logo
२०८१ मंसिर १० सोमवार



पूर्वाधार विकासमा राष्ट्रिय दृष्टिकोण

विचार/दृष्टिकोण |




रामप्रसाद गौतम

समाज ज्ञान, विज्ञान र प्रविधिको कारणले बितेको शताब्दीभन्दा धेरै सहज, सफल, सबल बन्दै गइरहेको छ । चीन जर्मनी, अमेरिकालगायत विश्वका २० वटै विकसित देशले पूर्वाधारको क्षेत्रमा व्यापक ज्ञान, पुँजी र बौद्धिक क्षमताको प्रयोग गरेका छन् । तिनीहरूको सापेक्षतामा हामी पछाडि भए पनि आफ्नै सापेक्षताभित्र हामी धेरै पछाडि छैनौँ । प्रयास गर्नुपर्छ सोच बदल्नुपर्छ । विशाल भारतमा गौतम अडानी भन्ने व्यवसायीले घर–घरमा पाइपबाट ग्यास पु¥याउन सक्नुभयो भने प्रधानमन्त्री केपी ओलीले भनेझैँ नेपालका घर–घरमा पाइपलाइनबाट ग्यास नपुग्ला त केही समयमा ? असम्भव पटक्कै छैन किनकि हरेक उपलब्धि प्रयासको प्रतिफल हो । उपलब्धिका लागि सोच निर्माण, सकारात्मक सोच र पूर्वाधारको विकास आवश्यक हुन्छ । हाम्रो विगत र वर्तमानबीचको खाडल यही र यस्तै प्रक्रियाबाट समथर बन्दै आएका छन् ।
उमेरअनुसार विकासको अनुभव हुँदै जाने हो । अहिले ४० वर्षको मानिस जसले गाउँमा गाग्रीमा पानी बोकेर हिँडेका महिला पुरुषहरूको ताँती देख्थ्यो अहिले त्यो दृश्य लगभग ९५ प्रतिशत ठाउँमा बिलुप्त नै भइसक्यो किनकि सामान्य प्लास्टिकको पाइपले गाग्री विस्थापित गरिदियो, पानी घर–घरमा ल्याउन सहज बनाइदियो । तसर्थ पाइपको आविस्कार आफैँमा विकास र पूर्वाधारको चमत्कार थियो । यद्यपि अहिलेका सानो बच्चाले पाइपलाई ठूलो चमत्कार मान्न तयार नहोला किनकि उसले जन्मँदा नै पाइपको पानी खायो । अहिले त उसको कम्प्युटरमा इन्टरनेटबाट ज्ञान र सूचना पानीजस्तै प्रवाह भइरहेको छ । अहिले साइकलमा झुण्डाएर यत्रतत्र डुलाइने ग्यासका सिलिन्डरलाई प्राचीन गाग्रीका रूपमा हेर्ने हो भने यसको उन्मूलनमा पाइपबाट ग्यास वितरण गर्नु अन्तिम विकल्प हो ।
एक जमानामा गुल्मीको रिडी भन्ने ठाउँबाट दिनमा सयौँ भरिया चामल, नुनलगायतको भारी बोकेर साङ्ग्रेको उकालोमा हिँडेका र उनीहरूले ओडारमा खाना पकाएर खाएका दृश्यहरू आम पुराना नेपालीका लागि आश्चर्यका दृश्य थिएनन् । यस्ता दृश्य कसैले गाईघाट, कटारी घुर्मी, त कसैले पशुपतिनगरमा देख्नुभए होला । आज त्यो सबै फेरियो । अहिले हाम्रा पिता पुर्खाले बोक्ने भारी ट्याक्टर र ट्रकले बोक्ने हुँदा सडक र सवारी साधन पनि अर्को ठूलो सहयोगी पूर्वाधार हो । यसैले पूर्वाधारको विकास समयले गर्छ, पुँजी, प्रविधिले गर्छ । प्रायःजसो पूर्वाधारका लागि जमिन खनिन्छ जस्तै सडक पाइप, ड्रेनेज अर्थात् सहरको जल