डा. नम्रता पाण्डे
एपीजे अब्दुल कलाम भारतका प्रथम वैज्ञानिक थिए, जो राष्ट्रपति बने । प्रथम राष्ट्रपति भए जो अविवाहित थिए अर्थात् ब्रह्मचर्यमा बसे । ब्रह्मचारीको अर्थ विवाह नगर्नु, सन्तान नजन्माउनुमात्रै होइन । ब्रह्मचर्यको अर्थ हुन्छ– अतिशय कामवासनामा लिप्त नहुनु । अतिशय सञ्चय नगर्नु, अति लोभ र पापमा नफस्नु । कलामले आफ्नो राष्ट्रका सबै नागरिक आफ्नै सन्तान सोचेर काम गरे । त्यसैले त आफ्नो कार्यकालमा देशको उत्थानका लागि अमूल्य योगदान दिन सफल भए । ब्रह्मचर्यको गुण कायम गरेका कलामले भारत राज्यको विकासमा हरतरहले योगदान दिए र आजसम्म पनि विश्वपरिचित छन् ।
हामी धेरै सिक्न खोज्छौँ, बुझ्न र बुझाउन खोज्छौँ तर आफूले ग्रहण गर्न र त्यसलाई व्यवहारमा उतार्न सक्दैनौँ । राम्रा नियत भएका, असल काम गरेर आफ्नो राज्यलाई उकासेका व्यक्तिहरूको उदाहरण विश्वमै चर्चित हुन्छ । तिनै कलामले उद्घोष गरेका थिए, ‘सपना भनेको त्यस्तो हुँदैन, जुन तपाईं सुतिरहेको बेलामा देख्नुहुन्छ, यो त्यस्तो चीज हो, जुन तपाईंलाई सुत्न दिँदैन ।’ आफ्नो व्यक्तिगत विकास, नेतृत्व क्षमता, राष्ट्रको समृद्धि र आन्तरिक शान्ति र खुसी खोज्नेले सपना त धेरै देख्छन् तर निदाएको बेलामा । एउटा जागृत व्यक्तिको सपनाले उसलाई हरक्षण जगाइरहेको हुन्छ । कर्ममा अग्रसर हुन छोडेर निदाउन दिँदैन अनि सङ्कल्प पूरा नभएसम्म बीचमा छोड्दैन पनि ।
हाम्रो राष्ट्रलाई आजको दिनमा पनि त्यस्तै जागृत नेतृत्व चाहिएको छ, जो आफू जागृत भएर समृद्धिको मार्गमा अनवरत लागोस् अनि आफ्ना नागरिकलाई चैनको निद्रा निदाउन देओस् । तर उल्टो भइरहेछ, नेतृत्वमा बसेकाहरू अनैतिकताको आर्जनले मस्तीको निद्रा लिइरहेका छन् भने नागरिक राष्ट्रको हालत, अव्यवस्थापन, अराजकता, जताततै खाल्डाखुल्डी र छिद्र देखेर निदाउन सक्दैनन् । केही गुणवत्तामात्र यस्ता राजनीतिक नेतृत्वमा जागृत हुन सक्यो भने रूपान्तरण निश्चित सम्भव छ ।
मनोभावनाको प्रभाव
अब्दुल कलाम आफ्नो जीवनमा प्रेरित गर्ने दुई नारी शक्तिको सधैँ खुलेर प्रशंसा गर्ने गर्नुहुन्थ्यो । एक हुनुहुन्थ्यो उहाँकी आमा जो दिनहँु बिहान नमाज पढ्ने गर्नुहुन्थ्यो । सबै कामको व्यवस्थापन गरेर आफ्नो नमाज पढ्ने र हृदयदेखि प्रार्थनामा तल्लीन भएको देख्दा उहाँलाई लाग्थ्यो, ‘कुनै पनि काममा हृदयदेखि नै तल्लीन भयो भने गर्न चाहेको इच्छा पूरा हुनेरहेछ । एउटी आमाको निरन्तर मिहिनेत, प्रयास, प्रार्थना र प्रेमबाट म प्रभावित भएको थिएँ । मैले मेरो राष्ट्रका लागि केही गरेर देखाउन सकेँ भने मेरी आमा त खुसी हुनुहुन्छ नै जन्मभूमि पनि आल्हादित हुनेछ ।’ यही सोचेर कलामले आफ्नो जिम्मेवारी बोधलाई साकार पार्नुभएको प्रेरणा उहाँका लेखमा पढ्न पाइन्छ । अर्की नारी हुनुहुन्थ्यो– प्रसिद्ध गायिका सुब्बुलक्ष्मी, जो सम्पूर्णताका साथ आफ्नो स्वरमा डुबेको देख्दा कलामलाई लाग्थ्यो– हृदयदेखि नै सम्पूर्ण शक्ति लगाएर गरेको कार्य नै सफल हुनेछ, जसले आफूलाई सुख त मिल्छ नै अरूलाई पनि प्रेरणाको स्रोत बन्न सक्दोरहेछ । सब्बुलक्ष्मीको सरलता, सादगीपन, कर्मठता र स्नेहले मलाई जीवनमा धेरै प्रेरणा मिलेको थियो ।
यस्तै भावनात्मक प्रेरणा र मेरो आमाबुबा, परिवारको सन्तोषका लागि, मेरो राष्ट्रका लागि र मलाई चिन्ने व्यक्तिलाई समेत खुसी बनाउनेगरी मैले काम गर्नुपर्छ भन्ने भावना हाम्रा नेतृत्वमा रहेका व्यक्तित्वमा खिल्ने हो भने हामीले सकारात्मक परिवर्तन देख्न पाउने थिएनौँ त ?
स्वीकारोक्ति
प्रायसः नेतृत्वहरू घोषणा गर्ने गर्छन्– म सरकारमा आएँ भने, म जिम्मेवारी पदमा पुगेँ भने परिवर्तन गरेरै छाड्छु । तर जब चुनाव जितेर जिम्मेवारीको पदमा पुग्छन्, तब सबै कुरा बिर्सन्छन् । जब ठाउँमा पुग्छन्, स्वार्थी प्रवृत्ति हाबी हुन्छ अनि सत्यबाट पर पुग्छन् । सत्य उनीहरूको आँखाबाट लुक्छ र स्वार्थबाहिर आउँछ ।
स्वार्थीको अर्थ सकारात्मक अर्थ हो स्व–अर्थ–स्वार्थ, आफ्नो प्रयोजनका लागि, आफ्नो असल हितका लागि । आफ्नो प्रयोजनका लागि के सही या गलत छ छुट्ट्याउने क्षमता पनि चाहिन्छ । सकारात्मक कर्म र परिणाम नै आफ्नो प्रयोजनका लागि हुन सक्छ तर मानिसले स्वार्थलाई आफ्नो फाइदा अरूको नोक्सानी, आफ्नो हित अरूको अहित हुनेगरी प्रयोग गर्न थालेकाले यसको अर्थ र अभ्यास नै नकारात्मक बनेको छ । सबै कुरा थाहा हुँदाहुँदै पनि आफूले समाज र राष्ट्रलाई सकारात्मक परिवर्तनमा लैजान सकिएन भने त्यसलाई स्वीकार्नुपर्छ । मैले गर्न सकिनँ भन्ने नैतिकताका आधारमा गल्ती र कमजोरी स्वीकार गर्न सक्नुपर्छ । अब्दुल कलामले यो सूत्रलाई आत्मसात् गर्दै भन्ने गर्नुहुन्थ्यो, ‘जुन परिवर्तन मैले गर्न सकिनँ म त्यसलाई स्वीकार्छु ।’ यसले दुईटा अर्थ दिन्छ– एउटा कमजोरी स्वीकार्नु र अर्को मेरो हातमा केही छैन, मेरो सामथ्र्य पनि छैन, शरणागत हुन्छु ।
कलामजस्ता व्यक्तित्वले आफ्नो कमजोरीलाई स्वीकारे र पाठ सिके तर हामीकहाँ अराजकताविरुद्ध न्याय दिलाउन सक्नेहरूको सङ्ख्या कम छ । त्यसैले जसले जे गर्ने गरोस् भन्ने शरणागतको स्थिति कायम छ ।
अपूर्ण स्वभावले अरूको हित सोच्दैन
