पूर्णहरि अमात्य
लोनेपालको पर्यटन क्षेत्रका लागि दुई सुखद समाचारहरू जानकारीमा आएको छ । पहिलो हो, काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग लयमा फर्कंदै र दोस्रो हो, संस्कृति पर्यटन तथा उड्डयनमन्त्री योगेश भट्टराईद्वारा सन् २०२१ लाई आन्तरिक पर्यटन वर्ष भनी घोषणा हुनु । नेपालले सन् २०२० लाई ठूलो तामझामसाथ भ्रमण वर्ष त घोषणा भयो । तर, दुर्भाग्यवश कोभिड १९ को सन्त्रासमा मुलुकहरू छटपटाइरहेका छन् । नेपालमा सन् १९९८ मा प्रथमपटक निजी क्षेत्र तथा तत्कालीन श्री ५ को सरकारको सहकार्यमा थोरै बजेटमा पनि पर्यटन विकासका लागि अभूतपूर्व कार्यहरू भए । तर, सन् २०११ र सन् २०२० को नेपाल भ्रमण वर्षमा त्यो ‘स्पिरिट’ देखिएन । त्यसो त पर्यटनमन्त्रीले सन् २०२१ को आन्तरिक भ्रमण वर्षको पूर्वतयारी भइरहेको जानकारीमात्र दिनुभएको छ । त्यो कुन मोडालिटीमा सम्पन्न हुने भनी खुलाउनुभएको छैन ।
मुलुक सङ्घीयतामा गएपछि सातवटै मन्त्रालयमा समावेश गरेको छ । र, सातवटै प्रदेशका मुख्यमन्त्री तथा विभागीय मन्त्रीहरूले पर्यटनलाई उच्च प्राथमिकतामा राखेको घोषणा गरेको सुनिन्छ । तर, उच्च राजनीतिक तहले गरेको घोषणाले मात्र स्वतः भ्रमण वर्ष पक्कै पनि सफल हुँदैन होला ? भ्रमण वर्ष सफल पार्न अनेकौँ सरोकारवालाहरूको समन्वयको खाँचो हुन्छ । तर, प्रदेश सरकारहरूले मुलुक सङ्घीयतामा गइसके तापनि केन्द्रले कैयौँ अधिकारहरू आफूसित राखेको आरोप बराबर चर्चामा आउँछ । मुलुकभित्र सडक सञ्जाल, सुरक्षित हवाई यातायत, विद्युत्, सञ्चार, स्वच्छ वातावरण तथा शान्त र सुरक्षित परिस्थितिमा मात्र पर्यटन फस्टाउन सक्छ ।
माथि भनिएका पूर्वाधारहरूको अभाव भए तापनि नेपालको प्राकृतिक सौन्दर्य, जीवन्त संस्कृति, जैविक विविधता अनि नेपालीहरूको अतिथि देवो भवः भन्ने व्यवहारबाट प्रभावित भई विदेशीहरू अनेकौँ दुःख कष्ट सहेर पनि नेपाल भ्रमण गरिरहेका छन् । विशेष गरेर विदेशी पर्यटकहरूलाई पर्वतारोहण तथा पदयात्राले नेपाल भ्रमण गर्न लोभ्याउँछ । हामीले अझसम्म पनि पर्यटकीय उद्गम स्थलहरूमा नेपालको प्रचार–प्रसार गर्न सकेका छैनौं । नेपाल भ्रमण गरी फर्केका पर्यटकहरूले यहाँको प्राकृतिक सौन्दर्य तथा न्यानो स्वागतका बारेमा ‘वर्ड टु माउथ’ आफ्ना इष्टमित्रहरूलाई बखान गरेर हामीलाई ठूलो गुन लगाएका छन् ।
नेपालमा विचित्रको एउटा परम्परा नै भएको छ– कुनै मन्त्री वा सचिव मन्त्रालयमा बहाल भएपछि सरकारले नयाँ नीति ल्याउँदै छ भन्ने घोषणा गरिहाल्ने । पर्यटनमन्त्री भट्टराईको कार्यकालमा, २०२० भ्रमण वर्षमा गाईजात्रेताल देखियो । भ्रमण वर्षको राष्ट्रिय संयोजक (सुरज वैद्य) नै पर्यटनसँगै कुनै साइनो नभएको चयन हुनु । यद्यपि, वैद्यको नियुक्ति बालुवाटारको ठाडो आदेशमा भएपछि मन्त्री भट्टराईले के नै गर्न सक्नुहुन्थ्यो र ? २०२० भ्रमण वर्षको मुख्य आयोजक पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रबाट छानिएका पदाधिकारीहरूबीच कुनै तालमेल नभएका समाचारहरू त्यसबेला छताछुल्ल भएकैबाट स्पष्ट हुन्छ । आशा गरौँ, सन् २०२१ लाई आन्तरिक वर्ष घोषणा र त्यसको कार्यान्वयनमा त्यस्तो गल्ती पुनः दोहरिने छैनन् ।