निकासका लागि । रेलमार्ग, पुल, नहर, बाँध, पावर प्लान्ट, विद्युत् प्रसारण लाइन आदिमा जमिनको प्रयोग हुन्छ । एयरवेज, स्याटलाइट, राडार सिष्टम, दूरसञ्चार, नापीमा प्रयोग हुने इडिएम सिष्टम आदिका लागि आकाश पनि पूर्वाधारको आधार हो । जीवनलाई सहज बनाउने हरेक चीज पूर्वाधार हुन् । सडक भौतिक पूर्वाधार, साइकल वैज्ञानिक पूर्वाधार, विद्यालय र योग सामाजिक पूर्वाधार हुनुको साथै, उद्यमशीलता, श्रमविभाजन आर्थिक पूर्वाधार हुन् ।
पूर्वाधार जल, जमिन, आकाश जहाँबाट गरिए पनि यसको लाभ जमिनवासी मानवजातिले बढी पाउनेमा द्विविधा छैन । मानव जातिको सुख सुविधा र सजिलोका लागि जमिन खनेर, फाँडेर, मासेर पूर्वाधार बनाइन्छ । यस्तो गर्दा हरेक पाइलामा वातावरण संरक्षणको पक्षलाई ध्यान दिनुपर्छ भने त्यो पूर्वाधारबाट हुने आर्थिक लाभ, लागतको पक्षलाई पनि बेवास्ता गर्नुहुँदैन । शैक्षिक पूर्वाधार, जस्तै, गाउँगाउँका प्राथमिक विद्यालय, माध्यमिक विद्यालय, क्याम्पस विश्व विद्यालयको काम जनतालाई शिक्षित र दीक्षित बनाउने हो, यसमा तत्काल आम्दानी देखिँदैन तर यो आवश्यक छ । सरकारी शैक्षिक संस्थाले आम्दानी नगरे पनि सँगै खडा गरिएको निजी विद्यालयको मालिकको चुरीफरी देख्दा मानिसमा वितृष्णा जागेको कुरालाई सरकारले बुझेर उनीहरूसँग अलि बढी कर लिने व्यवस्था गर्न आवश्यक छ ।
यसैगरी, सरकारले अस्पताल क्लिनिक, आकस्मिक ‘रेस्पोन्स सिष्टम’ मा जेजति लगानी गर्छ, त्यसबाट जनताको कल्याण हुन्छ तर सीधा आम्दानी देखिँदैन । निजीले त्यहाँ पनि तर (क्रिम) मारिरहेका हुन्छन् । यो सबै कुरालाई करकै माध्यमबाट सन्तुलित गर्नुको विकल्प पनि छैन । प्रहरी चौकी, सशस्त्र प्रहरी र सेनाको खर्च पनि एक प्रकारको पूर्वाधार नै हो जुन राष्ट्रिय सुरक्षा घेराभित्र रहेको हुन्छ । यो सबैमा लगानी व्यापक हुन्छ, प्रत्यक्ष आम्दानी हुँदैन तर देशको सीमा सुरक्षा कुनै मूल्य खोज्न सकिँदैन । तसर्थ पूर्वाधार सबै जनताको आर्थिक कल्याणका लागि बनाइएको हुन्छ । त्यसैले धेरै सोचेर बहुजन हितायः को मान्यतालाई अङ्गालेर पूर्वाधारको कार्यमा तीव्रता दिन जरुरी छ । नेपालमा पछिल्ला दिनमा पूर्वाधार विकासको क्षेत्रमा सडक, पानी, बिजुली र दूरसञ्चारलाई बढी केन्द्रमा राखिएको छ । स्वास्थ्य पूर्वाधारको रूपमा स्वास्थ्य बीमा कार्यक्रम र हालै गरिएको सबै स्थानीय निकायमा स्वास्थ्य चौकीको उद्घाटन सबै सराहनीय कार्यक्रम हुन् । तर यी सबै कार्यक्रम हेर्ने निकायबीच तादाम्य नदेखिनु विडम्बना बनेको छ ।
