प्रदीप नेपाल
नेपालका दुवै ठूला पार्टी नेकपा एमाले र नेपाली काँग्रेसको लक्ष्य एउटै हो समाजवाद स्थापना गर्ने । काँग्रेसले ०४८ सालदेखि उदारवादी पुँजीवादको बाटो अँगालेको छ तर उसले कहिल्यै पनि समाजवाद छोडेको घोषणा गरेको छैन । दुनियाँलाई ढाँट्न उससँग एउटा शक्तिशाली नाम छ, विश्वेश्वरप्रसाद कोइराला । नेपाली काँग्रेस, बीपी बाबुले जन्माउनुभएको, स्याहार्नुभएको समाजवादी पार्टी हो । व्यवहारमा उदार पुँजीवाद, बोलीमा समाजवाद । यो नै हो काँग्रेसभित्रको अवसरवाद ! सिधै भन्नु नि, हामी समाजवादी होइनौँ, पछिल्लो समयको पुँजीवादी हौँ । ‘समाजवाद ठीक होइन, खोक्रो भए पनि, जनताका लागि अनुपयुक्त नभए पनि हामी उदार पुँजीवाद शासनका हिमायती हौँ तर कुनै पनि काँग्रेस यस्तो वाक्य बोल्न तयार हुँदैन । जाने पनि नजाने पनि नेपाली काँग्रेसका मानिस, हामी बीपीबाबुको पार्टीका मानिस हौँ, हामी समाजवादी हौँ भनेर समस्याबाट पार पाउन खोज्छन् ।
अन्तर्राष्ट्रिय समाजवादी सम्मेलनका पूर्व महासचिवले भनेका थिए मेरै अगाडि ‘आफ्टर द डेथ अफ बीपी एण्ड गणेशमान नेपाली काँग्रेस इज नो मोर सोसलिष्ट । अर्थात् बीपी र गणेशमानको निधनपछि नेपाली काँग्रेस समाजवादी पार्टी रहेन ।’ संयुक्त राष्ट्रका एकजना कर्मचारी रामप्रसाद ढकालजीले हामीसँगै तिनलाई पनि खान बोलाउनुभएको रहेछ । त्यसपछि मैले भनेको थिएँ, ‘विश्वेश्वरप्रसाद कोइराला महान् चिन्तक, असफल राजनेता र सफल साहित्यकार हुनुहुन्छ ।’ उहाँले १९३७ मै समाजवादी कार्यक्रम अघि सार्नुभएको थियो, उहाँका दाजुभाइ र भतिजीसमेत मन्त्री बन्नुभयो तर कसैले पनि उहाँले योजना आयोगको भित्तामा राजाको मात्र होइन, हलो जोतिरहेको किसानको पनि फोटो राख्नुस् भन्नुभएको वाक्य सम्झिन चाहनुभएन ! सम्झनुस् २०१५ सालमा नेपालमा यस्तो समाजवादी सोच जो कोहीमा हुन सक्थ्यो र ! तर दुःखका साथ भन्नुपर्छ, उहाँका साख्खे भाइ प्रधानमन्त्री भएको समयको योजना आयोगले विश्वेश्वरप्रसाद कोइरालाको सामाजिक उत्तरदायित्वको कार्यलाई नामोनिशान नरहने गरी मेटाइदिनु भयो । सर्वत्र निजीकरणको नीति अवलम्बन गरेर सरकारले पञ्चायती सरकार लगानी गरेका वा अघिल्लो सरकारले वैदेशिक सहयोगमा निर्माण गरेका अधिकांश नाफामा रहेका उद्योगलाई निजीकरण गरेर आफ्नो योग्यता प्रदर्शित गरेको थियो । कवाडको रूपमा बेचेको नेपाल एयरलाइन्सको जहाज त्यसको दश वर्षसम्म अफ्रिकाको आकाशमा उडिरहेको थियो । बाँसबारी छालाजुत्ता कारखानाका मेसिनहरू कपिलवस्तु हँुदै भारतको कानपुर पुगेका थिए ।
यी कुराले के पुष्टि गर्छ भने विश्वेश्वरप्रसाद कोइराला समाजवादी हुनुहुन्थ्यो । उहाँको चरित्र पनि यस्तै थियो । उहाँका लेखभन्दा पनि उहाँका अन्तर्वार्ता पढ्दा यो कुराको पुष्टि हुन्छ । उहाँ कुनै धर्म मान्नुहुन्नथ्यो तर धर्मको बहसबाट पन्छिन खोज्नुहुन्थ्यो । उहाँलाई हिन्दु कर्मकाण्डमा पटक्कै विश्वास थिएन भन्ने सत्यको प्रमाण उहाँको परिवार नै छ । उहाँको परिवारले उहाँको मृत्युपछि कसैले गरुड पुराण सुनेन । यी सबै कुराहरू एकजना समाजवादीले मात्र गर्न सक्छ तर कुनै दलाल पुँजीवादी राजनेताले गर्न सक्दैन ।