सन् २०२१ को प्रारम्भमा कोभिड–१९ को खोप बजारमा आउने प्रायः निश्चितझैँ छ । र, २०२० ले बिदा लिएर २०२१ आउन धेरै दिन बाँकी छैन । त्यसैले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच राम्रो सहकार्य हुन सकेमा मात्र आन्तरिक भ्रमण सफल वर्ष हुनेछ । कोभिड–१९ नियन्त्रणमा नआइसक्दा पनि उपत्यकाबाहिरको पर्यटकीय गन्तव्य पोखरामा आन्तरिक पर्यटकको आगमनले त्यहाँका पर्यटन व्यवसायीहरू पर्यटन पुरानै लयमा फर्कने कुरामा आशावादी भएका छन् । पोखरापछि नेपालको अर्को पर्यटकीय गन्तव्य चितवनमा धेरै–थोरै भए तापनि आन्तरिक पर्यटकको आगमनले त्यहाँका पर्यटन व्यवसायीमा खुसी छाएको छ ।
यता केही वर्षदेखि नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखरा चितवनमात्र होइन, हिमालपारिको जिल्ला मुस्ताङ र सुदूरपश्चिमको रारा दहको अवलोकन गर्न आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको समाचारहरू देखिन्छन् । गैसस (राष्ट्रिय÷अन्तर्राष्ट्रिय)हरू, विदेशी कम्पनीहरू तथा बैङ्किङ तथा वित्तीय संस्थाहरूमा काम गर्ने नेपालीको राम्रो आय हुनाले फुर्सद पाउनासाथ उनीहरू भ्रमण गर्ने भनेको भारतीय तीर्थस्थलहरूको हुने गथ्र्याे । त्यो प्रवृत्तिमा हाल क्रमशः परिवर्तन देखापर्न थालेको छ । यातायातको सहजताले हाल नेपाली आफ्नै मुलुकको लुम्बिनी, पाथिभरा, हलेसी, मनकामना, स्वर्गद्वारी, सखडा, कङ्काली (दुवै सप्तरी जिल्ला) र जनकपुरधाम ठूलो सङ्ख्यामा भ्रमण गर्छन् ।
केही दशक अघिसम्म विशेषगरी क्रिसमस तथा नयाँ वर्ष (इस्वी) को रमाइलो मनाउन दार्जिलिङ र गोवाजस्ता सहरको भ्रमणमा नेपाली युवा जमात निस्कन्थे । तर, त्यो परम्परा हाल तोडिएको छ । क्रिसमस तथा नयाँ वर्षमा हरेक वर्ष पोखराको लेकसाइड क्षेत्रमा स्ट्रीट फेस्टिभल (सडक महोत्सव) अन्तर्गत साङ्गीतिक तथा फुड भेन्डहरूले प्रस्तुत गर्ने कन्टिनेन्टल तथा नेपाली खानाहरूको स्वाद चाख्नेहरूको घुइँचो हुन्छ । उक्त अवसरमा कुनै वर्ष त अतिथिहरूले पोखरामा बास नपाएर डुम्रे तथा दमौली (पृथ्वी राजमार्ग)मा बाध्य भएर बस्नुपर्ने स्थिति पनि आउँछ । दशकौँसम्म उजाड रहेको बन्दीपुरजस्ता पुरानो बजार आन्तरिक पर्यटकहरूले गर्दा नै पुनः गुल्जार भएको छ । केही दशक अघिसम्म फुसको छाप्राहरू भएको रैथाने थारूको गाउँ सौराह आन्तरिक तथा विदेशी पर्यटकको आवागमनले गर्दा नै हाल नेपालको प्रमुख गन्तव्य हुन पुगेको छ ।
