डा.कुन्दन अर्याल
क्काइसौँ शताब्दीको तेस्रो दशक टेक्दासम्म मानव सञ्चारका विभिन्न तह र रूपबाट जनजीवन प्रभावित हुन पुगेको छ । भाषाका माध्यमले प्रत्यक्ष वार्तालाप वा भावनात्मक अभिव्यक्तिको आदानप्रदानदेखि प्रविधिको सहायताले व्यापक समुदायबीच भइरहेको खास–खास सन्देशहरूको प्रवाह आजका मानिसका दैनन्दिनका क्रियाकलाप हुन् । अन्तरवैयक्तिक संवाददेखि आमसञ्चारसम्मलाई प्रविधिले निकै फराकिलो बनाइदिएको छ । इन्टरनेटले सामाजिक सञ्जालहरू खडा गरिदिएको छ, जो आमसञ्चार होइनन् भने अन्तरवैयक्तिक संवाद मात्र पनि होइनन् । तर सञ्चार प्रक्रियामा जतिसुकै नवीनताहरू थपिंदै गएको भए पनि मानव सञ्चारका दुई प्रमुख आयामहरू उही हुन् । सञ्चार सन्देशको प्रवाह मात्र होइन, सम्बन्धको परिचायक पनि हो ।
सतहीरूपमा बुझ्दा वा सामान्य ढङ्गले आत्मात् गर्दा सञ्चार सन्देश पठाउने वा प्राप्त गर्ने कार्य नै हो । तर सन्देश विभिन्न ढङ्गले सम्प्रेषित भइरहेको हुन्छ । जस्तो दृष्टि एउटा माध्यम हो । जुन क्षण कसैलाई देख्छौँ सञ्चार स्थापित हुन्छ । कसैले के–कस्तो लगाउँछ त्यस्तो पहिरनले पनि सन्देश दिइरहेको हुन्छ । कसैलाई जोगी, महात्मा, भिक्षु, प्रहरी, सैनिक र मन्त्री भनेर पहिले त पहिरनकै आधारमा चिनिन्छ । तर वाणी र श्रवण अनि लेख्य प्रभावकारी सञ्चार प्रक्रिया हुन् । कानेखुसीदेखि आह्वानसम्म यसका अनेक रूप छन्, चिठ्ठी पत्र, इमेलदेखि पत्रपत्रिका यसका अनेक प्रयोग छन् । बोल्ने र सुन्ने दुवै पक्षमा जति राम्रो तादात्म्य स्थापित हुन सक्यो त्यति राम्रो वार्तालाप वा सञ्चार स्थापित हुन सक्छ । शाब्दिक सञ्चारमा वाक्य, पदावली र संवादका रूपमा भाषाको प्रयोग हुन्छ । प्रष्टतः सन्देश प्रवाहित वा आदानप्रदान गर्न सकिन्छ । तर शाब्दिक सञ्चारको माध्यम भाषा संस्कृति र सामाजिक संरचनाबाट यति प्रभावित हुन्छ, विषमता, विभेद पनि सञ्चारमा अभिव्यक्त हुन्छन् । सञ्चारले समेट्ने शब्दहरू कैयन छन् – उर्दी, आह्वान, अनुनय वा अनुरोध । तर शब्दावलीहरूले दुई पक्षबीचको सम्बन्धको फरक–फरक अवस्थाको बारेमा बताउँछन् ।
सञ्चारमा भावनात्मक पक्षको पनि उत्तिकै महìव छ । यसै पनि गैरशाब्दिक सञ्चारको क्षेत्र निकै फराकिलो छ । जसमा स्वर, उतारचढाव, बोलीको गति, अनुहारको अभिव्यक्ति, शरीरको अवस्था, हिँडाइ, उफ्राइजस्ता मानव गतिविधि समेटिन्छन् । मुस्कान वा मलिन अनुहारले प्रभावकारी रूपमा सन्देश प्रवाहित गर्छन् । हिजोआज त फेसबुकले पनि इमोजीहरू उपलब्ध गराएको छ, भावनालाई चित्रात्मकरूपमा अभिव्यक्त गर्ने सुविधा उपलब्ध
गराएको छ ।
अमेरिकी सञ्चारविज्ञ डिभेटो वाजलविक, विविन र ज्याक्सनका उल्लेख्य अध्ययनलाई उद्धृत गर्दै भन्छन् ः सञ्चारको अन्तर्वस्तु र सम्बन्ध दुवै आयामहरू हुन्छ । यो कुरा स्वयंसिद्ध मानिन्छ, सञ्चारले दुई पक्षबीच सन्देश प्रवाह मात्र गर्दैन, दुई पक्षबीचको सम्बन्ध समेत बताउँछ । वाजलविक, विविन र ज्याकसनले ५० वर्षभन्दा अघि प्रस्तुत गरेको सञ्चार सिद्धान्तअनुसार सञ्चार कुनै विषयवस्तुसम्बन्धी सूचनाको आदानप्रदान मात्र होइन, सञ्चारमा