logo
२०८१ बैशाख २२ शनिवार



बैङ्किङ क्षेत्रको अधिक तरलता

विचार/दृष्टिकोण |




डा. नीलम ढुङ्गाना तिम्सिना

बैङ्किङ क्षेत्रको तरलता भन्नाले वाणिज्य बैङ्कहरूको अधिक नगद मौज्दातलाई बुझिन्छ । बैङ्कहरूले नेपाल राष्ट्र बैङ्कमा रहेको कुल नगद मौज्दातबाट अनिवार्य नगद मौज्दातबापत राखिने रकम कटाएर बाँकी रहेको रकम भन्ने बुझ्नुपर्छ । यस्तो तरलताको स्थितिमा के–कस्ता कारणले के–कस्ता परिवर्तन आउँछन् भन्ने कुराले मौद्रिक नीति, वित्त नीति, वित्तीय क्षेत्र स्थायित्व, आर्थिक वृद्धिदर, रोजगारीलगायत समष्टिगत आर्थिक परिसूचक प्रभावित हुने भएकाले बैङ्किङ क्षेत्रको तरलता स्थितिलाई निकै
चासोसाथ हेर्ने गरिन्छ ।
हाल नेपालको बैङ्किङ क्षेत्र अत्यधिक अधिक तरलताको स्थितिबाट गुज्रिरहेको छ । विशेषगरी कोभिड–१९ को प्रारम्भ भएपछिको केही समयदेखि हालसम्मै अधिक अत्यधिक तरलताको स्थिति छ । बैङ्किङ क्षेत्रमा २०७७ साउन मसान्तमा रु. २०१ अर्ब, २०७७ भदौमा रु. २०८ अर्ब, २०७७ असोजमा रु. १७८ अर्ब र २०७७ पुस मसान्तमा रु. १२४ अर्ब रहेको छ । ती महिनाहरूमा अन्तरबैङ्क ब्याजदर क्रमशः ०.२५ प्रतिशत, ०.१२ प्रतिशत, ०.१६ प्रतिशत, ०.१३ प्रतिशत, ०.१५ प्रतिशत र ०.१६ प्रतिशत रहेका छन् । २०७७ साउनयता नेपाल राष्ट्र बैङ्कले २०७७ पुस मसान्तसम्म रु. ८९ अर्ब ५४ करोडबराबरको रिभर्स रिपो र रु. १५१ अर्ब ८० करोडबराबरको निक्षेप सङ्कलन उपकरण प्रयोग गरी रु. २४१ अर्ब ३४ करोडबराबर तरलता प्रशोचन गरेको छ ।
बैङ्किङ क्षेत्रमा यसरी अत्यधिक तरलता बढ्नुका पछाडि विभिन्न कारक तŒवहरूले भूमिका खेलेको पाइन्छ । कोरोना भाइसबाट शिथिल अर्थतन्त्रलाई गति दिनका लागि नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिमार्फत अर्थतन्त्रमा तरलताको अवस्था सहज गर्न अनिवार्य नगद मौज्दात अनुपात पाँच प्रतिशतबाट क्रमशः घटाई तीन प्रतिशत बनाएबाट पनि बैङ्किङ क्षेत्रको अधिक तरलता अत्यधिक देखिन सहयोग पुगेको छ । बैङ्किङ क्षेत्रले उत्पादनशील क्षेत्रलगायत अन्य क्षेत्रमा पर्याप्त कर्जा प्रवाह गर्छन् तसर्थ कोभिडको बेलामा उनीहरूलाई स्रोत अभाव नहोस् भन्ने उद्देश्यले अनिवार्य नगद मौज्दात घटाइएको हो । तर लकडाउनका कारण होटल, पर्यटन, जलविद्युत्लगायत अन्य उद्योगधन्दाहरू शिथिल हुन गएकाले कर्जाको माग नै प्रभावकारी नहुँदा बैङ्किङ क्षेत्रको कर्जा प्रवाहले राम्रो गति लिन पाएको देखिएन । आर्थिक वर्ष २०७६ मङ्सिरमा १५.० प्रतिशत रहेको कर्जाको वार्षिक बिन्दुगत वृद्धिदर २०७७ मङ्सिरमा १२.९ प्रतिशतमात्र रहेको छ । यसले पनि तरलता वृद्धि गर्न सहयोग पु¥याएको छ ।
