logo
२०८१ मंसिर १५ शनिवार



सिद्धान्तको सूत्र रटेर सामाजिक क्रान्ति !

बलात परिवर्तन, हिंसा र छलाङजस्ता चेतना भएका मानिसले माक्र्सवादको सार बुझेका छैनन् ।

विचार/दृष्टिकोण |


सिद्धान्तको सूत्र रटेर सामाजिक क्रान्ति !


प्रदीप नेपाल

हामी त्यस्ता कम्युनिस्टभन्दा भिन्न छौँ, जो वैयक्तिक स्वतन्त्रता हरण गर्न चाहन्छन्, जो विश्वलाई एउटा विशाल गोदाम या अनुशासनको ब्यारेकमा परिणत गर्न चाहन्छन् । यहाँ त्यस्ता पनि कम्युनिस्टहरू छन्, जो वैयक्तिक स्वतन्त्रतामाथि बन्देज लगाउन चाहन्छन् । उनीहरूको विचारमा वैयक्तिक स्वतन्त्रता सामाजिक समानताको विरोधी हुन्छ । तर हामी कुन कुरामा प्रष्ट छौँ भने वैयक्तिक स्वतन्त्रताको अभावमा सामुदायिक सद्भाव बढाउन सकिँदैन । एउटा यस्तो प्रजातान्त्रिक राज्य स्थापना हुनुपर्छ, जहाँ सबै राजनीतिक दल नीति र विचारका आधारमा आपूmलाई श्रेष्ठ साबित गर्न सकून् र आफ्नो पक्षमा बहुमत पु¥याउन सकून् । – कार्लमाक्र्स ०२७ सालको मङ्सिर महिनामा म कम्युनिस्ट भएँ । कम्युनिस्ट हुने क्रममै कम्युनिस्ट पार्टीका धेरै समूह रहेछन् भन्ने ज्ञान पनि पाएँ । कम्युनिस्ट हुने प्रक्रियाको थालनीमै मैले तीन समूहको नाम थाहा पाएको थिएँ । त्यतिबेला सबैभन्दा बलियो समूहलाई पुष्पलाल समूह भनिन्थ्यो । अर्को समूह थियो तुलसीलाल अमात्यको नेतृत्वमा चलेको । तेस्रो समूहमा मै बाँधिएको थिएँ । तर हाम्रो समूहको महामन्त्री या अध्यक्षको नाम हामीलाई सुनाइएको थिएन र हाम्रो नेता महेशले हामीलाई ‘माथिका बारेमा धेरै खोजीनीति गर्नुहुँदैन’ भन्ने शिक्षा दिनुभएको थियो । पुष्पलाल, तुल्सीलाल समूहको जानकारी पनि महेशले नै दिनुभएको थियो मलाई ।
पछि म जुन समूहको नेता भएँ, त्यसलाई मैले ‘नदी प्रणालीको विकास’ भनेको छु । नेपाल कम्युनिस्ट पार्टीको विद्रोही झापाली समूह, विराटनगरको मोरङ क्रान्तिकारी सङ्गठन, सिन्धुपाल्चोकको विद्रोही समूह, सिराहाको विद्रोही समूह, काठमाडौँंको मुस्लो परिवार, पूर्वको रातोझण्डा समूह, मुक्तिमोर्चा समूह, गण्डकी माले दल, दङ्गाली समूहजस्ता ससाना नदीहरू मिलेर एउटा ठूलो नदी बन्यो । त्यसलाई अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेसन केन्द्र (माक्र्सवादी–लेनिनवादी) भनियो । २०३५ सालको पुस २६ गते कोअर्डिनेसन केन्द्रलाई, राष्ट्रिय सम्मेलन गरेर, नेपाली कम्युनिस्ट आन्दोलनको एकीकरणको अभियान चलाउन, नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी–लेनिनवादी) बनाइयो । त्यतिबेला कम्युनिस्ट समूहहरू झण्डै दर्र्जन टुक्रामा बाँडिएका थिए । माले बनेपछि पनि हाम्रो एकीकरण अभियान जारी रह्यो । माले माक्र्सवादी मिलेर नेपाल कम्युनिस्ट पार्टी (एमाले) भयो । त्यसैले मैले कम्युनिस्ट पार्टीको एमाले समूहलाई नदी प्रणालीसँग जोडेको हुँ ।
अर्थात् मैले नजानेरै भए पनि मेरो स्वतन्त्रतालाई अक्षुण्ण राखेंँ । जानेर बुझेर रक्षा भएको थिएन यो स्वतन्त्रताको । बस् मेरो स्वभावको सामान्य अभिव्यक्ति थियो यो । कारबाहीसँग म कहिल्यै डराउँदिनथेंँ–आफ्नो स्वतन्त्रताको रक्षा गर्दा । उहाँको सिद्धान्त माओत्सेतुङ विचारधारा थियो । हामी २०४६ सालअघि नै माओत्सेतुङ विचार धाराबाट बाहिरिइ सकेका थियौँ ।
एकता प्रक्रियाको एउटा लामो अभियान चलेको थियो नेपाली कम्युनिस्ट आन्दोलनमा । तर त्यो सधैँ असफल रहिरह्यो । किन असफल भयो ? यो मेरो चासोको विषय कहिल्यै रहेन । किनभने मैले विभाजनको जरो कहिल्यै खोतलिन । पात हेरेर रुखलाई हरियो ठान्ने रोगको एउटा हिस्सा मभित्र पनि पसेको थियो ।

