डा. नम्रता पाण्डे
एउटा गाउँमा एक जना माझी थिए । दैनिक नदीमा गएर माछा मार्नु, तिनलाई बेच्नु र जीवन चलाउनु उनको कर्मयोग थियो । एक दिन झिसमिसे उज्यालोमै उनी नदीको किनारमा पुगे । उनको खुट्टामा एउटा झोलाले ठक्कर दियो । गह्रुँगो पत्थर, ढुङ्गाले भरिएको त्यो झोला उनले हातमा लिए । माछा मार्ने जाललाई एक छेउमा राखे । सूर्योदयको प्रतीक्षामा थिए, अन्धकारमा त उनले नदीभित्रको माछा पनि देख्दैनथे । त्यसैले किनारमा बसेर झोलाबाट एक÷एक पत्थर झिकेर नदीमा फ्याँक्न थाले । एउटा पत्थर पानीमा फाल्थे, त्यसको आवाज सुन्थे र फेरि अर्को फाल्थे । यसैगरी सबै पत्थर फालिसकेका थिए । अन्तिम पत्थर हातमा के लिएका थिए, सूर्योदयको उज्यालोमा चम्केको त्यो पत्थर त हीरा पो रहेछ ।
उनले आफ्नै टाउकोमा हान्न थाले र भने– ओहो सबै पत्थर फ्याँकी पो सकेँ त, ती त पत्थर नभएर हीरा पो रहेछन्, पश्चाताप भयो उनलाई आफ्नै हातबाट हीरा जवाहरात फ्याँकेछु भनेर । त्यही अन्तिम पत्थर हीरा हातमा लिए, पश्चाताप गर्न थाले– यतिका सम्पदा मेरो हातमा आउँदा पनि मैले चिन्न सकिनँ, आफ्नै हातबाट गुमाएँ । फेरि सान्त्वना दिन थाले– आफैँलाई के गर्नु त अन्धकार थियो, मैले राम्ररी ठम्याउन पनि सकिनँ । सूर्योदय हुनासाथ त उज्यालो भयो र यही अन्तिम हीरा त मैले पहिचान गरेँ नि । सायद माझी सौभाग्यशाली हुनुपर्छ अन्यथा जीवनको अन्तिम हीरा पनि पहिचान नगरी व्यर्थमा जीवन समाप्त गर्ने धेरै हुन्छन् ।
जीवनका सम्पदासँग अपरिचित हुँदा
पत्थररूपी जीवनको झोलामा धेरै बहुमूल्य सम्पदा अस्तित्वले हामीलाई सुम्पेको हुनसक्छ तर हामी अन्धकारमै हुन्छौँ अनि अपरिचित रहन्छौँ ती अमूल्य सम्पदाबाट । एकातिर धेरै भागदौडका साथ बाहिरी सम्पन्नता र सम्मान आर्जन गरेको महसुस हुन्छ, अर्कोतिर अस्तित्वले दिएको सम्पदा झोलाबाट झिक्दै फ्याँक्दै गरेका हुन्छौँ, जुन कुरा हातबाट फुस्किसकेपछि थाहा हुन्छ । कुन झोलामा के रहस्य छिपेको हुन्छ अड्कल नै हुँदैन । आफ्नो सानो बुद्धिको प्रयोगले जीवनमा अमूल्य चिजहरू अन्धकाररूपी सोचबाटै हातबाट फुस्किसकेका हुन्छन् ।
