रामेश्वरी पन्त
सन् १९७४ मा संयुक्त राज्य अमेरिकाका श्रम तथ्याङ्क आयोगका आयुक्त अर्थशास्त्री जुुलियस सिस्किनले दि न्युयोर्क टाइम्समा प्रकाशित लेखमा मन्दीको परिभाषा दिनुभएको थियो । विगत वर्षहरूमा देखिएको मन्दीका आधारमा कुनै अर्थ व्यवस्था मन्दीमा गएको वा नगएको पत्ता लगाउन उहाँले औँठाको नियम (रुल अफ थम्स) अवधारणा बनाउनुभएको थियो । उहाँका अनुसार वास्तविक कुल गार्हस्थ उत्पादन विगत दुई त्रयमास अर्थात् ६ महिनासम्म १.५ प्रतिशतभन्दा बढीले घट्यो भने, बेरोजगारी दर ६ प्रतिशतभन्दा बढी भयो भने र ७५ प्रतिशतभन्न्दा बढी उद्योगहरूमा छ महिना वा सोभन्दा बढी समयसम्म रोजगारी घट्यो भने पनि त्यो अर्थ व्यवस्था मन्दीको अवस्थामा रहेको भन्ने बुझिन्छ ।
संयुक्त राज्य अमेरिकाको निजी गैरमुनाफा संस्था नेसनल व्युरो अफ इकोनोमिक रिसर्चले मन्दीलाई विस्तृत रूपमा व्याख्या गरेको छ । उक्त संस्थाको परिभाषाअनुसार सम्पूर्ण अर्थ व्यवस्थाको आर्थिक गतिविधि केही महिनासम्म घट्नुलाई मन्दीतर्फ लागेको अर्थ व्यवस्था भनिन्छ । मन्दीको असर खासगरी घट्दै गएको यथार्थ कुल गार्हस्थ उत्पादनमा, वास्तविक आम्दानीमा, औद्योगिक उत्पादन, रोजगारी र व्यापारमा देखापर्छ । अर्थ व्यवस्थामा मन्दी जहिले पनि व्यापार चक्रसँंग सम्बन्धित हुन्छ किनकि अर्थ व्यवस्थामा आर्थिक गतिविधि सधैँ एकनासले वृद्धि हुँदैन । जसका कारणले आर्थिक गतिविधिमा उतारचढाव देखापर्ने हुनाले आर्थिक वृद्धिदर पनि सधैँ एकनासको गतिमा जाँदैन र अर्थ व्यवस्था मन्दीको अवस्थातर्फ जान्छ । मन्दीको अवस्थामा आर्थिक वृद्धिदर घटिरहेको हुन्छ वा ज्यादै न्यून रूपमा
बढेको हुन्छ ।
आर्थिक गतिविधि बढ्ने, उच्चतम बिन्दुमा पुग्ने र त्यसपछि फेरि विस्तार भई उच्चतम बिन्दुबाट झरी न्यूनतम बिन्दुमा पुग्ने र पुनः उच्चतम बिन्दुमा पुग्ने प्रक्रियालाई व्यापार चक्र भनिन्छ । आर्थिक गतिविधि उच्चतम बिन्दुमा पुग्दा कुनै क्षेत्रमा यसको बढी असर र कुनैमा कम असर पर्ने भए तापनि अर्थ व्यवस्थाको समष्टिगत क्षेत्रकै वृद्धिदर नै उच्चतम बिन्दुमा पुग्छ । मन्दीको अवस्थामा उत्पादन र रोजगारी भने सबै क्षेत्रमा घट्छ । आर्थिक गतिविधिमा हुने विस्तार र सङ्कुचन अर्थ व्यवस्थामा दोहरिरहने भए तापनि मन्दी कुन समयमा देखापर्छ वा कति समयसम्म रहन्छ भन्ने विषय भने पूर्वानुमान गर्न सकिँदैन । साधारणतया यसको असर केही महिनादेखि वर्ष दिनसम्म पनि रहन्छ ।
अत्यन्त जटिल प्रकारको मन्दीको अवस्थालाइ डिप्रेसन भनिन्छ । यस्तो समयमा आर्थिक गतिविधि यसरी नाटकीय रूपमा घटेको हुन्छ । लाखौँ दक्ष जनशक्तिहरू बेरोजगार हुन्छन् । साधारण प्रकारको मन्दी छोटो अवघिमा देखिने भए तापनि जटिल प्रकारको मन्दी अर्थ व्यवस्थामा विरलै देखिन्छ । विश्वमा देखापरेका मन्दीको चर्चा गर्दा सन् १९३० को दशकको
