logo
२०८१ मंसिर १५ शनिवार



सरकार जनताको कि साहु–महाजनको

वीरबहादुर‘हरू’को निधन भएको बेला यो पद तेरोे, यो मेरो भइरहेको त छैन ?

विचार/दृष्टिकोण |


सरकार जनताको कि साहु–महाजनको


प्रदीप नेपाल

नेपालमा एउटा पार्टी छ, नेपाल कम्युनिस्ट पार्टी । कार्ल माक्र्सको भनाइमा ठ्याक्क मिलेका पार्टीको माउ पार्टी पनि दुईखालको उद्गमबाट जन्मिएका छन् । एउटा माक्र्सवादी पार्टी हो– नेकपा
(एमाले) । नेताहरूको ज्ञानमा छ या छैन, यो अर्कै कुरा हो । कार्ल माक्र्सले समानताभन्दा स्वतन्त्रतालाई बढी नम्बर दिएका छन् । उनको भनाइ छ– एउटा स्वतन्त्र मानिसले मात्र अर्को मानिसलाई समानता दिन्छ । नेपालको कम्युनिस्ट आन्दोलनमा जनताको बहुदलीय जनवाद नै यो स्वतन्त्रताको दर्शनलाई आत्मसात् गर्ने पार्टी हो । त्यसैले पुरानो नेकपा (एमाले)लाई माक्र्सवादी पार्टी मान्नुपर्ने हुन्छ ।
अर्को पार्टी हो– माक्र्सवादी–लेनिनवाद–माओ विचारलाई मान्ने । जसलाई स्वतन्त्रता बाधक लाग्छ र समानता आएपछि स्वतन्त्रता सँगसँगै आउँछ भन्छ । जबरजस्ती समाज परिवर्तन गर्ने यो सोचले एक्काइसौँ शताब्दीमा नोक्सानीबाहेक केही उपलब्धि पाउन सकेको छैन । फिलिपिनो कम्युनिस्ट दक्षिण–पूर्वी एसियाको केन्द्र थियो कुनै दिन । सीआईएसँग मेरो युद्ध लेखेर आफ्नो पक्षधरता देखाउने कम्बोडियाका संवैधानिक राजासँग मित्रता गाँसेर शासन चलाउनुपर्ने कम्पुचियामा तीन वर्ष निरङ्कुश शासन गरेर आफूलाई सदाका लागि इतिहासको कोक्रामा सुतायो । गोन्जालो पनि इतिहासमा हराए । तर, अमेरिकाको मुखैमा बसेको क्युबाले सात दशक अमेरिकी घेराबन्दीको सामना गरेर आज पनि सम्मानजनक ढङ्गले आफ्नो सरकार चलाइराखेको छ ।
त्यसैले नेपालले लिने बाटो भनेको आफ्नै अनुभवको बाटो हुनुपर्छ । त्यो बाटो भनेकै जनताको बहुदलीय जनवाद हो ।
लेख्दै गर्दा एउटा दुःखद समाचार आयो– वीरबहादुर लामा रहनुभएन । त्यतिबेलै अर्को समाचार पनि आयो– वरिष्ठ नेताहरू शक्ति प्रदर्शनको लडाइँमा एउटा समूह सरकारद्वारा कालो सूचीमा कारबाहीमा परेको ठेकेदारको घरमा हुनुहुन्छ । अर्कोचाहिँ सारा शक्ति थुपारिएको बालुवाटारको एउटा कोठामा हुनुहुन्छ । त्यसैबेला नेपाल कम्युनिस्ट पार्टीका शुभचिन्तक एकजना भाइले ‘दाइ, हाम्रो पार्टीचाहिँ नफुटोस् है’ भनेर फोन गरे । मलाई लाग्यो, कुन पार्र्टी नफुटोस् ? वीरबहादुरको पार्टी ? कि झगडा गरिरहेका, कुर्सीमा पनि भागबन्डा खोजिरहेका नेताहरूको पार्र्टी ? यी हामी भनेका को हुन् । नेपालका जनता न हुन् । मसित कुनै उत्तर थिएन ।
