logo
२०८१ बैशाख १२ बुधवार



आर्थिक सङ्कटमा श्रीलङ्का

विचार/दृष्टिकोण |




रामेश्वरी पन्त
सन् २०१९ को अन्त्यमा विश्वभर नै आक्रान्त बनाएकोे कोभिड १९ अर्थात् कोरोना महामारीले विश्व अर्थव्यवस्थालाई नै मन्दीमा धकेलेको भए तापनि दक्षिण पूर्वी एसियाको देश श्रीलङ्काको आर्थिक सङ्कट विश्वभर नै चर्चाको विषय बनेको छ । केही वर्ष अगाडिसम्म दक्षिण पूर्व एसियामा सबैभन्दा बढी आर्थिक वृद्धिदर भएको र सबैभन्दा बढी साक्षरता दर भएको देशको रूपमा यसलाई हेरिन्थ्यो ।

बेलायतको उपनिवेश देशहरू मध्ये नमुनाको देश थियो । यसैले बेलायती अफिसर लर्ड माउन्टवेटनले दक्षिण पूर्वी एसियाको निर्देशन अर्थात् कमाण्ड श्रीलङ्काको क्याण्डी सहरबाट गर्दथे । ६५ हजार ६१० वर्ग किमि क्षेत्रफल भएको श्रीलङ्कामा चीन र भारतमा जस्तो जनसङ्ख्याको भार नभएको र हिन्द महासागर, बङ्गालको खाडी र अरेबियन सागरको बीचमा रहेको मोती आकारको सुन्दर टापु हो ।

सिङ्गापरका पूर्वप्रधानमन्त्री तथा पिता लि क्वान युले आत्मकथामा लेखेअनुसार, उनले सन् १९५६ मा श्रीलङ्काको भ्रमण गर्दा सिङ्गापुरमा भन्दा श्रीलङ्कामा आर्थिक तथा सामाजिक पूर्वाधारको विकास भएको थियो । यातायात र सञ्चारको विकासको साथै त्यस समयमा पनि अङ्ग्रेजीमा गुणस्तरीय शिक्षा प्रदान गर्ने कोलम्बो र क्याण्डीमा दुईवटा विश्वविद्यालय थिए ।

भनिन्छ श्रीलङ्काको विकासबाट उनी यति प्रभावित थिए कि श्रीलङ्काको विकास मोडलअनुसार सिङ्गापुरको विकास गर्न चाहेका थिए । किनकि दुवै देशको हावापानी उस्तै थियो र दुवै देशसँंग सामुद्रिक बन्दरगाहहरू थिए तर वर्तमान अवस्थामा सिङ्गापुरलाई एसियाली बाघ भनिन्छ प्रतिव्यक्ति आय विकसित देशहरूकै हाराहारीमा छ तर अहिले श्रीलङ्का भने धान्ने नसकिने विदेशी ऋणको भार, लगभग सकिएको विदेशी विनिमय सञ्चिति, विनिमय दरमा अप्रत्यासित अवमूल्यन, दुई अङ्कको उच्च मुद्रास्फीति र उच्च खाद्यान्न मुद्रास्फीति, र अत्यावश्यक उपभोग्य वस्तुको अभाव भएको देशको रूपमा चिनिन लागेको छ ।

श्रीलङ्काको केन्द्रीय बैङ्कका अनुसार, सन् २००७ देखि नै देशको विकास निर्माणको कार्य सम्पन्न गर्नका लागि श्रीलङ्काका सरकारले अन्तर्राष्ट्रिय सभरिन वण्ड निष्कासन गरेको थियो र यसलाई प्रत्येक नयाँ सरकारले निरन्तरता दिँदै आएका थिए । यसमा सबैभन्दा बढी चीन सरकारको ऋण छ । सन् २०२२ मा श्रीलङ्का सरकारले तिर्नुपर्ने यस्तो ऋण अमेरिकी डलर चार अर्ब छ ।