(१९२९–१९३९) मन्दीको चर्चा नै सर्वप्रथम आउँछ । सन् १९२९ अक्टर २४ (जसलाई कालो बिहीबार पनि भनिन्छ) मा न्युयोर्कस्थित वालस्ट्रिटस्थित सेयर बजारको सेयरको मूल्य घट्न सुरु भयो भने अक्टोबर २९ (कालो मङ्गलबार) मा सेयर बजार पूर्णतया अचानक ढलेपछि सुरु भएको यस मन्दीले विश्व अर्थ व्यवस्था र विशेषगरी पश्चिमी देशको अर्थ व्यवस्थालाई यतिसम्म नकारात्मक रूपमा प्रभावित भयो कि अर्थशास्त्रको नयाँ सिद्धान्तको नै प्रादुर्भाव भयो । त्यो सिद्धान्त हालसम्म पनि उत्तिकै प्रचलित छ । यस मन्दीको समयमा विश्वको कुल गार्हस्थ उत्पादन एकतिहाइले घट्यो र बेरोजगारदर २५ प्रतिशतभन्दा बढी भयो । त्यसबेलाका बेलायतका प्रसिद्ध अर्थशास्त्री किन्सले अर्थशास्त्रको नयाँ सिद्धान्तको प्रतिपादन गर्नुभयो, जसलाई किन्सियन क्रान्तिकारी सिद्धान्त पनि भनिन्छ । किन्सले लेखेको पुस्तक ‘दि जनरल थ्यौरी’ले मन्दीलाई कसरी कम गर्न सकिन्छ अर्थात् व्यापारिक चक्रको कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने व्याख्या गरेको थियो । उहाँको यो विचार आर्थिक नीतिको अन्तिम उद्देश्य नै बन्यो । सरकारले ऋण लिएर पनि आर्थिक गतिविधि विस्तार गर्न सक्तछ, मन्दीका कारणले बेरोजगार बनेका जनतालाई रोजगारी दिन सक्छ र आर्थिक अवस्था राम्रो भएको समयमा यो ऋण तिर्न सक्छ भन्ने अवधारणमा आधारित थियो ।
अर्को मन्दी भनेको दक्षिण–पूर्वी एसियाली देशहरूमा देखापरेको मन्दी हो । सन् १९३० दशकको आथर््िाक मन्दी न्युयोर्कको वालस्ट्रिटस्थित सेयर बजारको सेयरको मूल्य घट्न सुरु भएपछि भयो भने सन् १९९० को दशकको मन्दी सन् १९९७ को जुलाईमा थाई भाटलाई अमेरिकी डलरसँगको स्थिर विनिमयदरबाट माग र आपूर्तिका आधारमा निर्धारण हुनेगरी खुला बजारमा छाडेपछि भएको अवमूल्यनपछि सुरु भयो । सुरुमा वित्तीय सङ्कटका रूपमा देखापरेको यस घटनाले पछि मन्दीको रूप लियो ।
सन् २००७÷०८ मा संयुक्त राज्य अमेरिकामा पनि वित्तीय सङ्कट देखापरेको थियो । यसलाई पनि सन् १९३० को मन्दीपछिको सबैभन्दा ठूलो वित्तीय सङ्कट अर्थात् मन्दी मानिएको छ । यो सङ्कट देखापर्नुको एक प्रमुख कारणमा एसियाली देशहरूमा प्रवाह भएको अल्पकालीन अवधिको पुँजी संयुक्त र।ज्य अमेरिकातर्फ फर्कनु थियो । त्यति नै समयमा रूसमा पनि मन्दी देखापरेको थियो र उक्त देशबाट पनि पुँजी अमेरिकातर्फ प्रवाहित भएको थियो । यसले गर्दा अमेरिकी बैङ्क तथा वित्तीय संस्थामा जम्मा भएको रकम सबैभन्दा सुरक्षित मानी आवासीय घर क्षेत्रमा लगानी भएको थियो र यस क्षेत्रको कारोबारमा वृद्धि भएको भयो ।
