पूर्णहरि अमात्य
कूटनीति (डिप्लोमेसी) अत्यन्त जटिल तथा संवेदनशील विषय हो । यसमा अलिकति पनि तलमाथि प¥यो भने मुलुकको अस्तित्व नै सङ्कटमा पर्ने सम्भावना हुन्छ । त्यसैले तत्कालीन राणा शासकहरू ‘सूर्य कहिल्यै अस्त नहुने’ बेलायती साम्राज्यवादीसँग निकै सुमधुर सम्बन्ध कायम राख्न प्रयत्नशील रहन्थे । तिनताका नेपालको परराष्ट्र सम्बन्ध भनेकै दक्षिणमा ब्रिटिस इन्डिया र उत्तरतर्फ भोट (तिब्बत) मा सीमित थियो । विक्रम संवत् १९९१ (सन् १९३४ अप्रिल) मा बेलायतका राजा जर्ज पञ्चमलाई खुसी पार्न श्री ३ जुद्धशमशेरबाट एउटा उच्चस्तरीय प्रतिनिधिमण्डल त्यहाँ पठाई ओजस्वी राजन्यको तक्मा प्रदान गरी लन्डनमा नेपाली दूतावाससमेत खोलियो । मुख्तियार भीमसेन थापाको कार्यकालमा अङ्ग्रेजसित चिस्सिएको नेपालको सम्बन्धमा न्यानोपन आयो ।
साम्राज्यवादी बेलायतसँग राणाहरू जहिले पनि सम्बन्धको बलियो गाँठो कस्सियोस् भन्ने चाहन्थे । तर, उनीहरू नेपालले अन्य कुनै देशसँग सम्बन्ध नराखोस् र आफूले नै जसरी हुन्छ, आफ्नो मुठ्ठीमा राख्ने प्रयास गर्थे । र, दुई सय वर्ष ब्रिटेनको गुलाम भएको भारतले हालसम्म पनि आफ्ना पूर्वमालिकको लिगेसी (विरासत)लाई निरन्तरता दिन प्रयास गरिरहेको छ । श्री ३ जुद्धले १९०७ मा र श्री ३ चन्द्रशमशेरले १९६५ मा बेलायतको औपचारिक भ्रमण गरेर दुई मुलुकबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याए ।
राजा त्रिभुवनका सचिव गोविन्दनारायण सिंहको चर्चा निकै गरिन्छ । तर, श्री ३ चन्द्र शमशेरको शासनकालमा परराष्ट्र मामिलामा बटुबाबु भनिने बुटुकृष्ण व्यैत्रय, जिन्सी अड्डाका हरिगोपाल बनर्जीहरू नेपालका प्रधानमन्त्रीका मुख्य सल्लाहकारमा गनिँदै आएका थिए (त्यसबखतको नेपाल सरदार भीमबहादुर पाण्डे) । यी दुवै बङ्गालीहरू चन्द्रशमशेरमात्र होइन, भीमशमशेर र जुद्धशमशेरका पनि विश्वास पात्र थिए । ती दुवैले तत्कालीन समयमा उपलब्ध पत्रपत्रिकाहरू पढेर विश्व घटनाक्रमबाट अपडेट (सूचित) गराउने र परराष्ट्र मामिलामा सरसल्लाह दिने गर्थे । बटुबाबु राणाहरूका प्रिय पात्र भएकाले होला, बारा जिल्लामा प्रशस्त जग्गा बकस पाएका थिए र उनको वीरगन्जको विर्तामा कैयौँ रोपनीमा भव्य महल अहिले पनि ज्यूँका त्यूँ
देख्न सकिन्छ ।
तिनताका अन्यन्त शक्तिशाली बेलायती साम्राज्यवादीहरूलाई नेपाली दरबारमा दुई भारतीयको जगजगीप्रति कुनै विरोध थिएन । त्यसैले यी दुई बङ्गालीहरूलाई मन नपराउने नेपाली अङ्ग्रेजका जासुस पनि भन्थे ।
