logo
२०८१ मंसिर १० सोमवार



जीवन परिवर्तन गर्ने नयाँ सोच

विचार/दृष्टिकोण |




रामप्रसाद गौतम

सन् १८४४ मा बेलायतका रबर्ट ओवेनले सुरुवात गरेको सहकारी आन्दोलन अहिले विश्वव्यापी भएको छ ।
सोच र सुरुवात एक बीउ हो, जसले ठूलो वृक्ष जन्माउँछ र टनौँ टन उब्जाउँछ । त्यसैले सोचको सुरुवात गरिनुपर्छ । हो, बीउ माटोमा रोपिन्छ भने सोच मानिसको सचेत दिमागमा । नेपालमा पनि नयाँ नयाँ सोचहरूले विस्तारै काम गर्दै गएको देखिन थालेको छ । यसैअनुरूप चैत १३ गते एउटा फरक तर चीर प्रतिक्षित सोचको आरम्भ भएको छ – रासायनिक मलको कारखाना
नेपालमै स्थापना गर्ने ।
गत वर्ष पनि नेपालमा रासायनिक मलको आयात हुन नसक्दा किसानहरू ठूलो मर्कामा परे । भारतबाट मल किन्न नपाएपछि सरकारले बङ्गलादेशबाट मल ल्याउने सम्झौता ग¥यो । त्यहाँबाट पनि अहिलेसम्म भने जति मात्रामा सहज तरिकाले मल आउन सकेको छैन । यसै समस्यालाई ध्यानमा राखेर नेपालले निजी सरकारी साझेदारी (पब्लिक प्राइभेट पार्टनरसिप, पीपीपी) अन्तर्गत नेपालमै रासायनिक मलको कारखाना खोल्नेसम्बन्धी कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको प्रस्ताव चैत १३ गतेको मन्त्रिपरिषद्को बैठकले पारित गरेपछि लगानी बोर्डमार्फत लगानी जुटाएर नेपालमा रासायनिक मलको कारखाना स्थापना हुने बहसले स्थान पाएको छ ।
नेपालमा रासायनिक मल कारखाना स्थापनासम्बन्धी अध्ययन प्रतिवेदन २०७७ पारित भएपछि एउटा फरक दृष्टिकोणले जन्म लिएको हो । निःशन्देह यो नयाँ बहस होइन, आवश्यकता धेरै पहिलादेखि नै महसुस गरिएको हो तैपनि यसमा विभिन्न समस्या छन् । यसको आर्थिक, वातावरणीय, प्राविधिक पक्षबाट हेर्दा अनेक समस्या भएकोले विगतका सरकार पछाडि हटेका थिए । तर अनेक विस्मयकारी निर्णय लिने साहस भएको ओली सरकारले यो निर्णय पनि गरिछाड्यो । मल आवश्यक छ, लाखौँ जनता कृषिमा आश्रित भएको देशले एउटा दीर्घकालीन निर्णय लिन आवश्यक थियो र लियो । यो सानो परियोजना होइन, यसमा वर्तमान लागत मूल्यमा एक खर्ब आठ अर्ब रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ जुन समय अन्तरालमा बढ्न सक्नेछ । तापनि लाभ लागतको तुलनात्मक अध्ययन गरेर नै सरकारले यो निर्णय गरेको भन्ने आशा गर्दै प्रत्येक वर्ष किसानले मल नपाएर भोग्नुपरेको समस्यालाई ध्यानमा राखेर गरेको यो निर्णयलाई सरकारको साहसिक निर्णयको
रूपमा धन्यवाद दिनुपर्छ ।
खेतीबालीको समयमा मल नपाएर किसान अत्तासिन परेको समस्यालाई निराकरण गर्न यो उद्योगको बारेमा सरकारले यसको सोच बनाएको हो । यसका लागि लगानी, प्रविधि र जनशक्ति जुटेमा यो कारखानाले नेपाली कृषि र कृषकको जीवनस्तरलाई पक्कै पनि सहज र सरल बनाउनेछ ।
२२ अर्ब १६ करोड स्थिर लागत लाग्ने यो कारखानाका लागि नेपाल सरकारले २० प्रतिशत नेपाली पुँजीपतिबाट ४० प्रतिशत र बाँकी ४० प्रतिशत वैदेशिक निजी लगानीकर्ताबाट जुटाउने भनिएको छ । समस्या लगानी जुटाउनभन्दा मलको बजार जुटाउनमा छ । एक अनुमानअनुसार नेपालमा वार्षिक तीन लाख ५० हजार टन रासायनिक मलको माग छ तर मल कारखानालाई समविच्छेद बिन्दुमा चलाउन पनि वार्षिक सात लाख मेट्रिक टन उत्पादन गर्नुपर्ने एक अनुमानले देखाएको छ । यसको अर्थ ‘ब्रेक इभन’ मा चल्नका लागि पनि वार्षिक तीनलाख ५० हजार टन मल निर्यात गर्न सक्नुपर्छ र नाफाका लागि त त्योभन्दा ठूलो बजार खोज्नुपर्ने आवश्यकता देखिन्छ । यसमा आफ्नै किसिमका चुनौती विद्यमान छन् तर देशको आवश्यकता र समस्यालाई समानान्तर सोचबाट हेर्दा अन्न उत्पादन बढाउनका लागि र मलाभावले कृषिमा देखापर्ने समस्यालाई निराकरण गर्न यो प्रस्ताव एक कोशेढुङ्गा बन्नेछ ।