नेपालमा अझ अनेकौँ गाउँ–बस्तीहरू छन् । जहाँ स्वर्गको अनुभूत गर्न सकिन्छ । अन्नपूर्ण संरक्षित क्षेत्र, लाङटाङ तथा सगरमाथा आधार शिविर क्षेत्रले अत्यधिक प्रचार पाएकाले विदेशी तथा स्वदेशी पर्यटक त्यस क्षेत्रमा भ्रमण गर्न लालायित हुन्छन् । तर, ३२ प्रजातिका गुराँस पाइने तीनजुरे मिल्के क्षेत्रमा न्यून सङ्ख्यामा आन्तरिक पर्यटक पुग्छन् । त्यसैगरी, कञ्चजङ्घा तथा काठमाडौँबाट साह्रै नजिकको गौरीशङ्कर (चरिकोट, जिरी) क्षेत्रमा न्यून आन्तरिक पर्यटकले भ्रमण गर्छन् ।
पर्वतारोहण तथा हिमालयको महŒव र दर्शाउँदै डा. हर्क गुरुङ भन्नुहुन्छ, ‘हाम्रो साधारण दृष्टिकोणमा कठ्याङ्ग्रिने हिमाल चढेर जिउ जोखिममा हाल्नु मूर्खता हो । तर, समृद्ध समाजको दाँजोमा यो हाम्रो परिभाषा सीमित सिद्ध हुन जान्छ । हामी बाँच्ने बेसहाराको घेराभित्र पिसिल्सएका छौँ तर विकसित देशका मानिस आर्थिक सम्पन्नता नाघेर मनोरञ्जन खोज्छन् । भौतिक साधनहरूले जति परिपूर्ण भए पनि तिनीहरू असन्तुष्ट रहन्छन् । आफैँले रचेको आधुनिकताको साङ्लोबाट उम्किन तिनीहरू पर्यटक भई विश्वास चहार्छन्, अगुवा (एक्सप्लोरर) भई बिरानो ठाउँ पुग्छन्, अनि पर्वतारोही (माउन्टेनियर) भई पट्टिएको शरीरलाई प्रकृतिसित दाँज्न खोज्छन् ।’ उहाँ भन्नुहुन्छ, ‘पशुले आहार खोजेझैँ मानवले रहस्य खोतल्छ । उसको सभ्यता अनुसन्धानमाथि निर्भर गर्छ । बौद्धिक उत्सुकताले धर्म तथा विज्ञान उम्रिन्छ र शारीरिक जाँगरमाथि उम्रिन्छ । मिश्रको पिरामिड तथा चीनको पर्खाल÷पर्वतको विशालतामा मानिसले आफूलाई एउटा क्षुद्र जीव पाउँछ र सृष्टिकर्ताको महान्तामा विश्वास गर्न मानिस बाध्य हुन्छ । उहिलेका ऋषिहरूले हिमालमा ज्ञान पाएझैँ रुसो, रस्किन, गोथे, नित्से, वर्डस्वर्थ, किट्स आदिले पर्वतको शान्तिमा प्रेरणा पाए । दार्शनिकताको स्रोतको साथै पर्वत सुन्दरताको मुहार हो । (डा. हर्क गुरुङ, विषय विविध) ।
डा. गुरुङका माथिका भनाइहरू आत्मसात् गर्दै विशेषगरेर नेपाल सरकारले युवा पुस्तालाई आफ्नै मुलुकका हिमाल तथा पहाडहरू अनि तराई–मधेश भ्रमण गर्न प्रोत्साहित गर्नु नितान्त जरुरी देखिन्छ । नत्र मित्र कवि मीनबहादुर विष्टले ‘साला पहाड मे क्या रख्वा है’ भनेझैँ नहोस् । भारतीय सिमानासित जोडिएका तराई–मधेसका युवकयुवतीलाई गृष्म ऋतुमा हिमाल तथा पहाडहरूको सालिन्दा भ्रमण गराउने एउटा विशेष कार्यक्रम चलाउनु मनासिव हुने देखिन्छ । यसले एकातिर तराई–मधेसका युवकयुवतीले आफ्नो मुलुकलाई जान्ने बुझ्ने मौका पाउनेछन्, अर्कातिर आपसी सद्भावको भावनाले राष्ट्रियताको जग बलियो हुनेछ । अनि आन्तरिक भ्रमण वर्षलाई थप टेवा दिने त छँदै छ ।