सर्वसाधारण अमेरिकीहरूको पनि आफ्नो निजी आवासीय घर हुने सपना पूरा भएको थियो । घरको मूल्यमा भएको अत्यधिक वृद्धिले गर्दा बैङ्कहरूले लगानीको राम्रा प्रतिफल प्राप्त गरेका थिए । यस अवधिमा अमेरिकामा मात्र नभई अन्य विकसित देशहरूमा समेत विनाकारण आवासीय घरको मूल्य धेरै छिटो र धेरै बढेको थियो । बैङ्क तथा वित्तीय संस्थाले पनि विनाअध्ययन कमसल शाख भएका ग्राहकहरूलाई अपर्याप्त धितोका आधारमा पनि लगानी गरेका थिए । कमसल शाख भएका ग्राहकहरूले बैङ्कको ऋण तिर्न नसकेका कारण विश्वमा नाम कमाएका बैङ्कहरूसमेत टाट पल्टिए र ती बैङ्कसँग कारोबार गर्ने क्षेत्र नै धराशयी भएर यसले मन्दीको रूप लियो । अर्थ व्यवस्थामा मन्दी विभिन्न कारणले गर्दा देखापर्छ । एउटा क्षेत्रमा देखापरेको विसङ्गतिले समष्टिगत क्षेत्रमा नै नकारात्मक असर पार्ने मात्र नभई, विद्यमान विश्वव्यापीकरणले गर्दा एउटा देशमा समस्या देखापरेमा त्यसको असर सम्पूर्ण विश्वभर फैलन्छ र विश्व वित्तीय बजार नै नकारात्मक रूपमा प्रभावित हुन्छ ।
आर्थिक गतिविधिमा हुने विस्तार र सङ्कुचन अर्थ व्यवस्थामा दोहरिरहने भए तापनि मन्दी कति समयसम्म रहन्छ भन्ने पूर्वानुमान विभिन्न सूचकहरूको अध्ययनबाट गर्ने प्रयास गरिन्छ । तर पनि आर्थिक मन्दी कुनै समय एक वर्षसम्म रहन्छ भने कुनै समयमा भने एक दशकसम्म पनि रहेको देखिएको छ । सन् १९३० को दशकको आर्थिक मन्दी सन् १९२९ मा सुरु भई सन् १९३९ सम्म रहेको थियो ।
सन् १९३० को आर्थिक मन्दी औद्योगिक देशहरूमा देखापरेको थियो । विश्व अर्थ व्यवस्था अहिलेजस्तो एकीकृत भएको थिएन । यसैले यसको नकारात्मक असर अल्पविकसित देशहरूमा परेको थिएन र यी देशहरूले त पाठमात्र सिकेका थिए । यसपछि देखापरेका अन्य मन्दीहरूमा भने असर परे तापनि यसले यी देशहरूलाई नीति नियमहरूमा परिवर्तन ल्याउन पाठ सिकाएको थियो । सारा विश्वलाई एकैपटक आक्रान्त पारेको मन्दी भने सन् २०१९ मा सुरु भएको कोभिड–१९ मात्र हो । माथि उल्लेख गरिएका मन्दीहरू वास्तविक क्षेत्रमा देखिएका कमीकमजोरी, मौद्रिक र वित्तीय क्षेत्रमा कार्यान्वयनमा गरिएका नीति नियममा देखिएका कमीकमजोरीका कारणले भएका थिए । यस्ता क्षेत्रका कारणले देखिएको मन्दीको पूर्वानुमान गर्नका लागि अर्थशास्त्रीहरूले विभिन्न मोडेलहरू बनाएका छन् । यस्ता मोडेलहरूको माध्यमबाट अर्थ व्यवस्थाको विभिन्न परिसूचकहरूको उतारचढावहरू अध्ययन गर्न सकिन्छ । जसले गर्दा अब मन्दी देखापर्ने सम्भावना छ भनेर जान्न सकिन्छ ।
कोभिड–१९
अहिलेको मन्दी कुनै पनि आर्थिक मोडेलबाट पूर्वानुमान गर्न नसकिने कारणले देखापरेको हो । यो मन्दी आर्थिक क्षेत्रबाट नभई, स्वास्थ्यजस्तो सामाजिक सेवा क्षेत्रबाट देखापरेको छ र यसको नकारात्मक असर विश्वका सम्पूर्ण क्षेत्रमा परेको छ । यसबाट सम्पूर्ण विश्वमा नै मन्दी कुनै पनि कारणले देखापर्न सक्दोरहेछ भन्ने पाठ मिलेको छ । सन् २०१९ को डिसेम्बरको अन्त्यतिर चीनको वुहान सहरमा सामान्य रुघाखोकी बिग्रेर निमोनिया देखियो र बिरामीको सङ्ख्या बढ्न थाल्यो । सुरुमा सामान्य रूपमा लिएको यस निमोनिया सन् २०२० को सुरुवातमा मानिसबाट मानिसमा सर्न लागेको तथ्य फेलाप¥यो । तर, यसले यसअघि नै विश्वका धेरै देशहरूमा हवाईमार्गबाट यात्रा गरिरहेको थियो र विश्व आक्रान्त बनिसकेको थियो ।