जसमध्ये जुलाइमा मात्र यस्तो ऋण अमेरिकी डलर एक अर्ब तिर्नु पर्ने दायित्व छ । जबकी कुल विदेशी विनिमय सञ्चिति भने करिब अमेरिकी डलर दुई अर्ब छ । सन् २०१० देखि नै विदेशी ऋण बढ्दै गएको थियो र २०१९ मा कुल गार्हस्थ्य उत्पादनको ४२.९ प्रतिशत रहेको यस्तोे ऋण सन् २०२१ मा बढेर १०१ प्रतिशत पुगेको छ ।

श्रीलङ्काको मुख्य विदेशी मुद्राको आम्दानीको स्रोत भनेको पर्यटन र विप्रेषण प्राप्त हुने विदेशी मुद्रा नै होे । कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशत आम्दानी पर्यटन क्षेत्रबाट आउँछ । कोभिड १९ को कारणले गर्दा यस क्षेत्रसँग सम्बन्धित दुई लाख जनसङ्ख्याले रोजगारी गुमाएका कारणले विदेशी मुद्राको आप्रवाह घटन थाल्यो । विदेशमा काम गर्न जाने श्रमिकहरू पनि बेरोजगार बस्नु परेकोले विप्रेषणबाट आउने विदेशी मुद्रा पनि घटेको कारणले गर्दा विदेशी विनिमय सञ्चिति घटेको हो ।

सन् २०२१ मा श्रीलङ्काले १०० प्रतिशत नै कृषि अर्गानिक प्रणालीको सुरुवात गर्नुका साथै रासायनिक मल र कीटनाशक औषधिको प्रयोगमा प्रतिबन्ध लगायो । यसबाट कृषि उत्पादकहरूले यसबाट कृषि उत्पादन घटन सक्ने भनेर दिएको सुझावलाई सरकारले गम्भीरतापूर्वक लिएन । यसरी उत्पादन गर्दा दस प्रतिशतभन्दा बढी खर्च लागेको मात्र नभई सन् २०२१ मा ५० प्रतिशतले कृषि उत्पादन घट्यो र खाद्यान्नको कमी भयो ।

यसको सबैभन्दा बढी असर चिया उत्पादनमा देखियो । चिया श्रीलङ्काको एक प्रमुख निर्यात योग्य वस्तुको साथै विश्वमा सिलोन चिया गुणस्तरीय चियाको रूपमा प्रसिद्ध छ । खाद्यान्नको उत्पादन घटेको कारणले गर्दा खाद्यान्न आयात गर्नु परेको र अर्कोतर्फ विदेशी मुद्राको सञ्चिति घट्दै गएकोले खाद्यान्न सङ्कट देखापरेको छ ।

खाद्यान्न र खाना पकाउने ग्यासको मूल्यमा अत्यधिक वृद्धि भई खाद्यान्न मुद्रास्फीति देखा परेपछि सन् २०२१ को अन्त्यमा अर्गानिक कृषि प्रणालीलाई हटाइयो । श्रीलङ्काको केन्द्रीय बैङ्कले श्रीलङ्कन रुपियाँलाई माग र आपूर्तिको आधारमा विनिमय निर्धारण हुने गरी खुला छोडेपछि अमेरिकी डलर एकको विनिमय दर श्रीलङ्कन रुपियाँ २६० सम्म पुगेको छ ।

सरकारले खाद्यान्न, औषधि र इन्धनजस्ता अत्यावश्यक वस्तुहरूको आपूर्तिमा भएको कमजोरी, स्वदेशी मुद्राको अवमूल्यन र विदेशी मुद्राको सञ्चिति घट्दै गएको कारणले आर्थिक सङ्कटकाल र स्वतन्त्रता प्राप्त गरेपछिको सबैभन्दा ठूलो आर्थिक मन्दी देखापरेको तथ्य औपचारिक रूपमा नै घोषणा गरिएको छ ।