तत्कालीन लाभ नदेखेर, स्वार्थपूर्ण राजनीतिमा उल्झेर कति सम्बन्ध, कति परोपकारका क्षण, कति खुसीका क्षण र कति सत्सङ्ग हाम्रो हातबाट फुत्किसकेका हुन्छन् । समय आउँछ तर पर्खंदैन भनेको नै समयअनुसार जे परिस्थिति र आफ्नो भूमिका आउँछ, त्यसलाई त्यही समयमा निर्वाह गर्न सकिएन भने फेरि त्यो अवसर नआउन सक्छ । जो बित्यो बित्यो, अबका दिनमा पनि त्यस्तै अमूल्य हीरा हात पर्न सक्छन् तर मानिस कथा बनाएर बसेको हुन्छ पत्थर ठानेर । हामीले जीवनमा आफ्नो पन, आफ्नाको प्रेम, आफ्नो निजता, सरलता, माधुर्यता, शीलता, प्रफुल्लता, उमङ्ग, उत्साह र जागरणरूपी सम्पदालाई पत्थर सम्झेर अवमूल्यन गरिरहेका त छैनौँ ? कौडीको चिन्तामा हीरा पानीमा बगेको त छैन ? के हो जीवनको वास्तविक सम्पदा र के हो अहङ्कार अनि बाहिरी आकर्षण र सम्पन्नता ? अब छुट्याउन ढिला भइसकेको छ ।
जीवनमा सूर्योदय
अलिकति सौखिन र प्रकृतिप्रेमी व्यक्तिलाई कहाँबाट सूर्योदयको राम्रो दृश्य देखिन्छ, हेर्ने औधि रहर हुन्छ । जति नै समय र धनराशि खर्चेर या व्यवस्थापन गरेर ऊ त्यो ठाउँ पुग्छ नै । हाम्रो नगरकोट, श्रीअन्तु लगायतका स्थलमा मित्रहरू पुगेर तस्बिरहरू राख्दा हेर्नेलाई पनि खुसी लाग्छ । घरकै बार्दलीबाट देखिएको दृश्य किन नहोस्, हेरेर आनन्द लिन मन लाग्छ । किनकि सूर्योदयको उज्यालो, यसको ऊर्जा र किरण जीवनको अभ्युदयसँग धेरै नजिकको सम्बन्ध राख्दछ । प्रत्येक बिहानीको सूर्योदयले अन्धकार रातलाई पन्छाएर हाम्रो नयाँ दिन र नयाँ सम्भावना बोकेर आएको हुन्छ । जीवनमा सूर्योदय हेर्ने रहरसँगै जीवनमा सूर्योदयरूपी आशाका किरण र उज्यालो भेटियो कि भेटिएन ? सूर्योदय भइसक्दा पनि विचार र सोचका अन्धकाररूपी दृश्यले के रात के दिन बनाएको त छैन ?
जीवनमा हाम्रो पुरुषार्थले सबै चिज आर्जन गर्न सके पनि सूर्य समयमै उदाउने र अस्ताउने यो त अस्तित्वको नियममा छ, के अस्तित्वको मर्जी र उसको कृपादृष्टिप्रति हामी आभारी भएका छौँ ? जीवन खोज्दाखोज्दै जीवनमा के पाएका छौँ, त्यसलाई मनन गर्न त भुलेनौँ ? कुन सूर्योदय जीवनमा अन्तिम हुन्छ, त्योभन्दा अगाडि जीवनको सूर्योदयलाई जान्ने प्रयास गर्नैपर्ने हुन्छ । यसै प्रसङ्गलाई आत्मसात् गर्दै ओशो बताउनुहुन्छ–कतै तिमीले झ्यालको पर्दा लगाएर बसेका त छैनौँ, जसले तिम्रो सूर्योदयलाई छेकेको छ ? जीवनमा दिनुपर्ने समयमध्ये ध्यानको अभ्यासलाई इङ्गित गर्दै उहाँले सम्झाउन खोज्नुभएको छ । मानिस किन आफ्ना सम्पदाप्रति अपरिचित हुन्छ अनि किन अपूर्णता महसुस गर्दछ ? किन दुःखी ठान्छ आफूलाई ? कारण हो– ऊ ध्यान गर्दैन र आवश्यकभन्दा व्यर्थताका कर्महरू, सम्बन्ध र विचारमा अल्झेको छ ।
