logo
२०८१ बैशाख १२ बुधवार



नियन्त्रणमा राख्न सकिन्छ मुद्रास्फीति

विचार/दृष्टिकोण |




रामेश्वरी पन्त
नेपाल सरकारले २०७८ साउन २७ गते देशको आर्थिक अवस्थाबारे सदनलाई गराएको जानकारीमा आर्थिक गतिविधिमा हुँदै गएको विस्तार तथा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण नेपालको समग्र मुद्रास्फीति बढ्ने जोखिम रहेको वास्तविकता उल्लेख गरेको छ । सन् २०२१ मा पेट्रोलियम पदार्थको मूल्य ५६.६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण भएको तथ्य नेपाल राष्ट्र बैङ्कद्वारा प्रकाशित मौद्रिक नीतिमा समेत उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७८÷७९ मा उपभोक्ता मुद्रास्फीति औसत ६.५ प्रतिशतभित्र सीमित राख्ने लक्ष्य मौद्रिक नीतिले लिएको छ ।
मुद्रास्फीति भन्नाले लगातार रूपमा वस्तु र सेवाको मूल्यस्तरमा हुने वृद्धिलाई बुझिन्छ । जब मुद्रास्फीतिको दर बढ्दै जान्छ, मुद्राको क्रयशक्ति घट्दै जान्छ । उही गुणस्तरको र उत्ति नै परिमाणमा वस्तु र सेवा खरिद गर्न पहिलेको तुलनामा बढी मुद्रा तिर्नुपर्ने हुन्छ । जस्तो– मानौँ, एक किलो आलुको हिजो २५ रुपियाँ पर्दथ्यो र आज ३० रुपियाँ भयो भने एक किलो आलु खरिद गर्नका लागि आज ३० रुपियाँको आवश्यकता पर्दछ । यसरी आलुकोे मूल्य बढेका कारण यसको उपभोग घटाउनु पर्दछ वा उपभोग उही परिमाणमा गर्ने हो भने पहिलेको बचत खर्च गर्नुपर्दछ ।
अन्य वस्तु र सेवामा पनि यस्तै हुन्छ । भविष्यमा मूल्य बढ्ने थाहा पाउनेबित्तिकै व्यापारीले सामान लुकाउन थाल्दछन् भने मूल्य थप बढ्ने कल्पनाले मानिसले उपभोग्य वस्तु किनेर थुपार्न थाल्दछन् । यसरी लुकाउने र किन्ने होडबाजीले गर्दा मूल्य झन् बढ्दछ र कालोबजारी सुरु हुन्छ । यसले अनिश्चितताको वातावरण सुरु गर्दछ ।

मानिसले आजको आफ्नो कमाइले भोलि कति सामान किन्न सकिन्छ भन्ने थाहा पाउन सत्तैmनन् । निश्चित आय हुने वर्ग र विपन्न वर्गलाई अत्यन्त नराम्रो असर पार्दछ । मुद्रास्फीतिको दर बढ्ने क्रम सँगसँगै उनीहरूको आय नबढ्ने हुनाले गरिब झन् गरिब हुन पुग्दछन् । निश्चित आय हुने वर्गले पनि पहिलेको जीवनस्तर उही रूपमा धान्न सक्तैनन् । मुद्रास्फीतिलाई नियन्त्रण गर्न नसकेका कारण कतिपय देशका सरकार पतन भएका उदाहरण पनि छन् । किनकि मुद्रास्फीतिको दर बढ्दै जाने क्रमसँगै मानिसले भविष्यमा मुद्रास्फीतिको दर झन् बढ्ने अनुमान गर्दछन् । वस्तुको मूल्य आजको भोलि नै बढ्ने हुनाले राम्रा व्यवसायीले समेत लगानी नगर्ने तर सट्टाबाजी गर्न थाल्दछन् । जसले गर्दा साधनको दुरुपयोग हुन्छ ।
मुुद्रास्फीतिले कुनै देशले अन्तर्राष्ट्रिय व्यापारको क्षेत्रमा गर्ने प्रतिस्पर्धालाई घटाउँछ । किनकि वस्तुको मूल्य उच्च हुने हुनाले अन्य देशको कम मूल्य भएका वस्तुसँग प्रतिस्पर्धा गर्न सक्तैन । प्रतिस्पर्धालाई कायम राख्नका लागि अन्य मुद्राको तुलनामा स्वदेशी मुद्राको अवमूल्यन गर्नुपर्ने हुन्छ । यसले निर्यात घटाउने र आयातलाई प्रोत्साहन दिन्छ । जसले गर्दा व्यापारमा असन्तुलन देखा पर्दछ । यसैले मुद्रास्फीतिलाई नियन्त्रण गर्नु पर्दछ भन्ने मान्यता रहेको छ ।
कुनै देशमा मुद्रास्फीतिको दर बढ्ने धेरै कारण हुन्छन् । जस्तो, अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थकोे मूल्य वृद्धि भएमा यसले धेरै असर गर्दछ । प्रथमतः आयात गर्ने देशले उही गुणस्तर र उत्तिकै परिमाणमा पेट्रोलियम पदार्थ आयात गर्नका लागि बढी विदेशी मुद्रा खर्च गर्नुपर्दछ । यसरी आयात गर्ने देशको विदेशी मुद्रा सञ्चिति घट्न थाल्दछ ।

