पूर्णहरि अमात्य
मानिसको स्वस्थ जीवनका लागि स्वच्छ पिउनेपानी, स्वच्छ वायु र पोषणयुक्त भोजन अनिवार्य हुन्छन् । यसको अभावमा गुणस्तरीय रहनसहन सम्भव हुँदैन । त्यसैले सन् २०१५ मा नेपालले जारी गरेको संविधानले स्वच्छ पिउनेपानी तथा सरसफाइलाई नागरिकको आधारभूत आवश्यकता हो भन्ने स्पष्ट उल्लेख गरेको छ । यिनै कुराहरू मध्यनजर गर्दै नेपाल सरकारको आवधिक योजना (सन् २०१९–२०२४) ले सबै नेपाली नागरिकलाई स्वच्छ पिउनेपानीको आपूर्ति तथा पहुँचमा जोडिदिएको छ । तर, जलस्रोतमा धनी मुलुक भनेर बखान गर्दैमा नथाक्ने हामी काकाकुलको परिस्थितिमा बस्न बाध्य छौँ । विश्व स्वास्थ सङ्गठनले सन् २०१७ मा प्रतिव्यक्ति ११२ देखि १५० लिटर पानीको दैनिक जीवनका लागि आवश्यक पर्ने औँल्याएको छ । तर, नेपालका सहरी बासिन्दाले विश्व स्वास्थ्य सङ्गठनले तोकेकोभन्दा निकै कम पानीको उपभोग गरिरहेका छन् ।
भोजनविना हामी केही समय बाँच्न सक्छौँ तर पानी र वायुविना मानव अस्तित्वको कल्पना पनि गर्न सक्दैनौँ । त्यसैले यी कुरालाई मानवजीवनका लागि आधारभूत आवश्यकता भनिएको हो । विश्व बैङ्कको एक रिपोर्टअनुसार सन् १९९० मा सहरी नेपाली जनताको स्वच्छ पानीमा पहुँच ९५.५ प्रतिशत थियो भने सन् २०१७ मा घटेर ९०.९ प्रतिशतमा ओह्रालो लागेको छ । उक्त तथ्याङ्कले नेपालीको गुणस्तरीय जीवन (क्वालिटी अझ लाइफ) पानीको आपूर्ति हुन नसक्नुमा मुख्य तीन कारण छन् । पहिलो, ग्रामीण इलाकासमेतलाई गाभेर उपनगरपालिका, नगरपालिका तथा महानगरपालिका बनाउने अभियान । दोस्रो, जलवायु परिवर्तनका कारणले पानीको उपलब्धतामा ह्रास तथा तेस्रो, पिउनेपानीको व्यवस्थापनमा विद्यमान कमीकमजोरी ।
नेपालभर खानेपानीको व्यवस्थापन सरकारी स्वामित्वमा रहेको नेपाल खानेपानी संस्थानले गर्दै आएको छ । तर, अपवादका रूपमा धुलिखेल एउटा यस्तो नमुना सहर हो, जहाँ नगरवासीलाई स्वच्छ खानेपानीको सम्पूर्ण सु–व्यवस्थापन नेपाल सरकारको स्वामित्वमा रहेको संस्थानले गर्नुको साटो स्थानीय समुदायले ३२ वर्षदेखि गर्दै आएको छ । राजनीतिको फोहरी खेलले यहाँको खानेपानीको व्यवस्थापनमा खासै असर परेको छैन । तर, मुलुकको गौरव गर्नलायक समुदायकै सक्रियतामा कुशल खानेपानी व्यवस्थापन २०४४ सालमा धुलिखेल नगर पञ्चायतका प्रधानपञ्च बेलप्रसाद श्रेष्ठको उत्प्रेरक भूमिकाले सम्भव भएको हो ।
