logo
२०८१ बैशाख ८ शनिवार

   नक्कली पीसीआर रिपोर्टको धन्दा   



चिकित्सकको संलग्नता पुष्टि

खुला |


चिकित्सकको संलग्नता पुष्टि
फाईल तस्विर


काठमाडौँ, माघ २१ गते । गत वैशाखको पहिलो साता नेपालबाट कुवेत हिँडेका एक भारतीय नागरिक शङ्कास्पद पीसीआर रिपोर्टसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे । उनको रिपोर्टमाथि शङ्का लागेपछि विमानस्थल हेल्थ डेस्कले नै नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगायो । रिपोर्ट नेगेटिभ भए पनि त्यसमा प्रयोग भएको ‘छाप र हस्ताक्षर’ शङ्कास्पद देखिएको थियो ।

वैशाखमै पीसीआर रिपोर्टमाथि शङ्का लागेका १२२ जनालाई विदेश जानबाट रोकी विमानस्थलबाटै फर्काइएको थियो । त्यस्तै, काठमाडौँबाट नेगेटिभ पीसीआर रिपोर्ट लिएर हङकङ पुगेका तीन नेपालीको पुनः परीक्षण गराउँदा कोरोना पोजेटिभ देखियो । गत पुस १४ गते भएको उक्त घटनापछि हङकङले नेपालको पीसीआर परीक्षण रिपोर्टमाथि नै प्रश्न उठायो ।

यी दुई नमुना घटनाको प्रकृति ठ्याक्कै मिल्दोजुल्दो देखिन्छ । विदेश जानका लागि नक्कली पीसीआर रिपोर्ट तयार पार्ने र पोजेटिभ देखिए पनि नेगेटिभ बनाउने । यस कार्यमा ठूलो गरोहकै संलग्नता रहेको तथ्य सावर्जनिक
भएको छ । महानगरीय प्रहरी अपराध महाशाखाले नक्कली पीसीआर रिपोर्ट बनाउने गिरोहलाई कारबाही गर्न आफ्ना कर्मचारीलाई ‘विदेश जानका लागि’ भन्दै पीसीआर परीक्षण गर्न विभिन्न अस्पतालको ल्याबमा पठाई अनुसन्धान सुरु गरेको थियो । प्रहरीको एक हप्ताको अनुसन्धानका क्रममा शङ्का लागेका अस्पतालमा पीसीआर परीक्षण गर्न पुगेका कर्मचारीलाई ल्याब सञ्चालक तथा कर्मचारीले ९÷१० हजार तिरेमा ‘स्वाब नलिई दुई घण्टामै रिपोर्ट दिने’ बताएपछि सो तथ्य बाहिर आएको हो । यो घटना बुधबार मात्र प्रहरीले सार्वजनिक ग-यो ।

प्रहरीका अनुसार यस कार्यमा चिकित्सकै संलग्नता देखिएको छ । तीनकुनेस्थित कान्तिपुर अस्पतालका पीसीआर ल्याब सञ्चालक डा. निर्मल गिरी र भक्तपुरको गट्ठाघरस्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटलका ल्याब सञ्चालक डा. भावेष भट्टको संलग्नता देखिएको अपराध महाशाखाका प्रवक्ता कृष्णप्रसाद कोइरालाले बताउनुभयो । प्रहरीका अनुसार हाल दुवैजना फरार छन् ।

यस घटनामा नागरिक टिचिङ हस्पिटलका ल्याब प्रबन्धक प्रसन्नकुमार झा, ग्राहक खोज्ने कार्यमा संलग्न अभियुक्त धनुषाका रोशनकुमार छिट्टान, नागेन्द्रकुमार यादव र कान्तिपुर अस्पतालका ल्याब कर्मचारी माधव मैनालीसहित चार जना पक्राउ परेका छन् । पक्राउ अभियुक्तमध्ये रोशनकुमारको साथबाट आठ थान, प्रसन्न र नगेन्द्रको साथबाट १७ थान नक्कली पीसीआर रिपोर्ट बरामद भएका छन् । यसअघि सिनामङ्गलस्थित सुरिया हेल्थकेयर र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिमा छापा मारी आठ जनालाई पक्राउ गरेको थियो ।

महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्त कुँवरका अनुसार नक्कली पीसीआर रिपोर्ट तयार पारी मानव स्वास्थ्यमाथि खेलवाड गरेको अभियोगमा १२ जनाभन्दा बढीलाई कारबाही र चारवटा अस्पतालका ल्याब सिल गरिएको छ ।
कोभिड–१९ महामारीको सुरक्षा तथा स्वास्थ्य संवेदनशील जस्तो विषयलाई ‘लुट’ को अवसर बनाउनेविरुद्धको कारबाही निरन्तर जारी राख्ने महाशाखा प्रमुख कुँवरले बताउनुभयो । नक्कली माक्स तथा सेनिटाइजर, अक्सिमिटर र रेम्डिसिभिर कालोबजारीविरुद्ध पनि महाशाखाले कारबाही गरेको छ । यी ल्याबबाट दैनिक नक्कली रिपोर्ट बन्ने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सङ्गीत मिश्रा नक्कली पीसीआर तयार पार्नेविरुद्ध सङ्क्रामक रोग ऐन, २०२० अनुसार कारबाही गर्न सकिने बताउनुभयो । सरकारले देशभरका १०४ वटा ल्याबलाई पीसीआर परीक्षणको स्वीकृति दिएको छ । तीमध्ये ४५ वटाभन्दा बढी निजी स्रोतबाट सञ्चालित अस्पताल छन् । सरकारीभन्दा निजी ल्याबबाट नक्कली पीसीआर तयार हुने गरेको मन्त्रालयले स्वीकारेको छ ।
यस्ता ल्याबले स्वाब नै नलिई तथा स्वाबबाट पोजेटिभ देखिए पनि सिटिभ्यालु तलमाथि पारी नेगेटिभ रिपोर्ट निकाल्ने र क्यूआर कोडबाट स्क्यान गरी हेर्न मिल्ने सक्कली जस्तै पीसीआर रिपोर्ट बनाउने गरेको पाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?