केही प्रतिशत व्यक्ति थोरै सचेत हुन थालेका छन् तर तिनीहरू ध्यान शब्दभन्दा आकर्षणको नियम, भावनात्मक बुद्धिजस्ता शब्द रुचाउँछन् । ताìिवक अर्थ उस्तै राख्छन्, यी शब्दहरू र प्रयोगले पनि तर बुद्धको तपोभूमिमा जन्मेका हामीले ध्यानलाई जीवनमा प्रयोग गर्न जानेनौँ भने अझै अरू दुःख र अपूर्णता नभोगी सुखै छैन । त्यसैले ओशो प्रस्ट पार्नुहुन्छ– ध्यान पर्दा हटाउने कला हो । यो पर्दाबाहिर छैन, तिमीभित्र छ । विचारले बुनिएका तिम्रा पर्दाभित्र छन् । राम्रा–नराम्रा सबै विचार मिलेर यो पर्दा बुनिएको छ । जब तिमी विचारभन्दा पर एकाग्र चित्तमा र निर्विचार अवस्थामा पुग्छौ, त्यही ध्यान हो । संसार छ, तिमी छौ र पनि बीचमा विचारको पर्दा नहुने अवस्था ध्यान हो । मानिसमा उत्पन्न हुने असीमित विचार, सकारात्मक, नकारात्मक सबै विचारले असली सम्पदाको पहिचानमा अन्धो बनाइदिएको हुनसक्छ । त्यसैले पनि ध्यानको अभ्यास जरुरी छ किनकि यो अभ्यासले चित्तमा उठ्ने विचार र हृदयका भावलाई जागृत भई हेर्ने कलाको विकास गर्दछ र आफ्नो असली पहिचान अनुभूति गर्न मद्दत पु¥याउँछ ।
धन्यवादको कला
मानिसलाई उसँग जे उपलब्ध छ, त्यसले पुगेको छैन र पुग्दैन पनि । उसलाई के चाहिएको भन्दा पनि अरूको जस्तो चाहिएको छ । उसले जस्तो जीवन बाँचेको छ, उसको साथमा जे छ त्यो चिज अरू धेरैले चाहन्छन् तर आफूसँग भएका चिजप्रति उसलाई धन्यवाद भाव प्रकट हुँदैन । अपूर्णतामा छ त धन्यवाद भाव कसरी विकास हुनु ? आज विकसित पश्चिमी देशहरूले समेत वर्षमा एक दिन धन्यवाद ज्ञापन दिवस मनाउन थालेका छन् । भौतिक विकासको चरम् अनुभूति गरेका देशहरूले समेत आफ्ना नागरिकलाई जीवनमा अहोभावको कला महसुस गराउनका निम्ति यो प्रचलन सुरु गरेको हुनुपर्दछ ।
जीवनमा आवश्यक भौतिक सुविधा र सम्पत्ति सबै प्राप्त गर्ने पनि अशान्त, तनाव र अपूर्णताको महसुस गर्दै जीवनदेखि निराश हुनुको कारण हो– जीवनप्रति धन्यवादको कला फलित नहुनु । आज गरिब देशमा भोकमरीले मर्नेको सङ्ख्याभन्दा सम्पन्न देशमा आत्महत्या र तनावले मर्नेहरूको सङ्ख्या धेरै पुग्न थालिसक्यो । त्यसैले जीवनमा आइपर्ने सामान्य प्रतिकूलता र असहजताप्रति गुनासो र समस्याको गणना गरेर जीवनलाई दुःखी नबनाउनु नै आफ्नो हीरा पहिचान गर्नु हो । सानातिना विषयमा छिपेका खुसी, अकारण आनन्द, आन्तरिक शान्ति, अमूल्य प्रेम, उमङ्गपूर्ण जीवनशैली र संस्कार हाम्रो जीवनरूपी हीराका रहस्य हुन् ।