डा.कुन्दन अर्याल
इन्टरनेटमा आधरित नयाँ मिडियाको बढ्दो प्रयोगका कारण आउँदा दिनमा कागजमा छापिएका सामग्री पढ्ने प्रचलन अझ घट्दै जाने छन् । विश्वका कतिपय पुराना अखबार अनलाइन संस्करणमा मात्र आउन थालिसकेका छन् । त्यही क्रममा भन्न सकिएला, आउँदा दिनमा कागजमा छापिने म्यागेजिनहरू पूरै विलुप्त हुने छन् । भावी दिनमा पनि कागजमा छापिने म्यागेजिन पूरै हराउने छैनन् भन्ने मतका पक्षमा पनि तर्कहरू होलान् तर सहजै भन्न सकिने कुरा के छ भने म्यागेजिनका सामग्रीका पाठकका रुचि भने निकै परिवर्तन हुँदै जाने छन् ।
आमरूपमा पत्रकारिताका, सबैले पढ्ने किसिमका सामग्रीका सन्दर्भमा पाठकहरूको रुचि संसारभर नै परिवर्तन भइरहेको छ । अहिलेका सामाजिक सञ्जालले आममानिसलाई विस्तृत र गहिराइ पूर्णभन्दा पनि सङ्क्षिप्त र तुरुन्तै पढ्न सकिने सामग्रीको उपभोक्ता बनाउँदै लगेको छ । पत्रकारिता सीमित मानिसको उपभोगको दायरामा मात्र सीमित हुञ्जेल अहिलेको जस्तो व्यापक थिएन । विकसित देशमा उन्नाइसौँ शताब्दीको मध्यदेखि मात्र अखबारहरूमा आमपाठकका पहुँच हुन थालेका हुन् । त्यसपछि मात्र आमरूपमा उपलब्ध व्यापक वितरण सङ्ख्यासहितका अखबारहरूको उदय भएको हो । त्यसैले पढ्ने, सुन्ने वा हेर्ने सबै किसिमका माध्यमबाट हुने पत्रकारिताका सामु आफ्नो अवस्था कसरी कायमै राख्ने भन्ने चुनौती छ । एकातिर अनुसन्धानमा आधारित सत्य, तथ्य समसामयिक र उपयोगी सामग्री प्रस्तुत गर्नुपरेको छ । अर्कोतिर, सामग्रीको सङ्क्षिप्त र तीखो स्वरूपका माध्यमले पाठक, श्रोता वा दर्शक आकर्षित पनि गर्नुपरेको छ । पाठक, श्रोता र दर्शक आकर्षित गर्न नसकेको अवस्थामा पत्रकारिता वास्तविक रूपमा पत्रकारिता पनि रहँदैन ।
आजका अनलाइन माध्यममा एउटा सामग्रीसँग अर्को पनि जोडिएको हुन्छ । आवश्यक पर्दा उपभोक्ताले उही सन्दर्भमा त्यसअघि आएका सामग्रीको पनि उत्खनन गर्न सक्छन् तर फेरि अलिकति पनि लामोजस्तो लाग्ने तत्कालीन समाचारको वृत्तमा नपर्ने सामग्रीमा सर्सति पढ्दा लाग्ने समयसमेत उल्लेख गर्ने गरिएको पाइन्छ । आज जहाँ सामाजिक सञ्जालमा हरेक व्यक्ति सहजै आफूलाई मन लागेको समयमा आफ्ना धारणा अभिव्यक्ति गरिरहेको छ ।
आउने समयमा लामो विचार र विश्लेषण पढ्ने आमपाठक पाउन अझ मुस्किल हुनेछ । सौखिन, बौद्धिक विलास गर्न मन पराउनेहरू त अखबारहरू सीमित वर्ग र भूगोलमा मात्र उपलब्ध हुने उन्नाइसौँ शताब्दीको मध्यतिरको समयभन्दा पहिले पनि हुने गर्थे । प्रख्यात साहित्यकार तथा बौद्धिक पत्रकार मदनमणि दीक्षित गोरखापत्र छापिनुभन्दा पहिले पनि एक पटक कुनै बेलायती पाहुँनालाई बिहानको खाजासँगै एउटा नक्कली अखबार छापेर प्रस्तुत गरिएको प्रसङ्ग उल्लेख गर्नुहुन्थ्यो । सीमित शासक वर्गका लागि अखबारको महìव कति थियो भन्ने यो प्रसङ्गबाट प्रष्ट हुन्छ । त्यसैले अखबारहरू आमपाठकमा पुग्न थालेपछि मात्र पत्रकारिताको आजको स्वरूपको यात्रा सुरु भएको हो । आमपाठक वा आमउपभोक्तासम्मको पहुँच बिना पत्रकारिता आजको अवस्थासम्म आइपुग्ने थिएन ।
