logo
२०८१ जेष्ठ ५ शनिवार



चेपुवामा शहीद स्मारक

मुख्य समाचार |


चेपुवामा शहीद स्मारक


काठमाडौँ, माघ २७ गते । लैनचौरस्थित शहीद स्मारक चारैतिरबाट चेपुवामा परेको छ । निरन्तरको अतिक्रमणले स्मारकको क्षेत्रफल खुम्चँदै छ । राजधानीको महत्त्वपूर्ण स्थानमा रहेको यो ठाउँमाथि स्थानीय समुदाय, सरकारी निकाय र अन्य क्षेत्रबाट अतिक्रमण भइरहेको छ । स्मारकलाई संरक्षण गरेर आकर्षक गन्तव्य बनाउनेतर्फ सरकारको ध्यान गएको छैन ।

पाँच रोपनी क्षेत्रफलमा फैलिएको स्मारक काठमाडौँ महानगरपालिकाको व्यवस्थापनमा छ । स्थानीयबाट बाटो चेपेर घर बनाउने र फेरि बाटो फराकिलो पार्ने नाममा स्मारकको जग्गा चेप्ने प्रवृत्ति वर्षौंदेखि चलिरहेको छ । पछिल्लो समय खानी तथा भूगर्भ विभागबाट दुग्ध विकास संस्थानतर्फ छिर्ने बाटो विस्तार गर्दा पार्कको जग्गा चेपिएको छ ।

बाटो बढाउँदा भत्काइएका र नयाँ निर्माण गरिएको पर्खालको ढुङ्गा माटो पनि स्मारक क्षेत्रभित्रै थुपारिएको छ । माघ १६ गते शहीद दिवसमा कार्यक्रम गर्नुपर्ने भएपछि त्यहाँ थुपारिएका ढुङ्गा माटो हतारहतार गरेर सम्याइएको थियो । स्मारकको जग्गामा खानी विभागको मूल प्रवेशद्वारसँगै जोडिएको नेपाल–जापान बाल पुस्तकालय र पुस्तकालयसँगै जोडेर दुई वर्षअघि महानगरपालिकाको वडा नम्बर २६ को भवन बनाइएको छ । दुवै संरचना बनेर बाँकी रहेको जग्गामा मात्र स्मारक खुम्चिएको छ ।

सुरुमा स्मारक परिसरभित्र वडा कार्यालयका लागि अस्थायी टहरा बनाइएकोमा पछि पक्की भवन बनाइएको हो तर स्मारक अव्यवस्थापनको प्रश्न गर्दा महानगरपालिकाले त्यहाँ थोरै क्षेत्रफल भएकाले व्यवस्थापनमा समस्या परेको तर्क काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले गर्नुभयो ।

सुरुमा महानगरपालिकाकै अनुमतिमा स्थापना गरिएको भए पनि नेपाल–जापान बाल पुस्तकालय यतिखेर बेवारिसे जस्तै छ । पुस्तकालय नेपालस्थित जापानको दूतावासको व्यवस्थापनमा सञ्चालित छ । पुस्तकालय घेर्न बनाइएको बार भत्किएको छ । भवनसँगै बाँकी रहेको थोरै जग्गा पनि फोहोर फाल्ने ठाउँमा परिणत भएको छ ।

उक्त ठाउँ महानगरपालिकाले ५० वर्षका लागि दिएको पुस्तकालयले जनाएको छ । सुरुमा पुस्तकालयको पछाडि भागबाट स्मारक छिर्ने मुख्यद्वार थियो । उक्तद्वार अहिले बन्द छ । द्वारका लागि बनाइएको फलामको ढोकासमेत बेवारिसे भएपछि स्मारक संरक्षणमा खटिएका रवि मालीले आफ्नो संरक्षणमा राख्नुभएको छ । महानगरपालिकाको सहमतिमा अतिरिक्त सेवा सुविधा नलिने गरी माली परिवार २०२५ सालदेखि स्मारक भित्र बनेको टहरामा बस्दै आएको छ । माली परिवारले नै स्मारक क्षेत्रमा फूलका बिरुवा उत्पादन गर्दै पार्क सजाउने काम गरिरहेको छ ।

अग्लो बार नहुँदा साँझ परेपछि सडक बालबालिकाले समेत स्मारकलाई नशालु पदार्थ सेवन गर्ने ठाउँका रूपमा प्रयोग गर्न थालेका छन् । स्थानीय टेकबहादुर थापाले भन्नुभयो, “स्मारकको जग्गा अहिले जसले सक्यो उसैले हडप्न थालिएको छ । सबैको ध्यान स्मारकको संरक्षण गर्नभन्दा पनि कसरी आफ्नो कब्जामा ल्याउने भन्नेतिर छ । ”

एक स्थानीयका अनुसार केही समयअघि स्थानीय एक क्लबले स्मारकको जग्गा आफ्नो नाममा पास गरिदिन महानगरपालिकामा निकै धाए पनि सफल भने भएन । मुलुकमा नयाँ राष्ट्रपति तथा प्रधानमन्त्री नियुक्त भएपछि स्मारकमा राखिएको कलशलाई माल्यार्पण गर्ने चलन छ । त्यसबाहेक हरेक वर्ष शहीद दिवसका दिन सोही स्थानमा विशेष कार्यक्रम गरिन्छ ।

राष्ट्रपति जस्तो विशिष्ट व्यक्ति आउने ठाउँ अव्यवस्थित भएको भन्दै नेपाली सेनाले स्मारकको जगेर्ना गर्न महानगरपालिकालाई पटक पटक अनुरोध गरिसकेको छ । व्यवस्थापन गर्न नसक्ने हो भने आफूलाई जिम्मा दिनसमेत सेनाले महानगरपालिकालाई अनुरोध गरिसकेको छ । काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले स्मारकलाई व्यवस्थित गर्ने विषयमा छलफल भइरहेको बताउनुभयो ।

पछिल्लो समय स्मारकमा शहीद दिवस मनाउने क्रममा रङरोगन गरिएको छ । नेपाल र नेपाली जनताको विकास गर्न, मानव अधिकार कायम गर्न र नेपालमा प्रजातन्त्र ल्याउन बलिदान दिएका वीर शहीदहरूको सम्झनामा २०१५ सालमा स्मारक स्थापना गरिएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?