अन्तर्रााष्ट्रय मुद्रा कोषले कोभिड–१९ लाई दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो विश्वव्यापी चुनौतीका रूपमा लिएको छ । र, यसलाई सबैभन्दा ठूलो स्वास्थ्य सङ्कट मात्र नभई, सन् १९३० को महामन्दीपछिको सबैभन्दा ठूलो आर्थिक सङ्कटका रूपमा लिएको छ । यसलाई औपचारिक रूपमा नै मन्दी घोषणा गरेको छ । कुनै देशमा साधारण मन्दीको रूप लिएको छ भने कुनै देश भने जटिलप्रकारको मन्दी अर्थात् डिप्रेसनको रूप लिएको छ । विशेषगरी यसले अन्तर्राष्ट्रिय सिमानाहरू बन्द गरिएका कारणहरूले गर्दा देशहरूबीचमा वस्तु र सेवाको आपूर्तिमा मात्र होइन कि मानिसको समेत आवागमन रोक्यो । यसले गर्दा देशमा आपूर्तिमा धक्का लाग्यो र सुरुमा आपूर्तिमा लागेको धक्काले मागमा पनि कमी आउन थाल्यो । बेरोजगारी बढ्न थाल्यो ।
नेपालको सन्दर्भमा हेर्दा पनि राष्ट्रिय योजना आयोगले गठन गरेको कार्यदलको प्रतिवेदनले समेत कोरोना महामारीको कारणले २०७६÷०७७ मा उत्पादकको मूल्यमा कुल गार्हस्थ उत्पादनमा करिब दुई खर्ब क्षति भएको जनाएको छ । करिब १६ लाख जनसङ्ख्याले बेरोजगार बन्नुपरेको र करिब १६ लाख नागरिक गरिबीको रेखामुनि रहेको तथ्य पत्रपत्रिकमा प्रकाशित भएको छ । नेपालको कुल जनसङ्ख्यामा ४० प्रतिशतभन्दा बढी अर्थात् १६ वर्ष देखि ४० वर्षसम्मका युवा सक्रिय जनसङ्ख्या छन् । विकासशील र विकसित देशहरूमा कार्यरत नेपाली युवाले रोजगारी गुमाउनुका साथै रोजगारीको अवसरसमेत गुमाएका छन् । देशको आय र रोजगारीमा थप चाप परेको छ ।
नेपालको अर्थ व्यवस्थाको मुल आधार भनेको पर्यटन, वैदेशिक रोजगारी र उनीहरूबाट प्राप्त हुने विप्रेषण हो । हजारौँ युवाले काम नपाएको तथ्य एकातर्फ छ भने निजी क्षेत्रमा काम गर्नेहरूले पनि अवकाश पाउनुपरेको र कतिपयले भने तलब र भत्ता नपाएको तथ्य अर्कातर्फ छ । भारत र चीन वेष्ठित नेपालमा यी दुई देशमा भएको नकारात्मक प्रभाव पर्छ । यसै सन्दर्भमा अन्तर्रााष्ट्रय मुद्रा कोषले अक्टोबर २०२० को अध्ययनअनुसार भारतको अर्थ व्यवस्था सन् २०२० मा १०.३ प्रतिशतले खुम्चने अनुमान गरेको छ अर्थात् भारतको कुल गार्हस्थ उत्पादनको वृद्धिदर १०.३ प्रतिशतले घट्नेछ । यसको असर वस्तु, सेवा र श्रमिकहरूको आवागमनमा पर्ने निश्चित छ । हजारौँ नेपाली भारतमा कामको खोजीमा गइरहेका हुन्छन् । भारतीय अर्थ व्यवस्था सङ्कुचन भएमा भारतमा काम गर्न जाने हजारौँ श्रमिकहरूको रोजगारीमा र आम्दानीमा असर पर्छ । चीनको अर्थ व्यवस्थाले गति लिएको भए तापनि श्रमिकहरूको आवागमन त्यति सहज छैन ।