हामीले मिश्र (इजिप्ट) तथा मेसोपोटामिया सभ्यतामा खानेपानीको व्यवस्थापन तथा वर्षाको पानी (रेन वाटर र हार्भिस्टिङ) सङ्कलनको उदाहरण उद्धृत गर्नुभन्दा हाम्रा पुर्खाले विशेषगरेर काठमाडौँ उपत्यकाका तीन सहर काठमाडौँ, ललितपुर तथा भक्तपुरका बासिन्दालाई स्वच्छ खानेपानीको व्यवस्थापनमा ढुङ्गेधारा, इनार तथा पोखरी निर्माण गरेर कसरी खानेपानीको दिगो व्यवस्थापन गरेको विषयमा अध्ययन अनुसन्धान हुनुपर्छ । सेतो छालाले भनेको लेखेको कुरोलाई हामी ब्रह्मवाक्य ठान्ने औपनिवेशिक दास मनोवृत्तिले जकडिएका छौँ । प्रत्येक वर्ष विशेषगरेर नेवार समुदायको जेठको सुख्खा मौसममा इनार (कुवा) तथा ढुङ्गेधारामा पानीको आपूर्ति कम भएको मौका पारेर सरसफाइ गर्ने हाम्रो मौलिक परम्परा हो, जुन अद्यापि कायमै नै छ ।
राणाकालमा पूर्व १ नम्बर भनिने काभ्रेको सदरमुकाम धुलिखेलमा प्रशासनिक कामका लागि मानिसको आवतजावत बढी हुनु स्वाभाविकै हो । तर, दशकौँसम्म यहाँ स्वच्छ खानेपानीको आपूर्ति कुनै निकायबाट भइरहेको थिएन । र, धुलिखेलमा कसैको घरमा पनि शौचालय थिएन । नगरवासी घरबाहिर मलमूत्र त्याग गर्थे । खुला ठाउँमा शौच गर्नुपर्ने हुँदा अँध्यारोमै कुद्नुपर्ने अवस्था थियो । सीमित ढुङ्गेधारा, इनारमा खानेपानी लिन आउने महिलाबीच हानाथाप हुँदा दिनहुँ झैझगडा हुनु सामान्य थियो । तर चोक, चियापसल तथा भट्टीमा ढुङ्गेधारमा महिलाबीच चुल्ठो तानातान भएको चर्चा पुरुषको बसिबियाँलोको प्रमुख विषय हुन्थ्यो । ती पानीका स्रोतमा ह्रास हुँदै जानु र जनसङ्ख्याको चाप क्रमशः बढ्दै जानाले धुलिखेलमा खानेपानीको समस्या जटिल हुँदै गइरहेको थियो ।
बेलप्रसाद अमेरिका (क्यालिफोर्निया)बाट नेपाल स्वयम्सेवक भएर आउने अमेरिकीलाई तालिम दिने प्रशिक्षक भई एकवर्षे कार्यकाल समाप्त भएपछि धुलिखेल फर्कनुहुन्छ । अमेरिकाको एकवर्षे बसाइमा उहाँको सोचाइको क्षितिजमा व्यापक परिवर्तन हुन्छ । नयाँ व्यवसाय पर्यटनको उज्ज्वल भविष्य विचार गर्दै सरस्वती बजारमा रहेको आफ्नो घरमा धुलिखेल लज स्थापना गर्न पुग्नुहुन्छ ४० वर्षअघि । धुलिखेल लज त खोलियो तर पश्चिमा पर्यटकलाई स्वच्छ पिउनेपानी, नुहाउन तथा ट्वाइलेटका लागि पानी कहाँबाट आपूर्ति गर्ने भन्ने सोचले पिरोल्यो । आवश्यकता आविष्कारको जननी हो भन्ने कुरा धुलिखेलमा खानेपानीको आधुनिक व्यवस्थापन मुलुकका अन्य सहरले अनुशरण गर्नुपर्ने देखिन्छ । बेलप्रसाद र रामचन्द्र धिनाङ्जू धुलिखेलमा रहेको कन्या स्कुलका लागि भक्तपुरमा फर्निचर खरिदका लागि जाँदा त्यहाँ कतै पाटी जीर्णोद्धार