logo
२०८१ बैशाख ८ शनिवार



राष्ट्रिय बाघ गणना आजदेखि

राष्ट्रिय |


राष्ट्रिय बाघ गणना आजदेखि


लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ, मङ्सिर १९ गते । राष्ट्रिय बाघ गणना आइतबारदेखि हुँदैछ । चितवन, पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्सबाट गणनाको औपचारिक थालनी हुने भएको छ । यसअघि सन् २०१८ मा बाघको राष्ट्रिय गणना गरिएको थियो । त्यति बेला नेपालको बाघको सङ्ख्या २३५ थियो । यस पटकको गणनामा २५० भन्दा बढी पुग्ने विश्वास गरिएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट वेदकुमार ढकालका अनुसार गणनाका लागि दक्ष प्राविधिकको १३ वटा टोली बनाएर शनिबारै फिल्डमा खटाइसकिएको छ । दक्ष प्राविधिक १२० जनालाई बाघ गणनासम्बन्धी विशेष प्रशिक्षण दिइएको छ ।
आइतबार वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले बाघ गणनामा प्रयोग गरिने अत्याधुनिक क्यामरा चितवन राष्ट्रिय निकुञ्जको जङ्गलमा राखेर उद्घाटन गर्ने कार्यक्रम रहेको छ । क्यामरा ट्रयाप विधिबाट बाघ गणना गरिन्छ । बाघको आवतजावत हुने, बस्ने, सिकार खेल्ने ठाउँको पहिचान गरी राष्ट्रिय निकुञ्ज, निकुञ्ज वरिपरिको मध्यवर्ती क्षेत्र तथा आसपासका जङ्गलमा क्यामरा राख्ने गरिन्छ ।

इकोलोजिस्ट ढकालका अनुसार एक ठाउँमा क्यामरा कम्तीमा १५ दिन राखिने भएका छन् । क्यामरा राखिएका नजिकै गणनामा सहभागी दक्ष प्राविधिकको टोली जङ्गलभित्रै बास बस्ने व्यवस्था गरिएको छ । उहाँले भन्नुभयो, “जङ्गलमा रातभर क्याम्प लिएर बस्दा बाघ, हात्ती, गैँडा जस्ता ठूला जङ्गली जनावरको डर हुने भएकाले नेपाली सेनालाई पनि सुरक्षार्थ खटाइएको छ । प्राविधिक टोली बस्ने ठाउँको अवस्था हेरी प्राविधिक टोलीसँग हात्तीको पनि प्रयोग गरिनेछ ।
यो वर्ष नेपालले अन्तर्राष्ट्रिय जगत्मा गरेका प्रतिबद्धताअनुसार बाघको सङ्ख्या २५० पु-याउने विश्वास गरिएको छ । पछिल्ला चार वर्षमा चोरी सिकार नियन्त्रणमा उल्लेख्य सफलता प्राप्त हुनु, बासस्थानमा सुधार, बाघको आहार प्रजातिको पनि उल्लेख्य वृद्धिका कारणले यस पटक बाघको सङ्ख्या राम्रै भेटिने विभागका अधिकारीले बताएका छन् ।

एक दशकअघि नेपालले रुसको सेन्टपिटर्सबर्गमा भएको अन्तर्राष्ट्रिय बाघ सम्मेलनमा सन् २०२२ सम्ममा तत्कालको बाघ सङ्ख्या दोब्बर गर्ने प्रतिबद्धता गरेको थियो । त्यतिबेला नेपालमा बाघको सङ्ख्या १२१ थियो । यो सङ्ख्यालाई दोब्बर गर्दै सन् २०२२ सम्म २५० पु-याउने प्रतिबद्धता नेपालले गरेको थियो । दुर्लभ मानिने बाघ नेपाललगायत विश्वका १३ वटा देशमा मात्र पाइन्छ ।
विभागका अनुसार बाघ पाइने चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा बाघको गणना सुरु गर्न थालिएको हो । गणनाका लागि कम्तीमा एक महिनाको समय लाग्ने र १२० जनाभन्दा बढी दक्ष प्राविधिक तथा हात्तीको प्रयोग गरिनेछ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले भन्नुभयो, “पहिलो चरणमा चितवन र पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रलाई एक समग्र क्षेत्र मानेर बाघको गणना गर्ने कार्यक्रम छ । दोस्रो चरणमा बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा बाघको गणना गरिनेछ ।”

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?