अन्तक्र्रिया गर्ने दुई पक्षबीचको सम्बन्ध दर्शाउने क्षमता पनि हुन्छ । सञ्चारको यो दोस्रो पक्षले ‘मेटाकम्युनिकेसन’को अवस्था वा संरचनाको प्रतिनिधित्व गर्छ । सञ्चार सिद्धान्तलाई मनोविज्ञान र समाजशास्त्रसँग निकटतम रूपमा जोडिएको मानविकीको क्षेत्र मानिन्छ । जहाँ मानव–मानवबीच सूचना आदानप्रदानको विविध अवस्था र परिवर्तनसँग सम्बन्धित विषयमा अध्ययन गरिन्छ । त्यसैले बीचमा, सम्बन्धी वा त्यसअनुसारजस्ता शब्दहरूमा रूपान्तरित गर्न सकिने मेटा भन्ने ग्रीक शब्द कम्युनिकेसनमा जोडिएपछि बनेको मेटाकम्युनिकेसन भनेको सञ्चारका बारेमा सञ्चार हो । प्रदान गर्नु, भन्नु वा सूचित गर्नुजस्तो अर्थ लाग्ने कम्युनिकेसन ल्याटिन शब्द ‘कम्युनिकासियो’ बाट बनेको हो । जसअन्र्तगत शाब्दिक वा साङ्केतिक सञ्चार क्रियाकलापको व्याख्या गरिन्छ । शाब्दिक सञ्चारलाई अझ प्रभावकारी बनाउने उत्प्रेरक व्यवहार वा आनीबानी पनि सन्देश बुझ्न प्रभावकारी हुन्छन् । कतिपय अवस्थामा अनुहारको हाउभाउ र व्यवहार शब्दसँग मेल नखाएको देखिन्छ । शब्दमा मुखरित नहुने त्यस्ता अन्तरनिहित सञ्चार खास सन्देश वा अन्तर्य बुझ्ने मामिलामा महìवपूर्ण साबित हुन सक्छन् । त्यसैले बुझ्नुपर्ने कुरा के हो भने मेटाकम्युनिकेसनमा कम्युनिकेसनको व्यवहारमै पनि सन्देश अन्तरनिहित हुन्छ । उदाहरणका लागि, कुनै प्राध्यापकले अत्याधुनिक सञ्चार प्रविधिको प्रयोग गर्दै आफ्ना विधार्थीहरूलाई पठन सामग्री वा प्रश्नहरू उपलब्ध गराउँछन् भने स्वाभाविकरूपमा मेटाकम्युनिकेसन सन्देश अन्तरनिहित हुन्छ । विद्यार्थीहरूले पनि नयाँ प्रविधिको उपयोग गर्दै प्राध्यापकसँग सञ्चार स्थापित गर्नुपर्छ ।
सञ्चारमा सहभागी पक्षहरूबीचको सम्बन्ध दर्शाउने सञ्चारको चरित्र वा क्षमताका विषयमा व्याख्या गर्दै डिभिटो एउटा उदाहरण प्रस्तुत गर्छन् । एकजना रोजगारदाताले आफूकहाँ रोजगारीमा रहेको कसैलाई भन्न सक्छ, बैठकपछि मलाई भेट्नु । तर यो साधारण सन्देशको दुवै आयामहरू छन्, अन्तर्वस्तु र सम्बन्धसम्बन्धी । अन्तर्वस्तु आयामअनुसार सम्बोधित कामदारसँग एउटा व्यवहारको अपेक्षा गरिएको छ, बैठकपछि उनले कम्पनीको मालिकसँग भेट्नुछ । तर दोस्रो आयाममा मालिकले कसरी भने, कसरी निर्देशन दिए भन्ने समेत उल्लेखनीय हुन्छ । यस सन्दर्भमा एउटा रोजगार व्यक्ति र रोजगारदाताबीच एक किसिमको सञ्चारको अनुमान गरिएको हुन्छ । त्यसैले कुनै रोजगार व्यक्तिले रोजगारदाता मालिकलाई बैठकपछि एकपटक मलाई भेटेर मात्रै जानु भन्यो भने अनौठो मानिन्छ । कुनै पनि किसिमको सञ्चार परिस्थितिमा अन्तर्वस्तु आयाम त उही हुन सक्छ । तर सम्बन्धको आयाम फरक–फरक हुन सक्छ । जस्तो जुन कुरा आक्रोशका साथ कड्किएर अर्को पक्षसँग सम्बन्ध राम्रो छैन भन्ने देखाउँदै भनिन्छ, त्यही कुरा सहज ढङ्गले सम्बन्धको आयाममा तिक्तता नपोखी पनि भन्न सकिन्छ । रोजगारदाताले समूहगत सञ्चारमा रहेको कुनै कामदारलाई बैठकपछि एकचोटी मकहाँ आउन सक्नु हुन्छ भनेर सोधेको खण्डमा सम्बन्धको आयाममा पनि ख्याल गरिएको मान्न सकिने हुन्छ ।
