डा. नीलम ढुङ्गाना तिम्सिना
व्यवस्थापन शब्द मानव सभ्यताजत्तिकै पुरानो छ । सामूहिक उद्देश्य प्राप्तिका लागि जब मानिस एकआपसमा मिलेर कार्य गर्न थाले, तबदेखि व्यवस्थापनको सुरुवात भएको पाइन्छ । प्राचीन समयदेखि नै समाजका विभिन्न पक्षका कार्यहरू चाहे, त्यो आर्थिक, सामाजिक, राजनीतिक, धार्मिक, शैक्षिक, सैनिक वा अन्य कुनै होस्, सामूहिक रूपमा सञ्चालन हुँदै आएको पाइन्छ । समयको अन्तरालसँगै व्यवस्थापनको विकास हुँदै आएको हो ।
व्यवस्थापन भन्नाले सङ्गठनको निर्दिष्ट लक्ष्य हासिल गर्नका लागि कर्मचारी प्रयासहरूको योजना, सङ्गठन, समन्वय, अभिप्रेरणा, निर्देशन र नियन्त्रण गर्ने प्रक्रिया हो । अन्य व्यक्तिहरूसँग मिलेर काम गर्ने कला नै व्यवस्थापन हो । प्रसिद्ध व्यवस्थापनविद् पिटर एफ ड्रकर व्यवस्थापनलाई व्यवहार मान्छन् र व्यवस्थापनको सार ‘गराइमा छ, भनाइमा होइन’ उनी भन्छन् । अर्का प्रसिद्ध व्यवस्थापनविद् प्रोफेसर जोन एफ मीका अनुसार व्यवस्थापन न्यूनतम लागतमा अधिकतम सुख समृद्धि कला हो । अतः सार रूपमा व्यवस्थापन भन्नाले परिवर्तनशील वातावरणमा निर्दिष्ट उद्देश्य पूरा गर्नका लागि स्रोत र साधनहरूको अधिकतम उपयोग गर्दै मानवीय प्रयत्नहरूको योजना, समन्वय, सङ्गठन र नियन्त्रण गर्ने प्रक्रिया हो । पूरै देशका कुरा गर्ने हो भने लक्षित उद्देश्य पूरा गर्नका लागि जनसहभागिता–प्राप्त कार्य सञ्चालन गर्नु नै व्यवस्थापन हो ।
व्यवस्थापनको विकासको क्रममा उत्पादकत्व अभिवृद्धि, श्रम विभाजन, मेसिनको प्रयोग, गणितको प्रयोग, श्रमिक व्यवस्थापन, आर्थिक प्रोत्साहन, समय र गति अध्ययन, विश्राम व्यवस्थापन आदि तŒवहरूमा जोड दिँदै वैज्ञानिक व्यवस्थापनको सुरुवात भएको थियो, जसलाई वैज्ञानिक व्यवस्थापनका पिता एफ डब्ल्यु टेलरले विकास गरेका थिए । तत्कालीन समयमा (सन् १८४१–१९१५) त्यो स्तरको व्यवस्थापन अवधारणा नै पर्याप्त थियो । पछि, हेनरी फेयलले आधुनिक व्यवस्थापनको सिद्धान्तका रूपमा प्रशासकीय नेतृत्वको सिद्धान्त प्रतिपादन गरे, जुन आज पनि उत्तिकै सान्दर्भिक छन् ।
सङ्गठन सञ्चालनमा जीवन्त भूमिका निर्वाह गर्ने मानवीय तŒवको कार्य वातावरण, पारिश्रमिकका साथै अभिप्रेरणा र मनोवैज्ञानिक पक्ष महŒवपूर्ण हुन्छ । आधुनिक युगमा व्यवस्थापन शब्दले व्यापक अर्थ समेट्न थालेको छ । आधुनिक व्यवस्थापनविद्हरू के भन्छन् भने व्यवस्थापन बूढीऔँलाको नियम होइन । कुनै खास सिद्धान्तले यसलाई बाँध्न नै सकिँदैन । वास्तवमा वातावरणीय तŒवहरूमा आउने परिवर्तनहरूलाई समयमै अनुमान, पहिचान गरेर वर्तमानमा नै