केही दशकअघिसम्म शासकहरू तथा ठूलाबडा सामन्तहरू सिकार खेलेर आफ्नो मन बहलाउँथे । श्री ३ जङ्गबहादुर सिकारका निकै सौखिन थिए र विशेषगरेर हिउँदका तीन महिना तराईका विभिन्न भागमा रहेको बाक्लो जङ्गलमा ठूलो लावालस्करका साथ सिकारमा निस्कन्थे । उनको हरेक वर्ष तराईमा हुने सिकारको सामान्य जनतामाझ पनि निकै चर्चा परिचर्चा हुने गथ्र्याे । सिकारको बहानामा काठमाडौँको चिसो छल्न, जिल्लाको वस्तुस्थिति बुझ्न, ब्रिटिस इन्डियाका उच्चपदस्थ अधिकारीहरूसित भेटघाट गर्न यो समय प्रयोग हुन्थ्यो । र, विशिष्ट पाहुनाहरूलाई सिकार खेल्न निम्तो दिएर व्यक्तिगत सम्बन्ध सुदृढ गर्नु भित्री उद्देश्य हुन्थ्यो ।
भनिन्छ नि– आगोसँग खेल्नेको मृत्यु आगो, पानीसँग खेल्नेको मृत्यु पानीकै कारण हुन्छ । काकताली प¥यो सायद श्री ३ जङ्गबहादुरको सन्दर्भमा पनि । सिकार खेल्न र खेलाउन अत्यन्त सोख राख्ने उनको मृत्यु सिकार खेल्दै गर्दा सर्लाहीको पत्थरघाटमा बिरामी भई त्यहीँ भयो ।
राणा शासनकालमा हात्तीसार र सिकारी अड्डाहरू निकै प्रभावशाली हुन्थे । शासकहरूसितको सोझो सम्पर्कमा काठमाडौँ, भीमभेदी, सर्लाही (हरिपुर) र चितवन (कसरा)मा हात्तीसार हुने गर्थे । सिकार कूटनीति राणाहरूले मात्र होइन, राजा महेन्द्र र उनका छोरा वीरेन्द्रले समेत गरे । राजा महेन्द्र स्वयम् सिकारका अत्यन्त सौखिन थिए । राजा महेन्द्रले २०१७ पुस १ गते ‘कू’ गर्दा भारतीय प्रधानसेनापति थिम्मैया राजकीय अतिथि भई चितवनमा सिकार खेल्दै थिए । प्रजातन्त्रको जननी मानिने मुलुक बेलायतकी महारानी एलिजावेथ द्वितीय र उनका पति फिलिप्सले राजा महेन्द्रको निम्तोमा चितवनमा ठूलो तामझामका साथ शाही सिकार गरे । नेपालमा प्रजातन्त्र हठात्मा सैनिक बलमा खोसिएको राजा महेन्द्रको कदमलाई महारानी एलिजावेथको मौन समर्थन रहेको पर्यवेक्षकहरूले त्यसबेला लख काटे । राजा महेन्द्रकै निमन्त्रणामा अफगानिस्तानका राजा जहिर शाहले पनि चितवनमा शाही सिकार गरे ।
शाही सिकारको क्रम सिकार कूटनीतिले निरन्तरता पाइरह्यो । सन् १९८४ मा अमेरिकी राष्ट्रपति जिम्मी कार्टरका राष्ट्रिय सुरक्षा सल्लाहकार बे्रजेजेन्सिकी दम्पती राजा वीरेन्द्रका चितवनभरको शाही अतिथि थिए । शाही अतिथि चितवन प्रवासमा रहँदा ‘बाङ्गे भाले‘ नामको बाघले अनेकौँ जनावर र मानिस मारेको घटनाले स्थानीयवासीहरू आक्रोशित थिए । शाही अतिथिको भ्रमणका लागि श्री ५ महेन्द्र प्रकृति संरक्षण कोषबाट खटिएका हेमन्त मिश्रले डार्टगन
(बाघ लठ्याउने)को प्रयोग गरी बाघलाई नियन्त्रण गर्ने अविस्मरणीय र रोमाञ्चकारी घटना पनि बे्रेजेजेन्सिकी दम्पतीले अवलोकन गरे (बोन्स अफ दि टाइगर– हेमन्त मिश्र) । त्यसको केही वर्षपछि अमेरिकी राष्ट्रपति बिल क्लिन्टनकी पत्नी हिलारी क्लिन्टनले पनि राजा वीरेन्द्रको शाही अतिथि भई विश्वप्रसिद्ध चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरिन् ।