किन यस्तो भयो ?
किनभने माक्र्सवादी दर्शन र सिद्धान्तको जगमा उभिएको कम्युनिस्ट पार्टीको मूल जरो त्यति बेलासम्म नेपालभित्र गाडिइसकेको थिएन । नेपाली कम्युनिस्टका लागि माक्र्सवाद एउटा दर्शन मात्र थियो । सिद्धान्तचाहिँ स्टालिनले व्याख्या गरेको लेनिनवाद र माओत्सेतुङले प्रतिपादन गरेको नौलोजनवाद थियो । लेनिनवाद रुसी क्रान्ति र निर्माणको अनुभव थियो । कतिपय सन्दर्भमा त्यसले माक्र्सवादको मौलिक सोचलाई उल्टाइदिएको थियो । कतिपय सन्दर्भमा त त्यसले माक्र्सवादमा विकार थपेको थियो । सर्वहारा अधिनायकत्व सबैभन्दा ठूलो विकार थियो । तर नेपालका कम्युनिस्टहरूका लागि माक्र्सवादको उन्नत रूप भयो लेनिनवाद । त्यस्तो लेनिनवाद जसको परिष्करण स्टालिनले गरेका थिए । उनले एउटा किताब लेखेका थिए – लेनिनवादका आधारहरू । उतिबेला सबै कम्युनिस्टका लागि त्यो गीता भएको थियो । उता माओत्सेतुङले प्रतिपादन गरेको नौलो जनवादअर्को पाठ्य सामग्री थियो । यद्यपि नौलो जनवाद चिनियाँ क्रान्तिको अनुभव थियो । त्यसले आफ्नो देशको अनुकूलतामा माक्र्सवादको प्रयोग गरेको थियो । एकै पटक आठ आठ साम्राज्यवादी मुलुकको उपनिवेश भएको चीनको अनुभव, कहिल्यै कसैको उपनिवेश नभएको नेपालमा जस्ताको तस्तै लागू हुने सम्भाव नै थिएन ।
तर पातलाई नै सिद्धान्त मान्ने चेतनाका कारण, स्टालिनको लेनिनवाद र माओत्सेतुङको नौलो जनवाद जस्ताको तस्तै दक्षिण एसियामा छिरेका थिए । त्यही दक्षिण एसियामा नेपाल थियो । यस्तो विभाजनको अर्को कारण पनि शक्तिशाली नै थियो । त्यो थियो रुस र चीनबीच भएको महाविवाद ।
त्यति बेलाको विश्वमा कम्युनिस्ट पार्टीका दुई धार समानान्तर रूपमा हिँडिरहेका थिए । एउटा थियो, सोभियत समाजवादी धारा र अर्को चिनियाँ नौलो जनवादीधारा । यो अन्तर्राष्ट्रिय विभाजनले एसिया महादेशलाई नराम्ररी सताएको थियो । कम्युनिस्ट पार्टीको लामो इतिहास भएको भारतको कम्युनिस्ट पार्टी विभाजित भएको थियो । आपूmलाई मूल मान्ने भारतीय कम्युनिस्ट पार्टी पहिलो नम्बरमा थिएन र त्यो सोभियत समाजवादी धाराको प्रतिनिधि भएको थियो । बीचमा बसेको भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) सोभियत समाजवाद र चिनियाँ नौलो जनवादको समदूरीमा उभिएको थियो र त्यो भारतका कम्युनिस्ट पार्टीहरूमा सबैभन्दा बलियो थियो । साठीको दशकमा जन्मिएको तेस्रो भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी–लेनिनवादी) थियो । आपूmलाई सबैभन्दा शुद्ध मान्ने यो पार्टीमा क्रान्तिकारी ‘स्पीरिट’ थियो । पश्चिम बङ्गाल र बिहारमा यसको बलियो आधार पनि थियो ।