बन्दाबन्दीका कारण उद्योगधन्दा शिथिल हुँदा, कतिपय अवस्थामा सिमाना नै बन्द हुँदा आयात घट्न गएको तर विप्रेषण आप्रवाह अनुमान गरेभन्दा फरक ढङ्गले बढी नै रहेका कारण शोधनान्तर स्थिति बचतमा छ । २०७७ मङ्सिर मसान्तसम्म विप्रेषण आप्रवाहको वृद्धिदर १०.९ प्रतिशत रह्यो भने आयात ९.६ प्रतिशतले घट्यो । शोधनान्तर स्थिति रु. १०६ अर्ब ४८ करोडले बचतमा रह्यो । शोधनान्तर बचत भन्नुको अर्थ मुलुकमा विदेशी मुद्रा आप्रवाह बढ्ने हो । स्थिर विनिमय दर भएको हाम्रोजस्तो मुलुकमा सो विदेशी मुद्राले बजार हस्तक्षेपमार्फत नेपाली रुपियाँको विस्तार गर्छ र बैङ्किङ क्षेत्रको तरलता अभिवृद्धि हुन्छ ।
बढेको विप्रेषण आयलगायतका कारणले बैङ्क वित्तीय संस्थाको निक्षेपमा वृद्धि भएको पाइन्छ । २०७६ मङ्सिर मसान्तमा १५.६ प्रतिशत रहेको निक्षेपको वार्षिक बिन्दुगत वृद्धिदर २०७७ मङ्सिरमा २१.६ प्रतिशत पुगेको पाइन्छ । यसरी बैङ्क निक्षेपमा वृद्धि भएको तर सोही अनुपातमा बैङ्क कर्जा प्रवाह हुन नसकेका कारण बैङ्क वित्तीय क्षेत्रमा उल्लेख्य मात्रामा तरलता देखिएको छ । यी विभिन्न कारणका अतिरिक्त बैङ्कहरू नयाँ–नयाँ कर्जा लगानीका अवसर खोजी गर्न प्रभावकारी नदेखिनु, नवप्रवद्र्धनतर्पm उत्सुक हुनेभन्दा परम्परागत र अरूले बनाइदिएको लगानीको बाटोमा मात्र हिँड्ने प्रवृत्ति देखिनु आदिले पनि बैङ्किङ क्षेत्रमा अधिक तरलता विद्यमान रहेको देखिन्छ । यसरी अत्यधिक अधिक तरलता भयो भने त्यसले अर्थतन्त्रको विविध पक्षहरूमा कस्तो असर पारेको छ ? र, यसले भविष्यमा कस्तो असर पर्ला त ?
पहिलो त बैङ्क वित्तीय संस्थाहरूमा अत्यधिक अधिक तरलता विद्यमान रहँदा ब्याजदरमा कमी आउँछ । उच्च दरमा निक्षेप बढे पनि कर्जा प्रवाह सुस्त भएपछि बैङ्क वित्तीय संस्थाहरूले लगातार ब्याज घटाउन थालेका छन् । २०७६ मङ्सिर मसान्तमा बैङ्क वित्तीय संस्थाको अन्तरबैङ्क ब्याजदर ०.७८ प्रतिशत रहेकोमा २०७७ मङ्सिरमा ०.१० प्रतिशत कायम भएको छ । त्यस्तै २०७६ मङ्सिरमा ९१ दिने टे«जरी बिलको ब्याजदर १.८३ प्रतिशत रहेकोमा २०७७ मङ्सिरमा ०.६० प्रतिशत कायम भयो ।
बैङ्कहरूको औसत निक्षेप र कर्जाको ब्याजदरमा पनि कमी आएको छ । वाणिज्य बैङ्कहरूको औसत आधार दर २०७६ मङ्सिरमा ९.४६ प्रतिशत, निक्षेपको औसत ब्याजदर ६.८० प्रतिशत र कर्जाको ब्याजदर ११.९३ प्रतिशत रहेकोमा २०७७ मङ्सिरमा ती दरहरू क्रमशः ७.३६ प्रतिशत, ५.१४ प्रतिशत र ९.३७ प्रतिशतमा झरेका छन् ।
निक्षेपको ब्याजदरमा ज्यादै न्यून हुन गयो भने मानिसले बैङ्कमा राखेको पैसा झिकी सुन चाँदी, घर–जग्गा तथा सेयरमा लगानी गर्ने प्रवृत्ति बढ्छ । नेपालमा अहिले सेयर बजारमा उल्लेख्य बढोत्तरी हुनुका पछाडि यसलाई एक मुख्य कारण मानिएको छ । २०७६ मङ्सिरमा ११५४.१ रहेको नेप्से सूचकाङ्क २०७७ मङ्सिरमा २०६१.४ पुगेको छ । अर्कातिर निक्षेपको ब्याजदर धेरै कम हुन गयो भने खुला सिमाना भएको छिमेकी राष्ट्र भारततर्पm निक्षेप पलायन हुने सम्भावना पनि रहन्छ । निक्षेपकै जस्तो कर्जाको ब्याजदर ज्यादै न्यून हुन गयो भने त्यसको प्रभाव जोखिमयुक्त र ज्यादै खुकुलो कर्जा प्रवाहका रूपमा पर्छ ।