दोस्रो आयात गर्ने देशमा पेट्रोलियम पदार्थको मूल्य बढेको कारणले गर्दा वस्तु र सेवाको उत्पादन लागत बढ्न थाल्दछ र उत्पादित वस्तु र सेवाको मूल्य बढ्छ । यातायातको साधन प्रयोग गर्दा यातायात भाडा बढ्छ । जसले गर्दा सर्वसाधारणले यातायात प्रयोग गर्दा बढी रकम खर्च गर्नुपर्दछ ।
यसैगरी खाना पकाउने ग्यासमा भएको मूल्य वृद्धिले घरायसी उपभोक्ताको खर्च बढ्नुका साथै रेस्टुरेन्टको खानाको मूल्य बढ्छ । कामदारले ज्यालादर बढाउन दबाब दिने हुँदा थप लागत बढ्न जान्छ र वस्तु र सेवाको मूल्य बढ्छ । यसरी समष्टिगत क्षेत्रमा नै असर पार्ने भए तापनि यसको मूल्य ५६.६ प्रतिशतले बढ्दैमा मुद्रास्फीति पनि त्यतिले नै बढ्ने भन्ने हुँदैन । मुद्रास्फीतिको दर कति बढाउँछ भन्ने तथ्य भने मुद्रास्फीतिको दर निकाल्न प्रयोग गरिने उपभोक्ता मूल्य सूचकाङ्कमा यसको भार कति परेको छ, त्यसमा भर पर्दछ ।
अर्थव्यवस्थाको समष्टिगत मागभन्दा समष्टिगत आपूर्ति कम भयो भने पनि मुद्रास्फीतिको दर बढ्छ । यस्तो अवस्थामा वस्तु र सेवाको आपूर्ति घट्न पनि सक्छ, उत्ति नै रहन पनि सक्छ वा पहिलेभन्दा बढी आपूर्ति हुन पनि सक्तछ । आपूर्ति समान नै भए तापनि यदि त्यस्तै प्रकारले उपभोग गर्न सकिने वा त्यत्तिकै सन्तुष्टि दिने वस्तु वा सेवाको मूल्यमा वृद्धि भएमा वा त्यस्ता वस्तु र सेवा लोप भएमा वस्तुको मूल्य बढ्छ ।