पूर्वमन्त्री रामकृष्ण यादव तीन÷चार वर्षअघि दोलखा भ्रमणमा जाँदा स्थानीय व्यक्तिहरूबाट न्यानो सत्कार पाएर दङ्गदास परेको मन्तव्य बीबीसी नेपाली सेवालाई दिनुभएको थियो । यादव (धनुषा)का भएकाले त्यहाँ पहाडेहरूले उहाँलाई त्यति न्यानो सत्कार गर्दैनन् होला भन्ने विचार गर्नुभएको रहेछ । त्यसैगरी, हिउँदमा तिब्बतसित सीमा जोडिएका जिल्लाहरूका युवा पुस्तालाई तराई–मधेसका प्रमुख सहरहरू विराटनगर, जनकपुर, वीरगन्ज, भैरहवा, बुटवल, नेपालगन्ज तथा धनगढीजस्ता सहर भ्रमण गराएर आफ्नो मुलुक चिन्ने तथा सामाजिक सद्भाव अभिवृद्धिमा ठूलो टेवा पुग्नेछ ।
नेपालले म्यानुफ्याक्चरिङ (तयारी वस्तु निर्माण) क्षेत्रमा अन्य मुलुकहरूसित प्रतिस्पर्धा गर्न अनेकौँ कारणले कठिन छ । तर, पर्यटनजस्तो सेवा व्यवसायजस्तै पर्वतारोहण, ¥याफ्टिङ, एयर स्पोर्टस् (पाराग्लाइडिङ, एयर बेलुन, पाराजम्पिङ, बन्जी जम्पिङ, जिप एयर लाइन आदि)मा विश्वको अग्रणी मुलुकमा गनिन्छ । माउटेन बाइकिङमा पनि नेपालको राम्रो स्थान छ । त्यसैले माथि उल्लेख गरिएका विधाहरूमा राज्यले प्रोत्साहित गरेर हजारौँ नेपालीलाई मुलुकभित्र रोजगारी सिर्जना गर्न सक्ने सम्भावना छ ।
अन्नपूर्ण संरक्षित क्षेत्र पदयात्रा मार्गमा टी हाउसहरूले चिया चमेना तथा आरामदायी आवासको उत्कृष्ट सेवाबारे करोडौँ पर्यटकले पढ्ने लोन्ली प्लानेट तथा त्यस्तै ट्रिप एड्भाइजरजस्ताका भनाइलाई पश्चिमा पर्यटकहरूले सर्वस्वीकार मान्ने गरेका छन् ।
कोभिड–१९ को प्रभाव समाप्त हुन कति समय लाग्ला भन्न कठिन छ । त्यसैले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन आन्तरिक पर्यटनको अहम् भूमिका छ । किनकि पर्यटन व्यवसायले हवाई यातायात (एयरलाइन्स) बस, ट्याक्सी, टुरिस्ट गाइड, ट्राभल एजेन्सी, खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, माछा, मासु, अण्डा, होटल, लज, रिसोर्ट, रेष्टुराँ तथा पब
(भट्टी) मा हजारौँ मानिसलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गरेको छ । यस महामारीको क्रममा प्रसिद्ध होटल डेला अन्नपूर्ण बन्द भएको छ, सोल्टी अर्धसञ्चालित छ, द्वारिकाज बन्द छ । र, जसले गर्दा हजारौँको रोजगारी धरापमा परेको छ ।
अतः विदेशी पर्यटकको मुख ताक्न छाडी मुलुकभित्रै धार्मिक, प्राकृतिक तथा साँस्कृतिक पर्यटन (आन्तरिक)लाई राज्यले प्रोत्साहित गरेर यो व्यवसायलाई व्युँत्याउन अत्यावश्यक देखिन्छ । र, नेपाली नागरिकले पनि आफ्नो देश–दर्शन गरेर हजारौँ रोजगारी खोसिएका पर्यटनसित सम्बन्धित कामदारहरू पुनः आफ्नो काममा फर्कने पुनित कार्यमा सहभागी बन्ने बेला यो हो । पुरानो मानिसकता गया, काशीमा गएर पिण्डदान गरेर आफ्ना बुवाआमाको वैकुण्ठ बास हुन्छ भन्ने भावना त्यागौँ । त्योभन्दा पवित्र रिडी, देवघाट, मुक्तिनाथ र वराहक्षेत्रमा त्यस्ता कार्य गरेर विदेशी धन जोगाऊँ र आन्तरिक पर्यटनलाई सम्बद्र्धन गर्न सहयोग पु¥याऊँ ।
(लेखक वरिष्ठ पत्रकार हुनुहुन्छ ।)