नख्खु जेल विद्रोह नेपाली वाम राजनीतिलाई सर्वोच्च उचाइमा लैजाने घटना थियो । पहिले झापाली झङ्कार अनि त्यसकोलगत्तै नख्खु जेल विद्रोह, त्यसकोलगत्तै को–अर्डिनेसन केन्द्र र मुक्तिमोर्चाबीचमा भएको एकताले राजनीतिक कार्यकर्तालाई उत्साह दिएको थियो भने वाम समर्थक जनतामा अब वामपन्थीहरू बलिया भए भनेर सन्तोष दिएको थियो ।
यही नख्खु जेल विद्रोहको कुरा गर्न खोजेको हुँ मैले । वीरबहादुर भूमिका धेरै ठाउँमा आउँछ क्रान्तिकारी आन्दोलनमा । तर, योचाहिँ सर्वोच्च थियो । जेलभित्र सुरुङ खन्ने, बाहिर आतङ्कका ती तीन÷चार दिनमा सबैलाई मकवानपुरका गाउँ–गाउँमा व्यवस्थापन गर्ने र सबैलाई हेटौँडासम्म पु¥याउने काम उहाँले नै गर्नुभएको थियो । यो एक अनुच्छेदले जेल विद्रोह व्याख्या गर्न सक्दैन । नख्खु जेल विद्रोह भन्ने पुस्तक पढ्नैपर्ने हुन्छ ।
वीरबहादुर लामा पहिले होटल श्रमिक हुनुहुन्थ्यो । राजनीतिक चेतना पलाएपछि उहाँले होटल मजदुरबीचमा नै काम गर्न थाल्नुभयो । काठमाडौँमा काम नगरी खान पाइन्न । त्यही खानाका लागि उहाँ नेपालका लागि उत्तर कोरियाको दूतावासमा काम गर्नुहुन्थ्यो । जसलाई पछि उहाँले राजनीतिक कामका लागि पनि उपयोग गर्नुभयो । उपयोग यस अर्थमा कि उहाँले गरेका कतिपय कामहरू दूतावासका अरू कर्मचारीले पनि थाहा पाउँदैनथे । हामी– गोपाल शाक्य, माधव पौडेल र म मान्छे खोजी गरिरहेका थियौँ क्रान्तिका लागि । आन्दोलनका लागि । यही खोजीको फल हुनुहुन्थ्यो वीरबहादुर लामा ।
विद्यार्थीका बीचमा त थियौँ नै हामी । वीरबहादुरले हामीलाई होटेल श्रमिक र उपत्यकाबाहिरको केही गाउँहरूमा पनि पु¥याउनुभयो । त्यतिबेलाको चेतनामा हामी मजदुर, किसान र विद्यार्थीलाई संँगसँगै चलाउने कम्युनिस्ट भएका थियौँ ।
मई दिवसको पर्चा छरेको अभियोगमा हामी पक्राउ प¥यौँ । हामी तीनजनालाई सरकारले नेता मान्यो । जनही दस हजार रुपियाँ जरिवानासहितको दस वर्ष जेल सजाय तोक्यो । वीरबहादुर लामालाई पाँच वर्ष जेलसहित पाँच हजार जरिवाना तोकियो ।
हामीले अदालत जाने, संवैधानिक आन्दोलनमा जाने निर्णय ग¥यौँ । त्यतिबेलासम्म झापाली लाइन मुद्दा लड्ने बाटोमा आइसकेको थिएन । तर, हामीलाई जेल बस्नु त थिएन । हामी सप्पै नख्खु पुगिसकेका थियौँ, त्यो बेला । नख्खु सबैभन्दा बलियो कारागार । विभिन्नखाले तरिकाहरूका बारेमा छलफल गरियो । अन्तिममा सुरुङ खनेर बाहिर निस्कने योजना बनायौँ ।
जसोतसो हामी बाहिर निस्कियौँ । बाहिर निस्किएपछि कामको बाँडफाँड भयो । वीरबहादुर लामा र माधव पौडेललाई, सीपी मैनालीको जिम्मा छाडेर हामी आफूलाई दिइएको जिम्मेवारीतिर लाग्यौँ । आज तिनै वीरबहादुर लामाको निधन भएको छ । नेताहरू कुखुराको खुट्टो समातेर झगडा गरिरहेका छन् । वीरबहादुर लामा आफैँ श्रमिक । श्रमिक वर्गबाट आएको व्यक्ति आफैँमा गौरवको कुरो हुनुपथ्र्यो । तर, त्यस्तो हुन सकेन । जनताको तहबाट दुईपटक निर्वाचन लडेर एकपटक मकवानपुर जिल्ला समितिको सभापति र अर्कोपटक संसद्को सांसद भएको कुरा त धेरैलाई थाहा थियो । तर, पार्टीको तर्फबाट सोधपुछ गर्नसम्म कोही पुगेनछ ।