नेपालका शासकहरूले सिकार कूटनीतिको भरपूर उपयोग गरे २१औँ शताब्दीको पूर्वाद्धसम्म । स्वीडेनका एकजना प्रधानसेनापति मात्र अपवादमा रहे चितवन भ्रमण गर्नेहरूमा । यो पङ्तिकार केही वर्षअघि चितवनमा भ्रमणमा रहँदा शाही नेपाली सेनाका एक अधिकारीले स्वीडेनका प्रधानसेनापतिले चितवनमा जङ्गल सफारी गर्ने इच्छा देखाएपछि उनको मान राख्न हामीले आमन्त्रण ग¥यौँ भनी बताएका थिए । समय काल परिवर्तनसँगै मानिसको सोखमा पनि निकै उतारचढाव भएको देखिन्छ । हाल नेपालको वन–जङ्गलमा बाघको सिकार गर्न होइन, हात्तीमा सवार भई आजका चेतनशील मानिस वन्यजन्तुको रोमाञ्चक अनुभव सँगाल्न चाहन्छन् ।
जङ्गल सफारी (यात्रा) का लागि पूर्वी अफ्रिकी मुलुक केन्यापछाडि नेपाल (चितवन) अग्रपङ्तिमा आउँछ । मानिस सिकारभन्दा घट्दोक्रममा रहेको वन्यजन्तुको संरक्षणमा बढी चासो राख्छन् । बेलायतका राजकुमार चाल्र्सले नेपालमा सिकार खेलेनन् । तर, पैदल भ्रमण (ट्रेकिङ) गरेर नेपालको जीवन्त हात्ती संस्कृति र प्राकृतिक सौन्दर्यताको मज्जा लिए ।
अहिले नेपाल पर्वतारोहण तथा ट्रेकिङका लागि विश्वप्रसिद्ध गन्तव्य हो । माओवादी द्वन्द्वकालमा पनि पर्वतारोहणमा कुनै कमी आएन । बीबीसी, लोन्ली प्लानेट, ट्रिप एडभाइजर र फोब्र्स पत्रिकाजस्ता सञ्चारमाध्यमहरूले नेपालका प्रकृति, संस्कृति तथा साहसिकता (एडभेन्चर)लाई राम्रो बखान गरेर हामीलाई ठूलो गुन लगाएका छन् । हालैमात्र बहराइन राजपरिवारका एक सदस्य पर्वतारोहणका लागि १८ जनाको एउटा टोलीसहित नेपाल आए । त्यसैगरी, केही वर्षपहिले साउदी अरबका राजकुमार पनि सगरमाथा क्षेत्रको भ्रमणमा आएका थिए । ०७६ चैतको पहिलो साता नेपालले जलवायु परिवर्तनको गम्भीरतालाई मध्यनजर राख्दै कैयौंँ मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखलाई आमन्त्रण गरिसकेको थियो । तर, कोभिड–१९ महामारीले नोभेम्बर (कात्तिक)मा सारिएकोमा त्यो पनि हाल होलाजस्तो छैन ।
दुईतिहाइको बहुमतको हाल सरकारलाई देखिने र सुनिने अवस्थामा पु¥याउन केपी ओलीको नेतृत्वलाई धन्यवाद दिनु जरुरी छ, जसले जीवनरक्षालाई पहिलो प्राथमिकता दिएको छ । जीवन मान्छेको मात्र छैन, वन्यजन्तुको पनि छ । जसले पर्यावरणीयचक्रमा योगदान गर्छन् । जीवन देशको पनि हुन्छ । अनेकौँ कमीको बाबजुद पनि झन्डै छ दशकअघि भारतबाट अतिक्रमित लिपुलेक, कालापानी, लिम्पियाधुराजस्ता त्रिदेशीय सुरक्षाको दृष्टिले अनि महŒवपूर्ण सीमा सुरक्षार्थ राष्ट्रिय स्वाधीनतामा मधेसवादी दलहरूसमेत एक ठाउँमा उभ्याउन सक्नुले हाम्रो राष्ट्रियतामा हामी एकढिक्का भएको ज्वलन्त प्रमाण पेस गरेको छ, यो नेतृत्वले । अहिलेको नेपालमा बेलायती राजा जर्ज पञ्चमलाई झैँ कसरामा रातारात पक्की दरबार र छ सय हात्तीको लावालस्कर जम्मा गरी रिझाउन जरुरी छैन । हामीले आफ्ना मित्रराष्ट्रहरूलाई उसको राष्ट्रिय स्वार्थलाई सम्मान गर्दै आफ्ना मुलुकको हितलाई तिलाञ्जली नदिई, सक्रिय अनि समयानुकूल कूटनीति अवलम्बन गर्नुबाहेक अरू कुनै विकल्प नेपालसित छैन ।
(लेखक वातावरण पत्रकार हुनुहुन्छ ।)