गरी, कतै गल्ली, सडकमा इँटा छाप्दै गरेको आदि निर्माण विकासको काम गरेको देख्नुहुन्छ । उक्त काम नियाल्दै उहाँहरूलाई त्यस्तो काम आफ्नो गाउँमा (धुलिखेल) पनि गर्न पाए हुन्थ्यो भन्ने भावना मनमा आउँछ र दुवैजना जीटीजेड (हाल ः जीआईजेड) नामक अन्तर्राष्ट्रिय जर्मन गैरसरकारी संस्थाका पदाधिकारीलाई भेटी आफ्नो धुलिखेलका विद्यमान विभिन्न समस्याका बारेमा जानकारी गराउनुहुन्छ । उनीहरूले त्यो कुरोलाई गम्भीरतापूर्वक लिए र वास्तविक कुरा बुझ्न स्थलगत भ्रमणका लागि धुलिखेल आए । धुलिखेलको स्थलगत भ्रमण गरेपछि उहीहरूलाई यहाँ खानेपानीको विकराल समस्या बोध हुन्छ र उक्त समस्या समाधान गर्न तत्काल ५० हजार रुपियाँको सहयोग गरिने घोषणा हुन्छ । त्यसैक्रममा जर्मनीले स्थानीय भद्रभलाद्मीको उपस्थितिमा भएको छलफलमा तपाईंहरूले पानी कहाँबाट ल्याउने हो, त्यसको बन्दोबस्त पहिले गर्नुहोस् भने ।
भक्तपुरमा कार्यरत जीटीजेडका टिमलिडर पिटर स्पानियाको भरपर्दो आश्वासन पाएपछि पानी तान्नका लागि इन्धन, ज्यामी आदिको व्यवस्था धुलिखेलका बासिन्दाले गरे । धुलिखेलको दुरावस्था देखेर त्यहाँ स्वच्छ वातावरण कायम गर्न जीटी जेडले वाटर पम्प र पाइपको सहयोग पु¥यायो । यसैक्रममा थप सहयोगका लागि जर्मन संस्थाले श्री ५ को सरकारबाट आधिकारिक पत्र आउनुपर्छ भन्ने सल्लाह दियो । र, उनीहरूको सल्लाहअनुसार तालुकवाला मन्त्रालयमार्फत जर्मन सरकारलाई धुलिखेलबाट सहयोगका लागि लेखापढीको काम पनि भयो । यसैक्रममा पानी उपलब्ध हुने सुनिश्चित भएपछि जर्मन संस्थाले एकमुष्ट ७० हजार रुपियाँ सहयोग गरेपछि प्रत्येक घरमा शौचालय बनाउन स्थानीय बासिन्दा सक्रिय भए । पानीको आपूर्ति हुन थालेपछि अव्यवस्थित फोहोर सफा गर्न, पुरानो–पुरानो ढल सफा गर्न निकै सजिलो भयो । र, सबैभन्दा महŒवपूर्ण कुरा स्वच्छ पानी धुलिखेलमा हुन थालेपछि दूषित पानीबाट हुने टाइफाइड, हैजा आदिबाट आक्रान्त नगरवासीले मुक्ति पाए । खानेपानीको उपलब्धतापछि रूढीग्रस्त धुलिखेलेको सोचमा परिवर्तनको लहर चल्यो र आफ्नो नगरको बाटो र गल्लीमा ढुङ्गा छापेर सिनित्त सफा राख्नुपर्ने चेत पलायो, अनि पानीको प्रयोग गरेपछिको तरल फोहोरलाई बग्न नयाँ ढल (डे«नेज)को आवश्यकता महसुस भयो ।
