logo
२०८१ बैशाख १६ आईतवार



बीस तलासम्म आगो निभाउने दमकल

मुख्य समाचार |


बीस तलासम्म आगो निभाउने दमकल


काठमाडौँ, माघ १७ गते । काठमाडौँ महानगरपालिकाले २० तलासम्म लागेको आगो निभाउने र साँघुरा सडकमा पनि जान सक्ने प्रकृतिका तीनवटा वारुण (दमकल) यन्त्र खरिद गरेको छ । नयाँ दमकल फागुनभित्र आइसक्ने जनाइएको छ ।
महानगरपालिकाले महानगर क्षेत्रमा आगलागीको सम्भावित जोखिमलाई ध्यानमा राखेर एउटै प्रकृतिका तीनवटा वारुणयन्त्र खरिद गरेको हो । वारुणयन्त्रभित्र पानी र फर्मको फरक–फरक भण्डारण गर्ने क्षमता छ ।

जर्मन प्रविधिमा आधारित इन्डोनेसियामा बनेको जिङ्गर कम्पनीको वारुणयन्त्रमा तीन हजार लिटर क्षमताको पानी र एक हजार पाँच सय लिटर क्षमताको फर्म भण्डारण गर्न सकिने काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो । ढुवानीबाहेक दुई लाख अमेरिकी डलरमा खरिद गरिएको वारुणयन्त्रले कम्तीमा ६० मिटरमाथिसम्म लागेको आगो निभाउन सक्नेछ । “वारुणयन्त्रले कम्तीमा २० तल्लासम्म लागेको आगो निभाउन सक्छ”, प्रवक्ता डङ्गोलले भन्नुभयो ।

यसअघि काठमाडौँ उपत्यकामा रहेका वारुणयन्त्रले आठ तलासम्म लागेको आगो मात्रै निभाउन सक्ने क्षमता थियो । हाल काठमाडौँ महानगरपालिकाअन्तर्गत चारवटा वारुणयन्त्र रहेका छन् । नयाँ वारुणयन्त्र काठमाडौँ उपत्यकामा रहेका साँघुरा सडकमा समेत जान सक्ने मोडलका रहेको दाबी गरिएको छ ।

साँघुरा सडक भएर आगो निभाउन जान समस्या भोगिरहेको कुरालाई ध्यानमा राखेर वारुणयन्त्रको मोडल रोजेको डङ्गोलले भन्नुभयो । उहाँले महानगरले ठूला र अग्ला भवन बनाउन स्वीकृति दिएसँगै त्यहाँ हुन सक्ने जोखिमलाई ध्यानमा राखेर वारुणयन्त्र खरिद गरेको भन्नुभयो ।

“काठमाडौँ महानगरपालिकाले १० तल्लामाथिका भवन बनाउन स्वीकृत दिएको छ”, प्रवक्ता डङ्गोलले थप्नुभयो, “त्यहाँ हुन सक्ने जोखिमका कुरालाई ध्यानमा राखेर २० तलासम्ममा लागेको आगो निभाउन वारुणयन्त्र खरिद गरेका छौँ ।” कोभिड अथवा अरू कारणले रोकिएन भने आउँदो फागुनभित्र वारुणयन्त्र काठमाडौँ आइपुग्ने हिसाबले तयारी भइरहेको डङ्गोलले स्पष्ट पार्नुभयो ।

काठमाडौँ महानगरपालिकाको चौथो नगर सभाले तीन वर्षअघि महानगर सवारी तथा यातायात व्यवस्थापन विधेयक ऐन, २०७५ पारित गरेसँगै दमकल किन्ने बाटो खुला भएको थियो । सोही नगर सभाले वारुणयन्त्र खरिद गर्न १३ करोड रुपियाँ बजेट पनि विनियोजन गरेको थियो ।

काठमाडौँको वसन्तपुरमा रहेको जुद्धमा वारुणयन्त्रमा करिब एक सय फिट (आठ तला) भन्दा अग्लो भवनमा आगलागी भएमा नियन्त्रण गर्ने उपकरण नभएको अवस्थामा महानगरले ल्याउने नयाँ वारुणयन्त्रले धेरै सहज हुने अपेक्षा गरिएको छ । अग्लो भवनमा आगो लागेको हेर्नुको विकल्प नहुने अवस्थामा नयाँ सुविधा सम्पन्न वारुणयन्त्र आउने कुराले आफूहरू हौसिएको जुद्ध वारुणयन्त्र वसन्तपुर काठमाडौँका प्रमुख चन्दन श्रेष्ठ भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?