सचेत हुने रणनीति अवलम्बन गर्ने प्रक्रिया व्यवस्थापन हो । सङ्गठनमा जति बेला जे पनि पर्न सक्छ । भैपरिआउने घटनाहरूको व्यवस्थापन नै व्यवस्थापन हो । प्रतिस्पर्धात्मक विश्व एवम् सङ्गठनात्मक वातावरणमा जीवन्त रहनका लागि जे–जति कार्यहरू, रणनीतिहरू अवलम्बन गर्नुपर्छ, त्यो नै व्यवस्थापन हो । तसर्थ, सहभागिमूलक व्यवस्थापन, उद्देश्यमूलक व्यवस्थापन, द्वन्द्व व्यवस्थापन, दक्षता व्यवस्थापन, गुणस्तर व्यवस्थापन, सशक्तीकरण, परिवर्तन व्यवस्थापन, भैपरिआउने व्यवस्थापनका, रणनीतिक व्यवस्थापनजस्ता कुराहरूमा विशेष ध्यान दिँदै व्यवस्थापनको दायरालाई लचिलो पार्दै लगिएको छ ।
सहभागितामूलक व्यवस्थापन
सहभागितामूलक व्यवस्थापन आधुनिक व्यवस्थापन जगत्को महŒवपूर्ण आधार स्तम्भ हो । यसका प्रवर्तक अमेरिकी व्यवस्थापनविद् रेन्सिस लाइकर्ट हुनुहुन्छ । सहभागितामूलक हुन व्यवस्थापन शैलीमा प्रजातान्त्रिक मूल्य र मान्यताहरू, मर्यादाहरूलाई अवलम्बन गर्दै व्यवस्थापनसम्बन्धी कार्य सञ्चालन गर्ने प्रयास गरिन्छ । यो कुरा अवश्य हो कि सङ्गठनको लक्ष्य तथा उद्देश्यहरू प्राप्त गर्नका लागि बाध्यात्मक परिस्थितिभन्दा स्वतःस्फूर्त कार्यप्रेरणा नै बढी उपयोगी हुने कुरा व्यवस्थापनको विकसित रूप जस्तै, क्वालिटी सर्कल, दुई चक्रिय सहभागिता, कर्मचारी सशक्तीकरणजस्ता अवधारणा पनि आज विकास भइसकेका छन् । कुनै पनि सङ्गठनको निर्दिष्ट लक्ष्य हासिल गर्न मानव संशाधन नै त्यस्तो सशक्त र जीवन्त साधन हो, जसले अन्य निर्जीव साधनहरूलाई जीवन्त बनाई सङ्गठनको उद्देश्य प्राप्तिमा सहयोग पु¥याउँछ । तसर्थ, यस्तो महŒवपूर्ण साधनलाई सङ्गठनमा उचित स्थान दिई अभिप्रेरित गर्दै, निर्णयप्रक्रियामा सहभागी बनाउँदै अघि बढेमा सङ्गठन सफल हुन सक्छ ।
वास्तवमा सङ्गठनमा व्यवस्थापकहरू नै सर्वगुण सम्पन्न हुँदैनन् । दैनिक कार्य जीवनमा कार्यक्षेत्रमा परिआउने समस्याहरूका बारेमा कार्यक्षेत्रका कामदारहरू नै राम्रोसँग परिचित हुन्छन् । न्यूनतम लागतमा अधिकतम उत्पादकत्व कसरी सम्भव हुन सक्छ भन्नेबारेमा सङ्गठनका कर्मचारीहरूलाई नै राम्रो थाहा हुन्छ । स्थानीय तहका समस्या र ती समस्या समाधान गर्ने उपायसम्बन्धी ज्ञान केन्द्रका योजनाविद्हरूलाई भन्दा स्थानीय भुक्तभोगीहरूलाई नै बढी जानकारी हुन्छ । तसर्थ, यस्ता निम्नतहका व्यक्तिहरू, सङ्गठनमातहतका कर्मचारीहरूलाई पनि निर्णय प्रक्रियामा सामेल गराउने, सशक्तीकरण गर्ने, कार्य स्वतन्त्रता प्रदान गर्ने, प्रशंसा गर्ने, संस्थाप्रति अपनत्वको भावना जागृत गराउने गर्नुपर्छ । यही नै सहभागितामूलक व्यवस्थापनको सार हो ।
