logo
२०८१ जेष्ठ ५ शनिवार



शहीद दिवसमा मात्रै सजाइन्छ शहीद पार्क

मुख्य समाचार |


शहीद दिवसमा मात्रै सजाइन्छ शहीद पार्क


काठमाडौँ, माघ १६ गते । लैनचौरस्थित शहीद पार्कमा ठड्याइएको कलशसहितको स्मारकमा लेखिएको छ, ‘शहीद स्मारक, नेपाल र नेपाली जनताको विकास गर्न, मानव अधिकार कायम गर्न र नेपालमा प्रजातन्त्र ल्याउन बेलाबेलामा बलिदान भएका ती वीर शहीदहरूको सम्झनामा १९५८ एडी विक्रम संवत् २०१५ नेपाल संवत् १०७८ ।’ स्मारकमा यस्तो लेखिएको भए पनि पार्क संरक्षणमा देखिएको उदासीनताले शहीदको सपना र बलिदानको राज्यबाट उचित कदर हुन नसकेको आभास हुन्छ ।

राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्री नियुक्त भएपछि स्मारकमा माल्यार्पण गर्न जाने चलन छ । त्यससँगै हरेक वर्ष शहीद दिवसका दिन स्मारकको कलशमा फूलमाला चढाएर सामान्य कार्यक्रम गर्नेबाहेक अन्य समयमा खासै कसैले सम्झँदैनन् । पार्क संरक्षणमा खटिनुभएका रवि मालीले भन्नुभयो, “यो पार्कलाई सरकारले सम्झने भनेको शहीद दिवसको दिन मात्रै हो । पाहुना पनि आउने भएकाले होला, महानगरपालिकाले यो दिन चाहिँ पार्कलाई रङरोगन गरेर चिटिक्क पार्छ । अरू दिन सुनसान हुन्छ । ”

शहीद दिवसका अवसरमा आइतबार प्रधानमन्त्री उपस्थित हुने कार्यक्रम भएका कारण शनिबार पार्क सजावटका काम दु्रत गतिमा भइरहेको थियो । दुग्ध विकास संस्थानबाट खानी विभागसम्म निस्कने बाटो विस्तार गर्ने क्रममा भत्काइएका पर्खालबाट निस्केका ढुङ्गा, माटो पन्छाउन कामदार व्यस्त थिए । लामो समयदेखि छरिएर रहेका ती सामग्री पनि शहीद दिवसका दिन कार्यक्रम गर्न लागिएकोले मात्रै पन्छाउन लागिएको मालीले बताउनुभयो ।

इन्द्रचोकका माली परिवारलाई महानगरपालिकाले २०२५ सालदेखि पार्क संरक्षणको जिम्मा दिएको थियो । सुरुमा श्याम मालीले जिम्मा लिएको उक्त पार्क अहिले रवि तथा उनका भाइहरूले हेरचाह गरिरहेको छ । माली परिवारले त्यहीँ बसेर फूलको बिरुवा उत्पादन गर्दै पार्क सजाउने काम गरिरहेको छ । नर्सरीबाट उत्पादित बिरुवा बेचेर आएको कमाइले खर्च धानिरहेको छ । महानगरपालिकाले तलब तथा अन्य कुनै सुविधा नदिएको मालीले बताउनुभयो ।
राजधानीको केन्द्रमा रहे पनि यस पार्कबारे सर्वसाधारणमा समेत पर्याप्त जानकारी छैन । पार्क पाँच रोपनीमा फैलिएको भए पनि निरन्तरको अतिक्रमणबाट क्षेत्रफल निरन्तर खुम्चिरहेको छ । स्थानीयवासीबाट बाटो चेपेर घर बनाउने र फेरि बाटो फराकिलो पार्ने नाममा पार्कको जग्गा चेप्ने प्रवृत्ति वर्षौंदेखि चलिरहेको छ ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले पार्कलाई अझै व्यवस्थापन गर्ने योजना रहेको बताउनुभयो तर व्यवस्थित पार्क बनाउन जग्गा थोरै भएकाले योजनाअनुसार उक्त पार्कलाई सजाउन नसकिएको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?