logo
२०८१ बैशाख १६ आईतवार



यातायात कार्यालयमा टोकन प्रणाली प्रभावकारी

खुला |


यातायात कार्यालयमा टोकन प्रणाली प्रभावकारी


भक्तपुर, माघ २७ गते । भक्तपुर सल्लाघारीको यातायात व्यवस्था सेवा कार्यालयमा सवारी दर्ता प्रमाणपत्र (ब्लु बुक) नवीकरण गर्न बिचौलिया आवश्यक नपरेपछि सेवाग्राही निकै खुसी छन् । काभे्रपलाञ्चोक पनौतीका श्रीकृष्ण थापाले पहिलो पटक सवारी दर्ता प्रमाणपत्र नवीकरण गर्न कसैको सहयोग लिनु नपरेको बताउँदै भन्नुभयो, “बिचौलियाले भनेको जति रकम दिएर काम लगाउँदा पनि एकै दिनमा नवीकरण हुँदैनथ्यो, अब त एक घण्टामै नवीकरण हुने रहेछ । ” उहाँले जनतासँग प्रत्यक्ष सरोकार रहने निकाय सबैमा यस्तो व्यवस्था हुँदा निकै सहज हुने बताउनुभयो ।

मोटरसाइकलको कर तिर्न कार्यालयमा पुग्नुभएका सिन्धुपाल्चोकका लालध्वज तामाङ पनि छिटै काम सकिएको देखेर अचम्म पर्नुभयो । “बिहान १० बजे कुपन पाएको थिएँ । एक घण्टा नबित्दै काम सकियो”, उहाँले भन्नुभयो, “सुरुमा आउनेले सुरुमै सेवा पाउने रहेछन् । अब समयमै घर फर्कन पाउने भए । ” भक्तपुरकै सेवाग्राही असीम मानन्धरले पहिला मोटरसाइकलको राजस्व तिर्दा एक हजार रुपियाँ बिचौलियाले लिइदिएको स्मरण गर्दै अहिलेको टोकन प्रणालीले ठूलो राहत मिलेको बताउनुभयो । यातायात व्यवस्था सेवा कार्यालय प्रमुख विमल भट्टराईले बिचौलियामुक्त कार्यालय बनाई टोकन प्रणाली लागू गरिएको बताउनुभयो ।

“टोकन प्रणालीबाट सेवाग्राहीले बिचौलिया खोजिरहनुपर्ने बाध्यता अन्त्य गरेको छ”, उहाँले भन्नुभयो, “सुरुमा स्विच थिचेर पाउने टोकनबाट सेवा सुरु गरेका थियौँ । बिहानै बिचौलिया आएर टोकन लिन्थे । त्यसलाई बेच्ने गरेको थाहा पाएपछि कागजकै प्रिन्ट गरेर टोकन दिन थालेका छौँ ।

” उहाँले कार्यालयले दिने टोकन सेवाग्राहीको ब्लु बुकमै टाँस हुने र सम्बन्धित फाँटमै राखिने भएसँगै चलखेल कम भएको तथा बिचौलिया तितरबितर भएको दाबी गर्नुभयो । कार्यालयबाट दैनिक आठ सयदेखि एक हजार दुई सय जनाले सेवा लिने गरेका छन् । टोकन लिएको ४० मिनेटदेखि डेढ घण्टासम्ममा सेवा उपलब्ध गराइन्छ । सो कार्यालयले बागमती प्रदेशअन्तर्गतका सवारी साधनको कर तिर्ने, रुट परमिट नवीकरण गर्ने तथा चारपाङ्गे्र सवारीसाधनको वायु प्रदूषण जाँच गर्ने कार्य गर्दै आएको छ । कार्यालयले गत साउनदेखि पुस मसान्तसम्म एक अर्ब छ करोड २० लाख रुपियाँ राजस्व सङ्कलन गरिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?