एकजना राजनीतिज्ञले आफ्नो जीवनभर सम्पन्नता र प्रगतिका लागि अनेक किसिमका मिहिनेत गरिरहे । मिहिनेत गरेअनुसार उनले आफूले चाहेजति सफलता हात पार्दै पनि गए । धन कमाए, यश कमाए, प्रतिष्ठा र पद सबै प्राप्त गरे । उमेर ढल्किसकेको थियो– एक दिन झल्याँस्स उनले आफ्नो उमेर सम्झे, चाहनाहरू अझै अतृप्त लागिरह्यो । होइन, के गर्न बाँकी छ ? किन एक्कासि ममा एक रिक्तता, अभाव र अपूर्णताजस्तो महसुस भइरह्यो ? आफैँमा प्रश्न गर्न थाले । गाउँनजिक बसिरहेका एकजना सन्तकहाँ पुगेर सोधेछन्– जीवनभर मैले यत्रो सङ्घर्ष गरेँ, गरेअनुसारको फल र सम्पन्नता प्राप्त पनि गरेँ र पनि अहिले आएर अभाव र अपूर्णताको अनुभव हुन्छ । किन यस्तो भइरहेछ ? तपाईंलाई सधैँ प्रसन्न देख्छु, कारण के होला ? सन्त मुस्काएर रुमाल देखाउँदै भनेछन्– यो के हो ? राजनीतिज्ञले भनेछन्–रुमाल हो । सन्तले त्यो रुमाललाई दुई÷तीनवटा गाँठा पारेर सोधे– यो के हो ? उनले भनेछन्– त्यही रुमाल हो तर अहिले तपाईंले गाँठा पार्नुभयो । सन्तले अट्टहास गर्दै भने– गाँठा मैले होइन, तपार्इंले पार्नुभएको छ । तपाईंले जीवन सादा एउटा रुमालजस्तो प्राप्त गर्नुभएको हो तर जीवन जिउँदै जाँदा र अनेक चाहना अनि तिनको परिपूर्तिका लागि तपाईंले यस्तै गाँठाहरू पार्दै जानुभयो । जीवनमा बाहिर देखिने जे–जे सफलता तपार्इंले प्राप्त गरे पनि भित्र यस्तै गाँठाहरू छन्, त्यसैले तिनले तपार्इंलाई पूर्णताको महसुस हुनै दिँदैनन् । प्राप्तिका निम्ति तपाईंले कहिले लोभ गर्नुभयो, कहिले भ्रष्टाचार, कहिले क्रोध, कहिले उदास, कहिले ईष्र्या त कहिले द्वेषमा पनि पुग्नुभयो । जीवनलाई नैसर्गिक, प्राकृतिक र सरल तरिकाले जिउने कला बिर्सनुभयो । यिनै कारण आज आएर जीवन कठिन र अपूर्ण लागिरहेछ ।
सन्तले आफ्नोबारेमा भनेछन्– म शान्त र प्रसन्न रहनुमा मैले जीवनलाई एउटा उपहार र सम्भावना सम्झेको छु । जीवनलाई सरलतापूर्वक जिएको छु । ठूलो महŒवाकाङ्क्षा र प्राप्तिको तृष्णा छैन । जे छ सुन्दर छ, शान्त छ र आनन्द छ । यही स्वभावले गर्दा मेरो जीवनमा गाँठाहरू छैनन् ।
नेपालको परिदृश्यमा दशकौँदेखि यस्तै गाँठो परेको देखिन्छ । सधैँ बहस, अराजकता, अव्यवस्था, आन्दोलन, माग आदि–आदि विषयले कहिल्यै निकास पाउन सकेका छैनन् । नागरिकका आवाज सडकभन्दा माथि जान सक्दैनन् । सदनले तिनका मर्म बुझ्दैनन् । राजनीतिका भित्री गाँठा र परिभाषा बाहिरका सर्वसाधारणले बुझ्नै सकेनन् । त्यसकै परिणाम हो– सरकार फेरिइन्छन्, नेतृत्व लिने व्यक्ति फेरिइन्छन् र पनि स्थिति जस्ताको त्यस्तै । किनकि व्यक्ति फेरिँदैमा राष्ट्र र जनताका निम्ति उसको सोचाइ फेरिएन भने सकारात्मक परिवर्तन नआउने रहेछ । कुनै पनि उद्देश्य प्राप्तिका लागि त्यसैअनुसारको सोच जरुरी हुन्छ । सोचाइ एकातिर, बाटो अर्कोतिर भयो भने कहिल्यै गन्तव्यमा पुग्न सकिन्न ।
(लेखक सामाजिक परामर्शदाता हुनुहुन्छ ।)