शान्ति लामा
कीर्तिपुर, चैत १९ गते । कीर्तिपुर नगरपालिकाले नगरभित्र विदेशबाट आएकाको विवरण सङ्कलन सुरु गरेको छ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको सम्भावित जोखिम न्यूनीकरण गर्न नगरपालिकाले विदेशबाट आएका नागरिकको लगत सङ्कलन सुरु गरेको वडा नं. १० का अध्यक्ष अमन महर्जनले बताउनुभयो ।
नगरभित्रका १० वटै वडामा पछिल्लो समय विदेशबाट आएका नागरिकको विवरण सङ्कलन गरी सम्भावित सङ्क्रमणबाट जोगिन सचेत गराइएको अध्यक्ष महर्जनले बताउनुभयो । उहाँले चैत १ देखि विदेशबाट आएका नागरिकको विवरण सम्बन्धित वडा कार्यालय मार्फत सङ्कलन गरिएको जानकारी दिनुभयो । चैत १ देखि १३ गते सम्मको सङ्कलित विवरण अनुसार नगरभित्र ५५ जना विदेशबाट आएको लगत प्राप्त भएको नगरपालिकाले जनाएको छ । यो विवरण कीर्तिपुरका स्थायी निवासीको मात्र हो, डेरा गरी बस्नेको विवरण सङ्कलन गर्न नसकिएको वडाध्यक्ष महर्जनले जानकारी दिनुभयो । हाल सम्मको लगत अनुसार कीर्तिपुरमा मकाउ, बेलायत, अमेरिका, यूएई, बङ्गलादेश, अस्टे«लिया, भारत, जापान, जर्मनी, कतार, साउदी अरेबिया, टर्की, फ्रान्स, कोरिया र मलेसियाबाट मानिस आएर बसेको विवरण प्राप्त भएको छ ।
विदेशबाट आएको पहिचान भएका व्यक्ति र परिवारलाई अन्य व्यक्तिको सम्पर्कमा नआउन, घरबाहिर ननिस्कन सचेत गराइएको नगरपालिकाले जनाएको छ । उहाँले केही लक्षण देखापरेमा अस्पतालमा सम्पर्क राख्न सुझाव दिइएको छ भन्नुभयो । कोरोना सङ्क्रमणको जोखिम कम गर्न विदेशबाट आउनेको विवरण सङ्कलनलाई दैनिक निरन्तरता दिइने नगरपालिकाले जनाएको छ । हालसम्म वडा नंं. १ मा कतारबाट आएका व्यक्तिमा खोकी देखिएकाले थप जाँच र उपचारका लागि पाटन अस्पताल पठाइएको वडाध्यक्ष महर्जनले बताउनुभयो ।