सडक कालोपत्रे भएको अर्को दिन विद्युत्को भूमिगत तार बिच्छ्याउने काम हुन्छ र तार बिच्छ्याएको दोस्रो दिन सहरी विकासले फेरि सोही बाटो खन्ने गरेको देखिएकै छ । यस्तो हुन नदिन युनिफाइड (एकीकृत) पूर्वाधार योजना र अनुगमन गर्न आवश्यक छ । यस्तो तालमेल विहीनताको अवस्थालाई रोक्न नीतिगतरूपमै विकास र पूर्वाधारसँग सम्बन्धित मन्त्रालयवीच संयुक्त संयोजन समिति बन्न आवश्यक छ । यसबाहेक पूर्वाधारको विकास गर्दा वातावरणीय क्षयीकरण रोक्ने कार्यलाई पनि बडो ध्यान दिन जरुरी छ । अहिले विकसित देशले जङ्गल फाँडेर सडक बनाउँदैनन् बरु जङ्गलको रुख माथिमाथि लामो पक्की पुल बनाएर सडक पार गराउँछन् । यस्तो दृश्य एउटा युट्युवमा देखिन्छ । यदि यो भिडियो कुनै ‘एनिमेसन’ नभएर साँचो हो भने नेपालले पनि यस विषयमा सोचेर वातावरण मैत्री पूर्वाधार विस्तार गर्न सक्छ । यसका लागि खर्च त बढी लाग्ला तर दिगो विकासका लागि यो लाभदायी हुन्छ र पर्यटनको पनि विकास हुन्छ । पूर्वाधारको विकास आजको सर्वोपरी आवश्यकता हो तर माटो मात्र सखाप पारेर गरिने पूर्वाधारलाई वातवरणमैत्री र आर्थिकरूपमा सबल पूर्वाधार विकासतर्फ अगाडि बढाउन जरुरी छ । पूर्वाधारले देश जनतालाई सुख सुविधा दिनुको साथै आर्थिक वृद्धिमा पनि योगदान पु¥याउँछ ।
हामी कमजोर अवस्थामा छौँ तर प्रयासहरू सकारात्मक दिशामा छौँ । सुरुङ निर्माणको क्षेत्र, भूमिगत विद्युत् प्रसारण, सूचना तथा सञ्चार – हरेक क्षेत्र विकासको पथमा छ तर यो पर्याप्त होइन किनकि छिमेकी देश चीनले सन् २०१८ मा सुरु गरी कोरोनापछि २०२० मा ‘नयाँ पूर्वाधार नीति’ मा जोड दिएको छ । यसअन्तर्गत कोरोना महामारीपछिको आर्थिक पुनरुत्थानका लागि प्रमुख नीतिगत खम्बाको रूपमा हेरिएको छ । बेइजिङले अब चीनको डिजिटल भविष्य निर्माणका लागि हरेक काम ‘फाइव जी डाटा सेन्टर’ बाट गरिँदै छ । जसले आर्टिफिसियल इन्टेलीजेन्स एआई÷कृत्रिम बौद्धिकता), इलेक्ट्रिक भेहिकल (विद्युतीय सवारी साधन) चार्जिङ स्टेसनमा खर्बौं लगानी गर्दैछ । आगामी पिंढीका लागि डिजिटल पूर्वाधारको रणनीतिका लागि काम गरिंदैछ ।
नेपालले अहिले चीनसँग प्रतिस्पर्धी पूर्वाधार बनाउन सक्दैन तर सोच र व्यवहारलाई त्यत्तिकै दूरदर्शी र कार्यमुखी बनाउन कञ्जुस्याई गर्ने छैन । वातावरणमैत्री पूर्वाधारमा जोड दिनुको साथै उक्त पूर्वाधारलाई निर्यातसँग तालमेलको बिन्दुमा ल्याउनु र देशलाई कुनै तरिकाले विश्व पर्यटनको हव (गन्तव्य केन्द्र) बनाउनेतर्फ लाग्नु आवश्यक छ ।
(लेखक शिक्षण पेसामा संलग्न हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?