देख्दा सामान्य लाग्ने व्यक्तिहरूका सोच तथा कर्मले समाजमा चमत्कारिक परिवर्तन गरेका छन् । जस्तै बुद्ध, गान्धी, मण्डेला– उहाँहरूले कुनै नयाँ सूत्र, कुनै नयाँ वैज्ञानिक आविस्कार नगरी मानवतामा एक प्रकारले चमत्कारिक परिवर्तन गरेका थिए । भिञ्चीले एउटा चित्र कोरेको भरमा विश्वमा आफ्नो अस्तित्व स्थापित गरे भने सुकरातले दर्शन भन्ने चीजको जग बसाले । किनकि त्यसअघि केही ससाना विषयले मानव जीवनमा परिवर्तन ल्याउन सक्छ भन्ने उदाहरण रूपमा अनेक साहित्यिक कृतिलाई पनि लिन सकिन्छ । जस्तै मुनामदनमा कति अक्षर होलान् र ? त्यो किताब सबैभन्दा बढी बिक्री भएको छ नेपालमा ।
बङ्गलादेशका मोहम्द युनुसले ग्रामीण बैङ्कहरूको रूपमा लघुवित्तको लगानी सुरु गरेर नेपाललगायत दक्षिण एसियाका लाखौँ धितो राख्न नसक्ने गरिबहरूलाई बैङ्क ऋणमा पहुँच दिन सफल भए । त्यसैको अवधारणा स्वरूप नेपालमा अनेक लघुवित्तहरू सञ्चालनमा आएका छन् । देख्दा सामान्य लाग्ने घटनाले पनि मानव जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ । चीनका सामान्य र धेरै चर्चा नगरिएका नेता देङ सियायो पिंगले ल्याएको आर्थिक परिवर्तनको नीतिले चीनलाई विश्वकै दोस्रो ठूलो अर्थतन्त्र बनाउन सफल भयो । यही कुरा भारतमा पीभी नरसिंह रावले तत्कालीन अर्थमन्त्री मनमोहन सिंहबाट बनाउन सफल भएका थिए । सन् १८४४ मा बेलायतका रबर्ट ओवेनले सुरुवात गरेको सहकारी आन्दोलन अहिले विश्वव्यापी भएको छ । देख्दा सामान्य लाग्ने, अपत्यारिलो, तत्काल कुनै फरक प्रभाव वा असर नदेखिने सोचले पनि मानव जीवनमा परिवर्तन ल्याउन सक्छ । यस्तै एक सोच हो रासायनिक मलको कारखाना नेपालका लागि ।
यी सबै चर्चाका विषयवस्तुभन्दा मानव जीवनलाई प्रभाव पार्ने औद्योगिक सोचको सुरुवात १८ औँ शताब्दीमा एक कपडा बुन्ने जुलाहाले सुरु गरेको उद्योग यात्राले अहिले विश्वलाई कत्रो परिवर्तन गरेको छ भन्ने कुराको व्याख्या गरी रहनुपर्र्दैन । अहिलेका टेस्ला र टोयटा गाडी, पोलिमरसँग सम्बन्धित उद्योगहरू–सबै, सबैको सुरुवात १८ शताब्दीबाट भएको थियो । नेपालमा चैत १५ गते, २०७७ जनताका धारामा आउने भनिएको पानीको मुहान जहाँ छ, त्यो पानी काठमाडौँ ल्याउने सोच पनि रासायनिक मल कारखाना जत्तिकै दुर्लङघ्य थियो तर आयो । सुरुवातलाई सहर्ष स्वीकारौँ र आशा गरौँ नेपालले पनि टनौँ टन रासायनिक मल निर्यात गर्न सक्ने हैसियत बनाउनुका साथै हजारौँ जनाले रोजगारी पाउन् भन्ने अभिलाषा
जीवित राखौँ ।
रासायनिक मल भन्नाले बोटविरुवालाई प्रारम्भिक रूपमा आवश्यकपर्ने तìवहरूलाई बुझाउँछ । यसमा नाइट्रोजन, फस्फोरस र पोटासियम पर्छ । विश्वमा नाइट्रोजनको उत्पादन रासायनिक मलको रूपमा सबैभन्दा बढी मात्रामा गरिन्छ । नाइट्रोजन उत्पादनको सूची हेर्दा चीन, भारत, अमेरिका, रसिया, क्यानडा, इन्डोनेसिया, कतार, पाकिस्तान, इजिप्ट र साउदी अरेबिया विश्वका सबैभन्दा धेरै रासायनिक मल उत्पादन गर्ने देश हुन् । विश्वमा जुन देश औद्योगिक र आर्थिक रूपमा सम्पन्न छन्, ती देशहरू मलको उत्पादनमा पनि अग्रणी स्थानमा रहेका छन् । चीनले एक वर्षमा लगभग पौने चार करोड मेट्रिक टन मल उत्पादन गर्छ भने भारतले एक करोड ३७ लाख टन उत्पादन गर्छ । यो नाइट्रोजनको मात्र विवरण हो जबकि फस्फोरस, पोटासियमलगायत क्याल्सियमजस्ता बिरुवा पोषकको खोजी उत्पादनका लागि यो कारखानको जग राखिएको चैत १३ नेपाली कृषि क्रान्तिका लागि शुभ दिन बनोस् ।
(लेखक शिक्षण पेसामा संलग्न हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?