कर्मचारीहरूलाई निर्णय प्रक्रियामा सहभागी गराएपछि उनीहरूमा एककिसिमको उत्तरदायित्व र जवाफदेहिताको विकास हुन्छ, उनीहरूलाई कसरी गर्ने भन्ने आदेश दिइरहनुपर्दैन, के गर्ने भन्ने बताइदिए पुग्छ । उनीहरूले नै समस्याको समाधान प्रस्तुत गर्छन् । प्रत्यक्ष निरीक्षण, सुपरीवेक्षणको आवश्यकता पनि धेरै हट्न जान्छ । व्यवस्थापकले आफ्नो ध्यान नीति निर्माणका विषयमा मात्र केन्द्रित गर्न पाउँछ । दैनिक कार्यसञ्चालनमा उसको कुनै दबाब रहँदैन । अझ निर्णय प्रक्रियामा स्वतन्त्रता र सशक्तीकरणले त कर्मचारीहरूले संस्थामा चमत्कार नै गर्न सक्छन् । व्यवस्थापनका प्रमुख कार्यहरू भनेका योजना, सङ्गठन, निर्देशन, नेतृत्व, अभिप्रेरणा, सञ्चार र नियन्त्रण हुन् । सङ्गठन सफल हुनका लागि सहभागितामूलक व्यवस्थापन र सशक्तीकरणको अत्यन्त महŒवपूर्ण भूमिका हुन्छ । नेतृत्व क्षमताको विकास गरी उत्तराधिकारी निर्माण गर्न, संस्थाप्रति अपनत्वको भाव जगाउन, आपसी विश्वास र सद्भावना बढाउन, उत्तरदायित्व र जवाफदेहिता प्रवद्र्धन गर्न, कर्मचारी उत्प्रेरणा बढाउन, समयको बचत गर्न, नीति निर्माणमा प्रभावकारिता ल्याउन, द्वन्द्वको समाधान गर्न, प्रत्यक्ष निरीक्षणको खर्च घटाउने आदि उद्देश्यहरूको हासिल गर्नमा सहभागितामूलक व्यवस्थापनको
महŒव रहेको छ ।
सहभागितामूलक व्यवस्थापनका लागि केही तŒवहरू अति आवश्यक छन् । पहिलो हो, कर्मचारीको गुण । सहभागिताको व्यवस्थापनमा ती व्यक्तिहरू सामेल हुन सक्छन्, जो स्वतन्त्रता र स्वावलम्बनको चाहना बढी राख्छन् । कर्मचारीहरूमा सहभागिताको इच्छा, ज्ञान र बौद्धिकता र केही गर्ने योगदानले मात्र सहभागितामूलक व्यवस्थापन सफल हुन्छ । त्यस्तै, सङ्गठनको वातावरण प्रजातान्त्रिक मूल्य र मान्यतामा आधारित हुनुपर्छ । सहभागितामूलक व्यवस्थापन सफल पार्नका लागि सबैलाई निर्णय प्रक्रियामा सहभागी गराउनुपर्ने हुनाले सबैको राय लिँदा प्रारम्भमा समय केही बढी लाग्छ । तर, कालान्तरमा यसले व्यवस्थापकको धेरै बोझ हलुका बनाउने हुनाले समयको बचत पनि गर्छ । सहभागितामूलक व्यवस्थापनमा सबैको सहभागिता खोजिने हुनाले केही खर्चिलो हुन्छ । जुन कुरामा सहभागिता खोजिएको हो, सोसम्बन्धमा अधिकारवालाहरूसँग मात्र सहभागिता लिनुपर्छ । अधिकारबाहिरको कुरामा सहभागी हुन व्यक्तिहरू अनिच्छुक पनि हुन सक्छन् ।
नेपालको सन्दर्भ