आज सामाजिक सञ्जालका अभिव्यक्ति र प्रस्तुतिका कारण विचार वा धारणाको परम्परागत प्रस्तुति शैलीका सामु चुनौती खडा भएको छ । विचार, धारणा र गहिराइपूर्ण सामग्रीका लागि परम्परागत रूपमा पत्रकारितामा लोकप्रिय म्यागेजिनहरूको विशिष्ट स्थान रहँदै आएको थियो तर आउने समयमा म्यागेजजिनको स्वरूप मात्र होइन, सामग्रीमा पनि अझ परिर्वतन आउने पक्का छ । ई–पाठकको उदयसँगसँगै पाठ्य सामग्रीमा ती नयाँ पुस्ताको रुचि पनि घट्दो छ । छोटा र बुँदागत सामग्री एकैचोटि आँखाले पढेर विषयवस्तु बुझेको दाबी गर्ने प्रचलन बढ्दै छ । परम्परागत मिडियाको दृष्टिले भन्दा शीर्षकजस्ता सामग्री मात्र पढ्ने चलन विश्वभरि नै व्यापक हुँदै गएको छ । ग्राफिक्सको प्रयोगले प्रस्तुतिलाई सरल अवश्य बनाउँछ तर ग्राफिक्स वा हाइलाइट मात्र पढेर विषयवस्तुको गहिराइमा पुग्न सकिँदैन । तैपनि आजका मिडिया बढ्दो प्रचलनका अगाडि नतमस्तक छन् । प्रविधिले मानिसको पढ्ने, लेख्नेदेखि लिएर सञ्चारका माध्यमबाट आनन्द लिने तौरतरिकामा परिवर्तन ल्याइदिएको छ ।
अमेरिकाका वेञ्जामिन फ्रेङ्कलिनले म्यागेजिनको सुरुवात गर्ने सोच बनाउँदा समाचार, साहित्यलगायतका सबै किसिमका सामग्रीलाई समावेश गरी गोदाम वा म्यागेजिनजस्तो प्रकाशनको परिकल्पना गर्नुभयो । विकसित संसारमा सन् १७४१ मा थालिएको त्यस्तो प्रकाशनलाई म्यागेजिन भन्न थालियो । उन्नाइसौँ शताब्दीको मध्यदेखि नै पाठकको खास तप्कामा पकड जमाउन विशिष्टीकृत म्यागेजिनहरूको सुरुवात भयो तर नेपालमा त उन्नाइसौँ शताब्दीको अन्तिम समयमा निस्किएको पहिलो पत्रिका सुधासागर म्यागेजिनकै स्वरूपमा थियो । उन्नाइसौँ शताब्दीको अन्त्यसम्म म्यागेजिनको छपाइ र वितरण छिटो र सहज भइसकेको थियो । त्यसबेलासम्म म्यागेजिन सस्ता, आकर्षक पनि भइसकेका थिए । समयक्रममा प्रतिस्पर्धा बढ्दै जान थालेपछि विशेष पाठकका लागि विशेष वा विशिष्ट प्रकारको सामग्रीसहितका म्यागेजिन निस्कन थालेका थिए । खासगरी पहिलो र दोस्रो विश्वयुद्धका बीचमा निस्किएका डाइजेष्ट, खबरपत्रिका र चित्रावली अहिलेका प्रमुख विशेष प्रकारका म्यागेजिन कहलिन्छन् । तर बजारमा त्यसबाहेकका अनेक प्रकारका म्यागेजिनहरू पनि छ्यापछ्याप्ती छन् ।
नेपालमा २०४६ सालअघि नै कतिपय विशिष्टीकृत म्यागेजिनहरू सुरु भएका थिए । तर तुलनात्मक रूपमा दिगोपनाको प्रयाससहित व्यवस्थित रूपमा आमपाठक लक्षित लोकप्रिय म्यागेजिन निस्कन थालेको छयालीस सालको राजनीतिक परिवर्तनपश्चात् नै हो तर कोभिड–१९ को प्रकोप सुरु भएपछि नेपालका आमपाठक लक्षित समकालीन राजनीति र अन्य विषयवस्तु समेट्ने म्यागेजिन कि बन्द भए, कि अनलाइनमा मात्र उपलब्ध हुन थाले ।
सामग्रीको प्रस्तुति र स्वरूप एवं नियमितताको अवधिका आधारमा विगतका कतिपय नेपाली म्यागेजिन विशिष्ट विषयवस्तुका कारण लोकप्रिय थिए । अङ्ग्रेजीको स्पेसलाइज्ड म्यागेजिनको कोटीमा समावेश गर्न सकिने म्यागेजिनहरू नेपालमा पनि ननिस्किएका होइनन् तर त्यस्ता अधिकांश म्यागेजिन दीर्घजीवी हुन सकेनन् । म्यागेजिनलाई सामान्यत ः बिजिनेस पब्लिकेसन्स र जनरल कञ्जुमर म्यागेजिनमा विभाजन गर्ने गरिएको पाइन्छ । कति विज्ञहरूले जनरल कञ्जुमर म्यागेजिन, बिजिनेस पब्लिकेसन्स, लिटेररी रिभ्यू र एकेडेमिक जर्नल, न्यूजलेटर्स, पब्लिक रिलेसन्स म्यागेजिन गरी पाँच प्रकार प्रस्तुत गरेका छन् ।
