logo
२०८० चैत्र १५ बिहीवार



क्यूएए लिनेको सङ्ख्या ५७ पुग्यो

शिक्षा |


क्यूएए लिनेको सङ्ख्या ५७ पुग्यो


काठमाडौँ,चैत १ गते । विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र (क्यूएए) पाउने क्याम्पसको सङ्ख्या ५७ पुगेको छ । उच्च शिक्षाप्रदायक संस्थालाई स्तरवृद्धि गरी गुणात्मक शिक्षा प्रदान गर्न प्रेरणा प्रदान गर्ने उद्देश्यले दोस्रो उच्च शिक्षा परियोजनाअन्तर्गत आयोगले यस कार्यक्रमको सुरुवात गरेको हो । परियोजनाका लागि विश्व बैङ्कको आर्थिक सहयोग छ ।

सन् २००७ बाट सुरु गरिएको यस कार्यक्रमअन्तर्गत पहिलो पटक सन् २००९ मा चितवनको बालकुमारी कलेजलाई क्यूएएको प्रमाणपत्र प्रदान गरिएको थियो । क्यूएए लिनका लागि शैक्षिक संस्थाले सुरुमा आयोगमा मनसायपत्र (लेटर अफ इन्टेन्ट) पेस गर्नुपर्छ । सम्बन्धित क्याम्पसले पेस गरेको कागजपत्रका आधारमा आयोगले विभिन्न चरणको अध्ययन गर्छ ।

आयोगले निजी तथा सरकारी लगानी र सामुदायिक सबै प्रकृतिका उच्च शिक्षाप्रदायक संस्थालाई क्यूएए प्रदान गर्छ तर यो प्रक्रियामा सहभागी भएर कुनै पनि विश्वविद्यालयबाट सम्बन्धन प्राप्त र सामुदायिक स्तरबाट सञ्चालित क्याम्पसले आयोगमा स्वअध्ययन प्रतिवेदन पेस गर्नेबित्तिकै आयोगबाट निश्चित आर्थिक अनुदान प्रदान गरिन्छ ।

तर, अब भने यस्तो अनुदान क्यूएए प्राप्त गरेपछि मात्रै दिने वा अन्य तरिकाबाट दिने भन्ने विषयमा छलफल भइरहेको आयोगको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र शाखाका प्रमुख डा. ऋषिकेश पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार विगतमा आसयपत्र पेस गरेदेखि क्यूएए प्राप्त गर्ने समयसम्म पाँच चरणमा अनुदान दिने गरिएको थियो । अब भने दुई चरणमा रकम दिने तयारी भइरहेको छ ।

क्यूएए लिन चाहने शैक्षिक संस्थाले आयोगद्वारा तय गरिएका १२० वटा सूचकअनुसार भौतिक, शैक्षिक तथा प्रशासनिक काम गर्नुपर्छ । यी सबै सूचकका लागि कुल सय पूर्णाङ्क तय गरिएको छ । पाण्डेका अनुसार न्यूनतम ५० अङ्क ल्याउने संस्थालाई क्यूएए प्रदान गरिन्छ ।

क्यूएए पाएपछि आयोगले सम्बन्धित संस्थाका लागि वार्षिक परीक्षाको नतिजाका आधारमा प्राविधिक विषयका विद्यार्थीका लागि प्रतिविद्यार्थी ५० हजार र सामान्य धारका विद्यार्थीका लागि प्रतिविद्यार्थी ३० हजार रुपियाँ प्रदान गर्ने गर्छ । क्यूएए पाएपछि पनि आयोगले प्रदान गरेको सूचकमा वृद्धि गर्ने क्याम्पसलाई थप आर्थिक अनुदान दिइने पाण्डेले बताउनुभयो । तर, क्यूएए पाएपछि वार्षिक परीक्षाको नतिजा अत्यन्त कम ल्याउने क्याम्पसलाई नियमन गर्ने विषयमा पनि छलफल भइरहेको आयोगले जनाएको छ ।

मुलुकभर उच्च शिक्षालयको सङ्ख्या एक हजार चार सय छन् तर सन् २०२६ भित्र तीन सय क्याम्पसलाई क्यूएए दिने आयोगको योजना छ । डेढ दशकको अवधिमा जम्मा ५७ वटा संस्थाले मात्रै क्यूएए प्राप्त गर्नु सन्तोषजनक नभएको शिक्षाविद्को भनाइ छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?