logo
२०८० चैत्र १६ शुक्रवार

   गोरखापत्र समाचार प्रभाव   



वन्यजन्तुको भारत बसाइँसराइ रोक्न विशेष कार्यक्रम

मुख्य समाचार |


वन्यजन्तुको भारत बसाइँसराइ रोक्न विशेष कार्यक्रम


काठमाडौँ, फागुन १८ गते । विश्वमै दुर्लभ पाटे बाघ, एकसिङे गैँडालगायतका वन्यजन्तुको प्रमुख बासस्थान मानिएको चितवनमा वन्यजन्तुको बासस्थान विशेष सुधार कार्यक्रम लागू हुनेभएको छ । पछिल्ला वर्षमा बासस्थानमा देखिएको समस्याले पाटे बाघ, एकसिङे गैँडा, गौरी गाईलगायतका वन्यजन्तु भारततर्फ बसाइँ सर्न थालेपछि सरकारले चितवन राष्ट्रिय निकुञ्जभित्र बासस्थान विशेष सुधार कार्यक्रम लागू गर्न लागेको हो ।

सीमित बासस्थान, आहाराजन्य जनावरको कमीलगायतका कारणले निकुञ्जका बाघ बसाइँ सर्दै भारतसंँगको सीमा क्षेत्रमा रहेको वाल्मीकि बाघ संरक्षण केन्द्र पुगेको विज्ञहरूले औँल्याएको समाचार यसअघि गोरखापत्र दैनिकले फागुन १५ गते प्रकाशित गरेको थियो । उक्त समाचारका आधारमा सरकारले नयाँ कार्यक्रम ल्याउन लागेको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलका अनुसार बासस्थानको गुणस्तरमा देखिएको समस्याले भारतको राम्रो बासस्थानतर्फ वन्यजन्तु बसाइँ सर्न थालेपछि सरकार यो कुरामा गम्भीर भएको हो ।

महानिर्देशक डा. कँडेलले भन्नुभयो, “राम्रो बासस्थान भएकोतर्फ वन्यजन्तु जानु स्वाभाविक हो । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको भारतको वाल्मीकि टाइगर रिजर्भमा बासस्थान सुधारका लागि उल्लेखनीय कार्य भएकाले वन्यजन्तु उता जान थालेको आभास भइरहेकाले नेपालका वन्यजन्तुलाई यतै रोक्न बासस्थान विशेष सुधार कार्यक्रम सञ्चालनका लागि तयारी भइरहेको छ ।’’

हुन त हरेक वर्षको एक पटक निकुञ्जभित्रका घाँसे मैदान व्यवस्थापनका लागि ठेक्कापट्टामार्फत काम गरिने गरिएको छ । त्यसले मात्र बासस्थान सुधार नहुने भएपछि बाह्रैमास कर्मचारी राखेर आवश्यकताअनुसार घाँसे मैदानको व्यवस्थापन गर्ने योजना सरकारले बनाएको हो । भारतको बिहारको एक मात्र वाल्मीकि टाइगर रिजर्भमा पछिल्ला वर्षमा गौरी गाई, पाटे बाघ तथा एकसिङे गैँडाको सङ्ख्या वृद्धि हुँदै गएको छ । १० वर्ष पहिलेसम्म सो रिजर्भमा एकसिङे गैँडा शून्य थियो भने हाल रिजर्भले गैँडाको बासस्थान निर्माण गर्न थालेपछि नेपालबाट चर्न उता गएका गैँडा उतै बस्न थालेका छन् । गौरी गाई र पाटे बाघको हरेक गणनामा यहाँ सङ्ख्या अनपेक्षित रूपमा वृद्धि हुँदै गएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा बासस्थान सुधार गर्न वन तथा वातावरण मन्त्रालयका सहसचिव वेदकुमार ढकालको संयोजकत्वमा एक अध्ययन समिति पनि निर्माण गरिएको छ । सो समितिले चितवनमा घाँसे मैदान व्यवस्थापनको विशेष कार्ययोजना निर्माण गरी मन्त्रालयमा बुझाउने भएको छ । त्यसपछि बाह्रै महिना घाँसे मैदान व्यवस्थापन गर्ने योजना कार्यान्वयनमा आउने छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार निकुञ्जभित्र करिब १० हजार हेक्टर घाँसे मैदान रहेको छ । उहाँले भन्नुभयो, “हामीले निकुञ्जभित्रका कम्तीमा पाँचवटा ठाउँमा २०/२० हेक्टरका घाँसे मैदान व्यवस्थापन गर्ने विशेष योजना बनाएका छौँ । ती क्षेत्रमा बाह्रैमास बाघको आहार प्रजाति चित्तल, हरिण, बँदेल, गौरी गाईलगायतका वन्यजन्तुका लागि पानीको स्रोत र घाँसे मैदान व्यवस्थापन गरिने भएको छ।”

सन् २०१८ मा बाघको गणना हुँदा चितवन निकुञ्जमा ९३ वटा बाघ रेकर्ड गरिएका थिए । त्यसअघि सन् २०१३ मा १२० र सन् २००९ को गणनामा ९१ वटा बाघ चितवनमा रहेको तथ्याङ्क छ । उता सन् २००८ सम्म एउटा मात्रै बाघ भएको वाल्मीकिमा सन् २०१३ को गणनामा १६ वटा र २०१८ को गणनामा ४० पुगेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?