जर्मन संस्थाको सहयोगमा धुलिखेलमा नयाँ उत्साह र उमङ्ग क्रमशः बढ्दै गर्दा पञ्चायतकालीन समयमा ठूलो रकम खर्च गर्ने अख्तियारी गाउँ पञ्चायतलाई थिएन । ठूलो रकम प्राप्त गरी खर्च गर्ने अधिकार जिल्ला पञ्चायतलाई मात्र थियो । जर्मन संस्थाले चर्पी निर्माण गर्न, ढल व्यवस्थित गर्न र ढुङ्गा छाप्न पाँच लाख सहयोग गर्ने मनसाय जाहेर ग¥यो । तर, धुलिखेल गाउँ पञ्चायत भएकाले त्यत्रो रकम जिल्ला पञ्चायतमार्फत खर्च गर्नुपर्ने नियमले उनीहरू असमन्जस्यमा परे ।
तर, चेतनाको उर्लंदो लहरले धुलिखेललाई छपक्कै पारिसकेपछि स्थानीय अगुवाहरू आफ्नो गाउँ पञ्चायतलाई स्तरोन्नति गरी नगरपञ्चायत घोषणा गराउन ज्यान फालेर लागे । पञ्चायतकालमा राजाको हुकुम सर्वोपरि हुने हुँदा उनीबाट आदेश गराउन तत्कालीन परराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्याय, पञ्चायत विकासमन्त्री पशुपतिशमशेर, राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदी तथा उच्चपदस्थ सरकारी पदाधिकारीहरू चण्डिप्रसाद श्रेष्ठ र रामेश्वर श्रेष्ठहरूको प्रत्यक्ष र अप्रत्यक्ष सक्रिय सहयोग त थियो नै । र, धुलिखेलका कर्मयोगीहरू बेलाप्रसाद श्रेष्ठ, रामचन्द्र धिनाङ्जू, श्रीलाल माकजू, दुर्गाप्रसाद शास्त्री, हरिकृष्ण न्हसिजू, मालिकलाल श्रेष्ठ, मिश्रलाल श्रेष्ठ, बेजनाथ चोच्छे र वीरमान यगोलका साथै अन्य सबै तप्काका धुलिखेलेको सक्रिय सहयोग रह्यो । धुलिखेल गाउँ पञ्चायतलाई नगर पञ्चायतमा उचाल्न त्यस समय राजा वीरेन्द्रको सवारी दिपायलमा भएकाले त्यहाँ त्यस क्षेत्र विषयक बिन्तिपत्रमात्र दर्ता गरिने प्रावधान तगारो बन्यो । उक्त तगारो पन्छाउन त्यसबेलाका प्रभावशाली मन्त्री शैलेन्द्रकुमार उपाध्यायको नामबाट राजा वीरेन्द्रसमक्ष बिन्तिपत्र जाहेर हुँदा मौसुफबाट धुलिखेललाई नगरपञ्चायत बनाउन आदेश भएपछि सबैको मुखमा बुझो लाग्यो । यसरी खानेपानीका लागि प्रयासरत धुलिखेलेहरू गाउँवासीबाट नगरवासीका रूपमा पदोन्नति भए ।
जीटीजेड, श्री ५ को सरकार, धुलिखेल नगरपञ्चायत तथा स्थानीय जनताको सक्रिय सहभागितामा गुणस्तरीय खानेपानीको व्यवस्थापन कायम भयो । र, पञ्चायतकालको प्रधानपञ्चदेखि प्रजातन्त्रको पुनःस्थापना र शाहीकालसम्म धुलिखेलको नगरप्रमुख (मेयर)मा आसिन विकासप्रेमी बेलप्रसाद श्रेष्ठको उत्प्रेरक भूमिकाले खानेपानीको सुख समुदायलाई प्राप्त भयो । पानीको मुहानबाट निर्वाध पानीको निरन्तर प्रवाहका लागि स्थानीय समुदायसितको हातेमालोले दिगो तथा भरपर्दो अनि गुणस्तरीय खानेपानीको आपूर्तिले स्थानीयवासीको जीवन गुणस्तरीय बनाउन उदाहरणीय भूमिका प्रशंसनीय छ ।
(लेखक वातावरण पत्रकार हुनुहुन्छ ।)