विनोद नेपाल
नेपाली वृहत् शब्दकोशका अनुसार आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिका निम्ति बलिदान भएको अमर व्यक्ति, शहादत प्राप्त व्यक्ति नै ‘शहीद’ हुन् । आफ्नो जीवनकै पर्वाह नगरी राष्ट्र र जनताका लागि बलिदान गर्ने व्यक्ति महान् हुन्छन् । तिनका त्यागबाट प्रेरणा लिनु र तिनको स्मरण तथा सम्मान गर्नु समस्त देशवासीको कर्तव्य हो । हामीकहाँ महान् शहीद, जसले व्यक्तिगत स्वार्थ तथा आफन्तको मोहबाट मुक्त भई देश र जनताको पक्षमा सङ्घर्ष गर्दा मृत्युवरण गरे तिनको सम्झनामा, हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्मको एक हप्ता विभिन्न कार्यक्रम आयोजना गरी ‘शहीद सप्ताह’का रूपमा मनाउने गरिन्छ ।
विक्रम संवत् १९९७ माघ १० गतेदेखि १५ गतेसम्म शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई तात्कालिक शासकले मृत्युदण्ड दिएका थिए । नेपाल र नेपालीको हित र स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान गर्ने तिनै महान् शहीदको सम्झनामा विसं २०१२ देखि माघ १६ गतेलाई शहीद दिवसका रूपमा मनाउन थालिएको हो । ज्ञातव्य छ, मुलुकका चार महान् शहीदमध्ये तत्कालीन शासकले शुक्रराजलाई माघ १० गते टेकु पचली, धर्मभक्तलाई माघ १३ गते सिफल तथा गङ्गालाल र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्डको नाममा गोली हानी हत्या गरेका थिए । नेपालका प्रथम शहीदचाहिँ लखन थापा हुन् ।
नेपालको इतिहासमा २००७ सालमा निरङ्कुश जहानियाँ शासनविरुद्ध क्रान्ति भएयता पनि राजनीतिक परिवर्तन तथा हक–अधिकारको प्राप्तिका लागि पटक–पटक आन्दोलन भएका छन् । त्यस्ता आन्दोलनमा थुप्रै सपुतले मृत्युवरण गरेका छन् । शहीद सप्ताहको अवधिमा तिनको स्मरण र सम्मान गर्ने गरिएको छ । मुलुकमा विभिन्न समयमा भएका आन्दोलनमा जसले आफ्नो प्राणोत्सर्ग गरे उनीहरूकै बलिदानको पृष्ठभूमिमा हालसम्मका परिवर्तन सम्भव भएको र हामीले स्वतन्त्र र सार्वभौम नागरिकका रूपमा जिउने अवसर पाएका हौँ । यस पृष्ठभूमिमा ती महान् सपुतको स्मरण गरिने यो अवसर मुलुक र जनताको हितमा काम गर्नका लागि प्रेरणा प्रदान गर्ने प्रेरक सन्दर्भ पनि हो ।
जनतामाथिको शोषण, अधिकारको हनन, थिचोमिचो, दमन, विभेद, अन्याय एवम् अत्याचारविरुद्ध आवाज उठाउँदा मारिएका हरेक सपुत समस्त नेपालीका आस्थापुञ्ज हुन् । यसैले तिनको सम्झना र सम्मान गरिनु स्वाभाविकै हो । तर, आज एकातिर शहीदको परिभाषा नै फेरिएको छ भने शहीदको योगदानको अवमूल्यन हुँदै छ । एकताका जथाभावी शहीद घोषणा गर्ने होड नै चल्यो, जसले वास्तविक शहीदको अपमान र अवमूल्यन हुन पुग्यो । देश र जनताका लागि होइन, कुनै दलविशेषको स्वार्थमा प्रयोग भएकालाई पनि ‘शहीद’को उपाधि दिने काम भयो । कुनै दलसँग आबद्ध भएको व्यक्ति चाहे जुनसुकै घटनामा मरेको होस् ‘शहीद’ घोषणाको माग राख्ने र घोषणा गर्नेले पनि नानाथरी विशेषणका शहीद घोषणा गर्ने र निश्चित रकम दिने प्रचलनले गर्दा सच्चा शहीदको अपमानमात्र भएन ‘शहीद’ शब्दकै अवमूल्यन हुन पुग्यो ।