नेपालमा अधिकांश स्तरीय म्यागेजिन आजसम्म पनि निरन्तर वा दीर्घायु हुन सकेका छैनन् । विशिष्टिकृत विधाका तर सरल ढङ्गले आनन्द मान्दै फुर्सदमा पढ्न सकिने म्यागेजिन आजसम्म पनि केही अङ्कपछि बन्दै हुने गरेका छन् ।
नेपाली समाजको विविधता झल्काउने वा दबिएको स्वरलाई ठाउँ दिने प्रयत्न गरेका कतिपय विशिष्टिकृत म्यागेजिन पनि दिगो भने हुन सकेको देखिँदैन । यस्ता प्रकाशनले मूलधारका आमसञ्चार माध्यममा अन्य ठूलाठूला स्वरको कारण नसुनिएका साना स्वरलाई मुखरित गराउन सक्छन् तर कतिपय विशिष्टीकृत पत्रिकालाई वञ्चितिमा परेका समुदायले आफ्नै बोली वा आवाज प्रस्तुत गर्ने प्रभावकारी थलोका रूपमा विकसित गरेका थिए । त्यही क्रममा महिला विशेषलगायत विभिन्न पेसा वा समुदायका तर्फबाट पनि आफ्नै आवाज मुखरित गर्न म्यागेजिनहरू अस्तित्वमा नआएका होइनन् तर निरन्तरताको अभावमा त्यस्ता म्यागेजिनले थप योगदान गर्न सकेनन् ।
आमसञ्चार माध्यममा विविधताको सवाल आज विश्वभर नै कुनै न कुनै रूपमा उठिरहेको छ । मूलधारका आमसञ्चार माध्यमले राजनीतिक र आर्थिक शक्तिमा नरहेका निमुखाहरूलाई बडो व्यवस्थित रूपमा वा धेरैले थाहै नपाउने गरी पाखा पारिरहेका हुन्छन् भन्ने विषयमा प्रशस्त सार्वजनिक विमर्श भइरहेका छन् । सामग्रीको स्रोत र माध्यमको विविधता अनि माध्यमसम्म आमजनताको पहुँचले समाजमा धारणा वा मतको विविधताको अभिवृद्धि गर्दछ । समाजमा रहेको विविधतालाई मुखरित गर्ने वा कुनै पनि समुदायको आवाजलाई नदबाउने हो भने आमसञ्चार माध्यममा ठाडो र तेर्सो दुवै किसिमको विविधता आवश्यक पर्दछ । एकै किसिमको आमसञ्चार माध्यमजस्तो रेडियो, टिभी वा अखबारमध्ये कुनै खास माध्यमभित्रको विविधता ठाडो विविधता हो भने विभिन्न माध्यमको उपस्थिति वा अस्तित्व तेर्सो विविधता हो ।
नेपाली समाजमा जनजाति, दलित वा अन्य सीमान्तकृत वर्ग र समुदायका साथै महिलाका विशिष्ट सवाल र आवाज सार्वजनिक वृत्तमा देखिन र सुनिन दुवै किसिमको विविधतायुक्त मिडिया परिवेश चाहिन्छ भन्ने विषयमा कुनै विमति देखिँदैन । त्यसैगरी, विविध विधा, पेसा र विशिष्टिकृत ज्ञानको क्षेत्रमा अध्ययनको जग बलियो बनाउन पनि म्यागेजिन प्रभावकारी साबित भइसकेका छन् । म्यागेजिनले अखबारहरूले प्रस्तुत गर्ने फुटकर सूचनालाई शृङ्खलाबद्ध रूपमा प्रस्तुत गर्ने गरेका थिए । हुन पनि म्यागेजिन मूलतः सोच र विमर्शको माध्यम हुने गर्दथे । प्राज्ञिक अध्ययन, अनुसन्धानको क्षेत्रबाहेक आमरूपमा पनि लेख्ने पढ्ने वा लोकप्रिय सामग्रीहरूको विकासको वातावरण विमर्श र लोकमत निर्माणका आधार हुन् तर आज छानिएका, देखिएका र एकै सासमा पढ्न सकिने सामग्रीको प्रचलन बढ्दै जाँदा लोकप्रिय म्यागेजिनका अगाडि कठिन चुनौती खडा हुन पुगेको देखिन्छ ।