मैले यो कुरो विशेषतः नेपाली काँग्रेसका युवाका लागि लेखेको हुँ । नेपाली काँग्रेसका नेताहरू पढ्दैनन् पनि, समाजवादलाई विज्ञापनको विषय बनाउन छाड्दैनन् पनि । नेकपा (एमाले) युवाले फुट्नै आँटेको पार्टीलाई जोड्न खोजेका छन् । माधव नेपाल र केपी ओली दुई जनालाई छोड्नुपरे पनि उहाँहरू रहितको सग्लो पार्टी बनाउनुपर्छ र त्यो चाहिँ सच्चा जनताको बहुदलीय जनवादी पार्टी हुनेछ । यहाँ म जनताको बहुलीय जनवादको गीत गाउन गइरहेको छैन । मैले भन्न खोजेको कुरो के मात्र हो भने नेपाली काँग्रेसका युवाले आफ्ना वृद्ध नेतालाई चुनौती दिन सकेनन् भने बीपी कोइरालाको राजनीतिक चिन्तनको अवसान हुने निश्चित छ । ठूलो कुरो पाउन ठूलै सङ्घर्ष गर्ने आँट पनि गर्नैपर्छ । के तपाईंहरू बीपी कोइरालाको राजनीति सदाका लागि मरोस् भन्ने चाहनुहुन्छ ? पक्कै चाहनुहुन्न । चाहनुहुन्न भने सिधै बीपीलाई पढ्नुस् ।
आजको नेपाली काँग्रेस बीपीको आदर्शमा हिँडेको छ ? तपाईंका नेताहरू प्रजातान्त्रिक समाजवादको आदर्श मान्दछन् ? मान्दैनन् । काँगे्रस दलाल पुँजीपतिहरूको पार्टी हो भन्न मलाई अलिकति पनि अठ्यारो लाग्दैन । मैले स्वयं आप्mनो पार्टी दलाल पुँजीवादको मतियार भनेको छु । हाम्रा नेताहरू मदन भण्डारीको हत्यापछि बिग्रिए । तपाईंहरूका नेता त कहिले बिग्रनु भो, म भन्न सक्दिनँ । गहिराइमा गएर बीपीलाई पढ्नुभयो भने थाहा पाउनुहुन्छ कि नेताहरू सत्ताको कुर्सीमा बस्ने बित्तिकै बिग्रिन थाले । पार्टी खुला भएपछि पुराना कार्यकर्ताको कस्तो बेहाल हुन्छ भनेर पनि बीपीले केही लेख्नुभएको छ ।खोज्दा भेटिइहाल्छ ।
नेपाली काँगे्रसका युवा ! तपाईंहरूको सिद्धान्त के हो ? यति त जवाफ दिनैपर्छ तपाईहरूले । भन्न सक्नुप-यो कि– हामी कुलीनहरूको पार्टी भनेर । त्यो त भन्न सक्नुहुन्न । तपाईंहरूले दिने उत्तर भनेको ‘प्रजातन्त्र’ र ‘समाजवाद’ हो । प्रजातन्त्र भनेको मूलतः पार्टीभित्रको प्रजातन्त्र हो । पाउनुभएको छ तपाईंहरूले आन्तरिक प्रजातन्त्र । छ भन्नुहुन्छ भने धन्यवाद । पाउनु भएको छैन भने खोज्नुप¥यो नि ! किनभने पार्टीमा प्रजातन्त्र नदिनेले राज्यलाई प्रजातन्त्र दिने ग्यारेण्टी कसरी गर्न सकिन्छ ?
शेरबहादुर देउवाजीको प्रधानमन्त्रित्वको यो पाँचौँ संस्करण होला । चार–चार पटक प्रधानमन्त्री भएर उहाँले प्रजातन्त्र र समाजवादको पक्षमा के कस्ता काम गर्नुभयो ? सिद्धान्त र निष्ठा नभएको पार्टीले जनतालाई कहाँ सम्झिन्छ ? विवादबाट भागेर तपाईंहरू पार्टीलाई बचाउन सक्नुहुन्न । विवादप्रति असहमति जाहेर गरेर पनि तपाईंहरू केही गर्न सक्नुहुन्न । मैले विद्रोह गर्नुस् भनेको पनि छैन । सकारात्मक हिसाबले नेतृत्वलाई सम्झाउनुहोस् । हाम्रो जीवनको अर्थ के हो भनेर सोध्नुहोस् । तपार्इंहरूले जति जीवन राजनीतिमा बिताउनु भएको छ, त्यसको हिसाब किताब खोज्नुहोस् । त्यो सम्भव छ । यति कुरा लेख्न मलाई तपाईंहरूजस्तै नेकपा (एमाले) का युवाले मौका दिनुभएको हो । हामी कोही पनि धन कमाउन राजनीतिमा लागेका होइनौँ (भन्न पनि लाज लाग्न थाल्यो) भन्नुप-यो एमाले युवाले । पार्टी कसैको पेवा हुँदैन । कि त हामीलाई सही सिद्धान्त दिनुहोस् कि बाटो छोडिदिनु होस्, हामी आफैँ आफ्नो बाटो खोज्छौँ भनेर भन्न आँट नगरी सानो परिवर्तनलाई पनि नेतृत्व गर्न सकिँदैन ।
तपाईंहरूकै साथी गुुरुराज घिमिरेको पुस्तक सार्वजनिकीकरणको कार्यक्रममा भाग लिने मौका पाएको थिएँ मैले । उहाँको कथासङ्ग्रह थियो त्यो । कथा मीठा त छँदै थिए, तीभन्दा मीठा थिए नेताका भाषण । वाफ रे ! समाजवाद आइहाल्यो कि जस्तो लाग्ने तर कथामा समेत आउन नसकेको समाजवाद नेताहरूको भाषणमा आएर के उपलब्धि भो र !