यसैगरी पहिलेभन्दा बढी आपूर्ति भए तापनि त्यस्ता वस्तु र सेवाको समष्टिगत क्षेत्रबाट माग बढी रहेको हुन्छ । यसको उदाहरणका रूपमा चाडबाडको अवस्थामा वस्तु र सेवाको मूल्यमा हुने परिवर्तनलाई लिन सकिन्छ । जस्तो, दशैँको समयमा मासु र तरकारीको आपूर्ति बढिरहेको भए तापनि ती वस्तुको माग पनि बढेको कारणले मूल्य बढिरहेको हुन्छ । यसैगरी तिहारमा फलफूल, मसला र मिठाईको मूल्य बढ्छ ।
माग उही भए तापनि उत्पादनका साधनको मूल्यमा भएको वृद्धिको कारणले वस्तु र सेवाको उत्पादन लागत बढ्छ र जसको कारणले मुद्रास्फीतिको दर बढ्छ । कच्चा पदार्थको मूल्यमा भएको वृद्धिको कारणले देखापर्ने अनुमान गरिएको मुद्रास्फीतिलाई यसको उदाहरणका रूपमा लिन सकिन्छ ।
विकसित देशहरूले दुईदेखि तीन प्रतिशतसम्मको मुद्रास्फीतिलाई सामान्य अर्थात् स्वीकारयोग्य मान्दछन् भने विकासशील देशले पनि मुद्रास्फीतिलाई नियन्त्रणमा राख्ने प्रयत्न गर्दछन् । के कारणले गर्दा मुद्रास्फीतिको दर बढेको हो भन्ने पत्ता लगाउनु आवश्यक हुन्छ । जस्तो, पेट्रोलियम पदार्थको मूल्य वृद्धिको कारणले उत्पादन लागत बढेर मुद्रास्फीतिको दर बढेमा सरकारले यसको आयातमा लाग्ने कर कम गरेर वा चुहावट रोकेर मूल्य घटाउन सक्तछ ।

नेपालको सन्दर्भमा भने भारतसँगको खुला सिमानाको कारणले गर्दा वस्तु र सेवाको बिनारोकटोक आवतजावतले गर्दा भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य कम भएमा भारततर्फ चोरी निकासी हुने सम्भावना हुन्छ । भारतका सवारीसाधनले सीमा क्षेत्रबाट भरेर लाने सम्भावना उत्तिकै हुन्छ । यसै पनि खुला सिमानाका कारणले र वैदेशिक व्यापारमा भारतको अंश धेरै भएको कारणले नेपालको मुद्रास्फीतिमा भारतको मूल्य वृद्धिले धेरै असर पार्ने तथ्य अध्ययनबाट प्रस्ट भएको छ ।
आपूर्ति उत्तिकै रहे तापनि मागमा भएको वृद्धिको कारणले मुद्रास्फीति देखा परेमा भने केन्द्रीय बैङ्कले सङ्कुचनकारी मौद्रिक नीति अपनाउनुपर्दछ । यसको मतलव केन्द्रीय बैङ्कले उपभोग निरुत्साहित मौद्रिक उपकरणको प्रयोग गर्न सक्तछ । जसले गर्दा मूल्य घट्छ र मुद्रास्फीति स्वतः घट्छ ।  यसैगरी आपूर्ति कम भएको कारणले मुद्रास्फीति देखा परेमा सरकारले वित्त नीतिमार्फत आपूर्ति बढाउनुपर्दछ । अर्थव्यवस्थामा आर्थिक स्थायित्वसहितको दिगो विकासका लागि भने वित्त नीति र मौद्रिक नीतिमा समन्वय हुनुपर्दछ ।
यसै सन्दर्भमा करिब २५ वर्ष भियाना विश्वविद्यालयमा र करिब २४ वर्ष न्युयोर्क विश्वविद्यालयमा अर्थशास्त्रको प्राध्यापन गरेका अस्ट्रियन स्कुलका अस्ट्रियन अमेरिकन अर्थशास्त्री लुडविक वन मिसेसको सन् १९५८ मा प्रकाशित लेख ‘इकोनोमिक पोलिसी थट फर टुडे एन्ड टुमरो’ उल्लेखनीय छ । उनका अनुसार मुद्रास्फीति भनेको ईश्वरको नियम होइन, जसलाई परिवर्तन गर्न नसकियोस् । यो प्लेगबाट फैलन सक्ने महामारी पनि होइन ।

यो मानिसले नै स्वेच्छाले बेरोजगारी समस्या कम गर्नका लागि बनाइएको नीति हो । मुद्रास्फीतिले बेरोजगारी समस्या समाधान गर्दछ भन्ने आधारमा यसलाई स्वीकार गरिएको हो । वास्तवमा दीर्घकालमा मुद्रास्फीतिले बेरोजगारी समस्या समाधान गर्दैन । यो एउटा नीति मात्र हो, जसलाई परिवर्तन गर्न सकिन्छ र जनताद्वारा निर्वाचित प्रतिनिधिले सरकारी बजेटलाई सन्तुलनमा राखेर नियन्त्रणमा ल्याउन सक्तछन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?