logo
२०८१ बैशाख ११ मंगलवार



युवासम्म पुग्नै सकेन युवापरिषद्

मुख्य समाचार |


युवासम्म पुग्नै सकेन युवापरिषद्


काठमाडौँ, फागुन १९ गते । युवाको समग्र विकासका लागि सरकारले राष्ट्रिय युवा परिषद्को स्थापना गरे पनि लक्षित वर्गसम्म जान सकेको छैन । युवा परिषद् भनिए पनि यस कार्यालयले युवा लक्षित प्रभावकारी कार्यक्रम तय गर्नसकेको छैन । सञ्चालनमा आएका कार्यक्रम पनि युवासम्म पुगेको छैन ।
सरकारले युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहने गरी २०७२ साल फागुन १९ गते परिषद् स्थापना गरेको थियो । उद्यमशीलता र सीप विकास, गुणस्तरीय र व्यावसायिक शिक्षा, रोजगारी, स्वास्थ्य र सामाजिक सुरक्षा, युवा परिचालन, सहभागिता र नेतृत्व विकासलगायतका उद्देश्य परिषद्को छ तर यी कार्यक्रम खासै प्रभावकारी भएको छैन ।

परिषद्मा स्थापनाकालदेखि नै राजनीतिक नियुक्तिलाई प्राथमिकता दिने गरिएको छ । केन्द्रमा रहने कार्यकारी उपाध्यक्षदेखि जिल्लास्तरमा रहने जिल्ला युवा समितिको अध्यक्ष नियुक्तिसमेत दलीय आस्थाको आधारमा हुने गरेको छ । युवामाझ जान सक्नेलाई छनोट गर्नुको सट्टा दलका कार्यकर्तालाई मात्रै नियुक्तिदिँदा जिल्लास्तरमा रहने यस्ता समितिको अध्यक्षको काम तलब भत्ता लिनेमा मात्रै सीमित हुने गरेको छ ।

युवाको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्न परिषद् सफल नभएको तथा युवा मैत्री काम गर्न नसकेको आरोप परिषद् पदाधिकारीलाई लाग्ने गरेको छ । नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष तथा नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले दलीय आस्थालाई मात्र प्राथमिकता दिने प्रचलनले परिषद्बाट प्रभावकारी काम हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “भर्खर स्थापना भएको हुनाले परिषद्बाट ठूलो अपेक्षा त गर्न सकिँदैन तर यस अवधिमा जति काम गर्न सकिन्थ्यो । त्यो भने हुन नसकेको सत्य हो ।” प्रभावकारी काम गर्न सकेको छैन । बेरोजगारी, अर्धदक्ष जनशक्ति, गुणस्तरीय शिक्षाजस्ता विद्यमान समस्या भए पनि ती समस्यामा केन्द्रित भएर परिषद्ले काम गर्न नसकेको महरको आरोप छ ।

परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले पनि परिषद्ले सोचेअनुसार काम गर्न नसकेको स्वीकार्नुभयो । उहाँले भन्नुभयो, “सरकारले पदाधिकारी नियुक्ति गर्ने भएकाले परिषद्अन्तर्गतका निकायमा दलीय प्रभाव पर्नु स्वाभाविक हो तर जुन दलको आस्था बोकेको भए पनि योग्य व्यक्तिलाई ल्याउनुपर्छ । मेरो कार्यकालमा दलीय आस्थालाई पाखा लगाएर युवालाई केन्द्रमा राखेर कार्यक्रम तय गर्छु ।” शिक्षालाई गुणस्तरीय, व्यावसायिक, सीपमूलक र रोजगारमूलक बनाउँदै सम्पूर्ण युवाको पहुँच सुनिश्चित गर्ने भन्दै सरकारले युथ भिजन २०२५ सहित १० वर्षको रणनीतिक योजना अघि सारेको थियो तर सरकारको योजनाबारे पनि धेरै युवालाई जानकारी छैन । नेपालमा १६ देखि ४० वर्ष उमेर समूहलाई युवाको दायरामा राखिएको छ । यो समूहको जनसङ्ख्या ४० प्रतिशत हाराहारी छ ।

परिषद्ले केन्द्र तथा जिल्ला स्तरमा युवा लक्षित तालिम सञ्चालन, प्रदेश तथा स्थानीय तहमा राजनीति र विकासमा सहभागिता बढाउन कार्यक्रमका साथै र युवा (आर्थिक, राजनीतिक र सामाजिक विकास) सहभागिता जनाउने तालिम सञ्चालन गर्दै आएको प्रशासकीय प्रमुख रमाकान्त शर्माले
जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?