logo
२०८० चैत्र १६ शुक्रवार



वन्यजन्तुमैत्री नयाँ नीति

मुख्य समाचार |


वन्यजन्तुमैत्री नयाँ नीति


काठमाडौँ, चैत ६ गते । पूर्वाधारका योजना निर्माणक्रममा विश्वमै दुर्लभ मानिएका वन्यजन्तुको मृत्यु हुन थालेपछि सरकारले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका ल्याएको छ । विशेषगरी निकुञ्ज, आरक्ष तथा जैविक मार्गछेउछाउमा सडक, नहर तथा जलविद्युत्जस्ता भौतिक पूर्वाधारका संरचना निर्माणक्रममा वन्यजन्तुको मृत्यु हुन थालेपछि सरकारले यो निर्देशिका जारी गरेको हो ।

गत महिना चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा सडक निर्माणका लागि बनाइएको खाडलमा परेर एकसिङे बयस्क गैँडा मरेपछि सरकारले यो निर्देशिका ल्याएको हो । यसअघि विगत १० वर्षमा विभिन्न पूर्वाधार निर्माणक्रममा एक सयभन्दा बढी बाघ, गैँडा, हात्तीजस्ता दुर्लभ वन्यजन्तुको मृत्यु भएपछि पूर्वाधार निर्माणमा हेलचेक्र्याइँ गर्न नहुने र त्यसका काममा नियमन गर्नुपर्ने चौतर्फी आवाज उठ्दै आएको थियो ।

वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले भन्नुभयो, “विकास गर्ने भन्दै विश्वमै दुर्लभ भएका वन्यजन्तु धमाधम मर्न थालेपछि सरकारलाई निर्देशिका जारी गर्नुपर्ने अवस्था आएको होे । कमभन्दा कम विनाश गरेर विकास गर्ने मोडलमा नेपाल जान नसकेको यथार्थ स्वीकारेर निर्देशिका जारी भएपछि अब सबै पूवार्धार निर्माण गर्ने निकायले निर्देशिका पालना गरेर काम अगाडि बढाउनुपर्छ ।’’

वन्यजन्तुको आवतजावतलाई सुरक्षित तुल्याई दुर्घटनाबाट हुने क्षतिलाई कम गर्न र मानव, वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न निर्देशिकामा अति संवेदनशील क्षेत्र र अन्य क्षेत्र भनेर वर्गीकरण गरिएको छ ।
अति संवेदनशील क्षेत्र (निकुञ्ज, आरक्ष, जैविक मार्ग तथा रामसार सूचीमा सूचीकृत क्षेत्र) आसपासमा पूर्वाधार योजना छनोट चरणमै प्राविधिक अध्ययन प्रतिवेदन तयार पार्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।

प्राविधिक टोली गठन गर्दा पूर्वाधार विज्ञसँगै वन तथा वन्यजन्तु विज्ञको अनिवार्य सहभागिता व्यवस्था गरिएको छ । सो प्राविधिक टोलीले आयोजना छनोटक्रममा पूर्वाधार निर्माणस्थलवरपर पाइने वन्यजन्तु, वनस्पतिको अवस्था र पूर्वाधार निर्माणपछि ती प्राकृतिक स्रोतमा पर्ने सक्ने प्रभावको विस्तृत विवरण पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

पूर्वाधार निर्माण गर्दा वन्यजन्तुको आवतजावतको अवस्था हेरेर भूमिगत सारपथ (अन्डरपास) र आकाशे पारपथ (ओभरपास) अनिवार्य रूपमा बनाउनुपर्ने व्यवस्था गरिएको छ ।मन्त्रालयका सचिव डा. पेमनाराण कँडेलले भन्नुभयो, “पूर्वाधार निर्माण तथा विस्तार गर्दा वन्यजन्तुको वासस्थान, जैविक मार्ग र पारिस्थिकीय प्रणालीमा प्रतिकूल प्रभाव पर्ने केही काम गर्न बन्देजसमेत लगाइएको छ । जसले गर्दा आगामी दिनमा संसारमै दुर्लभ मानिएको वन्यजन्तु अनाहकमा मृत्युको मुखमा पर्न नसकून् भन्ने उद्देश्य राखिएको छ ।” पूर्वाधार निर्माण गर्ने निकाय र संरक्षणसँग सरोकार राख्ने निकुञ्ज, वन कार्यालयको निकटको समन्वयमा काम गर्ने संरचनाको समेत निर्देशिकामा व्यवस्था गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?