logo
२०८१ बैशाख १६ आईतवार



पचहत्तर लाख पशुपन्छीलाई खोप लगाइँदै

मुख्य समाचार |


पचहत्तर लाख पशुपन्छीलाई खोप लगाइँदै


काठमाडौँ, फागुन ३ गते । पशुपन्छीमा समय–समयमा एकै पटक देखिने प्रकोप नियन्त्रणका लागि देशैभर अभियान सञ्चालन गरिएको छ । निःशुल्क खोप प्रवाह कार्यक्रमका नाममा सुरु भएको अभियान हिउँद र बर्खामा देखिने विभिन्न प्रकृतिका सङ्क्रामक रोगविरुद्ध पशुपन्छीमा प्रतिरोधात्मक क्षमता विकास गराउने उद्देश्यले सञ्चालन भइरहेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागको प्रत्यक्ष निगरानीमा सबै प्रदेशका भेटेरिनरी अस्पतालको सहयोग, प्रदेश कार्यालयको समन्वय र स्थानीय तहको प्रत्यक्ष उपस्थितिमा एकै पटक खोप कार्यक्रम सुरु भएको हो । अभियानअन्तर्गत केही प्रदेशले धमाधम खोप लगाउँदै छन् भने केही फागुनको दोस्रो सातादेखि लगाउने तयारीमा छन् ।

स्थानीय तह र प्रदेश सरकारसँगको समन्वयमा पशु सेवा विभागले लगत सङ्कलन गरी एकै पटक मुलुकभर ७५ लाख पशुपन्छीलाई खोप लगाउन सुरु गरेको हो । जोखिम धेरै देखिएका सुँगुर प्रजातिका जनावरमा लाग्ने रोगविरुद्ध सीएसएफ, कुखुरामा लाग्ने रानीखेत आईटु, गाईभँैसीमा लाग्ने भ्यागुते र चरचरे, भेडाबाख्रामा लाग्ने रोग तथा खुर फाटेका जनावरमा लाग्ने खोरेत रोगको प्रकोप रोक्न एकै पटक देशव्यापी रूपमा खोप अभियान सञ्चालन भइरहेको छ ।

विभागले खोप उपलब्ध गराएसँगै प्रदेशले आफ्नो हिसाबले फरक–फरक समयमा खोप अभियान सञ्चालन गर्नेछन् । यो पटक सुँगुरलाई लाग्ने रोगविरुद्ध तीन लाख ७३ हजार, कुखुरामा लाग्ने रानीखेतविरुद्ध एक लाख ८० हजार, गाईभैँसीलाई लाग्ने भ्यागुते चरचरेविरुद्ध दुई लाख ५० हजार, भेडाबाख्रामा लाग्ने रोग नियन्त्रणका लागि पीपीआर ४१ लाख ७० हजार खोप जिल्लामा पठाइएको छ ।

यसैगरी कुकुरबाट लाग्ने रेबिजविरुद्ध दुई हजार पाँच सय र खुर फाटेका जनावरमा लाग्ने खोरेत रोगविरुद्ध २२ लाख ४० हजार भाइल खोप देशभर पठाइएको छ । यसबाहेक स्थानीय तहले आफ्नो योजनाअनुसार नियमित खोप कार्यक्रम सञ्चालन गरिरहेको छ । कृषकको गोठदेखि उपभोक्ताको ओठसम्म पुग्ने पशुपन्छीजन्य उत्पादनलाई स्वस्थ, सुलभ र हितकर बनाउन खोप कार्यक्रमले मुख्य भूमिका खेल्ने पशु सेवा विभागका प्रवक्ता डा. चन्द्र ढकाल बताउनुहुन्छ ।

विभिन्न प्रकारका सङ्क्रामक रोगका कारण हरेक वर्ष किसानले अर्बाैंको क्षति बेहोर्न थालेसँगै सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहको सहकार्यमा पशुलाई नियमित खोप कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । पशुलाई पुरानो गोठबाट नयाँ गोठमा सार्दा वा पशुपन्छी आयात–निर्यात गर्दा पशुसँगै सङ्क्रामक रोग भित्रिनसक्ने जोखिम उच्च हुन्छ । पशु प्राविधिक उद्धवप्रसाद सापकोटाले यस्तो जोखिम हुने भएकाले नियमित रूपमा पशुलाई खोप लगाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “पशुको नियमित किनबेच भइरहने र राजमार्गका छेउछाउका पशुपन्छी आवागमन हुने गाउँबस्तीमा खोप अभियान सञ्चालन गर्नु अनिवार्यजस्तै हुन्छ ।” जोखिम क्षेत्र पहिचान गरेर कम्तीमा तीन वर्षमा एक पटक अनिवार्य रूपमा पशुपन्छीलाई सङ्क्रामक रोगविरुद्धको खोप लगाउने गरेको उहाँले भन्नुभयो । “एक पटक पनि खोप नलगाएको पशुमा सङ्क्रमण भए मर्ने सम्भावना ८५ प्रतिशत हुन्छ”, सापकोटाले थप्नुभयो ।

उहाँका अनुसार एक भाइल खोप लगाएका पशुको बाँच्ने सम्भावना उल्टो ८५ प्रतिशत हुने भएकाले यसले विशेष गरी ग्रामीण इलाकाका मध्यम र न्यून आयस्तर भएका किसानलाई ठूलो राहत मिल्छ । बाहिरबाट नयाँ पशु नआउने ठाउँमा एक पटक लगाएपछि तीन वर्षपछि मात्रै बुस्टर मात्रा खोप लगाए हुने भए पनि राजमार्ग छेउछाउ र पशुहरूको आवागमन धेरै हुने ठाउँमा निरन्तर खोप लगाउनुपर्ने पशु विज्ञहरूको भनाइ छ ।

खोप अभियान पशु सेवा विभागले मात्रै नभएर तीनवटै तहको समन्वयमा सफल हुने ढकालले भन्नुभयो । “हामीले खोप उत्पादन र वितरणमा भूमिका खेल्नेछौँ”, उहाँले भन्नुभयो । अपर्याप्त जाँच चौकी र क्वारेन्टाइनले गर्दा पनि अन्धाधुन्ध पशुपन्छीको आवागमन बढ्दो छ । त्यसैले प्रदेश सरकारले बजेट व्यवस्थापन, भेटेरिनरी अस्पताल तथा स्थानीय तहसँग समन्वय गरेर किसानको गोठगोठमा पुगेर खोप लगाउने काम भएको छ ।

विगतका वर्षहरूमा पशुमा सङ्क्रमणको कारणले कृषकले ठूलो आर्थिक क्षति बेहोरेसँगै सो क्षति कम गर्न एकै पटक देशव्यापी रूपमा अभियान सञ्चालन गरेको सङ्क्रामक रोग नियन्त्रण अभियान कार्यक्रमका प्रमुख डा. पूजा शर्माले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?