन ।”

समस्या समाधान गरिदिन अनुरोध गर्दै पीडितले गुठी संस्थान, भूमि व्यवस्था तथा मालपोत विभाग हुँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा समेत थुप्रै पटक धाइसकेका छन् । मागबारे मन्त्रालयमा जानकारी गराउँदा मन्त्रालयले गुठी संस्थान तथा गुठी संस्थानले भूमि व्यवस्था तथा मालपोत विभागलाई यसबारे सोधेको थियो । सबै निकायले कम्प्युटरमा प्रवेश गराउँदा त्रुटि भएको निष्कर्ष निकाल्दै तत्काल समस्या समाधान गरिने आश्वासन पीडितलाई दिएको थियो ।

उहाँले भन्नुभयो, “सबै निकायले समस्या जायज भएको जनाउँदै समाधान गरिदिने आश्वासन मात्रै दिन्छन् तर निर्णय गर्ने आँट कसैले पनि गर्दैनन् ।” मन्त्रालयका सहसचिव पदम सोतीले जग्गावालाको माग जायज भए पनि तत्काल समस्या समाधान गर्न कठिन रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा गुठीसम्बन्धी विभिन्न प्रावधानका कारण पनि यस्तो समस्या आएको हो तर तत्काल समाधान गर्न गुठीसम्बन्धी नयाँ ऐन आउनुपर्छ । संसद्न चलेकाले तत्काल यो सम्भव छैन । त्यसैले उहाँहरूले केही समय कुर्नैपर्छ ।”

आफ्नो जग्गा गुठीको नाममा गएपछि जग्गाधनीले किनबेच गर्न पाएका छैनन् । बैङ्कसँग ऋण लिन पाएका छैनन् । धेरै समस्या आएपछि भूमि व्यवस्था तथा मालपोत विभागले बैङ्कहरूलाई सहज होस् भनेर उक्त जग्गा रैताने (रैती)कै जग्गा भएको व्यहोराको पत्रसमेत लेखिदिएको थियो तर बैङ्कहरूले उक्त पत्रलाई आधार मानेर ऋण दिन नमानेको लम्सालले गुनासो गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?