अत्यधिक अधिक तरलता भएपछि जहाँसुकै र जस्तोसुकै क्षेत्रमा पनि कर्जा प्रवाह गर्न आतुर हुने प्रवृत्ति बढ्न सक्छ । अधिक तरलताले सिद्धान्ततः मूल्यवृद्धि पनि गराउने हुन्छ । तर, नेपालमा बन्दाबन्दीको समयमा माग प्रभावकारी हुन नसकेका कारण मूल्यवृद्धि नियन्त्रित सीमाभित्र छ ।अत्यधिक अधिक तरलताको अवस्था लामो समयसम्म रहनु राम्रो होइन । बैङ्क वित्तीय संस्थाले उपयुक्त र उत्पादनशील क्षेत्रमा अत्यधिक अधिक तरलताको व्यवस्थापन गर्नका लागि कुशलता देखाउने बेला पनि हो यो । अत्यधिक अधिक तरलतालाई केन्द्रीय बैङ्कले प्रशोधन गरिदिनुप¥यो भन्ने प्रत्यक्ष÷अप्रत्यक्ष दबाब पनि यदाकदा आउने गरेका छन् । सरकारले ऋण उठाइदिनुप¥यो भन्ने तर्कहरू पनि प्रस्तुत हुने गरेका छन् । केन्द्रीय बैङ्कको धारणा जहिल्यै पनि सर्वप्रथम बैङ्क वित्तीय संस्थाले आफ्नो तरलता उत्पादनशील क्षेत्रमा उपयोग गरून्, त्यसको राम्रो प्रतिफल पाऊन्, अन्तरबैङ्क कारोबार गरून् भन्ने नै हुन्छ । त्यसपछि पनि बैङ्किङ क्षेत्रमा तरलता अधिक रहन गई ब्याजदर ज्यादै न्यून भएमा केन्द्रीय बैङ्कले आवश्यकताअनुसार रिभर्स रिपो, निक्षेप सङ्कलनजस्ता मौद्रिक उपकरणहरू प्रयोग गरी प्रशोचन गर्ने गर्छ । अर्कातिर सरकारले ऋण उठाउने भन्ने कुरा पनि सरकारको आफ्नो आवश्यकतामा आधारित नै हुन्छ । कोभिड–१९ को अवस्थामा यदि अर्थतन्त्रमा तरलता अभाव भएको भए झन् कति कठिन अवस्था
हुन्थ्यो ? त्यही विचार गरेर केन्द्रीय बैङ्कले अनिवार्य नगद मौज्दात घटाएको थियो । खुकुलो मौद्रिक नीति अवलम्बन गरेको थियो । अधिक तरलता भन्ने कुरा सापेक्ष विषय हो । तसर्थ, बैङ्क वित्तीय संस्थाले सरकारी ऋणपत्रजस्तो सहज र सुरक्षित क्षेत्रमा लगानी गरी ढुक्क हुने, केन्द्रीय बैङ्कले अधिक तरलता प्रशोचन गरेन भनेर गुनासो गर्नुभन्दा लगानीका अवसर पहिचान गर्ने, आविष्कार गर्ने, अरूले बनाइदिएको लगानीको बाटोमा मात्र आफू हिँड्ने नभई, आफैँ नवप्रवद्र्धन गर्ने, लगानीको नयाँ मार्ग पहिल्याउनेतर्पm लाग्नु आवश्यक छ ।
नेपालमा जलविद्युत्को सम्भावना धेरै छ । जलविद्युत् आयोजनामा पर्याप्त लगानी गर्ने हो भने बैङ्किङ क्षेत्रको अधिक तरलता प्रशोचन हुनेमात्र होइन, नपुग नै हुन्छ । त्यस्तै, जलविद्युत् आयोजनाका लागि आवश्यक डन्डी, सिमेन्ट, अन्य निर्माण सामग्रीसम्बन्धी उद्योगमा समेत लगानी गर्न सकिन्छ । साना तथा मझौला उद्यमको सम्भावना पनि धेरै छ । यिनमा जोखिम पनि कम हुन्छ । कृषि क्षेत्रमा लगानी गर्ने उपयुक्त अवसर पनि हो यो । अन्य क्षेत्रहरू पनि पहिचान गर्न सकिन्छ । कोभिड–१९ को प्रभाव पनि बिस्तारै कम हुन थालेको छ । अर्थतन्त्र चलायमान हुन थालेको छ । यसले अबका दिनमा अधिक तरलता ज्यादै ठूलो परिमाणमा रहने स्थिति देखिँदैन । अधिक तरलता भयो भन्ने चिन्ता गर्नुभन्दा पनि बैङ्क वित्तीय संस्थाले सुविधाजनक तरलताको लाभ लिँदै त्यसको सुरक्षित, जोखिमरहित र उत्पादनशील प्रयोग गर्नेतर्फ कुशलता अभिवृद्धि गर्नु आजको आवश्यकता हो ।
(लेखक नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?