logo
२०७९ असोज १६ आईतवार


   रासायनिक मल कारखाना सम्भाव्यता अध्ययन   



ग्यास र पानीको प्रयोगबाट युरिया मल

मुख्य समाचार |


ग्यास र पानीको प्रयोगबाट युरिया मल


काठमाडौँ, माघ २७ गते । लगानी बोर्डले नेपालमा युरिया मल कारखाना खोल्नसक्ने प्राविधिक विषयको तुलनात्मक सम्भाव्यता अध्ययन सम्पन्न गरेको छ । छ महिना लगाएर बोर्डले आफ्नो अध्ययन पूरा गरेको हो । यसअघि मन्त्रिपरिषद्को निर्णयले नेपालमा मल कारखाना खोल्न आवश्यक प्रक्रिया सुरु गर्न बोर्डलाई निर्देशन दिएको थियो । सो अध्ययनलाई सार्वजनिक गर्ने निर्णय यही मङ्गलबार बसेको बोर्डको बैठकले पनि गरिसकेको छ ।

अध्ययनमा सहभागी बोर्डका सिनियर डिभिजनल इन्जिनियर सागरराज गौतमका अनुसार प्राकृतिक मिथेन ग्यासको प्रयोग र पानीको प्रयोग (इलेक्ट्रोलाइसिस) गरी दुई विधिबाट नेपालमा रासायनिक मल उत्पादनका प्रविधिको तुलनात्मक अध्ययन गरिएको छ । हाल अधिकांश मुलुकले ठूलो परिमाणमा प्राकृतिक ग्यासको प्रयोगबाट रासायनिक मल उत्पादन गर्दै अएका छन् । यो प्रविधि अन्तर्राष्ट्रिय बजारमा सहज रूपमा उपलब्ध हुँदै आएको छ भने पानी प्रयोगको प्रविधि परीक्षणका रूपमा हुँदै आएको र धनी मुलुकहरूले पनि यसलाई प्रयोगमा ल्याउने कोसिस गरिरहेको बताइएको छ ।

प्राकृतिक ग्यासको प्रयोगबाट युरिया मल उत्पादन गर्दा उत्पादन लागत निकै सस्तो पर्ने अध्ययनबाट देखिएको छ । यद्यपि नेपालमा प्राकृतिक ग्यास उपलब्ध छैन । भारतबाट पाइपलाइन विस्तार गरी ग्यास ल्याएर मात्र सो प्रविधिको प्रयोग गरी युरिया उत्पादन गर्न सकिने अध्ययनमा उल्लेख छ ।

मिथेनमा कार्बन र हाइड्रोजनको मात्रा हुने भएकाले युरिया मल निर्माणमा आवश्यक पर्ने अर्काे तत्त्व नाइट्रोजन हावाबाट लिएर युरिया मल उत्पादन गरिन्छ । त्यसैले यो प्रविधिबाट मल उत्पादन गर्दा उत्पादन लागत निकै सस्तो पर्ने भएकाले विश्वका अधिकांश मुलुकले यही प्रविधिलाई प्रयोगमा ल्याउँदै आएका छन् ।

नेपालमा यो प्रविधि प्रयोग गर्दा भारतसँगको सीमापार पाइपलाइन विकासका गर्न नीतिगत पूर्वाधारको व्यवस्था गर्नुपर्ने देखिन्छ । सीडीई गौतमले भन्नुभयो, “अन्तर्राष्ट्रिय बजारमा प्राकृतिक ग्यासलाई रासायनिक मलको कच्चा पदार्थबाहेक ऊर्जाको स्रोतमा पनि प्रयोग गरिने भएकाले यसलाई रणनीतिक वस्तुका रूपमा लिइन्छ र यसको अन्तर्राष्ट्रिय बजार मूल्य छिनछिनमै परिवर्तन भइरहने हुन्छ ।”

यो प्रविधि अपनाउँदा विशेष गरी प्राकृतिक ग्यासका लागि परनिर्भर हुनुपर्ने र अन्तर्राष्ट्रिय बजारको मूल्य अस्थिरताले रासायनिक मलको दिगोपनाका लागि निरन्तर जोखिम कायम रहने स्थिति अध्ययनले देखाएको छ ।
अर्काेतिर कच्चा पदार्थका रूपमा पानी प्रयोग गरी हाइड्रोजन र त्यसपछि एमोनिया उत्पादन गर्ने प्रविधि अन्तर्राष्ट्रिय बजारमा उपलब्ध रहे पनि एमोनियालाई युरियामा परिणत गर्ने कार्बन सङ्कलन तथा भण्डारको प्रविधि व्यापारिक रूपमा सहजै उपलब्ध नभएको अध्ययनले देखाएको छ ।

यो प्रविधि प्रयोग गर्दा पानीमा हुने हाइड्रोजन तथा अक्सिजन र हावाबाट नाइट्रोजन तत्त्व सहजै लिन सकिए पनि युरिया उत्पादनका लागि चाहिने अर्काे तत्त्व कार्बन सङ्कलन र भण्डारको उचित प्रविधिको विकास अझै अन्तर्राष्ट्रिय बजारमा भइनसकेको अध्ययनले देखाएको छ ।

नेपालमा प्राकृतिक ग्यासबाट युरिया मल उत्पादन गर्न बेलायत, भारत र जर्मनीका तीनवटा कम्पनीले लगानी बोर्डमा प्रस्ताव पेस गरेका छन् । ती प्रस्तावमाथि हालसम्म बोर्डले कुनै निर्णय लिएको छैन । बोर्डको यो तुलनात्मक अध्ययनले कुन प्रविधि सहज हुन्छ भन्ने कुरा देखाएकाले आगामी दिनमा बोर्डलाई निर्णय लिन बाटो खुलेको छ ।

गत हप्ता प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका उद्योगी व्यापारीलाई सम्बोधन गर्दै युरिया मल कारखाना स्थापनाका लागि पहल गर्न आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री देउवाले युरिया उत्पादनमा नेपालको निजी क्षेत्र आए सरकारले सबै खालको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । नेपालमा वार्षिक रूपमा सात लाख मेट्रिक टन युरिया माग हुने गरेको छ । गत वर्षको अन्तर्राष्ट्रिय बजारमा प्रति मेट्रिक टन ४०१ अमेरिकी डलर मूल्य थियो भने यो वर्ष यसको मूल्य ह्वात्तै बढेर गत वर्षभन्दा दोब्बर भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?