सबैलाई थाहा भएकै कुरो हो भारतीय राजनीतिको नेपालमा ठाडो प्रभाव पर्छ । कुरो समाजवादको गरे पनि नेपाली काँग्रेसको निरन्तरता भारतीय राष्ट्रिय काँग्रेससँग जोडिएर आयो । पार्टी स्थापनाको समयमा नेपाली काँग्रेसको नाम नै नेपाल राष्ट्रिय काँग्रेस थियो । त्यसको स्थापना पनि भारतमै भएको थियो । पुँजीवादी महìवाकाङ्क्षामा बाझेका नेताहरूका कारण पार्टी विभाजित भएपछि मूल हाँगो नेपाली काँग्रेस भएको हो । त्यो नेपाली काँग्रेसको जुइनो पनि लामो समयसम्म भारतीय काँग्रेस पार्टीसँगै जोडिई रह्यो ।
कम्युनिस्ट त उसै पनि अन्तर्राष्ट्रवादी भइहाले । तिनले पनि भारतका पार्टीहरू अनुरूप नेपालमा पार्टी जन्माउने कुरो स्वाभाविक थियो । नेपाल कम्युनिस्ट पार्टीको जन्म पनि कलकत्तामा भएको हो । त्यसका उत्प्रेरक, भारतीय नेपाली साथै भारतीय कम्युनिस्ट पार्टीका नेतासमेत भइसकेका रतनलाल ब्राह्मण थिए । स्थापनाको १० वर्षसम्म जेनतेन त्यो एक जूट भएरै सञ्चालित भयो । तत्कालीन राजा महेन्द्रको फौजी कू र उनीभित्र रहेको फुटाउ र शासन गर भन्ने कुट चेतनाले नेपाल कम्युनिस्ट पार्टीलाई तहसनहस नै पारि दियो ।
०२७ सालमा धेरै नेता जेलमुक्त हुनुभयो । केन्द्रमा एउटा केन्द्रीय न्युक्लियस बनाइयो । तर नेपाल कम्युनिस्ट पार्टी एक हुन सकेन । उल्टै मनमोहन अधिकारीको नेतृत्वमा पूर्वकोसी प्रान्तीय कमिटीको नाममा एउटा समूह जन्मियो भने मोहनविक्रम सिंहको नेतृत्वमा चौथो महाधिवेशन समूह जन्मियो ।
२०२९ सालको एकता प्रयास असफल भएपछि कम्युनिस्ट पार्टी टुक्राहरूमा विभाजित भयो । जिल्लाजिल्लामा स्वतन्त्र कम्युनिस्ट पार्टीहरू जन्मिन थाले । किनभने नेपालको कम्युनिस्ट पार्टी टाउकाले टेकेर उभिएको थियो । टाउकाले टेकेर उभिएको पार्टी छिन्नभिन्न हुनु स्वाभाविक थियो । स्टालिनले परिभाषा गरेको लेनिनवाद माक्र्सवादको विकसित रूप होइन, विकृत रूप हो भन्ने कुरातिर कसैको ध्यान गएन ।
सिद्धान्तका सूत्रहरू रटेर परिवर्तनकारी सामाजिक क्रान्ति सम्पन्न गर्न सकिँदैन । आफ्नो देशको इतिहास, मुलुकको सामाजिक मनोभाव, जनताको माग र विश्वव्यापी मान्यताको माक्र्सवादको गहन अध्ययन नगरेको मान्छेले, त्यसैले अहिले नेतृत्वको केन्द्रमा रहेका नेपालका सबै नेता परिवर्तनकारी नेपालको नेतृत्व लिन सक्दैनन् । यो मेरो निष्कर्ष हो । किनभने बलात परिवर्तन, हिंसा र छलाङजस्ता चेतना भएका मानिसले माक्र्सवादको सार बुझेका छैनन् भन्न मलाई अप्ठ्यारो लाग्दैन । हो तिनले स्टालिनको अधिनायकवाद चाहिँ राम्ररी बुझेका छन् तर स्टालिनवाद कुनै हिसाबले पनि माक्र्सवादसँग जोडिन सक्दैन भन्ने तिनलाई थाहा छैन । म माक्र्सवादी हुँ म मेरो स्वतन्त्रतासँग सम्झौता गर्न सक्दिनँ । 
(लेखक नेकपाका नेता हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?