देश र जनताका लागि प्राणको आहुति दिने शहीदको ऋण चुकाउनु जिउँदा सबैको र खासगरी मुलुक हाँक्ने जिम्मेवारी लिएकाको नैतिक दायित्व हो । एक हप्ताको कार्यक्रम र एक दिनको फूलमालाले शहीदको आत्माले शान्ति पाउन सक्दैन । त्यसका लागि देश र जनताप्रतिको जिम्मेवारी महसुस गर्नु आवश्यक हुन्छ । जुन उद्देश्य प्राप्तिका निम्ति सपुतले शहादत प्राप्त गरेका थिए, तिनको स्मरण गर्दै सोहीअनुरूपका कामकाजमा तदारुकता देखाउनुपर्छ । तर, हामी त्यसखालको स्थिति महसुस गर्न सकेका छैनौँ । पटक–पटक आन्दोलन, परिवर्तन भए पनि मुलुकले सही दिशा लिन सकेको छैन । विकास र समृद्धिको दिशामा अपेक्षित गति लिन सकेको छैन । शहीदको सपना साकार पार्ने कसम खाएर सत्तामा पुगे पनि निहित स्वार्थ पूरा गर्न तल्लीन रहने र सत्तामा पुगेपछि यस्तो दायित्वलाई भुल्ने राजनीतिक नेतृत्व र त्यस्तै प्रवृत्तिको निरन्तरताका कारण आमजनताको जीवनस्तरमा अपेक्षित सुधार आउन सकेको छैन ।
शान्ति, सुरक्षा र स्थिरता कुनै पनि मुलुकको समृद्धिको पहिलो सर्त हो । शान्ति, सुरक्षाको अवस्था राम्रो नै भए पनि हामीले विकासको दिशामा गति लिन सकेका छैनौँ । वार्षिक बजेट खर्चको स्थिति सुधार हुन सकेको छैन । पछिल्लो समय हामी अस्थिरतातर्फ उन्मुख भएका छौँ । सत्तारूढ दलभित्रको आन्तरिक किचलोले प्रतिनिधिसभा विघटन हुन पुगेको छ । विगत एक वर्षदेखि विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ ले आक्रान्त पारेको अर्थतन्त्रमाथि यसले थप दबाब पारेको छ । विषय सम्मानित सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले यसको विषयमा टिप्पणी गर्नु हतार हुने भए पनि सहमति, सहकार्य र एकताबाटै मुलुकलाई समृद्ध र समुन्नत बनाउने दिशातर्फ उन्मुख हुन सहज हुनेछ । विभाजन र विग्रह सधैँ नै स्थिरताको बाधक हुन्छ ।
शहीद सप्ताह वा दिवसलाई शहीदले देखाएको बाटो र दिशातर्फ इमानदारीसाथ अग्रसर हुने अवसरका रूपमा लिनुपर्छ । शहीदको सपनाका कुरा गर्ने तर तिनका चाहनामाथि कुठाराघात गर्ने काम गर्नुहुँदैन । तिनका सपना साकार पार्न नागरिकको हक–अधिकार तथा मुलुकको समग्र उन्नतिका लागि जीवनको बलिदान गर्नेले देखाएको बाटो र भावनात्मक आदर्शलाई अनुकरण र अनुशरण गर्नुपर्छ । महान् शहीदले राष्ट्र र जनताको पक्षमा गरेको कामको उच्च मूल्याङ्कन हुनुपर्छ । समस्त राजनीतिक दलले शहीदका सपनाको स्मरण र तिनलाई साकार पार्ने प्रतिबद्धता र सोहीअनुसारको इमानदारी देखाउनुपर्छ । यस अवसरमा सबैले आफ्नो आत्ममूल्याङ्कन र कर्तव्यबोध गर्नु तथा विगतका भूमिकाको समीक्षा गरी आ–आफ्नो चरित्रमा आवश्यक सुधार गर्दै अघि बढ्नु जरुरी छ ।
(लेखक भूगोल साहित्य समाजका अध्यक्ष हुनुहुन्छ ।)