हामी के थियौँ र आज के भयौँ ?
यो हप्तामा मेरो निकै साथीसँग भेट भयो । सबैले पार्टी बचाउन, नफुटाउन अनुरोध गरे । मलाई लाग्छ– वीरबहादुर लामाको पार्टी कि माधव नेपाल र केपी ओलीकोे पार्टी ? कुन पार्टी हो त्यो । भविष्यमा के हुन्छ, पार्टीले अनुमति दिए पनि नदिए पनि माधव पौडेल, गोपाल शाक्य र मचाहिँ वीरबहादुर लामालाई पार्टीको झन्डा ओढाउने टुङ्गोमा पुग्यौँ । किनभने त्यो झन्डा ओढ्ने अधिकार जति हाम्रा नेताहरूलाई त्यत्तिकै हक वीरबहादुर लामालाई पनि छ ।
जहाँसम्म नेतृत्वको कुरा छ– अब ज्यादै भयो । छाडिदिनोस् यो गनगन र तानतानी । अहिलेसम्म केन्द्रमा नेतृत्वको तानतानी । अब असल सल्लाहकार भएर बसौँ । कम्तीमा पनि त्यो हामीभन्दा बुझ्ने हुन्छ । वीरबहादुर‘हरू’को निधन भएको बेला यो पद तेरोे, यो मेरो भइरहेको त छैन ? सबैभन्दा राम्रो काम भनेको अबको महाधिवेशनमा ७० को छेउछाउमा पुग्ने सबैले ठाउँ छोडिदिने र २०२० तिर जन्मिएकोे स्वप्नजीव मानिसलाई नेता बनाउने हो । आदरणीय नेताहरू ! अब हाम्रो काम सकियो । सरकार संचालन गर्न विश्व बैङ्कबाट २० करोड ऋण लिने हामीलाई कसैले योग्य भन्दैन । त्यसबाहेक मैले भन्दै आएको कुरो हो– हामीले जनतालाई उनीहरूले चुनेको सरकार दिन सकेनौँ । हामी दलाल पुँजीवादको चक्रव्यूहमा फस्यौँ । जनताभन्दा ठुलाठालुहरू नै हाम्रा आधार भए ।
आफूलाई चेप्ने दलाल पुँजीवादीहरूको षड्यन्त्रलाई चिरेर राष्ट्रिय पुँजीपति वर्गलाई उठाउनु भनेको धेरै ठूलो काम हो । हामीबाट त्यो काम हुनै सक्दैन । एउटा नयाँ रगत, एउटा नयाँ पुस्तालाई जिम्मेवारी दिएर हेरौँ ।
तङ सियाओ फिङको पालामा चीनमा एउटा यस्तो प्रयोग गरिएको थियो– युवालाई जिम्मेदारी दिने, बूढाहरू सल्लाहकारको भूमिकामा बस्ने । यसले हाम्रो तात्कालिक समस्या पनि समाधान गर्छ पार्टी प्राणवायुलाई पनि जोगाएर ल्याउँछ । नत्र आफ्ना मान्यताहरूलाई थाती राखेर सम्झौता गर्न सकिन्न । जो मैले पार्टीलाई एकजुट राख्न बदनाम महाकाली सन्धि हुँदा गरेको थिएँ ।
साथीहरू, पार्टी जोगाउन मसँग नआउनूस् । म जनताको बहुदलीय जनवादको बाटो, जसले माक्र्सवादलाई सही ढङ्गले बुझेको छ, त्यसको एउटा सारथि हुँ । नेपालका दलाल पुँजीपति वर्गलाई बोक्ने पार्टीलाई एउटा माक्र्सवादीले कसरी जोगाउन सक्छ र ?
(लेखक नेकपाका नेता हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?