नेपालमा आर्थिक उदारीकरणको नीति अवलम्बनपश्चात् निजी क्षेत्रमा उद्यम व्यवसाय र विशेषगरी बैङ्क तथा वित्तीय संस्थाहरूको वृद्धि भएको छ । निजी र विदेशी संयुक्त लगानीका बैङ्क तथा वित्तीय संस्थामा व्यवस्थापन आधुनिक छ र सहभागितामूलक व्यवस्थापनलाई पनि आत्मसात् गरिएको देखिन्छ । ती संस्थाहरू अधिकांशमा आधुनिक व्यवस्थापनका गुणहरू धेरै हदसम्म विद्यमान छन् । उद्देश्यमूलक व्यवस्थापन, सहभागितामूलक व्यवस्थापन, योग्यताका आधारमा पारिश्रमिक र कार्यसम्पादन मूल्याङ्कन, गुणस्तर व्यवस्थापन, द्वन्द्व व्यवस्थापन, भैपरिआउने व्यवस्थापन आदिमा ध्यान दिएको पाइन्छ । यही भएर नेपालमा बैङ्किङ संस्थाहरू प्रायः सफल भएका छन् । यसमा केन्द्रीय बैङ्कको नीति नियमनको पनि धेरै भूमिका छ । तर, सरकारी प्रशासनको कुरा गर्ने हो भने नेपालको प्रशासन अपेक्षित रूपमा सक्षम र कार्यकुशल हुन नसकेको जनगुनासो उठिरहने वर्तमान परिप्रेक्ष्यमा यसको कार्यक्षमता र प्रभावकारिता वृद्धि गर्न सहभागितामूलक व्यवस्थापन अवलम्बन गर्नुपर्ने खाँचो टड्कारो देखिन्छ । सरकारी क्षेत्रतर्फ सहभागितामूलक व्यवस्थापन सिद्धान्तमा भएको तर व्यवहारमा उतार्न अभैm ठूलो प्रयासको आवश्यकता छ ।
नेपालमा ग्रामीण विकास जनसहभागिता सहभागितामूलक व्यवस्थापनको सानो अभ्यासका रूपमा लिन सकिन्छ । सङ्घीय प्रणालीमा मुलुक प्रवेश गरेपश्चात् विकास निर्माणका कार्यमा सहभागितामूलक व्यवस्थापनको केही झल्को आउन थालेको आभास मिल्न थालेको छ । सानो र परिवारको स्वामित्व भएको पसल, घरेलु उद्योग, नितान्त थोरै कर्मचारीबाट सञ्चालित उद्योगहरूमा सहभागिताको व्यवस्थापन आवश्यक नठहरिन सक्छ तर देशलाई उद्योग वाणिज्यको क्षेत्रमा अग्रसर गराउन, सार्वजनिक संस्थानहरूको गुणस्तर अभिवृद्धि गर्न, प्रतिस्पर्धी वातावरणमा विजयी हुन, प्रत्येक सङ्गठनको व्यवस्थापनमा सहभागिता हुनु आवश्यक हुन्छ ।
नेपालको प्रशासनमा सहभागितालाई उपेक्षा गरिएको छैन तापनि वर्तमान पदको श्रेणी व्यवस्था, पदलाई नै सर्वोपरि मान्ने प्रवृत्तिमा पुनर्विचार गर्नुपर्ने देखिन्छ । जतिसुकै योग्य र क्षमतावान् भए पनि तल्लो पदधारी कर्मचारीले माथिल्लो पदधारी कर्मचारीलाई आफ्नो भाग्यनिर्माता मान्नुपर्ने, माथिल्लो पदधारी कर्मचारीले मातहतका कर्मचारीको न्यून मूल्याङ्कन गर्ने, योग्यता र क्षमताको समुचित मूल्याङ्कन नहुने, तलका कर्मचारीहरूको कुरा नसुन्ने, निर्णय प्रक्रियामा उनीहरूलाई सहभागी नगराउने, महिला सहभागिता अत्यन्त न्यून हुने, अनुचित दबाब दिनेजस्ता विसङ्गतिहरूको अन्त्य हुने हो भने नेपालको प्रशासनले स्वस्थ गति लिन सक्ने निर्विवाद छ । आवश्यकता पनि यही नै हो ।
(लेखक नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक हुनुहुन्छ ।)