नेपालमा यसको सबैभन्दा प्रतिकूल असर सेवा क्षेत्रमा परेको छ । यस्ता सेवाहरूमा पर्यटन सेवा, होटल व्यवसाय, यातायात सेवा, शिक्षा सेवा, निर्माण सेवा स्वास्थ सेवा इत्यादि छन् । आर्थिक सर्वेक्षण ०७६÷७७ का अनुसार नेपालको कुल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान ३६.३ प्रतिशत हुने अनुमान छ । पर्यटकहरूको आवागमन प्रायःजसो ठप्प नै छ र हालका दिनहरूको विभिन्न सहुलियत र प्याकेजको माध्यमबाट गति दिन खोजिएको छ । अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने प्रयास भने दिल्ली र काठमाडौँ उडानबाट गर्ने प्रयास गरिएको छ । यद्यपि, हालसम्म नेपालमा विप्रेषण आप्रवाह भने घटेको छैन ।
कोरोना महामारीका कारणले गर्दा कार्यालयमा बसेर दैनिक काम गर्ने परम्परागत तरिकामा नै फरक ल्याएको छ, वातावरणमा परिवर्तन गरेको छ । एकप्रकारका शिक्षित र दक्ष कर्मचारीहरू घरमै बसेर कार्यालयको काम गरी सुरक्षित रूपमा रहेका छन् भने त्यत्तिकै दक्ष अर्का वर्गका कर्मचारीहरू भने बाहिर कार्यस्थलमा नै रहेर काम गर्नुपरेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार घरमा बसेर कार्यालयको काम गर्ने वातावरण पनि निम्न आय भएका देशमा प्रविधिको कठिनाइले गर्दा प्रभावकारी हुन सकेको छैन । कोषले हालसालै अर्थात् डिसेम्बर ३, २०२० मा तयार गरेको प्रतिवेदनअनुसार सम्पन्न परिवारभन्दा विपन्न परिवार बढी सङ्क्रमित भएको र मृत्युदर पनि उनीहरूको नै बढी भएको देखिएको छ । यसका प्रमुख कारणहरूमा उनीहरूको जीवनयापन गर्ने चुनौती र आवश्यकता नै मानिएको छ ।
बाँच्नका लागि बाहिर असुरक्षित तरिकाले काम गर्नुपर्ने बाध्यता, रोग र यसबाट देखापर्ने समस्याको विषयमा ज्ञानको कमी र धेरैजसो न्यूनतम सुविधा पनि नभएको आवास क्षेत्रमा बस्ने, घरहरू नजिक–नजिक हुने आदि मानिएको छ । सङ्क्रमण भए तापनि अज्ञानता र पैसाको अभावले गर्दा जँचाउन जान सक्तैनन् । जसले धनी र गरिबबीचको असमानता थप बढाएको छ । सङ्क्रमित भएकाहरूमा पनि मानसिक समस्या देखापरेको छ ।
विश्वभर कोरोना भाइरसबाट प्रभावित जनसङ्ख्या सात करोडभन्दा बढी देखिएका छन् । खोप सहज प्राप्त नभएसम्म कति सङ्क्रमित हुने हो र यो महामारी कहिले अन्त्य हुन्छ भन्ने अनुमान लगाउन कठिन छ । कतिपय विकसित देशहरू अझै पनि लकडाउनको अवधि बढाउँदै छन् । यद्यपि, विकसित देशहरूलगायत भारत र चीनले समेत यसको खोप तयार गरिसकेका छन् । तथापि सम्पूर्ण जनताले खोप प्राप्त नपाएसम्म यो निर्मूल होला भन्ने कल्पना गर्न सकिँदैन । भनिन्छ, एक व्यक्तिमा मात्र सङ्क्रमण बाँकी भएसम्म मानव समुदाय सुरक्षित भएको मान्न सकिन्न । अर्थात् अर्थतन्त्रमाथिको खतरा कायम रहिरहन्छ ।
(लेखक नेपाल राष्ट्र बैङ्कका पूर्वकार्यकारी निर्देशक हुनुहुन्छ ।)