अमेरिकी सञ्चारविज्ञ ग्रिफिनले सञ्चार सिद्धान्तका विख्यात व्याख्याता क्राइगको सञ्चार सिद्धान्तको क्षितिजसम्बन्धी समीक्षालाई उल्लेख गर्दै सात किसिमका परम्पराको विश्लेषण गर्नुभएको छ । जसअन्तर्गत सामाजिक सांस्कृतिक परम्पराको चर्चा गर्दै उहाँ भन्नुहुन्छ ः ‘‘जब मानिस बोल्दछ, तब ऊ संस्कृतिको उत्पादन र पुनःउत्पादन गर्दछ ।” शाब्दिक सञ्चारको माध्यमबाट भाषाले संस्कृतिको प्रतिनिधित्व गर्दै कसरी व्यक्ति–व्यक्तिबीचको अन्तरसम्बन्धलाई मुखरित गर्छ भन्ने देखिन्छ । ग्रिफिनले यही विषयमा व्यख्या गर्दै उल्लेख गर्नुभएको छ, अङ्ग्रेजी भाषा बोल्ने एकजना व्यक्ति अर्कोलाई ‘यु’ सम्बोधन गर्छ । जुन वा जस्तो सम्बन्ध भए पनि एक अमेरिकी यु सम्बोधन गर्छ भन्दै उनी जर्मन भाषामा भने कि औपचारिक कि अनौपचारिक सम्बोधन गर्नै पर्ने बाध्यता रहेको बताउनुहुन्छ । उनी बताउँछन्, जर्मनीमा औपचारिक सम्बन्ध दर्शाउँदै सम्बोधन गरिने अवस्थाबाट अनौपचारिक सम्बन्धमा पुग्न सानोतिनो समारोह नै आयोजना गरिने गरिएको छ । अझ जापानी भाषा बोल्दा त सम्बन्धका कैयन आयाममध्ये एकमा बाँधिनै पर्ने बाध्यता शब्दावलीहरूले थोपर्ने ग्रिफिनको अनुभव छ । जापानी भाषामा प्रयोग हुने दशवटा सम्बोधनको अङ्ग्रेजीमा एउटै अनुवाद हुन्छ यु । लिङ्ग, उमेर, तथाकथित सामाजिक प्रतिष्ठाका आधारमा अङ्ग्रेजीको युलाई नेपालीमै पनि चार किसिमका सम्बोधनमा अनुवाद गर्ने गरिएको छ ।
सञ्चारविज्ञ डेभिटो सञ्चार सन्दर्भको चर्चा गर्दै चारवटा आयामहरूको उल्लेख गर्नुहुन्छ । उहाँको विचारमा भौतिक, सामाजिक–मनोवैज्ञानिक, समयसापेक्ष र साँस्कतिक आयामहरूले कुनै पनि सञ्चारका सन्देशको प्रभावकारिता निर्धारण गर्छ । कोठा, सभागृह वा खुला मैदानका सञ्चार तौरतरिका फरक हुन सकेनन् भने अपेक्षित सन्देश प्रवाहित हुन सक्दैन । त्यसैले भौतिक अवस्था, समाज, मनोविज्ञान, सन्दर्भ र सांस्कृतिक परिवेशलाई ध्यान नदिई कुनै पनि तहको सञ्चार अपेक्षित सन्देश प्रवाहित गर्न सफल हुँदैन । खासखास अवस्थामा सञ्चारको अन्तरवैयक्तिक, समूहगत वा असीमित समुदायलाई सम्बोधन गर्ने तहअनुसार फरक फरक उद्देश्य हुन सक्छन् । डेभिटोको विचारमा सामाजिक–मनोवैज्ञानिक आयामबाट हेर्ने हो भने सञ्चार अन्तक्रियाका पक्षहरूबीचको सम्बन्धको सेतु हो । साथै, सञ्चार तौरतरिकाले ती पक्षहरूबीचको सम्बन्धका बारेमा बताउँछ ।
मक्वाइलको विचारमा इन्द्रियहरूले कम्युनिकेसनमा आग्रह उत्पन्न गराउँछन् । उनले विषयमा व्याख्या गर्दै, सञ्चारका विभिन्न प्रक्रियाहरूको प्रभावका सम्बन्धमा विश्लेषण गरेका छन् । कसैलाई बेवास्ता गर्नु र कसैका कुरा सुन्नुले सञ्चार प्रक्रियामा निकै फरक पार्छ । त्यसैगरी केवल सुन्नु र एकैचोटि श्रव्य दृश्यको अनुभव गर्नुले पनि सन्देश प्रवाहमा असर गर्छ । अन्तर्वस्तुसँगसँगै परिवेश र सन्दर्भअनुसार सम्बन्धको आयाम माध्यान पु¥याउन सकियो भने मात्र सञ्चार प्रभावकारी हुन सक्छ । प्रभावकारी भनेको सन्देशको प्रभावकारी प्रवाह नै हो ।
(लेखक त्रिविको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागमा आबद्ध हुनुहुन्छ ।)