श्रीलङ्काका अधिकारीहरूले सरकारले यसको समाधानका लागि एक मात्र उपाय अन्तर्राष्ट्रिय मुद्रा कोषसंँग सहयोग लिनुपर्ने आवश्यकता रहेको तथ्य औँलाएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषको आर्टिकल फोरअन्तर्गतको कार्यकारी बोर्डले फेब्रुुअरी २५, २०२२ मा श्रीलङ्काका आधिकारीहरूसँग गरेको छलफल र प्राप्त तथ्याङ्कको आधारमा मार्च २ मा प्रकाशित गरेको विवरणअनुसार पनि श्रीलङ्काको अर्थव्यवस्था कोभिड १९ को कारणले अत्यन्तै नराम्रोसँग प्रभावित भएको छ ।

लकडाउनको कारणले र पर्यटक आगमन घटेको कारणले सन् २०२० मा कुल गार्हस्थ्य उत्पादन ३.६ प्रतिशतले घटेको छ र वित्त घाटा कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशत रह्यो र सरकारको आन्तरिक ऋण ११९ प्रतिशत रह्यो । यसको मुख्य कारणमा सरकारले गरेको कर कटौतीले गर्दा राजस्व उठ्न नसकेको र कोभिड नियन्त्रणका लागि सरकारले गरेको खर्चलाई प्रमुख कारण मानिएको छ । विदेशी ऋण र उच्च चालू खाता घाटाले गर्दा विदेशी विनिमय सञ्चितिमा कमी आउन थाल्यो ।

मार्च २०२२ मा मुद्रास्फीति १६ प्रतिशत रहेको छ र यसका लागि माग र आपूर्ति पक्ष दुवै उत्तिकै सक्रिय छन् । यदि सरकारले कर कटौतीलगायतका अन्य नीतिमा सुधार नल्याएमा सन् २०२६ सम्म पनि वित्त घाटा उच्च नै रहने आन्तरिक ऋण थप बढ्ने समस्या रहेको प्रतिवेदनमा उल्लेख छ ।

श्रीलङ्कामा कुल गार्हस्थ्य उत्पादन र करको अनुपात कम भएकोले कोषले आय कर र भ्याटको दर बढाउनु पर्ने, राजस्व प्रशासनमा सुधार ल्याउनुपर्ने, सरकारी स्वामित्वमा रहेका संस्थानहरूको कार्य कुशलतामा सुधार ल्याउनुपर्ने र इन्धनको मूल्य लागतको आधारमा निर्धारण गर्नुपर्ने आदि सुझाव दिएको छ । मुद्रास्फीतिलाई नियन्त्रणमा राख्न केन्द्रीय बैङ्कले कसिलो मौद्रिक नीति अपनाउनु पर्ने र सरकारको बजेट घाटा घटाउन केन्द्रीय बैङ्कबाट ऋण लिन नहुने तर्फ सचेत गराएको छ ।

अर्थव्यवस्थामा आर्थिक वृद्धिदरलाई बढावा दिने प्रकारका संरचनात्मक सुधार ल्याउनु पर्ने र महिलालाई रोजगार दिनको लागि महिला कामदारको सङ्ख्या बढाउनु पर्ने र युवा बेरोजगार घटाउनु पर्ने, सुशासनलाई सुदृढ बनाउनु पर्ने र कार्यालयमा हुने अनियमिता हटाउनुपर्ने सुझाव पनि कोषका अधिकारीहरूले दिएका छन् । वास्तवमा अन्तर्राष्ट्रिय मुद्रा कोषले समस्यामा परेका आफ्ना सबै सदस्य देशलाई दिने सुझाव यही नै हो ।

कोषको उच्चस्तरीय अधिकृतले केही दिनमा नै श्रीलङ्काको सङ्कटको विषयमा छलफल गर्न फेरि आउने उल्लेख छ यस्तो छलफलबाट सन् १९९१ मा भारतमा देखापरेको शोधनान्तर समस्या समाधान भए जसरी श्रीलङ्काको समस्या पनि समाधान हुन सक्ने आशा गर्न सकिन्छ ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?